“व्यथित” बदनाम
नेपाली साहित्यमा मौसमी/बेमौसमी दुवै किसिमका खेतीपाती गर्नेहरू र राम्रै बाली उठाउनेहरूको लर्को लामै छ । त्यसरी खेती गर्नेहरूमध्ये कसैले आफ्नै मौलिक सिर्जना र भ्रम छरेर खेतीपातीमा उत्कृष्टता हासिल गर्दै आइरहेका छन् भने कसै–कसैले भने अग्रज सर्जकहरूको नाम बेचेर खेतीपाती कार्यमा रमाउँदै आएका छन् । यी सबै खेतीपाती गर्नेहरूको आ–आफ्नै तौरतरिका हो भन्ने लाग्छ ।
नेपाली साहित्यमा खेतीपाति गर्नेहरू आ–आफ्नै झुन्ड वा समूह बनाएर क्रियाशील छन् । ती खेतीपातिवालाहरूको कुनै वैचारिक धरातल भने हुँदैन । र, उनीहरूले आफ्नो स्वार्थ अनुकूल कहिले कुनै वैचारिक ढिस्कोमा उभिएकालाई प्रयोग गर्छन्, कहिले कुनै वैचारिक जस्केलोमा उभिएकालाई प्रयोग गर्छन् । तिनीहरूले प्रगतिशील, प्रजातान्त्रिक वा घोर निरंकुशतावादी सबैलाई एउटै ड्याङमा हालेर गोडमेल गर्दै आइरहेका छन् । र, कस्तो मञ्चमा कस्ता विचार बोक्नेहरूलाई राख्दा आफ्नो खेतीपाति मौलाउँछ, उनीहरूको ध्याउन्न त्यही विषयमा मात्र केन्द्रित हुन्छ । केही दिनअघि मात्रै, कथित साहित्यिक पत्रकार संघको नाममा आफ्नो खेती गर्दै आइरहेका एक जना व्यक्तिले उत्पात नै मच्चाए । आफ्नो खेतबारीमा जसले पाइला टेक्छ, आफ्नो खेतीपद्धतिलाई जसले स्वीकार गर्छ, त्यसैलाई ती पात्रले पुरस्कृत गर्ने काम गर्दै आइरहेका छन्, त्यसलाई चाहे लोकले पचाओस् वा नपचाओस् ।
केदारमान व्यथित नेपाली साहित्यमा गनिएका एक जना कवि हुन् । तर, उनलाई चिन्नेहरूले कविका रूपमा भन्दा पनि पञ्चायतका एक जना मन्त्री वा सत्ताको आडमा आफूलाई साहित्यमा स्थापित तुल्याएका व्यक्तिका रूपमा चिन्छन् । हुन पनि, पञ्चायतकालीन अन्तिम दिनहरूमा उनलाई पञ्चायतको भरणपोषणमा पालिएका संघसंस्थाहरूले मुख्य अतिथिका रूपमा निम्त्याउनमा हानाथाप नै गर्थे । र, उनलाई त्यसरी बोलाउनुको एक मात्र कारण के हुन्थ्यो भने, उनलाई निम्त्याइएको कार्यक्रमहरूको तत्कालीन समयमा सरकारको संरक्षणमा चलिरहेको रेडियो नेपाल र नेपाल टेलिभिजनले महत्त्वपूर्ण रूपमा ‘कभरेज’ गर्थे । पञ्चायतको अन्तिम दिनहरूमा त व्यथित यति चर्चित साहित्य सर्जकका रूपमा चुलिएका थिए कि, उनलाई मेचीदेखि महाकालीसम्मका साहित्यिक संस्थाहरूले ननिम्त्याए उनीहरू तत्कालीन व्यवस्थाको नजरमा ‘गयल’मा पर्थे सायद । त्यतिबेला अरू प्रतिष्ठित कविहरू पूरै ओझेलमा परेका थिए र व्यथित मात्र पूरै प्रकाशमा चम्किएका कविमा गनिएका थिए ।
तिनै व्यथितको नाममा पञ्चायतकालमा स्थापित एउटा पुरस्कार भने अहिलेसम्म प्रदान गरिँदै आएको छ । व्यथितको नाममा उक्त पुरस्कार सम्भवत: पञ्चायतका आखिरी दिनहरूमा स्थापित भएको हुनुपर्छ । त्यसो त, पुरस्कार कुन कालखण्डमा कसले प्रदान गर्न सुरु गरे भन्ने कुरा विवादको विषय होइन । किनभने, राणा शासनसँग ताल्लुक राख्ने मदन शमशेरको नाममा स्थापित पुरस्कारले अहिलेसम्म पनि आफ्नै स्थान पाइरहेको छ । व्यथितको नाममा स्थापित पुरस्कारको हकमा पनि त्यस्तै कुरा लागू हुन्छ ।
तर, मदन पुरस्कारले जुन मूल्यवत्ता कायम गरेको छ । व्यथितको नाममा स्थापित पुरस्कारले भने उनलाई झनै बदनाम तुल्याउने हर्कत केही व्यक्तिहरूले गरिरहेका छन् । निश्चय नै, व्यथितको पहिचान काव्यसँग जोडिएको छ । सीमित समय राजनीति गरे पनि उनले आफूलाई एक कविकै रूपमा उभ्याए । तथापि, महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भूपी शेरचनजस्ता स्थापित सर्जकका कुनै सिर्जनाका हरफ साहित्यिक/गैरसाहित्यिक व्यक्तिहरूले समय–सन्दर्भमा उद्घृत गरेजस्तै अहिलेसम्म व्यथितका काव्य–पंक्तिहरू भने कहीँकतै उद्धृत भने भएको पाइँदैन । जेहोस्, व्यथितलाई एक काव्य–सर्जकको रूपमा नेपाली साहित्यले स्वीकारेको छ । तर, विडम्बना के हो भने, उनको नाममा स्थापित ‘व्यथित काव्य सम्मान’ अचेल भने काव्य–लेखनसँग गोरु बेचेको साइनोसमेत नराख्ने व्यक्तिहरूलाई दिन थालिएको छ । त्यसले यो सम्मान दिनेहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्रै दिन थालेको प्रतीत मात्र हुँदैन, सम्मानको अपमान गर्न थालेको पनि सहज रूपमा अनुमान गर्न सकिन्छ । यस पटकको व्यथित काव्य सम्मान शशी थापा र दामोदर पुडासैनी ‘किशोर’लाई दिएको घोषणा गरिएको छ । यी दुवै पुरस्कृत पात्रहरूले नेपाली कविता लेखनमा कति विशिष्ट योगदान पुर्याएका छन् र त्यही आधारमा उनीहरूलाई पुरस्कृत गर्न खोजिएको हो ? यसको स्पष्ट उत्तर पाउन भने मुस्किल नै देखिन्छ ।
यद्यपि, व्यथित काव्य सम्मानलाई कुनै बेला ‘राम्रो सम्मान’को रूपमा लिइन्थ्यो । अहिलेजस्तो यो सम्मानको स्तर स्खलित नभइसकेको हुँदा र सत्पात्रहरूले नै सम्मान गर्ने भएको हुँदा प्रगतिशील र प्रजातान्त्रिक दुवै वृत्तका कविहरूले यो सम्मान अर्पण गर्न हिँच्किचाउँदैनथे । नेपाली काव्य–शिविरका विशिष्ट हस्तीहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्णविराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बूँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहन दुवाल, कृष्ण जोशी, डा.राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरीजस्ता कविता लेखनमा आफ्नै छाप छोडेका कविहरूले पाइसकेका हुन् । तथापि, कविता लेखनमा खासै योगदान नरहेका अनिलकुमार अनल, वसन्त श्रेष्ठ, गीत लेखनमा राम्रा मानिने भए पनि कविता विधामा योगदान नपुर्याएका ज्ञानेन्द्र गदाल र बाबा बस्नेत तथा छोटा–छोटा मुक्तक लेख्ने राजेन्द्र शलभ र कविताभन्दा पनि हास्यलेखनमा अग्रसर धीरेन्द्र प्रेमर्षिले ‘व्यथित काव्य सम्मान’ पाइसकेका छन् । तर, यस पटक भने दामोदर पुडासैनी ‘किशोर’ले कविता लेखनमा केही योगदान पुर्याएका भए पनि अर्का पात्र शशी थापाको भने व्यथितको नाम जोडिएको सम्मान पाउने कुनै हैसियत देखिँदैन । तर, साहित्यको खेतीपातीमा रमाउनेहरूले गैरकविलाई दिनु उचित ठान्छ भने कसको के लाग्छ र ?
हुन त, सम्मान गर्नेको मात्र दोष रहँदैन । सम्मान थाप्नेहरूले पनि आफूले कुनै क्षेत्र वा विधामा योगदान गरेको छैन भने सहज रूपमा त्यही क्षेत्रसँग जोडिएको सम्मान वा पुरस्कार लिन अस्वीकार गर्नु बुद्धिमानी हुने देखिन्थ्यो । तर, आफूलाई पुरस्कृत गरिँदा वा सम्मान गरिँदा आफंैले खर्च गर्ने प्रवृत्तिका साहित्य–सर्जकहरूको बाहुल्य रहुन्जेलसम्म यस्तो अपेक्षा राख्नु मूर्खतासिवाय केही हुँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply