सुवासको गम्भीरता
पञ्चायती व्यवस्थाको उत्कर्षका दिनहरू थिए ती । विराटनगरबाट तत्कालीन व्यवस्थाका कथित खम्बाहरू पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाडांैसम्मको यात्रा तय गर्दै थिए । त्यही क्रममा एक जनाले सोधेछन्– ‘हामी खाना कहाँ खान्छौं ?’
अर्कोले तत्काल जवाफ दिएछन्–‘लालगढमा खाऔं । त्यहाँको खाना मीठो हुन्छ ।’ ‘लालगढ’ शब्दले पञ्चायती व्यवस्थाको उपल्लो तहमै रहेका प्रश्न गर्ने व्यक्ति झस्किएछन् । तत्कालीन समयावधिमा ‘लाल’ शब्द तात्कालिक शासकहरूका निम्ति पूर्णतया वर्जित थियो । त्यो शब्दले पूर्ण रूपमा ‘कम्युनिस्ट’को संकेत गर्दथ्यो । कतै कम्युनिस्टहरूले कुनै ‘एक्सन’ लिँदा त्यसलाई लालआतंकको संज्ञा दिइन्थ्यो । र, तत्कालीन शासकहरूलाई ‘लाल’ शब्द सुपाच्य थिएन । उनीहरू त्यो शब्ददेखि नै त्रसित हुन्थे । त्यही क्रममा ती शासकले भने रे– ‘यो ठाउँको नाम बदल्नुपर्यो । यस्तो नाम राख्न दिनु भएन ।’
रातु नदीको किनारमै उभिएको र चुरेको फेदमै बसेको पूर्व–पश्चिम राजमार्गको रमणीय सानो बजार हो, लालगढ । त्यही लालगढकै लाल–विचार बोक्नेहरूको सानिध्यमा हुर्किएका सुवास गजुरेल समयक्रममा नेपाली कला–संसारमा रमाउन पुगे । हुन पनि, लालगढ एउटा यस्तो थलो हो, जहाँ कम्युनिस्ट राजनीतिमा रमाउनेहरूकै बाहुल्य रह्यो । पञ्चायतकालदेखि अहिलेसम्म नै । स्थानीय रामप्रसाद गजुरेल, डीपी गजुरेल, नारायणविक्रम थापाहरू त आजादका सहपाठी र चेलाचपेटाहरू नै भए । सिंगो बस्ती नै कम्युनिस्ट आन्दोलनको पक्षमा उभिएपछि सानैदेखि कलाकारितामा नै भविष्य खोज्ने क्रममा जुटेका गजुरेललाई त्यसको प्रभाव पर्नु अस्वाभाविक
पनि थिएन ।
प्राय: उनी मधेसी चरित्र निर्वाह गर्छन् । कुनै चलचित्रमा होस्, टेलि–चलचित्रहरूमा होस् वा रंगमञ्चमा नै किन नहोस् । उनलाई सुहाउने भूमिका नै मधेसको निम्न स्तरको जनताको रहँदै आएको छ । एउटा कलाकारले जुनसुकै भूमिकामा आफूलाई उभ्याउनुपर्छ । त्यसैले त उनी कहिले आलु–प्याज बेच्न अग्रसर हुन्छन् भने कहिले चुरा–पोते बेच्न तम्सिन्छन् । अहिले नेपाली कलाकारिता क्षेत्रमा उनको छवि नै ‘मधेसी’ चरित्रको रूपमा छाएको छ । उनी भन्छन्– ‘मैले मधेसी चरित्रमा खेल्दा मेरो अभिनय जम्न थालेपछि प्राय: सबैले मलाई त्यही भूमिकामा खेलाउन थाले ।’ त्यसो त, अभिनयमा जहाँ जस्तो भूमिका प्राप्त हुन्छ, त्यही निर्वाह गर्नु एउटा कलाकारको दायित्व रहेको पनि उनी बताउँछन् ।
०१८ सालमा धनुषाको इच्छापुरमा जन्मिए पनि उनको बाल्य र किशोरकालीन दिनहरू भने लालगढमै बित्यो । लालगढमै छँदा उनले कला क्षेत्र रोजिसकेका थिए । खासगरी, दसैँ–तिहारजस्ता पर्वहरूमा गाउँमा सांस्कृतिक कार्यक्रम देखाइने गरिन्थ्यो । गाउँका अगुवाहरूले सामाजिक चेतना विस्तार गर्ने मनसायले तत्कालीन शासकहरूको कडा निगरानी रहे पनि र जोखिम मोलेरै भए पनि नाटक देखाउन पछि हट्दैनथे । त्यही क्रममा उनमा पनि कला क्षेत्रमा रस बस्न गयो । स्थानीय स्तरमा कला क्षेत्रमा जम्दाजम्दै उनले अझ फराकिलो बाटो समात्ने मनसायले ०३७ सालमा काठमाडौंको यात्रा तय गरे । भन्छन्–‘म ०३७ सालदेखि काठमाडौंको रंगमञ्चमा क्रियाशील भएँ । रंगमञ्चमा खेल्दाखेल्दै टेलि–चलचित्र र ठूला पर्दाका चलचित्रहरूमा पनि मैले अभिनय र निर्देशन गर्न थालेँ ।’
देख्नेहरूले उनलाई अलि हल्काफुल्का, विशुद्ध मनोरञ्जन मात्र पस्किने हास्य–टेलिसिरियलहरूमा खेल्ने कलाकारका रूपमा लिन्छन् । हुन पनि उनले त्यस्तै जनछवि बनाएका छन् । तर, गम्भीर र अर्थपूर्ण विषयमा उनले थुप्रै चलचित्रहरू निर्देशन गरेको पक्ष अझै पनि ओझेलमै परिरहेको छ जस्तो लाग्छ । उनी भन्छन् पनि– ‘मेरो रुचि त गम्भीर विषयवस्तुका चलचित्रहरू निर्देशन गर्नु नै हो, जसले समाजलाई केही दिन सकोस् ।’ गम्भीर विषयवस्तु छनोटकै क्रममा उनले लीलबहादुर क्षेत्रीको चर्चित उपन्यास ‘बसाइँ’ लाई ठूलो पर्दामा उतारिसकेका छन् । भलै, व्यावसायिक रूपमा त्यो चलचित्रले ‘डिस्टिङ्सन’ ल्याउन सकेन । तर, नेपाली समाजको एउटा तीतो पक्षलाई अक्षरहरूबाट निकालेर पर्दामा ल्याउन उनले नै भूमिका खेल्नु पर्यो । ‘बसाइँ’ पछि उनले अब हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’ माथि पनि काम थाल्ने सुरसार कस्दैछन् । करिब ०१२/१३ सालतिरको काठमाडौंको नेवारी समाजको कथा रहेको ‘एक चिहान’लाई पर्दामा उतार्न चुनौतीको विषय त हुँदै हो, तर उनी चुनौतीबाट पछि हट्ने पक्षमा छैनन् । उनी भन्छन्– ‘उक्त कृतिले समयकाललाई जसरी बोध गराएको छ, त्यसलाई नै उतार्नेछु ।’ किन पुराना कृतिहरूमा नै चलचित्र बनाइरहनुभएको हो ? उनको कथन छ– ‘नयाँ कृति नपाइने त होइन तर जनमानसमा भिजिसकेका कृतिहरूमाथि फिल्मांकन गर्दा व्यावसायिक रूपले फाइदा होला भन्ने उद्देश्य रहन्छ नै । साथै, पुराना कृतिहरू हाम्रा धरोहर हुन्, त्यसलाई आउँदा पिँढीले हेरून् भन्ने मेरो चाहना पनि हो ।’
किन पुस्तकहरू–माथि नै चलचित्र बनाइरहनुभएको छ ? उनी भन्छन्– ‘कुनै पनि कृति र मौलिक कथामाथि बनेका चलचित्रहरू दिगो हुन्छन् । अरू विषयका फिल्म बन्छन् र सकिन्छन् । तर, चर्चित कृतिहरूमाथि बनेका चलचित्रहरू लामो समयसम्म टिक्नुका साथै राष्ट्रको सम्पत्तिको रूपमा पनि दर्ज हुन पुग्छन् ।’ नेपाली समाजकै चरित्र उजागर गर्ने छोटा चलचित्रहरू पनि उनले बनाउँदै आइरहेका छन् । र, उनले निर्देशन गरेका चार वटा छोटा चलचित्रहरू विगत चार वर्षदेखि मस्कोमा हुने डिटेक्टिभ फेस्टमा प्रदर्शनसमेत हुँदै आइरहेको छ । यो वर्ष प्रख्यात कथाकार रमेश विकलको कथा ‘मधुमालतीको कथा’मा आधारित रहेर उनले बनाएको सोही शीर्षकको चलचित्र मस्कोमा प्रदर्शन हुने क्रममा रहेको छ । यसअघि, उनका ‘यसरी नै आरु फुल्छ’, ‘हरेरामकी आमा’ र ‘छिमेकी’ उक्त फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेका छन् । यस पटक छनोट भएको ‘मधुमालतीको कथा’लाई फिल्मांकन गर्नुको उद्देश्य खुलाउँदै उनले भने– ‘यसमा नेपाली समाजको यथार्थ चित्रण छ । मानिसहरू जन्मिँदै धनी र गरिब हुँदैनन्, हाम्रो समाजले नै त्यस्तो परिस्थिति सिर्जना गरेको हो भन्ने कुरा यो फिल्मले देखाउन खोजेको छ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply