बिरामी जाजरकोट र रमिते सरकार
सत्रौं शताब्दीको एकदिन रोम सहर जलेर नष्ट हुँदै थियो । धुवाँ, आतंक र कोलाहलले जनजीवन अस्तव्यस्त बनिरहेको बेला राजा निरोलाई उनका पालेले जानकारी गराए । तर, उनले सहर जलेको कुनै मतलब नराखी आफ्नो संगीत कोठामा बाँसुरी बजाएर आनन्द लिइरहेका थिए । उनलाई देश र जनताभन्दा बाँसुरी प्यारो भयो । सहर जलेर खरानी बन्न लागेको कुराले रोमका राजा निरोलाई त्यतिबेला नछोएजस्तै उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका जनताप्रति सरकार सम्वेदनशील नबन्दा सत्ता स्वार्थ, आरोप–प्रत्यारोप र दोषारोपणको दोहोरीमा रमाइरहेको सरकार र नेताहरुलाई रोमको त्यस घटनासँग दाँज्न मिल्ने कि नमिल्ने ? यो प्रश्न यतिबेला अनुत्तरित बन्न पुगेको छ ।
मुलुक यतिबेला इतिहासकै संवेदनशील मोडमा उभिएको छ । हत्या, हिंसा, लुटपाट, अपहरण, बलात्कारजस्ता घटनाहरू दिनहुँ समाचार बन्ने गरेका छन् । दलहरूबीचको आपसी घृणा, अविश्वास, कटुता झन् बढिरहेको छ । राजनीतिक नेताहरूका बीचमा विश्वासको वातावरण निर्माण गरी लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान निर्माणमा आफ्नो समग्र ध्यान केन्द्रित गर्नुपर्नेमा नेताहरू परस्पर विरोधाभासपूर्ण क्रियाकलापमा सीमित छन् । त्यसैले दोस्रो संविधानसभाबाट पनि कतै संविधान नबन्ने र धमिलो पानीमा माछा मारेर त्यसबाट फाइदा उठाउन खोज्ने तत्त्वलाई फाइदा पुग्ने त होइन भन्ने चिन्ता उत्पन्न भएको छ ।
नेपाली जनताले के मानेनन् ? नेताले जे भने, त्यही माने र त्यही गरे । नेताले मुक्तिका लागि बलिदान गर्नुपर्यो भने, जनताले बलिदान गरे । नेताले सामन्ती राजतन्त्रलाई फाल्नुपर्यो भने, लाखौं जनता सडकमा उत्रिए । जनताकै साथ, समर्थन र बलिदानले ठूलो राजनीतिक परिवर्तन भयो । तर, राजनीतिक परिवर्तन भएको यति लामो समय हुँदा पनि जनताको एजेन्डा सम्बोधन भएन । जनताले लोकतन्त्रको अनुभूति गर्न पाएनन् । जनताको बुझाइमा लोकतन्त्रले शिक्षा, स्वास्थ्य र रोजगारलाई राज्यको जिम्मेवारीमा पार्छ भन्ने थियो । रोग, शोक, भोक र गरिबीले थिचिएका जनताले अब लोकतन्त्रको अनुभूति गर्न पाउँछौं भन्ने आशा गरेका थिए । तर, यतिका बर्षलाई नियाल्दा त्यो बुझाइ गलत बुझाइ रहेछ भन्ने छाप जनतामा परेको छ । दलहरुले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संघीयतासहितको संविधान जारी गर्ने प्रतिबद्धता त पूरा गर्न सकेनन् नै, उपचार नपाएर छट्पटिइरहेका जनतालाई राज्यको दायित्वभित्र पर्ने स्वास्थ्य सेवासमेत पुर्याउन सकेनन् । यस्तो अवस्थामा उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी जनअपेक्षाबमोजिमको संविधान ल्याउँछन् भनेर कसरी विश्वास गर्ने ? हामीले धेरै पटक क्रान्तिका विराट स्वरूप देखिसकेका छौं । प्रत्येक क्रान्ति र आन्दोलनहरूमा नेतृत्वलाई साथ दिँदै जनता बलिबेदीमा चढ्न पछि परेका छैनन् । जनताकै साहसिक साथ र समर्पणले निरंकुशताका अनेक जन्जिरहरु तोडिएका छन् । र, धेरै पटक जनताले खुसीयाली पनि मनाएका छन् । तर, जनताका सपना कहिल्यै खुसीमा परिणत हुन सकेनन् । जनतालाई नेताहरू जिम्मेवार नभएको भान परिरहेको छ । किनकि, नेताहरू जनताको सुख–दु:खको साथी बन्न सकेनन् भन्ने कुरा जाजरकोटमा देखाएको गैरजिम्मेवारीपनाबाट पनि थाहा पाउन सकिन्छ । डाक्टर नपुगेर बिरामीको उपचार कार्यालय सहयोगीले गर्नुपर्ने र समयमा औषधि, जनशक्ति पुर्याउन नसकेर जनताले जीवन गुमाउनुपर्ने अवस्थालाई विडम्बनापूर्ण भनेर मात्र पुग्दैन । उपचार नपाएर छट्पटिइरहेका हजारौं बिरामीप्रति सरकार संवेदनशील बन्न सेकेको छैन ।
नेतृत्वको कुशलता, राष्ट्रिय स्वार्थ, जनताको स्वार्थ र लोकतान्त्रिक मूल्य, मान्यताप्रतिको बफादारीता हो । त्यो इमानदारी नेताहरूले देखाउन सक्नुपर्छ । यतिबेला नेतृत्वले बुझ्नुपर्ने कुरा के हो भने यो लुछाचुँडी गर्ने समय होइन । गरिबी र रोगले थलिएका जनतालाई यसरी नै बेवास्ता गर्दै जाने हो भने भोलिका दिनमा जनताको विश्वास पाउने आधार के बन्न सक्छ ? जनताको विश्वास भएन भने महान् दार्शनिक कन्फ्युसियसले भनेझै हुनेछ । एक पटक कन्फ्युसियसलाई उनका एक जना शिष्यले प्रश्न गरे– ‘गुरु, शासन सत्तालाई कुन तरिकाले प्रभावकारी बनाउन सकिन्छ ?’ कन्फ्युसियसले तत्काल उत्तर दिए– ‘अस्त्र, शस्त्र र जनताको विश्वास जितेर ।’ शिष्यलाई यो उत्तरले सन्तुष्टि मिलेन । उनले फेरि प्रश्न गरे– ‘यीमध्ये यदि एउटालाई त्याग्नुपर्यो भने ?’ कन्फ्युसियसले उत्तर दिए– ‘शस्त्र ।’ शिष्यले फेरि सोधे– ‘बाँकी रहेका दुईमध्ये एकलाई छाड्नुपर्यो भने कुनलाई छाड्न उपयुक्त हुन्छ ?’ कन्फ्युसियसले गम्भीरतापूर्वक विचार गर्दै भने– ‘त्यस अवस्थामा अस्त्र त्याग्नुपर्छ ।’ शिष्यले अर्को प्रश्न गरे– ‘यदि जनताको विश्वास त्यागिदियो भने के हुन्छ ?’ शिष्यलाई सम्झाउँदै कन्फ्युसियसले भने– ‘याद राख कुनै पनि शासन अस्त्र र शस्त्रको अभावमा चल्न सक्छ तर जनताको विश्वास समाप्त भएको खण्डमा सम्पूर्ण रूपमा ध्वस्त हुन्छ ।’ हो, आवश्यक पर्दा जनताको काँध चढ्ने तर जनतालाई दु:ख पर्दा जनताको साथी बन्न नसक्नेहरू कसरी जनताको सच्चा नेता बन्न सक्छन् ? जाजरकोटको घटनामा सरकार र नेताहरू संवेदनशील र जिम्मेवार नभएको पक्कै हो । हजारौं मान्छे कारण छट्पटाइरहेका छन् । स्वास्थ्यकर्मी भएनन्, कार्यालय सहयोगीहरूको भरमा उपचार भइरहेका समाचारहरू आउनु दुर्भाग्य हो । महामारी फैलिएको तीन हप्ता पुग्दा बल्ल सरकारको आँखा खुल्न थालेको छ । त्यसभन्दा दुर्भाग्य अरु के हुनसक्छ ?
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply