सिँढी नाप्दै शिखरतिर
सुदूर वस्तीहरूले काठमाडौंको उपेक्षा पहिल्यैदेखि नै भोग्दै आएका छन् । जाजरकोटले अहिले भोगिरहेको उपेक्षा त्यसैको निरन्तरता हो भन्दा फरक नपर्ला । सिंहदरबारको सानदार कुर्सीमा बस्नेहरू दूरदराजका जनताको बिग्रँदो स्वास्थ्य स्थिति र महामारीप्रति गम्भीर छैनन् भन्ने दृष्टान्त जाजरकोटका रोगग्रस्त जनता र तिनीहरूले सँगालिरहेका पीडाका दर्दनाक तस्बिरहरूलाई हेरे पुग्छ ।
अहिले जाजरकोटमा स्वाइन फ्लूको प्रकोप जुन अनुपातमा फैलिइरहेको छ र दिनहुँ मृत्युका भयावह समाचारहरू आउने क्रम चलिरहेको छ, अल्का हस्पिटल प्रा.लि.का अध्यक्ष कुमार थापाको हृदयलाई पनि यसले बिथोलिरहेको छ । उपत्यकाभित्र सुविधासम्पन्न अस्पताल सञ्चालन गरेर बसिरहेका उनलाई जाजरकोटमा चिकित्सकहरूको टोली पठाउन मन नलागेको होइन । तर, त्यस्तो वातावरण नै नभएको उनी बताउँछन् । भन्छन्– ‘स्वाइन फ्लूको परीक्षण गर्ने र त्यसको औषधि सरकारसँग मात्र रहेको हुँदा हामीले जाजरकोटमा चिकित्सकहरूको टोली पठाउनुको औचित्य हुँदैन ।’
०६५ सालमा जाजरकोटमै झाडापखालाको प्रकोप हुँदा चाहिँ अल्काले १९ जना चिकित्सकसहितको टोली त्यहाँ पठाएको थियो । उक्त टोलीले जाजरकोटका झाडापखाला प्रभावित क्षेत्रहरूमा उल्लेख्य सेवा पुर्याएको थियो । सामाजिक उत्तरदायित्वबिना कुनै पनि संस्थाले आफ्नो औचित्य र उपस्थितिप्रति गर्व गर्न नसक्ने हुँदा अल्काले देशको कुनै भू–भागमा स्वास्थ्यसम्बन्धी विपत्ति उत्पन्न आइपर्दा अग्रसरता देखाउने गरेको छ । यसअघि कोसीको बाँध फुटेर सुनसरीका जनताले कहर भोगेका बेला अल्काले चिकित्सकहरूको टोली पठाएर स्वास्थ्य सेवा दिएको थियो । अध्यक्ष थापा भन्छन्– ‘निजी क्षेत्रका अस्पतालहरूले राम्रो काम गरिरहेको भए पनि सरकारले भने हामीलाई राम्रो दृष्टिबाट हेरिरहेको छैन ।’ उनको दाबी छ– ‘नेपालको स्वास्थ्य समस्या सुल्झाउने जिम्मा निजी क्षेत्रलाई दिने हो भने अहिले स्वास्थ्य क्षेत्रमा सरकारले जति लगानी गरिरहेको छ, त्यति गर्नै पर्दैन ।’
ललितपुरको जाउलाखेलमा आठ वर्षदेखि अल्का हस्पिटल सञ्चालन गर्दै आइरहेका थापाको स्वास्थ्य क्षेत्रसँगको सम्बन्ध अनौठो रूपले गाँसिएको छ । उनले अहिले जुन अस्पताल सञ्चालन गरिरहेका छन्, यसलाई उनले एउटा–एउटा सिँढी उक्लेर शिखरसम्मको यात्रा तय गरेको हो भन्न सकिन्छ । ०३६ सालमा एघार वर्षको उमेरमा हिँड्दै गर्दा काभ्रेको पनौतीबाट आफ्ना सानो बुबासँग काठमाडौं छिरेका उनले सानैदेखि औषधिका चक्की र डिब्बाहरूसँग परिचित हुने औसर पाए । उनी सम्झिन्छन्– ‘काठमाडौंको पानीपोखरीमा सानो बुबाको औषधि पसल थियो । त्यही पसलमा बसेर अध्ययनलाई अगाडि बढाउँदै जाँदा मैले औषधिसम्बन्धी काम सिक्दै गएँ ।’ चार वर्षसम्म सानो बुबासँग बसेर औषधि व्यवसायबारे आधारभूत ज्ञान प्राप्त गरेपछि उनले ठँहिटी, गावहालमा रहेको विकास मेडिसिन डिस्टिब्युटर्समा काम गर्न थाले । त्यो औषधिहरूको होलसेल पसल थियो ।
औषधि व्यापारमा करिब एक दशकजति अनुभव बटुलेपछि थापाले ०४५ सालमा जाउलाखेलमा रहेको हर्गन्स नर्सिङ होममा फार्मेसी स्थापना गरेर औषधि व्यवसायमा हात हाले । त्यतिन्जेलसम्म आफूले कमाएको र सरसापट गरेर प्राप्त भएको ३ लाख ७५ हजार रुपियाँ लगानी गरी उक्त फार्मेसी सञ्चालन गरेका थिए । ०५० सालसम्म उक्त फार्मेसी चलाएका थापाले ०५१ सालमा आफ्नै छोरीका नामबाट अल्का फार्मेसी सञ्चालन गर्न थाले । भन्छन्– ‘फार्मेसीलाई सञ्चालन गर्दै लैजाने सोच थियो ममा । त्यही क्रममा ०५७ सालमा अल्का पोलिक्लिनिक सुरु गरेँ ।’ त्यही क्रममा, चितवनमा समेत आफ्नो व्यवसाय विस्तार गर्ने सोचअनुरूप ०५९ सालमा ओम अस्पताल र त्यसको एक वर्षपछि चितवनमै चितवन अस्पताल सञ्चालन गरे । तर, ती दुवै अस्पतालको सेयर भने उनले ०६५ सालमा बेचे । ०६३ सालमा जाउलाखेलमा स्थापना गरेको अल्का हस्पिटलमा थप लगानी गर्नुपर्ने भएको हुँदा चितवनका दुई अस्पतालको सेयर बिक्री गरेको थापा बताउँछन् ।
आठ वर्षअघि ३ करोड ७५ लाख रुपियाँ लगानीमा सुरुवात गरेको अल्काको अहिले वार्षिक कारोबार ३५/३६ करोड छ । थापा भन्छन्– ‘हामीले सरकारलाई बर्सेनि ५/६ करोड त कर नै तिरिरहेका छौं ।’ थापाको एक्लो लगानीमा सञ्चालित उक्त अस्पताल सुरु गर्दा ३० जना चिकित्सक थिए । तर अहिले भने ७० जना विशेषज्ञ चिकित्सक र ४० जना मेडिकल अफिसरहरू छन् भने ४ सय ५० जना कर्मचारी छन् । आफूले सुरुदेखि नै औषधि व्यवसाय रोजेको र आफ्नी पत्नी पनि स्वास्थ्यकर्मी भएकाले अस्पताल सञ्चालन गरेर सेवामूलक व्यवसाय विस्तार गर्ने सोचअनुरुप नै अल्काको जन्म भएको थापा बताउँछन् ।
अस्पतालको सुरुआतमा ५५ बेड रहेकोमा अहिले विस्तार भएर १ सय बेड पुगेको छ । थापा भन्छन्– ‘हामीले अहिले मुटुको अप्रेसनबाहेक अरू सबै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेका छौं ।’ त्यसो त अल्काले नै अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) पनि ०६५ सालदेखि सञ्चालन गर्दै आइरहेको छ । उक्त इन्स्टिच्युटमा पिसिएल नर्सिङ ४० जना र ब्याचलर अफ नर्सिङ ४० जनाले अध्ययन गर्दै आइरहेका छन् ।
अल्काले सेवा विस्तारकै क्रममा केही महिनाभित्रै टेस्टट्युब बेवी (आइभीएफ) को पनि सुरुआत गर्न लागिरहेको छ । थापा भन्छन्– ‘नेपालमा टेस्टट्युब बेवीको बजार देखेर नै हामीले यो सेवा सुरु गर्न लागेका हौं ।’ ०६५ सालमा नै यो सेवा सुरु गर्न लागे पनि अहिले आएर मात्र मूर्त रूप लिन लागेको थापा बताउँछन् । सरकारी र निजी क्षेत्रका अरू अस्पतालहरूले पनि टेस्टट्युब बेवीको सुरुआत गरेको बताउँदै थापा भन्छन्– ‘हाम्रो सेवा सुरुका दिनमा अरू अस्पतालकै जस्तै खर्चिलो हुने भए पनि पछि गएर सस्तो हुन्छ ।’ अल्कामै कार्यरत चिकित्सक डा.नूतन शर्माले अमेरिका र भारतबाट टेस्टट्युब बेवीसम्बन्धी विशेष अध्ययन र तालिम लिएर आएकाले अरू अस्पतालको तुलनामा केही सस्तो पर्ने थापा बताउँछन् । उनी भन्छन्– ‘हामी असारबाट नै टेस्टट्युब बेवी सेवा सुरु गर्दैछौं ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply