केही रोचक केही घोचक
यसपटक केही रमाइला साहित्यिक–सन्दर्भहरू पस्किन उपयुक्त ठानेको छु । जुन, मेरो जीवन–यात्राका क्रममा घटेका हुन् । मलाई आशा छ, यी सन्दर्भहरूले पक्कै पनि रोचकता थप्नेछ ।
१. चोरी
नेपाल साहित्यिक पत्रकार संघको दोस्रो अधिवेशनको क्रममा अध्यक्ष रोचक घिमिरे, महासचिव मोहन दुवाल, सचिव चेतनाथ धमला र म सहयोग संकलन गर्न हिँडिरहेका थियौं ।
मैले रोचक दाइतिर फर्किदै सोधेँ– ‘दाइ, तपाईंको घर त मन्थली हो नि, हैन र ?’
‘हो ।’ रोचक दाइले भन्नुभयो ।
‘त्यहाँ सोमनाथ घिमिरे ‘व्यास’ नाम गरेका एक जना कवि पनि थिए नि । हैन र ?’ मैले सोधेँ ।
‘हो ।’ उहाँले भन्नुभयो ।
‘एक पटक छोरीलाई अर्ति नामक किताब उनले चोरेका भनेर खुबै चर्चा भयो । त्यो कृति हाम्रै सिन्धुलीका नीलहरि ढकालले लेखेका रहेछन् । पछि त्यस विषयमा निर्मोही व्यासले एउटा लेख नै लेख्नुभयो । तपाई ती कविलाई
चिन्नुहुन्छ ?’ मैले सोधेँ ।
‘सोमनाथ त मेरो बुबा हो नि ।’ रोचक दाइले भन्नुभयो ।
म अवाक् भएँ । त्यसपछि मेरो बोली नै फुटेन ।
२.लेखक भट्काउने गोतामे
त्यतिबेला अर्थात् ०५४/५५ सालतिर म ‘हिमालय टाइम्स’ दैनिकमा नियमित व्यंग्य लेख्थें । पुतलीसडकको कुमारी क्याफेमा त्यसका सम्पादक किशोर नेपाललाई भेटेपछि उनले नियमित रूपमा लेख्न सुझाएपछि लेख्न थालेको थिएँ ।
एक दिन म हिमालय टाइम्समा पारिश्रमिक लिन गएको थिएँ । मजस्तै अरू लेखकहरू पनि पारिश्रमिक लिन कुरेर बसिरहेका थिए । त्यही बेला एक जना अधबैंसे व्यक्ति त्यहाँ देखा परे । एक जनाले नमस्कार ठोकिहाले ।
‘किन आउनुभयो ?’ ती व्यक्तिले सोधे ।
‘पारिश्रमिक लिन ।’ नमस्ते गर्नेले भने ।
‘के पैसा दिन्छ र यो पत्रिकाले ? दिए पनि टाइममा दिँदैन । यस्तो पत्रिकामा के लेख्नु हुन्छ ? नलेख्नुस् । बेकारमा झन्झट ।’
पछि थाहा पाएँ, त्यसरी लेखकहरूलाई भट्काउने व्यक्ति त व्यंग्यकार श्याम गोतामे रहेछन् । तर, अरूलाई भट्काए पनि उनी चाहिँ त्यही पत्रिकामा कार्यरत थिए त्यतिबेला ।
३.दृष्टिभ्रम
जलेश्वरी श्रेष्ठको उपन्यास ‘नियति चक्र’को विमोचन भव्य थियो । विदेशी ह्विस्कीको चुस्कीसँगै सबै जना रमाइरहेका थिए, होटल र्याडिसनमा ।
केही पर उभिइरहेका एक जना व्यक्तिलाई हरि अधिकारीले आफूतिरै तानेर ल्याए । मनोज सार्थकले धमाधम फोटो खिच्न थाले ।
‘दाइ, नमस्कार ।’
‘अँ, नमस्कार ।’ ह्विस्कीको गिलास उचाल्दै उनले भने ।
‘तपाईका शृंखलाबद्ध कथाहरू सीताहरू र घर मलाई अत्यन्तै राम्रा लागे ।’
मेरो कुरा सुन्न छाडेर उनले अन्तै टाउको बटारे ।
म त्यतिबेला झल्यास्स भएँ, मैले कथाकार परशु प्रधान ठानेका ती व्यक्ति त नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्य–सचिव सनत रेग्मी पो रहेछन् ।
४. त्यस दिन
०५७/५८ सालतिरको कुरा हो । लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, मनोज गजुरेल, विमल भौकाजी र मलाई एउटा सनकले गाजेको थियो । हामीले आफ्नै खल्ती रित्याएरै भए पनि संयुक्त रूपमा व्यंग्य संग्रह निकाल्ने निधो गर्यौं । डा.माधव पोखरेललाई भूमिका पनि लेख्न लगायौं । त्यही किताब निकाल्ने मेसोमा गाम्नागेजीले तीलगंगामा भर्खरै निर्माण गरेका घरमा हामी भेला भएका थियौं ।
गाम्नागेजीको घर बाहिर कुर्सीमा पत्रिका पढ्दै प्रेमर्षि बसिरहेका बेला नजिकै एउटी महिला सानो बच्चा च्याप्दै उभिइरहेकी थिइन् । ती महिलाले प्रेमर्षिलाई नमस्कार गरिन् ।
‘ए, सञ्चै हुनुहुन्छ ?’ प्रेमर्षिले ती महिलालाई सोधे ।
‘अँ, सञ्चै ।’
‘अनि, अरू सबै ठिकै छ नि हैन ? घरमा सबैलाई आराम नै छ नि, हैन र ?’ प्रेमर्षिले भने ।
‘हो, सबैलाई आराम नै छ ।’ ती महिलाले भनिन् ।
‘अनि, तपाईं पनि यतैतिर बस्नुहुन्छ ?’ प्रेमर्षिले भने ।
ती महिला हाँसिन् र भनिन्– ‘मेरो घर नै यही त हो नि ।’ प्रेमर्षि मरिमरि हाँसे । ती महिला गाम्नागेजीकै श्रीमती थिइन् र प्रेमर्षिसहित हामी उनकै घरमा पाहुना लाग्न गएका थियौं, त्यस दिन ।
५.कम्प्लिमेन्ट्री
०६९ चैत २२ गते । दरबारमार्गमा ‘भेला’ नामक गजल रेस्टुरेन्टको शुभारम्भ थियो । नवगायक आलोक गुर्मछानले त्यहाँ गाउँदै थिए । हामी उद्घाटन भइसकेपछि त्यहाँ पुगेका थियौं । रेस्टुरेन्टको मेनु महँगो थियो, त्यही भएर एक प्लेट फ्रेन्च फ्राइ मगायौं ।
हामी खानपिन गर्दै र गजल सुन्दै बसिरहेका थियौं । त्यही बेला हाम्रो टेबुलमा नमगाइएको परिकारहरूले भरिएको थाली आइपुग्यो ।
‘ए, ए, यो त हामीले मगाएकै थिएनौं । कसरी आइपुग्यो ?’ बजेट चुलिने चिन्तासहित मैले भनेँ ।
‘हैन, आज उद्घाटन भएको हुँदा यो तपाईहरूको निम्ति कम्प्लिमेन्ट्रीस्वरूप आएको हो ।’
मलाई पनि ठट्टा गर्न मन लाग्यो र ती भाइतिर फर्किदै भनेँ– ‘भाइ, हामीले यो कम्प्लिमेन्ट्री भन्ने चिजको त अर्डर नै गरेका थिएनौं, कसरी आइपुग्यो ?’
ती भाइ बेस्सरी हाँसे ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply