दोलखा डायरी
राहतको यथार्थ
काठमाडौं–चरिकोट सडक खण्डमै पर्छ, बोच । वर्षात्का दिनहरूमा सधैँभरि कुहिरोले छोपिरहने यो गाउँका भिराला बाटाहरू टेक्दै ओरालो झरिरहँदा सेतै कपाल फुलेका र दाँत पनि पूर्णतया झरिसकेका एक वृद्धले आफ्नो खल्तीबाट एउटा फ्रुटी र एउटा बिस्कुट निकाल्दै भने– ‘आज कोदो रोप्ने भनिएको थियो । तर, राहत दिँदैछ भनेपछि राहत लिन आइयो । राहत त यस्ता चिज पो रहेछन् ।’ राहतको नाममा आफू ठगिएकोमा कुनै चिन्ता नलिई उनी भनिरहेका थिए– ‘खै, कुन संस्थाले साबुन पानीले हात धुने कार्यक्रम राखेका रहेछ, पहिला नै मेरो पालो आयो, मैले त मज्जाले साबुन–पानीले हात धोइदिएँ ।’
भुइँचालोले पूरै क्षति तुल्याएको दोलखाका गाउँबस्तीहरूका जनतालाई अचेल यस्तै दैनिकीले अँगालो मारेको छ । उनीहरू आफ्ना दैनिक कामलाई बेबास्ताको सूचीमा चढाएर कतै राहत पाइन्छ कि भनेर नित्य रुपमा दौडिरहेका छन् । भेड्पूका एक जना बुजु्रक भन्दै थिए– ‘यो बेला कोदो रोप्नुपर्ने बेला हो । तर, मानिसहरू राहतका निम्ति दौडिरहेका छन् र कोदो रोप्ने काम नै भइरहेको छैन ।’
चरिकोट बजार अझै ब्यँुझिन सकेको छैन । वैशाख २९ को भूकम्पको केन्द्रविन्दु नजिकैको सुनखानीमा परेको थियो । र, नजिकैको केन्द्रविन्दुले आफ्नो नियमअनुसार चरिकोट बजारलाई मात्र होइन, पूरै दोलखा जिल्लालाई पूरै क्षतिग्रस्त तुल्यायो । दोलखालाई भूकम्पले शतप्रतिशत रूपमा बिथोलेको करिब एक महिनाभन्दा केही दिनपछि नै चरिकोट बजारमा पाइला टेक्दा यस्तो आभास भयो, त्रासबीच पनि मानिसहरू तंग्रिने प्रयत्न गर्दैछन् । पाल वा जस्ताले छाएका घरमुनि बसिरहेका भए पनि मानिसहरु सामान्य जनजीवनमा फर्किने प्रयत्नमा निमग्न छन् । तर, चरिकोट गएको पहिलो दिन नै स्थानीय मानिसहरूमा व्याप्त त्रासको एउटा पक्ष उद्घाटित भयो । चरिकोट बजारको होटल क्षेत्र मानिने चरिध्याङका सम्पूर्णजसो होटलहरू ध्वस्त भए पनि बीच बजार र पशुपति डाँडातिरका केही होटलहरू भने चर्किएका भए पनि आंशिक सद्धे देखिए । होटल फागुपूर्णिमामा रात बिताउने निधोस्वरूप छिर्दा होटलका साहुलाई सोध्यौं–‘तपाईहरू पनि यही बस्नुहुन्छ ?’
ती साहुले इमानदारीपूर्वक भने– ‘हैन, हामी त ऊ त्यो बारीमा टाँगिएको पालमुनि सुत्छौं ।’ सबैको स्थिति त्यस्तै रहेछ । स्थानीय व्यवसायी सविना मानन्धर श्रेष्ठ भन्दै थिइन्– ‘हामी त अहिलेसम्म पनि पालमुनि नै सुतिरहेका छौं ।’ हुन पनि, दोलखा जिल्लालाई भूकम्पले यति धेरै क्षति पुर्याएको रहेछ, जिल्लाका साठी हजारमध्ये उनान्साठी हजार घर ध्वस्त भएका रहेछन् । गाउँका कुनै पनि घर सद्दे अवस्थामा थिएनन् । कुनै पूरै भत्किएका थिए भने कुनै चर्किएर बस्न सक्ने स्थितिमा नै थिएनन् ।
मेलुङका अन्तिम यात्री
दोलखाको विकट गाउँ भेड्पू हाम्रो पछिल्लो गन्तव्यस्थल थियो । तर, भेड्पू पुग्न धेरै नै माथापच्ची गर्नुपर्यो । हामीले मुडेबाट देउराली हुँदै भैंसेसम्म पुग्ने र त्यहाँबाट भेड्पूसम्म हिँडेर नै यात्रा पूरा गर्ने सोचेका थियौं । तर, आहाल डाँडामा होटल थापेर बसेका कृष्णकुमार श्रेष्ठले देउरालीसम्म मात्रै बस जाने बताएपछि भैंसेको यात्रालाई स्थगित गर्यौं र मेलुङसम्म पुगेर भेड्पू जाने निधोबीच पुग्यौं । र, भेड्पूको यात्रा भोलिपल्ट तय गर्ने उद्देश्यस्वरुप त्यो दिन चरिकोटमै फर्कियौं ।
भेड्पू जानका लागि मेलुङका लागि तय गरिएको यात्रा भने बडो दु:खदायी रह्यो । काठमाडौंबाट गुडेको बस चरिकोट बजारमा मध्याह्नको साढे एक बजे मात्र आइपुग्यो । बसको भित्री भागमा सिट पाउनु त स्यालको सिङ पाउनुजत्तिकै मुस्किल थियो, भित्र उभिने ठाउँसमेत थिएन । तर हामीलाई जानैपर्ने थियो । त्यही भएर, बसको छतमा चढ्यौं । बसको छतमा यात्रारत रहँदा भीरकोटको ओरालो लाग्ने बेला नमज्जाले पानी दर्कियो । त्यसभन्दा अगाडि नै बसको छतको रोमान्चक यात्रालाई स्मरणीय बनाउन मित्र किशोर श्रेष्ठले दुई चार वटा तस्बिर लिइसकेका थिए । स्थानीय गाउँलेहरूसँग बसको छतको यात्रा निकै रोमान्चक र कष्टप्रद पनि रह्यो । किशोरजी त भोलिपल्ट पनि त्यही छत–यात्राको पीडा झेल्न बाध्य भइरहेका थिए ।
मालु खोलाभन्दा केही परबाट बस उकालो चढ्न थाल्यो । तर, पानी यति धेरै बर्सियो कि, हामीले छतमा नै पाल टाँगेर यात्रा जारी राख्यौं । बसभित्रै उभिएर बसेकी हाम्रो यात्राकी सहयात्री कमला दनुवारले तामाकोसीमा बस रोकिएको बेला भनेकी थिइन्–‘म पनि छतमा नै आउनुपर्ला । यहाँ त उभिनै सकिएन ।’ तर, पानी दर्किन थालेपछि पालभित्र हामी घुस्रियौं । त्यसपछि एउटा रमाइलो प्रसंग उब्जिहाल्यो– ‘भूकम्पपछि प्यारो लाग्न थालेको यो पालले हामीलाई अझै पनि छाडेन ।’
मेलुङको उकालो चढ्न थालेपछि यति ठूलो वर्षाद् भयो, बस केही माथि मात्रै उक्लियो । हामी स्थानीय व्यवसायी उद्धवकुमार ठकुरीको निर्देशनअनुरुप चलिरहेका थियौं । बसको छतबाट ओर्लिने बेलामा म पूरै भिजिन मात्र, सडकमा पाहा पछारिएझैं पछारिन पुगेँ । लुगाहरू पूरै हिलाम्य भए । नजिकैको एउटा घरमा आश्रय लियौं । त्यही घरमा केही समय बिताएपछि उद्धवजीको घरतिर लाग्यौं । र, त्यो रात उद्धवजीको घरमा नै दिनभरिको थकान र भिजेको शरीरलाई स्फूर्ति दिने गरी बितायौं ।
भोलिपल्ट थाहा भयो, हामी नै मेलुङ गाउँको अन्तिम यात्री रहेछौं । गहिरो वर्षाद्ले बाटाहरू खाडलमा रूपान्तरित भएपछि अब हिउँद नलागी त्यो बाटो चालू नहुने रहेछ । तर, यात्रामा जतिसुकै कष्ट उठाउन परे पनि मेलुङ गाउँको सौन्दर्यले भने मनलाई निकै नै बिथोलिरहेको थियो । तल धमिलिँदै गइरहेको तामाकोसी, रामेछाप र दोलखालाई छुट्याउने मिल्ती खोला, मिल्ती खोलामाथिको सुन्दर फुलासी, जफे, मालु, सहरे, भीरकोटले मन नै लोभ्याइरहेका थिए । त्यही मेलुङस्थित सुदर्शन पोखरेलको बाख्रा फार्मबाट बिहानै गौरीशंकर हिमशृंखला, दोलखा बजार र मैनापोखरी बजार देख्दा मन निकै प्रफुल्ल भयो । तर, एक छिनपछि नै हिमशृंखला र सुन्दर बस्तीहरू कुहिराले छोपिएर पानी बर्सिन थालेपछि भने भेड्पूतिरको यात्रामा अवरोध आउने हो कि भन्ने त्रास भने रहेकै थियो ।
भेड्पूमा हुस्सुसँग रमाउँदै
अशोक घिसिङको घर थियो, आजको अन्तिम स्थल । मेलुङबाट तेर्सो र केही उकालो बाटो छिचोलेपछि करिब छ घन्टाको यात्रापछि मात्रै हामी पुग्यौं, त्यहाँ । त्यो लेकाली बस्तीमा । निरन्तरको यात्राले हामी (किशोर श्रेष्ठ, कमला दनुवार म) मा थकानका रेखाहरू पलाइसकेका थिए । म त यति नाजुक अवस्थामा पुगिसकेको थिएँ, खुट्टाले टेक्ने ठाउँ नै बिर्सिसकेको थियो भने हिँडाइमा विविध समस्याहरू आइरहेका थिए । नढाँटी भन्नुपर्दा, मलाई नमज्जाले काछ लागेको थियो । ध्याङसुकाठोकरमा रहेको हेल्थपोस्टमा केही औषधि पाइन्छ कि भनेर जाँदा हेल्थपोस्टको ढोका त खुल्लै थियो । तर, कोही पनि थिएनन् । त्यही बेला एक जना फुलफिल मानिस आएर हामीलाई सोधे–‘तपाईंहरू कहाँबाट आउनुभएको हो ?’
हामीले ‘यो हेल्थपोस्टमा कोही छैनन् ? के पारा हो ?’ भनेर ती मानिसलाई भनेपछि उनी हेल्थपोस्टका कर्मचारीलाई खोज्न दगुरे । एक जना कर्मचारी त आए, उनी त्यहाँका सहायक रहेछन् । हेल्थपोस्टमा छ जना कर्मचारी भए पनि सबै बेपत्ता थिए । उनलाई मैले आफ्नो समस्या बताएँ तर उनले त मेरो हातमा औषधि भनेर एउटा वस्तु थमाइदिए । पछि हेर्दा त त्यो यस्तो चिज रहेछ, जसको प्रयोग गर्भनिरोधकको रूपमा मात्र प्रयोग गरिन्छ । त्यही प्रसंगले हामीलाई हाँस्ने राम्रो खुराक प्रदान गर्यो ।
अशोकजीको बाख्रा फार्म निकै नै व्यवस्थित रहेछ । तर, भूकम्पको कहरले उनलाई पनि पिरोलेको रहेछ । एकान्तको लेकाली बस्तीमा अशोकजीले छ वर्षअघि बाख्रा पाल्न सुरु गरेका रहेछन् । डेढ दसकसम्म युरोपमा राम्रै कमाइ गरेर नेपालमै केही गरौं भन्ने भावना साँचेर फर्किएका उनले निकै मिहिनेतसाथ बाख्रा पालिरहेका रहेछन् । करिब तीन सय रोपनी जग्गामा घाँस रोपेर बाख्राको व्यावसायिक पालन गरिरहेका उनको यो कार्यलाई दोलखा जिल्लाकै अनुपम उदाहरणका रुपमा हेरिदो रहेछ । एक रात त्यहाँ बिताएपछि हामीले भोलिपल्ट ध्याङसुकाठोकरको ओरालो नाप्न थाल्यौं ।
ध्याङसुकाठोकरको ओरालो झर्दै गर्दा एउटा ठाउँमा भविष्यका होनहार चिचिला बालबच्चाहरू पालमुनि कखरा घोकिरहेको दृश्यले निकै नमज्जाले चिमोट्यो । एउटा संस्थाले दुई कोठाको भवन बनाइरहे पनि जस्ता नआइरहेको हुँदा छाउन बाँकी नै थियो । प्राविस्तरको त्यस स्कुललाई दुई कोठा बनाइदिने कार्य एउटा संस्थाले गरे पनि अरू कोठाको अभावमा बाँकी विद्यार्थीहरूले पालमुनि नै शिक्षा लिन बाध्य हुनुपर्ने अवस्था थियो ।
तामाकोसी तरेर केही घन्टा गाडी कुरेपछि गाडी पाइयो र फेरि फर्कियौं चरिकोट नै । भीरकोटभन्दा मुनि एक जना व्यक्तिले तामाकोसीको आलो सहर माछा बेच्न राखेका रहेछन् । हामीले पनि किन्यौं एक केजी र बेलुकी दोलखाको बाबरे होटलमा त्यसको स्वाद लियौं । छ दिनसम्म निरन्तर गाउँबस्तीको कष्टप्रद यात्रा पूरा गरेपछि बिहानै काठमाडौंका लागि प्रस्थान गर्यौं । हिँड्ने बिहान डा.तेजबहादुर रिजाल सरसँग बिदाबारी हुँदा चरिकोट बजार वर्षाद्लाई स्वागत गर्न तम्तयार नै थियो ।
९८ प्रतिशत घरहरू ध्वस्त भएका र नयाँ जीवनको प्रतिक्षामा बाँचिरहेका दोलखाबासीहरूको पीडा र दर्दलाई नजिकैबाट आत्मसात् गरेपछि काठमाडौं फर्किने क्रममा बोंचका हस्तबहादुर भुजेलको अनुहारमा छाइरहेको खुसीयालीले भने एउटा कुरा सोच्न बाध्य पार्यो– पीडाबीच पनि खुसी र हाँसो साट्न सकिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply