मेरो बिहानको शुभारम्भ
कविता अनुष्ठानको करिब ३० वर्षपछि एउटा नयाँ अनुभव र अनुभुतिको समुद्रको किनारमा झण्डै ४ घण्टा नाउ यात्रीझै बसिरहेको थिएँ । कति लामो होला यो समुद्रको यात्रा, कति गहिरो होला यो समुद्रको हृदय, कसरी ऐना हेर्छ होला आकाशले यसको अनुहारमा ? धेरै प्रश्न–प्रतिप्रश्नका लहरहरु छिचोल्ने प्रयासमा लहरहरुसँगै बगे कताकता भएर मन । मनभित्र सधैँ सत्यको अँगालोमा बाँधिएर जीवनको अन्तिम पलसम्म धरतीमै पर्खिरहने उत्कण्ठा मसँगै थियो, कसैले नदेख्ने गरी ।
कविताको सिरसिरे बताससँगै कविताकै सिमलभुवा भएर उड्न मन लाग्ने यो सिमाना नै नभएको रहरले भरिएको मनले अक्षरसँग जस्तै रङहरूसँग पनि धेरै सम्वाद र लडीबुडी खेल्ने सिलसिला टुट्लाकी भनेर त्रासले बाँचेको क्षणहरूको याद धेरैचोटि धेरै भएको सम्झिरहने मन गर्छ । यही मनको छेवैमा चुपचाप समुद्रको किनाराजस्तै भएर मन आज पनि कता हो कता स्तब्ध छ । सन्दर्भ जोड्दै लैजाँदा सायद पुलकित हुन्छ होला मन, कविताको प्रियताजस्तै गरी बिहानीको घामको उज्यालोजस्तै गरी ।
सन्दर्भ, कविताको उज्यालोकै हो । २०७२ साल साउन ९ गते जनसाहित्य मञ्चको आयोजनामा काठमाडौको बागबजारसँगै जोडिएको (टुकुचा बजार) अद्धैतमार्गस्थित जनसांस्कृतिक महासंघको सभाकक्षमा अविरल जनसहित्य यात्राको १६ औं शृङ्खलामा मेरो कविताले पनि एकल वाचन तथा बहस निम्त्याउने औसर पायो । मध्याह्न १ बजे आरम्भ हुने भनिएको कार्यक्रम भेट्न म १२:४५ मा पुगेको थिएँ । प्रमुख अतिथि प्रसिद्ध महाकाव्यकार मोदनाथ प्रश्रित मभन्दा केही क्षणअघि नै आइसक्नुभएको थियो । मैले अभिवादन गरेँ र उहाँको ‘मानव’ महाकाव्यको दोस्रो संस्करणमा मैले नयाँ आवरण बनाएको स्मरण हुरीझैं आइपुग्यो । उहाँले मलाई एउटा छुट्टै अनुभूतिले अभिवादन फर्काउनुभयो । त्यतिबेला मसँग सोच्ने सन्दर्भको मुना पलाउनै नसकेको अनुभूत भइरहेको बेला स्तब्ध र फराकिलो घडीमा मानिसहरू जम्मा पार्न विस्तारै मञ्चका सचिव विनोद मञ्जनले उद्घोषण सुरु गरेर सभापतित्व ग्रहण गर्न अध्यक्ष राम विनय र प्रमुख अतिथिका लागि मोदनाथ प्रश्रितलाई आग्रह गर्नुभयो । क्रमश : महासंघका अध्यक्ष खगेन्द्र राई, प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा.विन्दु शर्मा बिस्तारै आसन ग्रहणका लागि स्टेजमा देखापर्नुभयो । डा.विन्दु शर्माले मेरो परिचय राख्नुभएको बेला निकै अप्ठेरो लागेको थियो, आफ्नै अगाडि आफ्नै प्रशस्ति कारणले । कार्यक्रममा मेरा १८ वटा कविता वाचन भयो । तीमध्ये जयन्तीजीले ‘काली दमिनी’ शीर्षकको कविता मौनताभरि नै मौन भएर वाचन गरिदिनुभयो । मैले मनमनै धेरै धन्यवाद व्यक्त गरें । कविताको वाचन सकिनेबित्तिकै समालोचना व्याकरणको हतियार बोकेर चिरफार गर्न थाल्नुभयो प्रा.डा. कृष्णप्रसाद घिमिरेले, आफ्नो अभिभारालाई कसरी न्याय गर्न सकिन्छ भन्ने सिर्जनशील पीडाले संसारको हाँसो हाँसेर मेरो अनुहारमा चिहाइरहनुभएको देखेको थिएँ । उहाँले आफूले बनाउनुभएको दृष्टिकोण ठीक थियो सायद । तर, मेरो कविताको वकालत म आफैंले धित मारेर गर्न सक्छु भन्ने एउटा सिर्जनात्मक अहम् मेरो वरिपरि म भएरै दौडिरहेको थियो सायद ।
प्रारम्भमा नै मैले छोटो सम्बोधन सकेर कविता पढ्न सुरु गरेँ
मेरो बिहानको शुभारम्भ
जहाँ धर्म जात र वर्गका धर्साहरू
नदिका धमिला पानीहरूमा बग्नेछन् ।
र समुद्रको पीँधमा मोती जन्मने छ मुक्तिको
म मुक्ति नदीको नूतन बाढीमा
चेतनाका एक बथान चराहरू लिएर
स्वेच्छाले हाम फाल्ने छु ।
मेरो बिहानको शुभारम्भ
यसरी नै हुनेछ ।
क्रमश: यसरी नै कविताको नदीलाई मैले बिस्तारै बगाउने प्रयत्न गरेँ । प्रसिद्ध गीतकार श्याम तमोट र कवि पूर्णविराम मेरो कवितामा बगिरहनुभएको थियो र उहाँहरू ताली पनि बजारहनुभएको थियो । कविताको मातले प्रश्रित मुस्कुराउनु हुन्थ्यो । अध्यक्ष खगेन्द्र राई पछिल्लो पंक्तिबाट ऊर्जाका मसिना वाक्यहरूले मलाई भरिलो बनाउने प्रयत्न बुनिरहनुहुन्थ्यो । महासचिव राजेश थापा र अन्य साथीहरू प्रेरणापूर्ण मुद्रामा मेरो कवितामै समाहित भएर अनुहारभरि कविता बगिरहनुहुन्थ्यो । मैले अनुभूत गरेँ, त्यो दिनको ती पलहरूमा कवितासँगको प्रेममा मानिसहरू मौन सुखहरू जस्तै हु्ँदा रहेछन् । मेरो कविता वाचन सकिएपछि जनगायक रामकृष्ण दुवालसँग सोधेँ– जीवन कविताको पंक्तिको बाटोमा मात्रै हिँड्न सक्छ ! उनले भने–‘अलिकति संगीत मिसाउनुपर्छ ।’ मसँगैको उत्तरजस्तै भएर त्यो ध्वनि गुन्जिरह्यो ।
सायद केही पलहरू चिरेर म अक्षरको समुद्री किनारामा लहरका संगीतको स्वप्न कुरेर बसिरहेको बेला प्रश्रितले भन्नुभयो– ‘समयको तस्बिरको संगीतमय कविता मलाई सुनिरहन मन लाग्छ । मलाई आजको दिन प्रिय लाग्यो रमेशजी ।’ आफ्नो गुरूको प्रेरणामयी शब्दहरू सुनेर सायद मेरो कवि निकै बहकियो होला । माटो र मान्छेको पक्षमा लेखिएको आफ्नो कविताको ऐनामा एकोहोरो भएर मैले निकैबेर आत्मरतिले हेरिरहेँ । खुसीको आकाश विस्तारै फुक्दै गएझैं भयो । आत्मरतिबाट विस्तारै मुक्ति पाए पछि मैले सोचेँ– ‘आजको दिनको अनुभवले जीवनले बाँकी जीवनका लागि धेरै कुराहरू पायो होला । विस्तारै आकाश खसेको समुद्रको पानी छचल्कँउँदै गरेको म आफैले आफैंलाई मात्र भन्न सकें हुँला, अनुभूतिको गुञ्जनसँगै मिसाएर । पछिसम्म पनि आत्मध्वनि भइरह्यो– कविता, समुद्र र मन कसैको अधिनमा छैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply