साहित्यको ऐनामा प्रतिविम्बित दुई दशक
बितेको दुई दशकको अवधिमा नेपाली समाजले अनेक आरोह–अवरोहको सामना गर्नुपर्यो । धेरै नै उथलपुथलमय घटनाहरू सामाजिक दृश्य/परिदृश्यहरूमा उदाए । राजनीतिक तहमा उत्पन्न अनेक घटना/परिघटनाहरुले समाजका निस्क्रिय र क्रियाशील, दुवै अंगलाई चलायमान, तरंगित र प्रभावमय बनायो । खासगरी, एक दशकसम्म चम्किएको हिंसायुक्त द्वन्द्व, द्वन्द्वको अवशानपछि शान्ति प्रक्रियामा प्रवेश, लामो समयदेखि सामन्ती राज्यव्यवस्था र त्यसका यन्त्रहरूलाई संरक्षण दिँदै आएको राजसंस्थाको अन्त्य, गणतान्त्रिक दिशातिरको पाइला–चलाइ र नयाँ संविधान निर्माणको मैदानसम्मको यात्राले समाजका प्रत्येक वर्ग, तह र तप्काका मानिसलाई घनीभूत रूपले प्रभावित तुल्याउनु स्वाभाविकै हो, यी अनेक ऐतिहासिक घटना र सन्दर्भहरूले सिर्जनाको धरातलमा रमाउनेहरूलाई त झनै, सघन रूपले प्रभाव पार्नु र आफू प्रभावित घटनाक्रमलाई लेखनमा उतार्नु ती स्रष्टाहरूका निम्ति प्राथमिक दायित्व र लेखकीय अभीष्टसमेत बन्न पुगेको मान्नु पर्दछ ।
विगत दुई दशकको अवधिमा साहित्यका हरेकजसो विधाले मात्रात्मकसँगै गुणात्मक दिशामा फड्को मार्ने प्रयत्न नगरेका होइनन् । तर, कतिपय विधा गुणात्मक रूपले नै समृद्ध, परिष्कृत र पाठकीय रुचि र छनोटमा विशिष्ट ठहरिन पुगेका छन् भने कतिपयले आफ्नो स्तर झनै ओरालो–उन्मुख तुल्याएको सहजै प्रतीत हुन्छ । तर, यो अवधिमा कथा विधाले भने आफ्नो ऐतिहासिक विकासक्रमलाई निरन्तरता दिँदै थप उचाइ प्राप्त गर्ने ध्येय सँगालेको महसुस गर्न सकिन्छ । दुई दशकभित्रका नेपाली कथाको लेखन स्थिति पर्गेल्ने हो भने देशज र वैश्विक दुवै परिघटनाको अनुगुञ्ज स्वभावत: प्रकट हुन्छन् । खासगरी, द्वन्द्वरत समाजमा उद्घाटित मानवीय संवेदना र चेतनाको स्तर उठानलाई अधिकांश कथा सर्जकहरूले लेखनको विषय बनाएका छन् । हुन पनि, आफू बाँचिरहेको समाज र परिवेशका घटना–सन्दर्भहरूलाई नै स्रष्टाहरूले समात्ने हुन् र त्यसलाई सिर्जनाको जलप लगाएर चम्काउने हुन् ।
तिख्खर व्यंग्यचेत, स्खलित हुँदै गइरहेको नैतिक मूल्य र मान्यतामाथि सघन प्रहार गर्ने खुबी र मानवीय संवेदनाको भव्य उद्घाटन गर्ने क्षमता राख्ने अग्रज कथा–सर्जक मनु ब्राजाकीले द्वन्द्वले थिल्थिलो तुल्याएको नेपाली समाजलाई भित्रैसम्म पुगेर छाम्दा एउटा कथा लेखे– ‘अब तिम्रै पालो हो ।’ माओवादी युद्धका नाममा हिंसाले कतिसम्म प्रश्रय पाएको थियो र त्यसले सामान्य जनताको मनोविज्ञानलाई कसरी ङ्याकेको थियो भन्ने तथ्य दर्साउन सक्षम उक्त कथाले एक दशकसम्म तन्किएको युद्वको समग्र विम्ब उतार्दछ । युद्धले सिंगो समाज र पारिवारिक तहसम्मै पारेको चिरा र त्यसले हरेकको मनोविज्ञानलाई अँठ्याएको यथार्थ ग्रामीण क्षेत्रका एउटा शिक्षकको मनोदशासँग जोडेर उनले लेखेको कथालाई कथा–साहित्यको एउटा कोसेढुंगा मान्दा फरक पर्दैन । युद्धकालीन परिवेशलाई विषयवस्तु बनाएर लेखिएको अर्का सर्जक अमर शाहको ‘कुरुक्षेत्र’ पनि अर्को शक्तिशाली कथा हो । युद्धको बिजारोपण नेपालको पश्चिम भूभागमा भयो र धेरै प्रभावित पनि त्यही इलाका नै हुन पुग्यो । भन्न त, युद्धका सञ्चालकहरूले युद्धका असल पक्ष कोट्याउने क्रममा त्यसले सामाजिक चेतनामा अभूतपूर्व विकास गरेको प्रसंग बेलाबखत उठाउने गर्छन् । तथापि, चेतनाको विकास र वृद्धि आफ्नो स्थानमा होला, तर युद्धले समाज र पारिवारिक जीवनमा ल्याएको विखण्डन, विभाजन र त्रासदीपूर्ण स्थिति भने अरू कुनै सकारात्मक पाटोसँग तुलनीय हुन सक्दैन । युद्वरत इलाकालाई शाहले ‘कुरुक्षेत्र’को संज्ञा दिँदै विभाजित समाज र मानिसहरूमा व्याप्त त्रसित मनस्थितिलाई दर्साउने कार्यमा विशिष्टता हासिल गरेका छन् ।
माओवादी जनयुद्धमै केन्द्रित रहेर अर्का कथा–सर्जक प्रदीप नेपालले पनि थुप्रै कथा लेखे । उनको ‘बाघमारेको लालसलाम’जस्ता कथाहरूले जनयुद्धको उल्टो हिँडाइप्रति कटाक्ष गरेका छन् । जनतालाई मीठा–मीठा सपना बाँड्न माहिर माओवादीले जनतालाई दिएको दु:ख, यातना, हिंसाजन्य घटना र जनताकै रगतमा होली खेल्ने प्रवृत्तिलाई अँगालेको यथार्थप्रति असहमत नेपालले युद्धका विकृतिहरुमाथि धेरै कथा लेखेका छन् । प्राय: घटना–केन्द्रित उनका कथालाई ‘माओवादी युद्धको लेखकीय प्रतिकार’ भन्दा फरक पर्दैन ।
अर्का कथा–सर्जक राजेन्द्र पराजुली पनि प्राय: राजनीतिक विषयमा नै लेख्न रुचाउँछन् । ‘सपनामा माक्र्स’ राजनीतिक चेत र व्यंग्यले परिपूर्ण उनको कथा हो । खासगरी, सिद्धान्तको जामा पहिरेर सत्तामा आरुढ भएका नेतागणहरू कसरी विस्तारै सिद्धान्त, विचार, चिन्तन, दर्शन र चेतनाको शिखरबाट फेदीतिर उन्मुख भइरहेका छन् ? उनले यही पक्षलाई उठाउन खोजेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा आएका विभिन्न खाले विचलन र कम्युनिस्ट आदर्श, मूल्य, मान्यता र चरित्रहरूमा देखिएको स्खलित प्रवृत्तिलाई देखाउन उनी सक्षम छन् । तर, कथा–सर्जक दिलीप शाह भने युद्धले पुर्याएको मानसिक असर र तनावबाट छुट्कारा पाउनेमा पर्दैनन् । उनी आफ्नो कथा–सिर्जना ‘त्रस्त मन र मात्र प्रश्नहरू’ मार्फत् युद्धले उब्जाएका अनेक प्रश्न र तरंगहरूलाई उप्काउन क्रियाशील देखिन्छन् । युद्धले सबै वर्ग र तप्काका मानिसलाई प्रभावित पार्यो । शाहले यो कथामार्फत् युद्धले कर्मचारी वर्गमा पारेको प्रभाव र उनीहरूले दिनहुँ भोग्नुपरेको तनावलाई केन्द्रमा राखेर लेखेका छन् ।
महेशविक्रम शाहको ‘छापामारको छोरो’ मानवीय संवेदनाका हिसाबले, युद्वकालीन परिवेशमा सिर्जित उत्कृष्ट सिर्जना हो । युद्धलाई नजिकैबाट नियालेका उनले छापामारको छोराप्रति देखाएको सदासयता र युद्धमा कसैको पनि विजय नहुने पक्षलाई अत्यन्तै मार्मिक रुपले पस्केका छन् । खासगरी, युद्ध–साहित्यका थुप्रै कथाहरु लेखिसकेका उनले युद्धले मानवीय जीवनमा पुर्याउने असर, घाटा र संवेदनहीनतालाई नै केन्द्रिय विषय बनाएर लेखेका छन् । अर्का कथा–सर्जक कृष्ण बजगाईंको ‘कमरेड भाउजू’ भने माओवादी जनयुद्धलाई छोइएर लेखिएको कथा भए पनि यसको परिवेश भने विदेश रहेको छ । समाज रूपान्तरणका लागि लामो समय युद्ध लडेका र शान्तिकालमा लन्डन छिरेका माओवादी कार्यकर्तामा पलाएको धार्मिक कर्मकाण्ड र रूढिवादिताप्रति व्यंग्य गर्न यो कथा अग्रसर देखिएको छ । विदेशको परिवेशमा लेखिएको उक्त कथाले युद्धकालीन समयमा छापामारहरुले न्यून चेतनास्तर भएका मानिसहरूलाई जबरजस्ती धार्मिक मान्यता र विश्वासहरूबाट मुक्त तुल्याएर रूपान्तरणको दिशातिर उन्मुख हुन अभिप्रेरित गरे पनि कालान्तरमा त्यस्तो प्रयास असफल सावित भएको तथ्यलाई उठाउन खोजिएको छ ।
अरू कथा–सर्जकले युद्धलाई विश्लेषणात्मक नजरले हेर्न चाहे पनि केही सर्जकहरूले भने युद्धका राम्रा पक्षहरूमाथि मात्रै कलम चलाएका छन् र युद्धको महानतामा नै मुग्ध हुँदै सिर्जनालाई पनि त्यही उपक्रममा डोहोर्याएका छन् । डा.ऋषिराज बरालले पछिल्लो समय ‘बर्की नम्बर १३९९९’ मा युद्धले सिंगो समाज र जनजीवनलाई भन्दा पनि एउटा पूर्व लडाकुले भोग्नुपरेको दु:ख, कष्ट र संकटलाई उठाउन चाहेका छन् । डा.बरालका अधिकांश कथाहरू युद्धको प्रशंसा र गुणगानमा नै अर्पित भए पनि पछिल्लो अवधिमा भने माओवादी नेतृत्वप्रति उनमा पलाएको वितृष्णाभावले गर्दा उनले आफ्ना कथाहरूमा नेतृत्वप्रति टेडो हेराई र युद्ध लडेका लडाकुहरूप्रति सहानुभूतिपूर्ण नजर राख्न थालेका छन् । यस्ता प्रवृत्ति अहिले हिजोका दिनसम्म माओवादी युद्धलाई सही ठहर्याउने अरू सर्जकहरूमा पनि देखा पर्न थालेका छन् । अशोक सुवेदीको ‘रामप्रसादको सिसमहल’भित्रका युद्धप्रेमी कथाहरूमा पनि त्यसको झलक सहज रूपमा पाइन्छन् ।
लेख्न त माओवादी जनयुद्धलाई विषय बनाएर अरू कथा–सर्जकहरूले पनि लेखे तर अधिकांशको लेखनमा विश्वनीयताको अभाव सर्वथा रूपमा खट्किएको कुरालाई ढाकछोप गर्न मिल्दैन । उनीहरूले देखेको यथार्थ आकाशबाट जमिनतिर हेरेको यथार्थभन्दा कुनै पनि अर्थ र हिसाबले फरक देखिँदैनन् । तर, जेजस्तो भए पनि बितेको दुई दशकलाई कथा–सर्जकहरूले जसरी उतारे, त्यो प्रशंसनीय रहेकोमा सन्देह मान्ने थलो भने पक्कै पनि छैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply