कर्मचारीले मात्र चलाउँदा गतिशील ढंगले चल्न सकेको छैन
० तपाईंले शिक्षा आर्जन कहाँबाट गर्नुभयो ?
– गाउँकै विद्यालयमा ५ कक्षासम्म पढेँ । त्यसपछि सुन्दरा मावि, सातबिसेबाट माध्यमिक शिक्षा पूरा गरेँ ।
० कत्तिको अध्ययनशील हुनुहुन्थ्यो ?
– कहिल्यै दोस्रो भइनँ । दोस्रो हुने र मबीच करिब सय अंककै फरक पथ्र्यो ।
० तामाङ समाजमा जन्मिनुभएको भए पनि परिवारले शिक्षाको महत्व बुझेको रहेछ, हैन ?
– मेरो बुबा करिब डेढ दशकजति भारतमा बस्नुभएको हो । भारतमा बस्दा त्यहाँको समाज बुझ्नुभएको हुँदा छोराछोरीहरूलाई पढाउनुपर्छ भन्ने उहाँलाई लागेछ । तसर्थ, बुबाको जोडबलले नै मैले पढ्ने औसर र वातावरण पाएँ ।
० आर्थिक समस्या कत्तिको थियो ?
– ठूलै समस्या थियो । गाउँको जनजीवन त्यस्तै त हो नि । तर, घर छेउमै स्कुल भएकाले मलाई अलि सजिलो थियो । सधैँ प्रथम हुने भएकाले कापी कलम किन्न खासै पैसा लाग्दैनथ्यो ।
० जीवनमा के बन्छु भन्ने उद्देश्य राख्नुभएको थियो ?
– केही उद्देश्य थिएन । शिक्षक देखे शिक्षक, प्रहरी देखे प्रहरी, हुलाकी देखे हुलाकी, सेना देखेमा सेना नै बन्न मन लाग्थ्यो ।
० निजामती सेवामा कहिले प्रवेश गर्नुभयो ?
– एसएलसी दिएर काठमाडौं आएँ । जागिर खानुपर्छ भन्ने भए पनि लोकसेवाको जाँच दिनुपर्छ भन्नेमा ध्यान थिएन । तर, प्रवीणता प्रमाणपत्र तह पास गरेपछि लोकसेवामा जाँच दिएँ । सेनामा २ र प्रहरीको इन्स्पेक्टरमा पनि २ चोटी नै जाँच दिएँ । दुवैमा सफल भइनँ । त्यसपछि विश्वविद्यालय अनुदान आयोगमा प्रशासकीय अधिकृतमा नाम निस्किए पनि । वैकल्पिकमा परेँ । एकै पटक ०६१ मा जाँच दिँदा उत्तीर्ण भएँ ।
० पटक–पटक लोकसेवा दिँदा पनि किन उत्तीर्ण हुनुभएन ?
मलाई जाँच दिने ढंग, ढर्रा र तौरतरिका केही थाहा रहेनछ । परीक्षा दिइसकेपछि ‘योभन्दा बढी पो लेख्नुपर्ने रहेछ कि’ भन्ने लाग्दथ्यो । सहसचिव बढुवामा पनि त्यस्तै भयो । परीक्षा बिग्रिएको छ, अर्को वर्ष लेखौंला भन्दै थिएँ, यही वर्ष उत्तीर्ण भएँ ।
० अहिलेसम्म कुन–कुन निकायमा काम गर्नुभयो ?
– मैले आन्तरिक राजस्व कार्यालय भरतपुर, लोकसेवा आयोग, राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय, नुवाकोट र धादिङमा स्थानीय विकास अधिकारी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक, वाणिज्य मन्त्रालयअन्तर्गत नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना हुँदै अहिले काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालिरहेको छु ।
० महानगरको जिम्मेवारी सम्हालिरहनुभएको छ, चुनौतीहरू के–के देख्नुहुन्छ ?
– चुनौती धेरै छन् । लामो समयदेखि जनप्रतिनिधिविहीन छ । कर्मचारीले मात्र चलाउँदा गतिशील ढंगले चल्न सकेको छैन । जसले गर्दा जनताको आवश्यकतालाई पहिचान गर्न सकेको छैन । जनताको प्रत्यक्ष आवश्यकता र यसले दिनसक्ने सेवाको बीचमा गहिरो खाडल छ ।
अर्को भूकम्पपछिका जोखिमहरूलाई व्यवस्थापन गर्ने चुनौती रहेको छ । काठमाडौंका भित्री सहरलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती पनि छ । मापदण्डविपरीतका घरहरू निर्माण भएका छन्, त्यसलाई नियन्त्रण गर्ने चुनौती छ भने छाडा गाईवस्तु, सहर व्यवस्थित, पार्किङ, फोहोरमैला व्यवस्थापनजस्ता चुनौती छन् ।
० अबको योजना के छ ?
– भूकम्पले अस्तव्यस्त पारेको सहरलाई व्यवस्थित ढंगले पुनर्निर्माण गर्ने पहिलो योजना छ । फोहोर मैला व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरेर, महानगरको पनि आफ्नै क्षेत्रहरू छुट्याएर फोहोर व्यवस्थापन गर्ने लक्ष्य छ । खुला क्षेत्रहरूको व्यवस्थापन तथा केही निकायसँग समन्वय गरेर खाली क्षेत्रहरूको विस्तार गर्ने, सरकारी जग्गाहरूको संरक्षण गर्ने र त्यसलाई व्यवस्थित पार्ने अभियानमा लागिरहेका छौं । मापदण्डविपरीत निर्माण भइरहेका संरचनालाई मापदण्डभित्र ल्याउने प्रयास जारी राखेका छौं ।
० जीवन के रहेछ ?
– यो एउटा अनुभूतिहरूको सँगालो हो । जे सोचिन्छ, त्यो कहिल्यै पनि हँुदैन । जे छ त्यसैमा रमाउनु नै जिन्दगी हो । रमाउन सिक्नुपर्छ ।
० जिन्दगीमा सबैभन्दा दु:खद र सुखद क्षण कहिले आयो ?
– मैले अहिलेसम्म जति जागिर खाएँ, त्यसमा मेरो कुनै गुनासो छैन । दु:खद पक्ष चाहिँ ०५० सालतिर बुबा, हजुरबा, हजुरआमा, २ बहिनीको छोटो छोटो अवधिमा निधन भयो । त्यो बेला साह्रै दु:ख लागेको थियो ।
० बालबच्चालाई कत्तिको समय दिनुहुन्छ ?
– बालबच्चा र परिवारलाई समय दिन र आफ्नो लागि आफैंले सोच्न मैले भ्याएकै छैन ।
० फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
– फुर्सद भयो भने फिल्म हेर्न मन लाग्छ । तर, दुई वर्षदेखि एउटा फिल्म पूरै हेर्न पाएको छैन । त्यसबाहेक समाचार हेर्ने, गीत सुन्ने र फुटबल हेरेर समय व्यतीत गर्छु ।
० पहिले पत्रकारिता पनि गरेको हिसाबले पत्रकारको जीवन कस्तो लाग्छ ?
– पत्रकारिता समाजको दर्पण हो, भनिन्छ । हाम्रो पालामा ब्रोडसिट मिडिया थिएन । अनलाइन भन्ने त छँदै थिएन । अहिले नेपाल टेलिभिजनकै ३ वटा च्यानल भइसकेछ । थोरै साप्ताहिक पत्रिकाको अस्तित्व भएको बेला हामीले काम गरेका हौं । यो पेसा जोखिम, चुनौती र अवसरसहितको बडो रोमाञ्चक र उत्तरदायित्वपूर्ण पेसा हो भन्ने लाग्छ । कर्मचारीले मात्र चलाउँदा गतिशील ढंगले चल्न सकेको छैन
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply