आफ्नै धरातलप्रति उन्मुख
नेपाली चित्रकला परम्परित संरचनाभित्रै अल्झिरहेको बेला त्यसलाई सतहमा निकालेर बृहत् परिवेश र आकार दिने कार्यमा निश्चय नै लैनसिंह बाङ्देललाई श्रेय जान्छ । तत्कालीन समयमा विश्व चित्रकारिताको केन्द्र रहेको युरोपमा गएर आधुनिक चित्रकलाबारे घनीभूत ज्ञान आर्जन गरेका बाङ्देलले नेपाली परिवेश र अनुकूलता बुझेर आधुनिक चित्रकलाको रथलाई अघि बढाए । हुन पनि, उनका पूर्ववर्ती कला–शिल्पीहरूले परम्परागत विषय, शिल्प र ज्ञानसँग सम्बन्धविच्छेद गरिसकेका थिएनन्, उनीहरूले तिनै देवी–देउता, मठमन्दिरहरूलाई नै आफ्नो कला–सिर्जनाका विषय बनाइरहेका थिए । तर, बाङ्देलले भने आधुनिक कलाको विकासमा अतुलनीय योगदान पुर्याए र जीवनपर्यन्त विश्व कला जगत्मा भित्रिएका नयाँ–नयाँ प्रयोगहरूलाई नेपाली कला संसारामा भित्र्याइरहे ।
कला–शिल्पी शान्तकुमार राईलाई बाङ्देलकै शिल्प र शैली पछ्याउने थुप्रै कला–सर्जकहरू मध्येकै एक प्रखर चेला हुन् भन्दा मानहानी नहोला । उनले आफ्नो सिर्जनामा निरन्तर रूपमा बाङ्देललाई नै पछ्याइरहेका छन् । अहिले बाङ्देलको भौतिक उपस्थिति त छैन, तर उनले नेपाली कला–जगत्मा छाडेर गएका अमूल्य सिर्जनाहरूलाई आत्मसात गरेर अग्रगति समात्ने कला–सर्जकहरू थुप्रै छन् र त्यही लहरमा राई पनि पर्छन् । राई स्वीकार्छन् पनि–‘निश्चित रूपमा मेरो चित्रकारितामा बाङ्देलको गहन प्रभाव परेको छ । त्यसरी प्रभाव पर्नुको कारण पनि छ । किनकि, लामो समयसम्म मैले बाङ्देलको सान्निध्यता पाएँ, उहाँसँगै रहेर आफ्नो चित्रकारितालाई खारेँ । त्यही भएर नै, मेरो चित्रकारितामा उहाँको प्रभाव परेको छ ।’ अझ उनले थपे– ‘प्रभाव हुनु आवश्यक हो जस्तो लाग्छ । राम्रो कुराको प्रभाव पर्नु नराम्रो पक्ष पनि होइन । हामीले राम्रो चिजको प्रभाव ग्रहण गर्नुपर्छ । तर, कुनै पक्षमा भएका नराम्रा चिजहरूलाई भने नकार्न सक्नुपर्दछ ।’
कलामा बाङ्देलको प्रभावलाई भित्र्याउनुअघि उनलाई चित्रकला क्षेत्रमा डोहोर्याउने थिए– मोहन खड्का । नेपाली चित्रकला फाँटमा यथार्थपरक सिर्जना गर्नेमध्येका अग्रणी खड्काको संगतले नै उनी यो क्षेत्रतिर आकर्षित भए । चित्रकलाप्रतिको उनको आकर्षण त सानैदेखि भएको हो । प्राकृतिक सौन्दर्य र छटाले भरिपूर्ण इलामको जोगमाईमा ०१९ सालमा जन्मिएका राईले इलाममै छँदा रङप्रति मोह पोख्न थालिसकेका थिए । तर, ०३४ सालमा खड्कासँग संगत गर्न पाएपछि भने उनीभित्र रहेको चित्रकारिताप्रतिको चाहना र मोहले मूर्त रूप लिने दिशा समात्यो । भन्छन्–‘त्यतिबेला खड्का र म कलंकीमा सँगै बस्थ्यौं । उहाँसँगको भेट र सम्पर्कले नै मलाई कला क्षेत्रतिर आकर्षित तुल्यायो ।’ जीवनलाई कला–फाँटमै समर्पित गर्ने सोच उमारेपछि त्यही विषयको अध्ययन गर्ने क्रममा उनले ललितकला क्याम्पसलाई रोजे । आफ्ना समकालीनहरूले अरू विषय रोजे पनि उनले भने कलालाई छाड्न सकेनन् । ललितकला क्याम्पसमा भर्ना भएपछि त उनीभित्र सुषुप्त स्थितिमा रहेको सिर्जना–चेत एकाएक सल्बलायो र क्रमश: तिखारिँदै जान थाल्यो । ललितकला क्याम्पसको ढोकाबाट प्रवेश गरेको वर्ष दिनपछि नै उनले काठमाडौंमा सामूहिक चित्रकला प्रदर्शनीमा सहभागिता जनाउने औसर पाए । त्यतिबेला नरेशसुन्दर शाक्य, उदयचरण श्रेष्ठलगायत उनका चित्रहरू पनि सजिएका थिए । भन्छन्– ‘त्यतिबेला मैले पन्ध्र वटा चित्र प्रदर्शनीमा राखेको थिएँ । मेरा सबै चित्रहरू भूदृश्यका थिए । र, मैले पानी रङ प्रयोग गरेको थिएँ । नरेश र मैले बनेपा, धुलिखेल, दोलालघाटसम्म पुगेर त्यहाँका प्राकृतिक दृश्यहरूलाई उतारेका थियौं र पहिलो प्रदर्शनीमा तिनै चित्रहरू राखिएका थिए ।’
राईले लामो समयसम्म भूदृश्ययुक्त कला–सिर्जनामा नै आफूलाई तिखारिरहे । उनले नेपालको प्राकृतिक सौन्दर्य झल्किने भूदृश्ययुक्त चित्रहरू देशभित्र र विभिन्न मुलुकहरूमा थुप्रै पटक प्रदर्शन गरिसकेका छन् । भारतका अनेक सहरहरू, बेल्जियम, बेलायत, कोरिया, जापान, जर्मनीजस्ता देशहरूमा उनका चित्र प्रदर्शन भइसकेका छन् । राई भन्छन्– ‘मैले जहाँ–जहाँ प्रदर्शन गरे, ती देशहरूमा मैले सिर्जना गरेका ल्याण्डस्केपहरूलाई धेरै नै मन पराए । हामीले प्रयोग गरेका रङलाई पनि उनीहरूले मन पराए र मैले जुन–जुन ठाउँमा प्रदर्शन गरेँ, बिक्रीको हिसाबले पनि मलाई सघाउ पुर्यायो ।’ धेरै भूदृश्यहरू उतारेपछि भने उनको मनले अब विषय फेर्नुपर्छ भन्ने ठान्यो र विगत केही वर्षदेखि उनी नेपाली महिलामाथि केन्द्रित रहेर चित्र–सिर्जना गरिरहेका छन् । किन त महिला ? उनी भन्छन्–‘नेपाली महिला धेरै नै श्रम गर्नेमा पर्दछन् । उनीहरू घरभित्र र बाहिरका काम कुनै गुनासो नगरी गरिरहेका हुन्छन् । तर, उनीहरूको कामको उचित मूल्यांकन भने हुनसकेको छैन । उनीहरूको काम गराइलाई प्रोत्साहन गरिदैन । नेपाली महिलाहरूले भोग्नुपरेका यिनै दु:ख, कष्ट र उनीहरूको जीवनका अनेक बान्कीहरूलाई मैले मेरो सिर्जनामा स्थान दिएको छु ।’
त्यसो त, उनका चित्रकारितामा ग्रामीण महिलाका विम्बहरू उदाउँछन् । र, तिनै विम्बहरूमा उनले पन्छीलाई पनि समेट्न चाहन्छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ राई भन्छन्– ‘श्रममा विश्वास गर्ने महिलाहरूले पन्छीसँग आफ्ना दु:ख, वेदना साटासाट गर्छन् । त्यही पक्षलाई मैले प्रतीकात्मक रूपमा देखाउन चाहेको हुँ ।’ हुन पनि उनले महिला–विमर्शमा उभिएर सयौं चित्र–सिर्जना गरिसकेका छन् । भन्छन्– ‘नेपाली महिलाको दु:ख, पीडा देखेर नै मैले उनीहरूलाई मेरो सिर्जनामा उभ्याउन चाहेको हुँ ।’
करिब चार दशकदेखि चित्रकारितामा नै तल्लीन राईका चित्रहरूमा प्रकृति र समाजबीचको गहिरो अन्तरसम्बन्ध व्याप्त हुन्छन् । र, राईका चित्रकारितामा थुप्रै सबल पक्षहरू त छन् नै, त्यसमध्ये सबभन्दा सबल, उच्च र मूल्यवान पक्ष के हो भने, उनले जुन समयदेखि चित्रकारिता गर्न थाले, आजको मितिसम्म आफ्नो परिवेश र धरातललाई बिर्सने र त्यसबाट विमुख रहेर चित्र–सिर्जना गर्ने कार्यबाट उनी पछि हटेका छैनन् । यति मात्र भन्नु उचित होला, उनको चित्रकलामा नेपालीपनको खोजी गर्नेहरू पक्कै पनि निराश हुने छैनन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply