आपूर्ति व्यवस्थापनमा ध्यान
अहिले तराई–मधेस बन्दको मारले थिचिएको छ । करिब एक महिनादेखिको बन्दले तराईको जनजीवन कष्टकर बन्दै गएको छ नै, केही ठाउँमा प्रदर्शित हिंस्रक झडपहरूले तनावपूर्ण स्थिति उत्पन्न गराइरहेको छ । धेरैले के अनुमान गरेका थिए भने, तराई बल्दा काठमाडौंमा आपूर्ति व्यवस्था असहज हुनेछ । विगतको अनुभव पनि त्यस्तै थियो । किनभने, काठमाडौं भित्रिने पेट्रोलियम पदार्थ र ग्यासलगायत अन्य सामानहरू भारतबाट तराई हुँदै आउने हुन् । तर, यस पटक एक महिनासम्म तराई ठप्प हुँदा पनि काठमाडौंले कुनै सास्ति बेहोर्नुपरेको छैन । नेपाल आयल निगम लिमिटेडका कार्यकारी–निर्देशक गोपालबहादुर खड्का आफूले आपूर्ति व्यवस्थालाई सहज बनाउने कार्यमा कुनै कसर बाँकी नराखेको बताउँछन् । भन्छन्– ‘मैले निगमको नेतृत्व गर्न थालेको छ महिना भयो । निगमले नेतृत्व सम्हालेदेखि नै मैले कसरी हुन्छ आपूर्ति व्यवस्थालाई सहज बनाउनेतिर ध्यान दिएँ । सुरुमा आउने बित्तिकै मैले पेट्रोलियम पदार्थमा कसैले पनि लाइन बस्नु नपरोस् भनेर भनेको थिएँ । आपूर्ति सहज बनाउनका लागि व्यवस्थापन गर्नेतिर मेरो ध्यान केन्द्रित छ ।’ खड्काले निगमको नेतृत्व सम्हालेको केही महिनापछि नै महाभूकम्पले काठमाडौंलगायत वरिपरिका जिल्लाहरूलाई नराम्रो क्षति पुर्यायो । तर, महाभूकम्पले निम्त्याएको त्रास र असहजतालाई चिर्दै आफूहरू पेट्रोलियम पदार्थको आपूर्ति गर्न सक्षम रहेको उनले बताए । साथै, अहिले तराई बन्द हुँदा पनि आपूर्ति सहज रहेको उनले बताए–‘अहिले तराई बन्द भएको करिब एक महिना हुन लागिसक्यो । तर, बन्द हुँदा पनि हामीले बजारमा पेट्रोलियम पदार्थको अभाव हुन दिएका छैनौं ।’कार्यकारी–निर्देशक खड्काले एउटा सौभाग्य पनि पाए । करिब अढाई दशकदेखि प्रसंग उठे पनि कार्यान्वयनको तहमा सून्य ठहरिदै आएको पेट्रोलियम पाइपलाइन अब भने निर्माण हुने भएको छ । रक्सौलदेखि अमलेखगञ्जसम्म निर्माण हुने पाइपलाइनको कार्य खड्काकै पालामा सुरुवात भएको छ । भारत सरकारको ठूलो सहयोगमा निर्माण हुन लागेको उक्त पाइपलाइन बनेपछि अहिले भइरहेको चुहावट, चोरीजस्ता कार्य नियन्त्रण हुने देखिन्छ । किनकि, अहिले नेपालमा जति पनि पेट्रोलियम पदार्थ भित्रिन्छ, त्यसको ६५ प्रतिशत अमलेखगञ्ज डिपो हुँदै भित्रिने गरेको छ । खड्का भन्छन्–‘हामीले एउटा महत्त्वपूर्ण काम के गर्यौं भने, विगतदेखि नै चर्चा हुँदै आइरहेको पाइपलाइन निर्माण कार्यमा भारत र नेपाल सरकारबीच सम्झौता भएर काम अघि बढ्न पुगेको छ । अबको तीस महिनाभित्र हामी पाइपलाइन निर्माण सम्पन्न गर्ने कार्यमा जुटेका छौं ।’ पाइपलाइन बनेपछि उपभोक्ताहरूले सहज रूपमा पेट्रोलियम पदार्थ पाइने बताउँदै उनले भने–‘एउटा त, आपूर्ति व्यवस्था सहज हुन्छ । अर्को, निगमले ढुवानी बापत जति खर्च गर्नुपथ्र्यो, त्यो खर्च बचत हुन्छ । हामीले चाहे पनि नियन्त्रण गर्न नसकिएका विभिन्न खालका चुहावटहरूमा पनि कमी आउँछ । पाइपलाइन बनेपछि मूलत: आपूर्ति व्यवस्थापनमा सहजता आउँछ ।’
चुस्त आपूर्ति व्यवस्थापन र पाइपलाइन निर्माण प्रारम्भजस्ता दुई महत्वपूर्ण काममा दक्षता देखाइसकेका कार्यकारी–निर्देशक खड्काले निगमलाई गतिशील ढंगले सञ्चालन गर्न अरू योजनाहरू पनि बुनेका छन् । भन्छन्– ‘निगममा पुरानै संरचनामा काम भइरहेको छ । अब भने सबै डिपोहरूमा क्षमता बढाउनुपर्ने देखिएको छ । र, यो आर्थिक वर्षमा हामी विभिन्न डिपोहरूको क्षमता वृद्धि गर्ने तयारीमा रहेका छौं । साथै, निगमले पुरानै संरचनामा काम गरिरहेको हुँदा नयाँ र दक्ष जनशक्ति थपेर पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । त्यस दिशामा पनि काम गर्न हामीले गृहकार्य गरिरहेका छौं ।’ विगतमा व्यवस्थापकीय कमजोरीका कारण निगमको थाप्लोमा ३६ अर्ब ऋण थपिएको थियो । ६ महिनाअघि खड्काले निगमको नेतृत्व सम्हाल्दा त्यति धेरै ऋणमा निगम तड्पिरहेको थियो । खड्का भन्छन्–‘मैले नेतृत्व लिएपछि २० अर्ब ऋण तिरिसकेका छौं । अब १६ अर्ब तिर्न बाँकी छ । त्यसमा १२ अर्ब चाहिँ सरकारको छ र त्यति ऋण पुँजीकृत भयो भने वित्तीय संस्थाहरूसँग लिइएको ४ अर्ब मात्र ऋण तिर्न बाँकी रहन्छ । बाँकी ऋण तिरिसकेपछि हामीले पेट्रोलियम पदार्थको मूल्यमा अझ पुनर्विचार गर्ने सोच रहेको छ ।’ अहिले उपभोक्ताहरूले तिर्ने पेट्रोलियम पदार्थको मूल्यमा निगमले लिएको ऋण पनि जोडिएको छ र त्यही कारण मूल्य बढी हुन पुगेको हो । खड्का भन्छन्– ‘हामीले लिएको ऋण चुक्ता भइसकेपछि अन्तर्राष्ट्रिय बजारमा जुन दर आउँछ, त्यही दरमा नै उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने छौं ।’ त्यसो त, ग्यासको अभाव सिर्जना हुन नदिन पनि कार्यकारी–निर्देशक खड्काले उल्लेख्य पहल गरे । ग्यासको कोटा प्रणाली हटाएर नेपालका उपभोक्तालाई चाहिने जति ग्यास उपलब्ध गराउने गरी पहल भएको उनले बताए– ‘हामीले ग्यासको सीमित कोटालाई असीमित बनायौं । नेपालमा ग्यास भारतीय बुलेटहरूले ल्याइरहेको थियो । अब भने नेपाली आयातकर्ताहरूले पनि ल्याउन सक्ने गरी हामीले गृहकार्य गरिरहेका छौं ।’ गर्मीको मौसममा नेपाली उपभोक्तालाई १९ हजार मेट्रिक टन ग्यास चाहिन्छ । र, अहिले त्यति नै ग्यास आपूर्ति भइरहेको हुँदा अभाव नभएको पनि खड्काले बताए ।
निगमको नेतृत्व सम्हाल्नुअघि खड्काले लामो समयसम्म सडक विभागमा रहेर काम गरे । वि.सं.२०१३ मा सिन्धुली जिल्लाको स्वल्पाठाना गाविसमा जन्मिएका खड्काले प्रवेशिका परीक्षा भने ओखलढुंगा जिल्लाको सदरमुकामस्थित सगरमाथा माविबाट गरे । ०३० सालमा एसएलसी उत्तीर्ण गरेपछि भारतको लखनउस्थित गभर्नर पोलिटेक्निकबाट डिप्लोमा पूरा गरे । त्यसपछि सन् १९८९ मा मद्रासबाट सिविल इन्जिनियरिङ गरे । सन् ००८ मा पोखरा विश्वविद्यालयबाट कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर पूरा गरेका उनले सरकारी सेवामा प्रवेश भने ०३६ सालमा सडक विभागको सव–ओभरसियरबाट गरेका हुन् । विभागमा डिभिजन उपप्रमुख भएर ०६१ मा उनले सेवाबाट बिदा लिएका हुन् । विभागमा रहँदा उनले काठमाडौंको सडक विस्तार गर्ने जिम्मेवारी पाएका थिए । अहिले काठमाडौंमा जति सडक विस्तार भएका छन्, त्यो खड्काकै नेतृत्वमा भएको हो । नेतृत्व सम्हालेको प्रारम्भिक दिनहरूमा आपूर्ति व्यवस्थापनमा ध्यान केन्द्रित गरेका खड्का अब भने निगमले बेहोर्नुपरेको ऋण कसरी चुक्ता गर्ने भन्ने ध्याउन्नामा छन् । भन्छन्– ‘हामीसँग अहिले प्रत्येक १५ दिनमा ऋण चुक्ता गर्न ८७ करोड रुपियाँ बचत भइरहेको छ । यही गतिमा जाँदा अबको तीन/चार महिनाभित्रै वित्तीय संस्थाहरूको ऋण तिरिसक्छौं ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply