एउटा कविको मौनतामा
अचेल राजकुमार केसी लेखन–वृत्तमा समुपस्थित देखिँदैनन् । कुनै समय, लेखन क्षेत्रमा चम्किएर पछिल्लो कालखण्डमा मौन, सुस्त र सिर्जन कर्मबाट पलायन हुने उपक्रममा लागेका एकाध स्रष्टाहरूको लहरमा आबद्ध एउटा क्षमतावान कवि केसीको लेखन–क्षितिज खुम्चिनु निश्चय नै दु:खद् विषय हो । हुन त, केही वर्ष/केही दशक लेखन कार्यबाट टाढा भएका स्रष्टाहरू पुन: आफूभित्र मौजुद प्रतिभाको स्तम्भ उभ्याउन नलागेका होइनन् । नेपाली कविता आन्दोलनलाई केसीजस्ता प्रतिभावान् स्रष्टाले पुन: जागृत तुल्याउलान् भन्ने अपेक्षा राख्न नसकिने पनि होइन । तर, वैचारिक ऊर्जाले परिपूर्ण कविता सिर्जना गर्ने केसीजस्ता प्रतिभाले कलम बिसाउनु र अस्पष्ट, फितला र वैचारिक भन्दा पनि जातीय र क्षेत्रीय गन्ध कडा रूपमा आउने कविता कोर्ने स्रष्टाहरू बाक्लिदै जानु नेपाली कविता आन्दोलनका लागि पक्कै पनि सुखद् पक्ष होइन ।
सन् नब्बेको दशकमा विश्व समाजवादको केन्द्र सोभियत संघ पतनको संघारमा उभिएको थियो । राजनीतिक परिवर्तनको दिशा बदल्ने क्रममा एउटा सिंगो राष्ट्र, विभाजनको पीडा झेल्न बाध्य भइरहेको थियो । त्यो एउटा यस्तो भयावह समयावधि थियो, सिंगो विश्वका शोषित, उत्पीडित, न्यायको अपेक्षामा निकण्ठ डुब्ने जनहरूको आशा र भरोसाको धुरीमा आगो सल्किएको थियो र त्यो क्षणभरमा नै खरानीमा परिणत हुने स्थिति क्रमश: विकास हुँदै गइरहेको थियो । नभन्दै ढल्यो, त्यो साम्राज्य । शोषित, पीडितहरूको पक्षमा उभिएको साम्राज्य । पुँजीवादको आँखाको कसिंगर र घाँटीको काँडा सावित भएको र विश्वभरका उत्पीडित जनताको आशा, भरोसा, मुक्तिको केन्द्र मानिएको त्यो व्यवस्था, त्यो आशा र त्यो अपेक्षा पूरै ढलेको थियो ।
सोभियत संघको विघटनपछि धेरै स्रष्टाहरूले कलम चलाए । नचलाउन पनि किन ? धेरैको भरोसाको धुरी जगैदेखि भत्किएको थियो र भत्काउन भूमिका खेल्नेहरू भतेरमा निमग्न थिए । आफ्नो प्रतिस्पर्धी ढलेकोमा पुँजीवादका पृष्ठपोषकहरू खुसी नहुने प्रश्नै थिएन, ठाउँ नै थिएन । तर, सोभियत संघको पतनपछि एउटा सम्भ्रान्त, सुखी र इज्जतदार देशका नारी समुदायले कसरी आफ्नो अस्मितालाई किनबेच गर्न बाध्य भए ? सन् नब्बेको दशकको त्यति संग्लो तस्बिर खोज्नुपरे अहिले पनि कवि केसीको ‘एलिना साकारोभा खुला बजारमा’ शीर्षकभित्र अंकित यी काव्य–हरफ छाम्नुपर्ने हुन्छ :
‘त्यही रातो रुमालले आँसु पुछ्दै
घडीहरू बेच्यौ
जुत्ताहरू बेच्यौ
एलिना साकारोभा
अरू केही छ ?
अब
मात्र
बाँकी तिमी छौ
तिम्रो शरीर छ
यो खुला बजारमा ।’
राजनीतिक सोच, चिन्तन र आग्रहले भरिपूर्ण सिर्जना गर्नेहरू हामीकहाँ नगन्य छन् । किनकि, त्यस्तो काव्य–चिन्तन गर्न वा शब्दहरू जन्माउन राजनीतिक/वैचारिक सोच र दृष्टिकोणको त्यत्तिकै आवश्यकता रहन्छ । अचेल धेरै कवि भनाउँदाहरूले कविताका नाममा शब्दहरूको जाल बुन्ने बाहेक अरू काम गरिरहेका छैनन् । मिडियालाई पट्याउन जान्नेहरूले ‘सानदार, जबरजस्त’ रूपमा चर्चा/परिचर्चा बटुलिरहेका छन् । यस्तो लाग्छ, तिनीहरूजस्ता बिकाउदार स्रष्टा अरु कोही पनि छैनन्, यो भूतलमा । जताततै उनीहरूकै चर्चा/परिचर्चा व्याप्त छ । तर, एकाध काव्य–सर्जकलाई छाड्ने हो भने अहिले ‘मार्केट’म गर्माइरहेका अधिकांश कविहरू विचार, चिन्तन र दृष्टिकोणले खोक्रा कविताहरू लेखिरहेका छन् । र, त्यसलाई बिकाउ वस्तुका रूपमा प्रदर्शन गरिरहेका छन् । तर, केसी भने त्यस्ता स्रष्टाहरूभन्दा बिल्कुलै भिन्न थिए । र, उनले तत्कालीन विश्व राजनीतिलाई गहिराइसम्मै पुगेर बुझेका मात्र थिएनन्, त्यसको प्रभाव तत्कालीन नेपाली समाज र जनमानसमा कसरी परिरहेको छ भन्ने कुराको हेक्कालाई आफ्नो सिर्जनामार्फत् पस्किएका थिए । नभए उनले ‘के हाम्रो भेट नहोला र भोल्गा ?’ जस्ता सशक्त सिर्जना गर्ने थिएनन् :
‘धमिराले छिया छिया पारेको तिम्रो एउटा किल्ला ढल्यो
तर तिमीलाई कसले ढाल्न सक्यो ?
कैयौं सपनाहरू टुक्रिए
तिमीलाई कसले टुक्राउन सक्यो ?
लाग्छ, जरुर तिमी अहिले दुखित छौ
र पीडाका स्वरहरू सुसेलेर बगिरहेछौ, भोल्गा
भन्न सक्दिन तिमी कति दूरीमा छौ
र, तिम्रो गहिराइ कति छ
तिमी बहकिदै सुसाएर बग्नु
अनि तिम्रो यात्रालाई कुहिरोले छेक्नु
म यो कल्पना गर्न सक्दिनँ ।’
अचेल नाराबाट धेरै माथि उठेका तर, समाजवादी दृष्टिकोणले युक्त कविता सिर्जना गर्ने स्रष्टाहरू सीमित छन् । वैचारिक खुराक, कविताको माध्यमबाट पस्किने हैसियत राख्ने कवि त औंलामै गन्न सकिने स्थिति छ । पूर्णविराम, अमर गिरी, वासुदेव अधिकारी, श्रवण मुकारुङ, विनोदविक्रम केसी, केशव सिलवालजस्ता केही अग्रज र नवकविहरूले काव्यको वैचारिक यात्रालाई जारी राखेका छन्, अझै पनि । नेपाली वैचारिक काव्य फाँटमा उत्पन्न खडेरीयुक्त परिदृश्यलाई बुझेर केसीजस्ता वैचारिक काव्य–मन्थन र लेखनमा उम्दा स्रष्टाले पुन: कलम चलाउनु अनिवार्य देखिन्छ । ‘भूगोलका रेखाहरूबाट’ र ‘निहत्था मेरो सडक’ जस्ता सशक्त काव्यकृति नेपाली साहित्यलाई सुम्पिसकेका उनले पुन: वैचारिकताले ओतप्रोत कविता लेख्न अग्रसर देखाउन आवश्यक छ ।
जब सोभियत संघमा लेनिनको सालिक ढालियो, त्यो क्षणलाई उनले यस्ता काव्यिक हरफहरूमा उतार्न चाहे । कति वैचारिक उचाइँ ग्रहण गरेका छन्, यी पंक्तिहरूले ।
‘अब त्यहाँ सालिक छैन/मात्र हिउँको ढिक्का छ
सालिकलाई भर्खरै क्रेनका
बलिया दाह्राले क्षतविक्षत पारेको छ
‘न्यु टेक्सास’ निर्मित क्रेनले
अब पार्थिव सालिकलाई ढालेको छ
पर्खाल ढल्यो
सालिक ढल्यो
ढल्नुपर्ने पनि ढल्यो
नढल्नुपर्ने पनि ढल्यो
मन अमिलो पारेर
मात्र एउटा सालिक ढल्यो
तर सालिकको मान्छे ढलेन ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply