पठन संस्कृतिका पक्षपाति
अरूलाई उत्प्रेरित, उत्साहित र ऊर्जावान् तुल्याउने किताबहरू लेख्ने र आफ्नो प्रकाशनगृहबाट पनि त्यही विषयवस्तुका किताबहरू प्रकाशन गर्न रुचि देखाउने पुण्यप्रसाद प्रसाई सामान्य रूपमा निराश छन्, यतिबेला । हुन पनि, बाली उठाउने बेला असिना–पानी बर्सिएर बालीलाई क्षति पुर्याउने स्थिति सिर्जना हुँदा कुन चाहिँ किसानको मन अमिलो हुँदैन होला र ? अहिले प्रसाईलाई त्यस्तै भइरहेको छ । दसैँ–तिहारको पूर्वसन्ध्यामा पुस्तक प्रदर्शनी गर्ने आम परम्परालाई पछ्याउँदै छ दिनअघि मात्रै प्रसाईंकै सक्रियतामा प्रारम्भ भएको ‘दोस्रो बृहत् पुस्तक प्रदर्शनी तथा साहित्य महोत्सव–०७२’लाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको असर पार्न थालिसकेको छ । केही खिन्न भावमा उनले भने– ‘केही दिनदेखि जोर/विजोर गरेर गाडीहरू चल्न थालेका छन् । प्रदर्शनीका सुरुका दिनमा जति उत्साहजनक उपस्थिति थियो, अब विस्तारै घट्दै गएको छ । नाकाबन्दीले हाम्रो प्रदर्शनीलाई असर पुर्याउने देखियो ।’
असोज १९ गतेसम्म तोकिए पनि प्रदर्शनीमा पातलो उपस्थिति रह्यो भने त्यसले प्रकाशनगृहहरूलाई पक्कै पनि निराशा मात्रै थम्याउँछ । तर, निराशाकै बीच, अहिले उत्पन्न असहज परिस्थितिलाई सम्बोधन गर्ने हेतुले उनले भने– ‘हामी दु:ख सहन्छौं । तर, नेताहरूले विदेशीहरूको दबाबमा परेर झुक्ने काम नगरोस् भन्ने मलाई लाग्छ । कसैको दबाबमा परेर संविधान सच्याउने वा अरू प्रलोभनमा पर्ने काम गर्नु उचित हुँदैन ।’ आफू संयोजक रहेको यस पटकको पुस्तक प्रदर्शनीले नाकाबन्दीको कहर झेल्नुपर्दा उनलाई थोरै दु:ख र विस्मात लागे पनि भूकम्पको पीडा उनको मन–मस्तिष्कबाट अहिल्यैसम्म उत्रिसकेको छैन । वैशाख ११ देखि २१ गतेसम्म उनले अहिले पुस्तक प्रदर्शनी भइरहेको भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनी राखेका थिए । ठूलो उत्साह बटुलेर र राम्रै स्रोतसमेत जुटाएर उनले दस दिनसम्म किताबप्रेमीहरूसँग संवाद चलाउने टुंगोबीच त्यतिबेला प्रदर्शनी सुरु गरेका थिए । तर, भोलिपल्ट मध्याह्न आएको भूकम्पले उनको सपना धूलोमा मिसाइदियो । त्यतिबेलाको तीतो क्षणलाई उनले मस्तिष्कमा यसरी कैद गरेका छन्–‘भूकम्प आएपछि सबै प्रकाशकहरूको भागाभाग भयो । किताबहरू पनि छरपस्ट भए । मानिसहरू ज्यान जोगाउन यही भृकुटीमण्डपमा छिरे । भूकम्प गएको धेरै दिनसम्म पनि प्रकाशकहरू पुस्तक लिन आएनन् र धेरै किताबहरू हराए । भूकम्प आएलगत्तै गाडी बन्द भएको हुँदा मैले आफ्नै गाडीमा किताबहरू राखेर ४० पटकसम्म ओसारेँ ।’
प्रकाशकहरू किताब खोज्न आएनन् त ? उनी भन्छन्– ‘धेरै दिनपछि आएर सोधखोज त गरे । तर, धेरै पुस्तक हरायो त्यतिबेला । मानिसलाई आफ्नो जीवनभन्दा पुस्तक महत्त्वपूर्ण नहुँदो रहेछ ।’ भूकम्प–व्यथा सुनाएपछि उनले अहिले चालू पुस्तक प्रदर्शनीमै आफूलाई केन्द्रित तुल्याए– ‘पाठक, प्रकाशक र लेखकबीच समन्वय होस् भन्ने हेतुले हामीले प्रदर्शनी आयोजना गरेका हौं । यसमा पाठक र लेखकलाई एकै थलोमा उभ्याएर अन्तरक्रिया गर्ने उद्देश्य पनि गाँसिएको छ । त्यसो त, लेखकलाई पाठकहरूले झक्झक्याउँदा आफूले लेखिरहेका कुराहरू सान्दर्भिक छ कि छैन भन्ने बोध पनि यस्तै प्रदर्शनीहरूबाटै हुने गर्दछ ।’ यसबाहेक, पुस्तक–अध्ययन संस्कृतिको विकास होस् भन्ने चाहना पनि जोडिएको छ, अरू उद्देश्यहरूसँगै ।
प्राय: प्रकाशनगृहहरूले पुस्तक प्रदर्शनीका लागि दसैँअघिको समय नै छनोट गर्छन् । दसैँअघिको समयलाई पुस्तक फिजाउने मेलाको रूपमा चित्रित गर्दा आपत्ति नहुने भइसकेको छ अब त । किन यही समय त ? प्रसाई भन्छन्– ‘यो अति महत्त्वपूर्ण समय हो । अब दसैँ–तिहारको लामो बिदा हुन्छ र अधिकांश मानिसलाई फुर्सद पनि हुन्छ । किसानदेखि विद्यार्थीसम्मले फुर्सद पाउने बेला पनि यही हो । यस्तो बेला पुस्तक प्रदर्शनी राख्दा पाठकहरूले बिदाको समयलाई सदुपयोग गर्नका लागि पुस्तक किन्छन् भनेर हामीले यो समयको छनोट गरेका हौं ।’ जुनसुकै पुस्तक–मेलामा पुस्तक किन्न आउनेमा प्राय: युवाहरू नै बढी हुन्छन् । आफ्नो चेतना र ज्ञानको क्षितिजलाई अझ फराकिलो पार्ने चाहना युवा वर्गमा सुसुप्त स्थितिमा रहेको हुँदा उनीहरूले अरू माध्यमसँगै किताबलाई पनि आधार बनाउने गर्दछन् । त्यही भएर, रिड एन्ड ग्रो रीच र डिकुरा पब्लिकेशनको संयुक्त पहलमा आयोजित यस पटकको पुस्तक–मेलामा पनि युवा पंक्तिकै बाक्लो उपस्थिति रहेको प्रसाईंको कथन छ– ‘युवाहरू त आउने भइहाले । त्यस बाहेक किशोरहरू पनि उत्तिकै आएका छन् । कतिपय अभिभावकहरू आफ्ना बच्चालाई लिएर, उनीहरूका निम्ति किताब किन्न पनि आउने गरेका छन् ।’
अरू बेला पुस्तक पसलहरू सुनसान रहे पनि पुस्तक–मेलामा भने अपेक्षित रूपमा पाठकहरू ओइरिन्छन् । त्यसको एउटा मात्रै कारण हो– एकै थलोमा आफूले खोजेका पुस्तकहरू छानी–छानी किन्ने सुविधा हुनु । हुन पनि, यस पटकको पुस्तक–मेलामा १ सय १० प्रकाशनगृहले प्रकाशित गरेका करिब दुई हजार प्रकारका किताबहरू राखिएका छन् र करिब पाँच सय लेखकका किताब एकै थलोमा सजिन पुगेका छन् । विधागत रूपमा हेर्दा पनि, धर्मशास्त्रदेखि कोकशास्त्रसम्मका किताबहरू राखिएका छन् । अर्थात्, हरेक विधाका पुस्तक उपलब्ध हुने भएकै कारण सबैको चासो र जमघट पुस्तक–मेलाहरूमा हुनुलाई स्वाभाविक मान्न सकिन्छ । तर, पुस्तक–मेलामा आउनेहरूले पुस्तक किन्न कतिसम्म खर्च गर्न रुचि देखाउँछन् त ? प्रसाई भन्छन्– ‘अहिले कतिपयमा घरमा सानोतिनो पुस्तकालय बनाउने क्रम सुरु भएको छ । त्यस्ता व्यक्तिहरूले केही बढी रकमकै पुस्तक खरिद गरेर लैजान्छन् भने प्रायजसोले चाहिँ मेलामा छिरेपछि एक हजारजति खर्च गरेकै हुन्छन् । एउटा किताब किन्न आएकाले अरू किताब पनि किन्ने रुचि देखाउने गरेका छन् र त्यसो गर्दा औसतमा एक जनाले एक हजार बराबरको किताब किन्ने गरेको पाएका छौं ।’
त्यसो त, प्रसाईं प्रकाशन व्यवसायमा लागेकै सत्र वर्ष बितिसकेको छ । सुरुका दिनहरूमा सिनेमासम्बन्धी म्यागेजिन निकालेका उनले ०५४ सालमा डिकुरा पब्लिकेशन प्रारम्भ गरेपछि भने प्रकाशन व्यवसायमै रमाइरहेका छन् । प्रकाशन व्यवसायमा रमाउने क्रमसँगै उनले साहित्य लेखनमा पनि उत्तिकै दख्खल राख्दै आएका छन् । यही मेलाको मेसो पारेर उनले ‘हजार आशाहरू’ नामक किताब पनि बाहिर ल्याउन भ्याए । त्यो मानिसहरूलाई उत्प्रेरणा जगाउने किताब हो । भन्छन्– ‘अहिलेको निराशाजनक समयमा निराशालाई चिर्नका लागि प्रेरक पुस्तकहरू चाहिन्छ भन्ने पक्षलाई बोध गर्दै मैले त्यस्तो पुस्तक प्रकाशन गर्न चाहेको हुँ ।’ यी सबै कुरालाई एकछिन पन्छाऔं, तर अहिले नेपालमा प्रकाशन व्यवसायको स्थिति कस्तो छ त ? प्रसाईं भन्छन्–‘नेपालमा साहित्यिक पुस्तकहरू प्रकाशित गरेर करोडपति हुन्छु र बीएमडब्ल्यू चढ्छु भन्ने नसोचे पनि हुन्छ । तर, हामीले आज नेपाली भाषाको समृद्धि गर्ने हो भने यसको भविष्य राम्रो छ । पठन संस्कृतिको विकाससँगै प्रकाशन व्यवसाय पनि पहिलाभन्दा धेरै सुदृढ हुँदै गएको छ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply