मेरा परिवेश नै लेखनका स्रोत हुन् : शाह
तीसको दशकतिर नेपाली कथा लेखन उर्वर थियो । त्यही समयदेखि नै कथा–लेखनमा सक्रिय रहे, डा.अमर शाह । मध्यपश्चिमको नेपालगञ्जबाट प्रकाशित हुने तीन महिना पत्रिका ‘सिर्जना’मा ०३३ सालमै ‘पुनरावृत्ति’ शीर्षकको कथा छापिएपछि कथा लेखनमा आधिकारिक पाइला चालेका उनका दुई कथाकृति प्रकाशित छन् । पछिल्लो समय ‘कुरुक्षेत्र’ कथाकृतिमार्फत् नेपाली कथा–फाँटमा आफ्नो उपस्थितिलाई निरन्तरता दिएका डा.शाहसँग कथा–लेखनकै सेरोफेरोमा रहेर गरिएको संवाद : ० साहित्यका अरू विधामा भन्दा किन कथा लेखनतिरै आकर्षित हुनुभयो ? –मैले साहित्य यात्राको सुरुआत कविताबाट गरेँ । अझै पनि कविता लेखिरहेको छु । तर, यति हुँदाहुँदै पनि आफूलाई व्यक्त गर्न कथा नै सहज लाग्ने गरेको हुँदा कथा लेखनमा आकर्षित भएँ । ० तपाईं लेखनका लागि विषयवस्तु कसरी छनोट गर्नुहुन्छ ? –लेखनमा म यथार्थवादी हँु जस्तो लाग्छ । र, आफूवरपरका घटना, पात्र र प्रवृत्ति नै मेरो लेखनका आधार हुन् । कुनै वास्तविक दृश्य, घटना, पात्र र भोगाइको अस्थिपञ्जरमा मासु भरेर सानदार पार्ने काम नै लेखन हो जस्तो लाग्छ मलाई । ० कस्तो परिवेश, घटना र पात्रहरूलाई लेखनमा समेट्न चाहनुहुन्छ ? –मेरो लेखनका विषय मुख्य गरी मलाई छुने आफूवरपर विद्यमान विकृति र विसंगतिहरू नै हुन् । म आफ्नो कथाले स्थितिलाई जस्तो छ, त्यस्तै नांगो रूपमा तर रोचक ढंगले प्रस्तुत गरोस् र पाठकलाई झक्झक्याओस् भन्ने प्रयास गर्छु । यसको साथै मेरा रचनाहरूमा आममानिसका भोगाइ र सुख–दु:ख प्रतिविम्बित होऊन् तर निरश उपदेश भने नबनुन् भन्ने प्रयास पनि मेरो रहने गरेको छ । ० तपार्इंको कथा लेखन ग्रामीण परिवेशदेखि कर्मचारीतन्त्रसम्मै तन्किएका छन् । समाजका तल्लो वर्गदेखि कुलिन वर्गसम्मका चरित्रलाई कथामा उतार्नुभएको छ । कस्तो चरित्रलाई लेखनमा उतार्दा लेखकीय सन्तुष्टि मिल्छ तपाईलाई ? –आफूले नदेखेको, नभोगेको विषयवस्तु लेखनमा समेटेर काल्पनिक संसार निर्माण गरी त्यसमै रुमल्लिनु आफ्नो मात्र नभई पाठकको समेत समय र पैसाको दुरुपयोग हो जस्तो मलाई लाग्छ । तसर्थ, लेखन निरुद्देश्य नबनोस् र साथसाथै कोरा अर्ति पनि नबनोस् भन्ने मेरो प्रयास रहँदै आएको छ । अत: मेरो लेखनका विषयवस्तु मैले प्रत्यक्ष वा परोक्ष रूपमा भोगेको परिवेश नै बन्ने गरेका छन् । आफू पहाडको निम्नमध्यम वर्गको प्रतिनिधि भएको र निजामती सेवामा संलग्न रही जीविकोपार्जन गरिरहेकोले बहुसंख्यक कर्मचारीको प्रतिनिधित्व गर्ने खालका चरित्र चित्रण मेरो लेखनको सवल पक्ष हो जस्तो मलाई लाग्छ । साथै, मेरा कथाका घटना र चरित्रमा एकरसता नरहोस् भन्ने प्रयास म गर्छु । स्रष्टाको नाताले मलाई सन्तुष्टि मिल्ने कुरा यी भए तर, महत्त्वपूर्ण पक्ष पाठकलाई मिल्ने सन्तुष्टि नै हो । ० आफ्नो भोगाइलाई कथामा उतार्दा आफू हावी भएको महसुस गर्नुभएको छ कि छैन ? –तपार्इंको भनाइ अस्वीकार गर्न सकिँदैन । मेरो रचना संसार मेरो भोगाइकै वरपर निर्माण हुने भएकोले पात्रको प्रस्तुतिमा म तटस्थ रहन नसकेको हुनसक्छ । ० तपार्इं कुनै समय कथा लेखनमा सक्रिय हुनुहुन्थ्यो । बीचको अवधिमा तपाईको लेखन केही कम भएको थियो र अहिले फेरि लेखनमै फर्किनुभएको छ ? बीचमा किन लेख्न छाड्नुभयो ? –तीस र चालीसको दशकमा मेरो लेखन सक्रियता सन्तोषजनक थियो जस्तो मलाई लाग्छ र परिमाणमा थोरै लेखेर पनि पाठक, समालोचक र समकालीन लेखकहरूको स्नेह र आत्मीयता मैले पाएको थिएँ । तर, मैले लेखनलाई निरन्तरता दिन सकिनँ र पाठकको अपेक्षा पूरा गर्न पनि असमर्थ भएँ । अरू साथीहरूले जस्तो पेसा र रुचिबीच सन्तुलन राख्न नसकेको भन्नुबाहेक यो पलायनको खासै कारण मसाग छैन । त्यसो त लेखनबाट निक्रिय हुनुका मेरा केही नितान्त निजी कारणहरू पनि छन्, जुन म यहाँ उल्लेख गर्न चाहन्न । बीचमा लेख्न छोड्नु र अहिले पनि लेखनमा अत्यन्त अनियमित हुनु मेरो कमजोरी हो, म स्वीकार गर्छु । ० एउटा कथा लेख्न कति समयावधि लाग्छ तपार्इंलाई ? –एक दिनदेखि एक वर्षभन्दा बढी समय लागेको अनुभव छ । ० लेख्न मन लागेको तर लेख्न नसकिरहेको कुनै प्लट छ तपाईंसँग ? –एक मात्र नभएर केही प्लटहरू छन् । पेसा र पारिवारिक व्यस्तताको अलावा अकस्मात फुरेको प्लटलाई पूर्णता दिन असमर्थ हुनु नै कुनै प्लटमा कथा लेख्न नसक्नुका कारण हुन् । कुनै–कुनै प्लटले त वर्षौंसम्म पनि पछ्याउन छोडेका छैनन् । ० कथा लेख्दा सुरु गर्न सकस लाग्छ कि टुंग्याउन ? –कथा सुरु गर्नुभन्दा अन्त्य गर्न कठिन हुने मेरो अनुभव छ । अन्त्य नाटकीय र पाठकले सोचेभन्दा भिन्न रूपमा भए पाठकलाई बढी छुन्छ जस्तो मलाई लाग्छ र त्यो प्रयासले दु:ख दिने गर्छ । ० नेपाली साहित्यमा कथा विधाको विकासप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? –अन्य भन्दा कथा र उपन्यास विधा बढी सशक्त भए जस्तो मलाई लाग्छ । र, नेपाली साहित्यको कथा विधा विकास र विस्तार दुवै दृष्टिले सन्तोषजनक छ भन्ने मलाई लाग्छ । ० पछिल्लो समय कसको कथा पढ्नुभयो ? पेसागत व्यस्तताको कारण धेरै पढ्न नपाए पनि पुस्तक प्रदर्शनीहरूमा पाइएका अमृता प्रीतम, ज्ञानरञ्जन र ममता कालियाहरूका हिन्दी कथा संग्रह र डा. दयाराम श्रेष्ठ र राजेन्द्र पराजुलीद्वारा सम्पादित संग्रहका कथाहरू हाल पढिरहेको छु । ० नेपाली र विदेशी कथाकारहरूमा तपार्इंलाई सबभन्दा धेरै अपिल गर्ने कथाकारहरू को–को हुन् ? –मनु ब्राजाकी, नारायण ढकाल, किशोर पहाडी, महेशविक्रम शाह, नयनराज पाण्डे केही अत्यन्त मन पर्ने नेपाली कथाकारहरू हुन् भने पढाइ छिपछिपे मात्रै भए पनि प्रेमचन्द, निर्मल बर्मा, चेखव मन पर्ने विदेशी कथाकारहरू हुन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply