धेरै समेटिएका छन् साहित्यमा मधेस
विराटनगर, मधेसको एउटा सीमान्त सहर हो । त्यही सहरमा लामो समय बसेर मूलत: कथा लेखनबाटै नेपाली साहित्य वृत्तमा आफ्नो पहिचान बनाएका नारायण तिवारीले केही समयपूर्व अर्का मधेसबासी कथा–सर्जक मनु ब्राजाकीलाई प्रश्न गरेका थिए–‘तराई मधेसका उत्पीडनका धेरै कथाहरू लेख्नुभएको छ । जुन माटोमा जन्मियौं, हुर्कियौं, लडिबुडी गर्यौं, माटोलाई दुख्दा आफैं दुख्यौं । त्यस माटोका कथाहरू लेखिने नै भयो । अहिले नेपालको संविधान २०७२ निर्माण पश्चात् कस्तो देख्नु हुँदैछ, त्यो आफ्नो प्यारो माटो ? दुख्छ कि दुख्दैन ? दुख्छ भने के कुराले दुख्छ र दुख्दैन भने के कुराले दुख्दैन ?’
तिवारीले अलि भावुक प्रश्न नै सोध्नुभएको आभास हुन्छ । ब्राजाकीले भनेका छन्–‘ अमेरिकाबाट आउनासाथ म औरही सपरिवार गएको थिएँ । त्यहाँ छरछिमेकी र गाउँलेहरूको सद्बभावपूर्ण गुनासो थियो– गाउँ छाडेर नजानुस् । बोर्डर पारीबाट आउने बदमाससित हामी लड्छौं । उनीहरूलाई संकटमा पारेर हामी त्यहाँ बस्न चाहेनौं । फर्कियौं । उनीहरू दुखी भए, हामी पनि दुखी भयौं । मधेसमा खुसी हुनेहरू पनि छन् । हेरौं, कहिलेसम्म खुसी हुनेहरू खुसी हुन्छन् । खुसी हुनु राम्रो हो कि नराम्रो, मलाई थाहा छैन ।’
कथा–सर्जक तिवारीले अर्को प्रश्न तेस्र्याएका छन्, ब्राजाकीसामु । सोध्छन्–‘माओवादी सशस्त्र द्वन्द्वका कथाहरू लेख्नुभएको छ । अहिलेको मधेसवासी द्वन्द्वको कथा लेखुँ लेखुँ लाग्दैन ? लेख्नुपर्यो भने वा लेख्नुभयो भने तपाईंको कथामा कुन पक्षलाई जायज र कुन पक्षलाई नाजायज देखाउनु हुन्थ्यो होला ?’
कथा–लेखनमा सामाजिक, राजनीतिक विषयवस्तुलाई गहन र सटिक रूपमा उठाउने ब्राजाकीले जवाफ दिएका छन्–‘अंग्रेजसित हारेपछि खुला बोर्डर नेपालको बाध्यता थियो । अंग्रेजले भारत छोडेपछि नेपाल र भारत बोर्डर खुला हुनु राणा, शाहको स्वार्थ थियो । कांग्रेसको नालायकी, स्वतन्त्र भारतको ‘रोटीबेटी’ भन्ने कूटनीति । अहिले मधेसमा को रैथाने हो, को अंगिकृत हो, को द्वैध नागरिक हो, को आगन्तुक हो, को पक्ष हो, को विपक्ष हो, केही बुझिँदैन । यी कुराहरूको छिनोफानो नभई को जायज र को नाजायज भन्न मिल्छ होला र ?’
ब्राजाकीले थपेका छन्–‘मैले बुझेसम्म मधेसीले चाहेको गुदी कुराचाहिँ आत्मसम्मान हो । तर, आन्दोलनको अहिलेको प्रकृति र प्रवृत्ति देख्दा भविष्यमा मधेसीहरू सम्मानित होलान् र ? अर्को महत्वपूर्ण कुरा, मधेस आन्दोलनको मर्मान्त्य र त्यसका विविध रूपाकार बुझ्न मधेसमा मधेसीहरूबीच बस्न म मधेसमै जन्मिएको तथाकथित मदिसे हो कि पहाडिया हो, ले पनि पाउने अवस्था छैन ।’
कथा सर्जकद्वय ब्राजाकी र तिवारीबीचको यी सम्वादले अहिले मधेसमा चर्किरहेको आन्दोलनको गुह्य पक्षबारे सीमित मात्रामै भए पनि बुझ्न सकिन्छ । तर, तराई–मधेसका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सवलता र दुर्वलताहरू, मधेसका जटिलताहरूलाई लेखनमा उतार्नेहरूमा मधेसबासी नेपाली मुलका सर्जकहरूको कम भूमिका भने छैन । बीपी कोइरालादेखि पछिल्लो पुस्ताका तिवारीसम्मले मधेसका विविधता र सामाजिक, जातीयलगायत समस्याहरूलाई गहिराईमै पुगेर उधिनेका छन् र आफ्नो लेखनमार्फत् उजागर गरेका छन् ।
साहित्यकार डा.धु्रवचन्द्र गौतमको चर्चित उपन्यास ‘अलिखित’ मधेसकै सामाजिक समस्या उतार्न केन्द्रित कृति हो । तथापि, ‘अलिखित’मा मधेसीहरूलाई होच्याइएकोमा मधेसका केही बुद्धिजीविहरूले विरोधका स्वर पनि उरालेका थिए । तर, समाजको वास्तविक तस्बिर उतार्दा त्यसले त्यस समाजमा रहने मानिसहरूको सांस्कृतिक दरिद्रताका पक्षलाई उठाउनु एउटा लेखकको कर्तव्य पनि हो र हुनुपर्छ । मधेस–चिन्तनमा अग्रसर विद्वान् रामावतार यादवले ‘अलिखित’बारे यस्तो टिप्पणी गरेका थिए–‘अलिखितको नायक दिनमा दुई छाक खान्छ र विरहिनपुर बरेवाकी भोजपुरीभाषी मधेसी परस्त्रीलाई सुताउँछ । यौन सम्पर्कपूर्व मायाप्रीतिका कुनै कुरा गर्दैन, फटाफट यौनक्रिया गर्छ । यौनक्रियाको कुरा कतिसम्म दोहोरिएको छ भने उपन्यासका धेरै पानाहरू पुरुष वीर्य र त्यसको गन्धले लतपतिएका छन् । उपन्यासमा नारायणी अञ्चललाई उत्तेजक यौनांगका रूपमा चित्रण गरिएको छ । अचम्मलाग्दो कुरा के छ भने उपन्यासमा पहाडी पुरुष पात्रले भोजपुरीभाषी परस्त्रीसँग यौन सम्पर्क राखेर दया गरिदिएको भन्ने भान पारिएको छ ।’
तराई–मधेसका सामाजिक/सांस्कृतिक पक्ष, जीवन–चरित्रलाई छिन्द्रान्वेषण गर्ने र त्यसलाई सिर्जनाको जलप लगाउने कार्यमा पूर्वका विराटनगरदेखि सुदूरपश्चिमसम्मका नेपाली मुलका स्रष्टाहरू नै क्रियाशील देखिँदै आएका छन् । पूर्वी तराईको जनजीवनलाई बीपी कोइरालाले साहित्यमा उतारे भने त्यही सेरोफेरोमा ऋषिराज बराल, नारायण तिवारी, विवश पोखरेलहरू कलम चलाउन अग्रसर रहे । अझ, बरालले त विराटनगर आसपासका सीमान्त तह र वर्गका पात्रहरू, जसको सामाजिक र राजनीतिक पहुुँच न्यून छ, लाई साहित्यको मूलधारमा भित्र्याए । भवानी भिक्षु र मदनमणि दीक्षितका केही रचनामा पनि तराई–मधेसका जीवन उतारिएका छन् ।
मध्य–तराईको सामाजिक/सांस्कृतिक पक्षहरूलाई धच गोतामे, धु्रवचन्द्र गौतम, मनु ब्राजाकी, इस्माली, विमल निभाजस्ता प्रखर सर्जकहरूले उतारे । गोतामेको ‘घामका पाइलाहरू’, गौतमको ‘अलिखित’, ब्राजाकीका केही कथाहरू, इस्मालीका पनि केही कथा, निभाका एकाध कवितामा मध्य तराईको जनजीवन जीवन्त तरिकाले उतारिएका छन् ।
मध्यपश्चिममा रहेर सिर्जनारत सनत रेग्मीले पनि त्यही भेगका, तराईका जीवनलाई आफ्नो सिर्जनामा भित्र्याएका छन् । खासगरी, मध्यपश्चिमका थारूहरूको सांस्कृतिक पक्षलाई उतार्न रेग्मी सफल भएका छन् । कवि अमर गिरीले पनि कविता मार्फत् मध्यपश्चिमको तराई/भित्री मधेसमा बस्ने थारूहरूका जीवन चरित्र र समस्यालाई उजागर गरेका छन् ।
नेपाली साहित्यमा तराई–मधेसको उपस्थिति लोभलाग्दो छ । खासगरी, नेपाली मुलका स्रष्टाहरूले नै तराई–मधेसका समस्यालाई पिँधसम्मै पुगेर खोतलेका छन् र त्यसलाई लेखनमा उतारेका छन् । नभए, नारायण तिवारीलाई तराईको एउटा सीमान्त वर्गका प्रतिनिधि रामखेलावनप्रति यति धेरै चिन्ता हुँदैनथ्यो । तिवारी लेख्छन्–
‘म तराईको तपाईको रामखेलावन
बुझ्न सकेन हजुर
आन्दोलन के कर्ने ?
म त स्वास्नी, बचाबुची छाडेर
फेरि आन्दोलन कर्न गयो
तपाईले धोका त दिँदेन हजुर ?’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply