रङ र कुचीलाई ब्युँताउने संकल्प
नौ महिनाअघि नेपालीहरूको मन र मस्तिष्कमा त्रासदी, पीडा र भयका अनगिन्ति दृश्य–विम्बहरू मडारिएको थियो । महाभूकम्पले सर्वत्र थिलथिलो तुल्याएको थियो । त्यही क्रममा, अधिकांश राणाकालीन भौतिक संरचना ध्वस्त हुँदा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अवस्थित भवन पनि सग्लो रहने कुरै थिएन । जगैदेखि नउखेलिए पनि त्यो राणाकालीन दरबार अब प्रयोगहीन बन्न पुगेको छ । छिया–छिया दरबारतिर औंल्याउँदै प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव नवराज भट्ट भन्छन्– ‘हामी त्रिपाल र प्रयोगशाला भवनमा बसेर एकेडेमीका दैनिक कामहरू सञ्चालन गरिरहेका छौं । अब यो भवनमा बस्ने स्थिति रहेन ।’
भूकम्पले नेपाल प्रज्ञा–प्रतिष्ठान र भाडामा रहेको संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको भवनलाई खासै क्षति नपुर्याएको हुँदा ती दुई प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूले यतिबेला त्रिपालमुनि रहेर काम गर्नुपर्ने बाध्यता पनि छैन । तर, ललितकलाको भवन भने पूर्ण क्षतिग्रस्त भएको हुँदा नयाँ भवन निर्माणका लागि तत्काल नै पहल थालिएको थियो । विडम्बना, अहिले त्यस्तो पहलमा पनि विराम लागेको छ । किन त ? सदस्य–सचिव भट्ट भन्छन्– ‘एकेडेमी रहेको भवन भत्किएपछि हामीले सरकारसमक्ष नयाँ भवन निर्माणका लागि प्रस्तावसमेत राखिसकेका थियौं । हाम्रँे आफ्नै जग्गा रहेको हुँदा भवन बनाउनका लागि जमिनको खाँचो थिएन । तर, हामीले जुन ठाउँमा भवन बनाउनका लागि तयार गरेका थियौं, त्यो जग्गा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले हामीलाई थाहा–पत्तै नदिइकन संगीत तथा नाट्य एकेडेमीलाई दिनुभएछ । त्यही कारण, नयाँ भवन बनाउने काम त्यत्तिकै थाती रहेको छ । हामी मर्माहत हुन पुगेका छौं ।’
एकातिर भूकम्पले भवन भत्काएको पीडा, अर्कोतिर पाँच दशकभन्दा लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गा अर्कै एकेडेमीलाई दिने टुंगो । आखिर, रङ, कुची, हथौडा र छिनोको संसारमा रमाउने कलाजीवीहरू किन मर्माहत नहोऊन् त ? भट्ट भन्छन्– ‘हाम्रो सहमतिबिना नै सरकारले अर्कै एकेडेमीलाई हाम्रो जग्गा दिएको हुँदा हामी अदालत गुहार्न बाध्य भयौं । अहिले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आशा छ, हामीले भोगचलन गर्दै आएको जग्गा हाम्रै हुनेछ ।’ त्यसो त, एक जना पूर्वमन्त्रीले हचुवाको भरमा ललितकलाको जग्गा संगीत–नाट्य एकेडेमीलाई दिँदा तीन वटा प्रज्ञा–प्रतिष्ठानबीचको सौहार्दपूर्ण सम्बन्धमा पनि कटुताका बिजहरू उम्रिन पुगेको भट्टको ठहर छ– ‘तीन वटै एकेडेमीबीच सौहार्द सम्बन्ध थियो । तर, यो प्रकरणले हामीबीचको सम्बन्ध भताभुंग भएको छ । त्यसो त, प्रज्ञाको ऐनअनुरूप तीन वटै एकेडेमीलाई बराबर जग्गा बाँड्ने भन्ने कुरा थियो र संगीत–नाट्य एकेडेमी चाहिँ राष्ट्रिय नाचघर वा कमलादीस्थित पुरानो एकेडेमीमै रहने भन्ने थियो । तर, केही नगरी ललितकलाकै जग्गा हडप्ने काम गरियो ।’
पन्ध्र महिनाअघि ललितकला प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिवमा नियुक्त भएका भट्ट काठमाडौंको दक्षिणी भेगमा नै रहेर आफ्नो सिर्जना–संसार र सामाजिक क्रियाकलापहरूमा सक्रिय थिए । तर, धेरै कलाजीवीहरूले आँखा लगाएको र सदस्य–सचिवको कुर्सीमा बस्न लालायित रहेकाहरूलाई उछिन्दै उनले उक्त जिम्मेवारी सम्हाल्न आइपुगे । ४३ वर्षअघि काठमाडौंको नैकापमा जन्मिएका भट्टले सानैदेखि चित्रकारितामा आफूलाई उतारे । भन्छन्– ‘मैले सानैदेखि चित्रकारिता गरेको हुँ । तर, स्कुलमा पढ्न थालेपछि भने मैले चित्रकलामा आफूलाई तिखार्दै लगेँ । त्यतिबेला प्लान नेपालले मेरा चित्रहरू उनीहरूको प्रकाशन पुस्तिकामा छापिदिएपछि त मैले यही क्षेत्रमा नै आफ्नो सिर्जना व्यक्त गर्न सक्छु भन्ने लाग्यो ।’ हुन पनि उनी चित्रकलाप्रति यति मोहित थिए कि, त्रिचन्द्र कलेजबाट स्नातक गरिसकेपछि उनले फेरि ललितकला क्याम्पसमा भर्ना भए र त्यहाँबाट पनि स्नातक पूरा गरे । ०५३ सालमा ललितकला क्याम्पसको स्ववियु सचिव हुनुभन्दा अगाडि उनले विभिन्न पत्रपत्रिकाहरूमा कार्टुनहरू समेत बनाए । प्राचि, प्रकाशजस्ता पत्रिकाहरूमा उनले नियमित रूपमा कार्टुन बनाए । भन्छन्– ‘०४८ देखि ०५३ सालसम्म मैले कार्टुनमा नै आफूलाई भुलाएँ ।’ अहिलेसम्म तीन पटक एकल चित्रकला प्रदर्शनी गरेका उनले सामूहिक चित्रकला प्रदर्शनीमा भने थुप्रै पटक सहभागिता जनाइसकेका छन् ।
केही समय चित्रकला–संसारमा रमाउन नसकेका भट्ट अहिले भने चित्रकलामै निमग्न छन् । तर, सदस्य–सचिवको जिम्मेवारीबोधले गर्दा आफूले सोचेजस्तो कला–सिर्जना गर्न नसकेको उनको ठम्याइ छ । तर, दोस्रँे कार्यकालमा अघि बढिरहेको एकेडेमीलाई नयाँ र विशिष्ट रूपले सञ्चालन गर्ने सोच पनि उनले राखेका छन् । भन्छन्– ‘हामीले नेपाली कलालाई विश्वव्यापी रूपमा फैलाउन अहिले प्रयत्न गरिरहेका छौं ।’ हुन पनि, भारतस्थित ललितकला एकाडेमीसँग दुई देशबीच कला र संस्कृतिबीच सम्बन्ध आदान–प्रदान गर्न दुवै देशका एकेडेमीबीच सम्झौता भएको छ । तर, दुर्भाग्य । भारत र नेपालबीच सम्झौता भएकै भोलिपल्ट भूकम्प आएको हुँदा आशातित रूपमा कामहरू अघि बढ्न सकिरहेको छैन । भट्ट भन्छन्– ‘जे–जस्तो परिस्थिति रहे पनि आगामी फेब्रुअरीमा भने नयाँ दिल्लीमा दुवै देशको कला–मेला हुँदैछ । अहिले नाकाबन्दीको असर सर्वत्र परे पनि यो कला मेला पहिले नै तय भएको हुँदा रोकिने सम्भावना छैन ।’
दक्षिणमा मात्र होइन, उत्तरी छिमेकी चीनसँगको सम्बन्ध पनि विस्तारै प्रगाढ हुँदैछ । दुई महिनाअघि मात्रै चीनको संस्कृति मन्त्रालय र सिचुआन प्रान्तको निमन्त्रणामा नेपालका पाँच जना कलाकार चीन पुगेका थिए । सदस्य–सचिव भट्ट भन्छन्– ‘नेपालबाट गएका कलाकारहरूले सात दिनसम्म चीनमै रहेर कला–सिर्जना पनि गरे । बेइजिङमा ती कलाहरूको प्रदर्शनीसमेत भयो । हामीले सिर्जना गरेका २० थान कलाकृति चीनको संस्कृति मन्त्रालयले राखिदियो । अझ, हाम्रा सिर्जनाहरूलाई उनीहरूले धेरै नै मन पराए ।’ भारत, चीन, बंगलादेश र पाकिस्तानसँग कला र संस्कृतिको क्षेत्रमा निरन्तर संवाद चलाउने, कला यात्राहरू गर्ने र कला आदान–प्रदान गर्ने क्रमसँगै अब इजरायल र केही युरोपियन देशहरूसँग पनि त्यस्तै सम्बन्ध बढ्ने आधारहरू तय भएको पनि उनले बताए । तर, सदस्य–सचिव भट्ट चीनमा त्यही देशका कलाकर्मीहरूले पाएको सम्मानप्रति भने अचम्भित छन् र नेपालमा त्यस्तो परिस्थितिको विकास कहिले होला भन्ने कल्पना पनि गर्छन् । भन्छन्– ‘चिनियाँहरूले परम्परागत लोककला र त्यसका सर्जकहरूलाई प्रश्रय दिएको पाएँ । त्यस्ता कलाकारहरूलाई राज्यले ठूलो सम्मान र प्रश्रय दिँदा रहेछन् । चीनको त्यस्तो सम्मान हामी नेपाली कलाकारहरूका निम्ति
लोभलाग्दो रह्यो ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply