एमालेको धुम्बाराही गमनको उत्सव
जनताको बहुदलीय जनवादका ‘रक्षकहरू’को हालै काठमाडौंमा सम्पन्न भेला–प्रशिक्षण समापन दोस्रो दिन पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भयो । पार्टीका ‘शक्तिशाली’ महासचिव र अझ वैचारिक एवं जातीय ककस मामिलाका विज्ञ नेताहरूको उपस्थितिमा सातवटै प्रदेशका छुट्टाछुट्टै समयमा आफ्ना ‘रचनात्मक सुझाव’ प्रस्तुत भएछन् ।
अनेक विज्ञताका धनी तत्कालीन कोइराला सरकारका एकजना मन्त्रीले आफू मन्त्री हुने क्रममा गरेको ‘सेवा’को सानदार स्मारक बनेको पार्टी केन्द्रीय कार्यालय भवनमा फाउन्डेसनका यी सबै काम भएछन् । राष्ट्रको विभूति पासाङ ल्हामु शेर्पाको नामबाट विभिन्न पासाङ ल्हामु प्रतिष्ठानको यो भवन मन्त्री बन्ने–बनाउने दुवैले अहिले जेजसरी उपयोग गरे, त्यसबाट एकै समयमा वीरगति प्राप्त पासाङ ल्हामु र जननेता मदन भण्डारीप्रति केकति सम्मान भएको छ, ‘फाउन्डेसन’ चलाउनेहरूले बुझ पचाए पनि धेरै निरीह र पहुँच नभएका पार्टीजनले भने अपमान ठानेका छन् ।
सरकारको अनुदान र समुदायले श्रद्धापूर्वक दान दिएर बनाएको प्रतिष्ठानको भवनमा जननेताप्रति अगाध निष्ठा समर्पणले निर्मित मदन नगरको पार्टी भवनको ठाउँसारीका अन्तरकथा छापा माध्यममा थुप्रै पार्टीपंक्तिको हृदय चिमोट्दै छाप पर्न गएको छ ।
सञ्चारमा आएअनुसार एमालेले ३ करोड खर्च गरेर सारेको पार्टीको नयाँ घर प्रवेश र प्रवेशपूर्वका प्रचारबाजी केही एमालेजनका लागि नयाँ आविष्कारजस्तो थियो । भाडाको घरमा ३ करोड खर्च गरेर तीन वर्षका लागि मासिक १ लाख ५० हजार भाडा तिर्ने सम्झौता केही कसैका लागि आविष्कार र हर्षको विषय हुन सक्छ तर बिचरा पार्टी अध्यक्ष, वरिष्ठ नेता तथा अन्य सहभागीहरूको उपस्थिति जंगेको टुँडिखेलको परेडमा भाग लिएजस्तो सहभागितापूर्ण उत्सव थियो भन्ने टिप्पणीकार पनि नभेटिएका होइनन् ।
त्यो उत्सव र आविष्कारलाई उचित नठानेर तत्कालीन पार्टी केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीलगायत कतिपय केन्द्रीय पदाधिकारी सो कार्यक्रममा सहभागी भएनन् । सोही समयमा ललितपुर च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा पार्टी कार्यालय सार्ने तयारी भए पनि अन्तमा सो भवन भारतीय दूतावासको सहयोगमा निर्मित भएकाले त्यहाँ कार्यालय नसार्ने चर्चा भएको थियो । तर, अहिले भारतीय दूतावास र अन्य धेरै छिमेकीहरूको प्रत्यक्ष लगानीमा सञ्चालित फाउन्डेसनको कार्यक्रम पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुको संयोग र तादाम्यता पार्टीपंक्तिले खोजिरहेका छन् ।
बल्खुमा २० वर्षभन्दा बढी कार्यालय सञ्चालन भएको, जननेता मदन भण्डारीको नामबाट बनेका कार्यालयभवन, सडक, मार्ग र टोलबस्ती चर्चित रह्यो । नेता, कार्यकर्ता र स्थानीय जनताको भावनात्मक सम्बन्धको थलो थियो, मदननगर पार्टी कार्यालय । यस्तो भावनात्मक सम्बन्धको स्थानलाई चटक्कै छाडेर उल्टै ३ करोड खर्च गरेर जाँदा ‘भारतीय सम्बन्ध’का सिद्धान्तकारहरू पनि मौन देखिएका थिए । त्यो मौनताका खुसियालीमा हाल फाउन्डेसन नै धुम्बाराही प्रवेश गरेपछि छचल्किएको छ ।
मदन नगरको त्यो कम्पाउन्डमा जन्मेका बच्चाहरू अहिले जवान भइसके, उनीहरूका परिवारले आँसु बगाउँदै भने– ‘त्यो ३ करोड यहीँ खर्च गरे पार्टी कार्यालय बन्न सक्थ्यो ।’ जे जसरी आज सजिलै मदन नगर छाडे, त्यसैगरी कुनै दिन माक्र्सवाद र जनताको बहुदलीय जनवाद पनि चटक्कै छाडेमा आश्चर्य हुनेछैन भनेर त्यहाँ बस्दै आएका धेरै पुराना कर्मचारीहरूको गुनासो थियो ।
वर्तमानमा ‘जबजका रक्षक’ दस्ताको अगुवाइमा नेकपा (एमाले) भित्र जेजस्तो तरिकाले जेजस्तो नेतृत्व निर्माणको प्रयास हुँदै छ, यस्तै रहिरहेमा कालान्तरमा बल्खु मदननगर, जबज आफैं र पार्टीपंक्ति तिनै ‘रक्षकहरू’को कृपापात्र भएर मात्र बच्नेछ, विचार, सिद्धान्त, दर्शन, नैतिकता, मौलिकता र सिर्जनात्मकतामा अब कसैको भविष्य छैन । ‘रक्षकहरू’को कृपाबाहेक नसोचे हुन्छ, महाधिवेशनपछिका एक वर्ष नौ महिनाले पुष्टि गरेको भन्दै फाउन्डेसनको भेलाका सहभागीहरूले चर्चा गरेको पाइयो । पार्टीको धुम्बाराही आगमनको स्वागत पासाङ ल्हामु प्रतिष्ठानका पदाधिकारीले गरे भने ‘फाउन्डेसन’को स्वागत पार्टी पदाधिकारीले गर्नु संयोग मात्रै होइन होला । तर, केही मानिसले भने अब पार्टी पासाङ ल्हामु प्रतिष्ठान र ‘फाउन्डेसन’को आवश्यकता सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । पार्टी कार्यालय सार्दाका खर्च, निर्माण, खरिद र भुक्तानीको प्रक्रिया र आर्थिक ऐन नियमावलीबारे पनि झिनो स्वरमा चासो व्यक्त भइरहेका छन् । तर, त्यस्तो माग गर्ने चासो राख्नेहरूलाई ‘जबजका रक्षक’हरूबाट भने रक्षाको सुविधा प्राप्त नहुन सक्छ भन्ने चर्चा पनि छ ।
महाभूकम्पको ‘वार्षिकी’ नजिकिँदै जाँदा पार्टीले जेठ १० देखि एक महिनाको स्वयंसेवी अभियान चलाएको बेलाको आर्थिक–भौतिक आयव्ययको पारदर्शिताको माग हुँदै छ । त्यो पारदर्शी र सार्वजनिक नहुँदा उक्त अभियानमा लागेको सक्रिय पंक्ति र संगठनहरूमा निराशा उत्पन्न भएको छ । देश र जनतालाई भूकम्पको पीडाले गाँजेको बेला कसैले चाहिँ भूकम्पका नाममा पार्टीको शिर निहुर्याएको त छैन, आशंकायुक्त छलफल हुने गरेका छन् । गोल्छा र त्यस्तै अन्य दाताहरूले सार्वजनिक गरेका कुराहरू पर्याप्त छन् ।
नेकपा (एमाले)ले जसरी पारदर्शिता, जनलेखापरीक्षण र मितव्ययिताको जोडदार पक्षपोषण गर्दै आएको छ, त्यो पार्टी र त्यसका भ्रातृ संगठनभित्र कुनै हेर्न बुझ्न नसकिने क्रियाकलाप हुन सक्दैन, यो पार्टीपंक्तिको उच्च विश्वास हो तर यो भुइँचालोका धेरै प्रभावमध्ये पार्टीभित्र पनि प्रभाव देखा पर्दै गएका छन् । धुम्बाराही गमन र त्यहाँको उत्सव पनि एउटा प्रभाव हो । गोल्छाको वक्तव्यबाजी अर्को प्रभाव हो । यस्ता प्रभाव विस्तारित नहोऊन् । साँच्चै हाँस्ने ठाउँमा हाँसौं, उत्सव मनाउने सन्दर्भ र ठाउँमा उत्सव मनाऔं । पुँजीवादीहरूको चमक दमक र विज्ञापनमा करोडौं कमाउनेले साइकल चढेको देखाउने, लाखौंको क्रिम सेन्ट, लुगा कपडा प्रयोग गर्ने एकपटकको नास्ता मात्रै ४० लाखको गर्ने सेलिब्ेरटीहरूले केही सय वा हजारमा पाउने सामानको उपयोग गरेको विज्ञापन गरेजस्तो हाम्रो चमकदमक एवं उत्सव नबनोस् । विगतको ‘महान् शिथिलीकरण’लाई उछिन्दै नवौं महाधिवेशनपछिको एक वर्ष नौ महिनाको महत्त्वपूर्ण कार्य र उपलब्धि यस्तै उत्सवहरू बन्न पुगेको कार्यकर्ताको चिया गफमा व्यस्त हुँदै छन् ।
जननेता मदन भण्डारीले शिलान्यास गरेको र क. माधवकुमार नेपालले उद्घाटन गरेको कञ्चनपुरको पार्टी भवन ‘मदन–आश्रित स्मृति भवन’ उद््घाटन समारोहमा क. माधवले भन्नुभएको थियो– ‘जसको घर छैन, उसको भर छैन ।’ त्यसैले आफ्नो भावनात्मक सम्बन्ध र पहिचान भएको मदन नगरको पार्टी घर निर्माण गरौं र नयाँ घर प्रवेशको दिन उत्सव मनाऔं ।
बल्खु काठमाडौंबाट तराई जोड््ने फास्ट ट्रयाकको प्रस्थान बिन्दु हो । थानकोट कलंकी नाकाको नजिकको बिन्दु हो । अहिले पनि कुलेखानी हेटौंडा मार्गको प्रवेशद्वार हो । यो ठाउँ कसैलाई पनि अपायक हुन सक्दैन । बरु, कतै यसको भविष्यमा प्रमुख व्यावसायिक महत्त्वका कारण उच्च मूल्यांकनबाट हुने उपलब्धिमा कसैको आँखा त लागेको छैन ? त्यसो भएमा पार्टीका लागि दुर्भाग्य र केहीका लागि फेरि अर्को उत्सवको विषय बन्न सक्छ भन्ने चर्चालाई पनि भुल्न सकिँदैन ।
अन्त्यमा, पार्टीका ‘शक्तिशाली र थिंक ट्यांकहरू’ अब संगठनात्मक व्यवस्थाभन्दा बाहिर ‘फाउन्डेसन’को आयोजनामा काठमाडौंमा उपलब्ध हुने व्यक्तिहरूबाट पार्टीको संगठन, पार्टीको सुदृढीकरण, देशको विकासबारे छलफल गर्न थालेकोमा बधाई दिनैपर्दछ । अझ त्यो भेला र छलफलमा बहुमत निरीह भएको अल्पमतले बितण्डा मच्चाएको निष्कर्ष सिद्धान्त प्रतिपादनको क्षेत्रमा महत्त्वपूर्ण ‘डिपार्चर’ हुन पुगेको छ । पार्टी विभाजनताका मालेहरूले २०५५ सालतिर मदन भण्डारीको विकल्पमा ‘उहाँको जस्तो अनुहार र बोलीसमेत’ भएको व्यक्ति भनी एकजना पात्रलाई अघि सारेझैं फेरि केही अनुहारहरू ‘तिलस्मी व्यक्तित्वका धनी’ भन्दै अगाडि सार्ने प्रभावबाट ‘जबजका रक्षकहरू’ले अर्को ठूलो ‘डिपार्चर’ गरेको आफैं पनि उत्सव मनाउनैपर्ने निष्कर्षमा पुगेको छ ।
उर्वादत्त पन्त
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply