पुरस्कारमा मौलाउँदो भ्रष्टीकरण
नेपालका अधिकांश पुरस्कारहरू विवादको घेरामा तानिनु अब कुनै नौलो विषय रहेन । राष्ट्रिय र स्थानीय तहमा समेत वितरण गरिने हरेक किसिमका पुरस्कारका पछाडि विवादको ट्याग झुन्डिनुलाई अब सामान्य मान्न थालिएको छ । साहित्य, गैरसाहित्य विधामा दिने प्रायजसो पुरस्कार विवादरहित हुनु, कल्पनाभन्दा बाहिरको विषय बनिसकेको छ । आखिर, पुरस्कारजस्तो पवित्र विषय किन दूषित बन्दै गइरहेको छ ? एउटा गम्भीर र सोचनीय प्रश्न जन्मिन पुगेको छ ।
केही दिनअघि चार दर्जनजति नेपाली पत्रकारहरूले लाइन लागेर पुरस्कार थापे । पुरस्कार ग्रहण गर्न लालायित पत्रकारहरूको बाक्लो र लामो लहरले कुनै मतदान केन्द्रमा मत खसाल्न उभिएकाहरूको लस्करको प्रतीत गराउँथ्यो । एकैपटक दर्जनौं पुरस्कारहरूलाई पुरस्कृत गर्ने तारतम्य नेपाली पत्रकारिता जगत्मा सधैंभरि विवादमा आइरहने एक पात्रद्वारा सञ्चालित रिपोर्टस क्लबले मिलाएको थियो । र, पुरस्कार थाप्नेहरूमा पनि ठूलादेखि सामान्य मिडिया हाउसमा कार्यरत पत्रकारहरू थिए । देशका अग्रज र वरिष्ठ प्राय: प्रात:स्मरणीय पत्रकारहरूको नाममा स्थापित पुरस्कार पाउँदा कलमजीवी पत्रकारहरूले आफ्नो कदर भएको महसुस गर्नु स्वाभाविकै हो । किनकि, पुरस्कारको अगाडि गोपालप्रसाद रिमाल वा कृष्ण सेन इच्छुकको नाम जोडिँदा त्यो पुरस्कृत हुनेका लागि पनि गौरव र खुसीको कुरा हो । तर, रिपोर्टर्स क्लबको आवरणमा पर्दा पछाडिबाट एउटा छिमेकी राष्ट्रको स्वार्थ र महत्त्वाकांक्षालाई पूरा गर्ने र त्यही राष्ट्रबाट भित्री रूपमा लगानी गरेको पैसाबाट स्थापित पुरस्कार एउटा स्वाभिमानी पत्रकारले स्वीकार र ग्रहण गर्नु कत्तिको उचित कार्य हो ?
पुरस्कार थाप्नेहरूलाई आफूले पाएको पुरस्कारको राशि कुन देशबाट ‘फन्डिङ’ भएको हो ? जानकारी नहुन पनि सक्छ । तर, आफूलाई पुरस्कृत गर्ने संस्थाको इतिहास, गतिविधि र त्यसले पत्रकारिता क्षेत्रमा कमाएको साख कस्तो छ भनेर हेक्का राख्न भने अवश्य नै सकिन्थ्यो । आखिर, पुरस्कार पाउनेहरू कुनै अनपढ, गँवार र देशको दूरदराजमा बस्ने पत्रकारहरू थिएनन्, तिनीहरू काठमाडौं र देशका मुख्य सहरहरूमा वर्षौंदेखि कलम घोटिरहेका स्थानीय पत्रकारहरू नै थिए । र, उनीहरूलाई आफू कस्तो संस्थाद्वारा पुरस्कृत हुँदै छु भनेर ज्ञान नहुने प्रश्नै रहेन ।
साहित्य होस् वा गैरसाहित्य क्षेत्र, अचेल सबै क्षेत्रका व्यक्तिहरूले पुरस्कार प्राप्तिको दौडमा आफूलाई सक्रियतापूर्वक सामेल तुल्याएकै हुन्छन् । हुन त कुनै पनि व्यक्ति पुरस्कृत हुनुलाई उसले आफ्नो क्षेत्रमा गरेको विशिष्ट योगदानको कदर मान्नुपर्छ र त्यस्ता व्यक्तिहरूलाई पुरस्कृत गरिनु उचित पक्ष पनि हो । पुरस्कार प्राप्त व्यक्तिको कदर हुनुका साथै त्यसले उसलाई सामाजिक, पेसागत हैसियत र उँचाइ पनि दिलाउँछ । तर, पुरस्कार प्राप्तिको दौडधुपमा अधिकांश राम्रा सर्जक, प्रतिभाहरूले पनि पनि आफू कस्तो संस्थाद्वारा पुरस्कृत हुँदै छु भन्ने पक्षमा आँखा चिम्लिन थालेका छन् र केवल पुरस्कार पाए हुन्थ्यो भन्ने चाहना र छटपटी त्यस्ता व्यक्तिहरूमा तीव्र रूपमा प्रकट हुन थालेका छन् । आफूलाई पुरस्कृत गर्ने कुनै पनि क्लब वा गुठीको सामाजिक छवि कस्तो छ ? पुरस्कार दिने संस्थाका हर्ताकर्ता कति स्वच्छ, इमानदार र धमिलिएको छविबाट टाढै छन् ? त्यस्ता पुरस्कारमा सामाजिक हैसियत समाप्त भएर समाजमा पुन:स्थापित हुन चाहने तत्त्वको लगानी छ कि छैन ? वा, कुनै विदेशी राष्ट्रले आफ्नो स्वार्थ र उद्देश्य प्राप्तिका लागि फन्डिङ गरेका हुन् ? यस्ता पक्ष्ँहरूलाई गौण ठान्ने र पुरस्कारलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति मौलाएको हुँदा पुरस्कार दिने संस्थाको संलग्नता कोसित छ भन्ने पक्षलाई हेर्न छाडिएको छ ।
पुरस्कार प्रदान गर्ने संस्था र त्यसका हर्ताकर्ताले नाफा–घाटाको हिसाब नगरी कसैलाई पुरस्कृत गर्लान् भनेर त सोच्न पनि सकिँदैन । प्राय: पुरस्कार दिनेहरूले लिनेहरूसँग ढिलोचाँडो कुनै फाइदा लिने उद्देश्यले नै पुरस्कृत गर्ने सोचाइ अवश्य नै राख्छन् । पुरस्कार दिने संस्था वा व्यक्तिहरूले आफूले पुरस्कार दिएकाहरूलाई चिनी खुवाएर मह छदाउने नीति लिएकै हुन्छन् । प्रायजसोमा कसैलाई पुरस्कार दिए, सम्मान गरेर खुसी तुल्याउने र कसैलाई पुरस्कृत गरेकै आधारमा आफ्नो दुनो सोझ्याउने लक्ष्य सँगालेका हुन्छन् । एकाध पुरस्कार दिने संस्थालाई छाड्ने हो भने अधिकांश संस्थाको मुख्य उद्देश्य नै पुरस्कारको नाममा आफ्नो स्वार्थ निप्ट्याउने हुन्छ । देशका प्रतिष्ठित, पुरानो र राम्रै सामाजिक छवि भएको पुरस्कार–प्रदत्त संस्थाका हर्ताकर्ताले आफ्नो काम पट्याउन प्रतिष्ठित पुरस्कारको दुरुपयोग गरेको चर्चा चल्ने गर्दछ भने अरू भुरेटाकुरे पुरस्कारहरूको स्थिति कति नै गतिलो, पारदर्शी र स्वच्छ होला र ?
पुरस्कारलाई भ्रष्टीकरण तुल्याउने क्रम दिनानुदिन बढ्दो छ । कसैलाई पुरस्काररूपी नैवेद चढाएर आफ्नो काम र स्वार्थ पट्याउने कार्यलाई भ्रष्टाचारको तहमा राख्दा पक्कै पनि अन्यथा ठहरिँदैन । नेपालका अधिकांश पुरस्कारहरू यही भ्रष्टीकरणको चपेटामा परेका छन् । राष्ट्रिय स्तरका होस् वा क्ष्ँेत्र र जिल्लागत तहका पुरस्कार नै किन नहोस्, सबै घटीबढी भ्रष्टीकरणको चपेटामा परेका छन् । बाह्य रूपमा हेर्दा राम्रै उद्देश्यले पुरस्कार दिने संस्था स्थापना भएको देखिए पनि त्यसको भित्री पाटो भने अत्यन्तै घिनलाग्दो, अपारदर्शी र अस्वस्थकर देखिएका छन् । पुरस्कारमा व्याप्त भ्रष्टीकरण रोकिनु अनिवार्य देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply