कसरी मनाए स्रष्टाहरूले दसैं ?
भर्खरै बिदा भएको छ, दसैं । नेपालीहरूको ठूलो र सांस्कृतिक आयामले भरिपूर्ण दसैंलाई बिदा गरेलगत्तै अर्को पर्व अर्थात् दीपावलीले नेपालीहरूको घर–आँगनलाई लछ«प्पै छोपिसकेको छ । त्यसो त पीडा वा खुसी जेसुकै भए पनि दसैं र तिहार नेपालीहरूको रमाउने पर्व हो । कोही खानपिन गरेर रमाउँछन्, कोही मनोरञ्जनका माध्यमहरू समातेर रमाउँछन् । सबैको आ–आफ्नै तरिका हुन्छ । तर, यस पटकको दसैंको बिदामा साहित्यिक लेखनमा समर्पित स्रष्टाहरू भने कसरी रमाए त ? सबैका आ–आफ्नै अनुभूति छन् ।
दसैंको बेला जन्मथलो भोजपुर गएका कवि विप्लव ढकालले भने दसैंमा केही कविता लेखेर बिदाको सदुपयोग गरे । भोजपुरका डाँडाकाडा र दौंतरीहरूसँग रमाउने स्वभावका ढकालले ‘खेल’ शीर्षकको कविता दसैंकै बेला सिर्जना गरे । उनले लेखे,
‘थैली किनिदेऊ बाबा’ भन्यौ
बजारबाट थैली किनेर ल्याएँ !
तिमी अझै रुन छोडेनौ,
फेरि ‘हात्ती किनिदेऊ बाबा’ भन्यौ
घर बेचें, बारी बेचें, इमान बेचें
शरीरका वस्त्रहरू बेचेर
नांगो बनें
र हात्ती किनेर ल्याइदिएँ !
फेरि पनि रुँदै छौ तिमी
हतियार उठाउँदै छौ
आलापविलाप गर्दै छौ
र भन्दै छौ–
‘यो थैलीभित्र
हात्ती छिराइदेऊ बाबा !’
यो खेलमा
अबचाहिँ म हारें छोरा !
तिम्रो देशजस्तै नराम्ररी हारें !!’
कथाकार राजेन्द्र पराजुलीले यसपटकको दसैंलाई सिर्जनात्मक कामहरूमा नै लगाए । उनी भन्छन्, ‘दसैं सिर्जनात्मक रह्यो । दसैंअघि नै मैले योजना बनाएको थिएँ, घरभित्रै बस्ने । पढ्ने र लेख्ने । मनमा थुप्रै कथाका प्लटहरू घुमिरहेका थिए । केही प्लटलाई ल्यापटपमा टिपेरै राखेको थिएँ । त्यस्ता प्लट मसँग आधा दर्जनजति थिए । तर, दसैंको छेकोमा कम्तीमा दुईवटा कथा लेख्ने योजना थियो । अनि केही पुस्तक पढ्ने पनि विचार थियो । कथा पनि लेखें र किनेर राखेका दुई पुस्तक पनि पढें ।’ कुन–कुन पुस्तक हो त, उनले दसैंका बेला पढेका ? भन्छन्, ‘नाइजेरियाका प्रख्यात लेखक बेन ओकरीको ‘द फ्यामिस्ड रोड’ र अर्थशास्त्र जोसेफ ई स्टिग्जिको ‘द प्राइस अफ अनइक्वेलिटी’ पढें । दसैंलाई नै दृष्टिगत गरी प्रकाशित भएका विभिन्न म्यागेजिन र पत्रिका त पढ्नैप¥यो ।’
जागिरे जीवनको सिलसिलामा नेपालगन्जमा रहेका कवि तथा निबन्धकार भीष्म उप्रेतीले भने एउटा निबन्ध लेखेर भ्याए । ‘टेको’ शीर्षकको त्यो निबन्धमा उनले नेपाली समाजको चरित्र उधिन्न चाहेका छन् । दसैंको बिदालाई सदुपयोग गर्ने क्रममा उनले एउटा उपन्यासको पुनर्लेखनमा पनि ध्यान दिए । भन्छन्– ‘मध्यपश्चिमका समाजका कथाहरूलाई समेटेर लेखिएको उपन्यासलाई मैले पुनर्लेखन गर्न समय छुट्ट्याएँ ।’
इटहरीमा रहेर साहित्य–सिर्जनामा समर्पित हेमन यात्रीले भने दसैंमा खासै सिर्जना गरेनन् । पछिल्लो समय उच्च कोटिका कविता लेख्ने कविमा दरिएका हेमनले दसैं–बिदालाई प्रख्यात लेखिका झुम्पा लाहारीको पुस्तक पढेर सदुपयोग गरे । उनी भन्छन्, ‘त्यो किताब धेरै सरल भाषामा लेखिएको रहेछ र एकदमै रोचक तरिकाले घटनाहरूलाई अथ्र्याउन उक्त किताब सफल रहेको पाएँ ।’
तर, समीक्षात्मक टिप्पणी गर्न चाहने जीके पोखरेलले भने केही किताबहरूको सम्पादन गरे । पछिल्लो समय सम्पादन कार्यमा डटेका पोखरेलले दिवानसिंह राईको उपन्यास ‘रिकुटे’ को सम्पादन गरेर भ्याए । उनी पनि भन्छन्, ‘अब दुई÷तीनवटा नयाँ लेखकको किताब सम्पादन गर्नुपर्नेछ । अहिले म त्यसकै चटारोमा छु ।’
केही समयअघि नेपाली साहित्यलाई एउटा कथाकृति सुम्पेका मिश्र वैजयन्तीले भने दसैंका बेला एउटा मात्रै कविता लेखिन् । उनी भन्छिन्, ‘एउटा कविता त लेखें, तर त्यो पनि कोरा नै छ ।’ तर, दसैंका बेला आफूले खगेन्द्र संग्रौलाले अनुवाद गरेका किर्घिस्तानी लेखकको किताब ‘प्रथम गुरु’ भने पढेर भ्याइन् । भन्छिन्– ‘यो कृति पढ्न ढिलो भएकोमा पछुताएँ पनि ।’
कथाकार रवीन्द्र समीरले पनि यसपटकको दसंैलाई सिर्जनात्मक कामहरूमा नै समर्पित गरे । भन्छन्– ‘गएको वर्ष महाभूकम्पमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न म जहाँ पुगें, जे देखें, जे भोगें र जे गरें, त्यसलाई संस्मरणको रूपमा लेख्ने काममा दसैं बित्यो ।’ त्यसो त लघुकथा लेखनमा केन्द्रित समीरले दसैंको बिदालाई सदुपयोग गर्ने क्रममा केही लघुकथा पनि लेखे । उनी भन्छन्, ‘दसैंको छुट्टी भएकाले बच्चाहरूलाई सक्दो समय दिएँ । पुस्तक पठन, प्रातः भ्रमण, ध्यान तथा स्वास्थ्यलाई पनि प्राथमिकता दिएर दसैं मनाएँ ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply