राज्य खँगारेर भाटलाई पुरस्कार ?
इतिहासका पानालाई उत्खनन गर्दा एउटा समाचार फेला पर्छ । २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना हुनुअगावै ‘गरिमा’ ले एउटा समाचार छापेको थियो । त्यस समाचारमा भनिएको थियो, ‘युवा कवि बमबहादुर थापा जिताली र दूधपोखरी प्रतिभा परिवार भोटे ओढार लमजुङका लागि आफ्नी आमा स्वर्गीय बसुन्धरा थापाको पुण्य स्मृति र आफ्ना वयोवृद्ध पिता श्री प्रेमबहादुर थापाको सम्मानमा ‘बसुन्धरा–प्रेम’ प्रतिभा पुरस्कार स्थापना गर्नुभएको कुरा जानकारीमा आएको छ ।’
त्यतिबेला छापिएको समाचारअनुसार पुरस्कारका लागि अक्षयकोषमा ४ हजार रुपैयाँ राखिएको थियो । तत्कालीन समयमा थोरै रकमको अक्षयकोष राखेर स्थापना गरिएका यस्ता पुरस्कारहरूको महŒव हुनु स्वाभाविकै मानिन्थ्यो । किनकि, सीमित साहित्यिक पुरस्कार मात्र थिए त्यतिबेला । तर, करिब २७ वर्षअघि स्थापना भएको उक्त पुरस्कारले निरन्तरता पाइरहेको छ वा छैन ? कि उक्त पुरस्कार स्मृतिको गर्तमा बिलाइसक्यो ? नेपाली साहित्यिक पुरस्कारहरूको सूचीमा ‘बसुन्धरा–प्रेम प्रतिभा पुरस्कार’ को अचेल कुनै चर्चा र उल्लेख नभएको हुँदा यस्तो प्रश्नले ठाउँ पाउनु स्वाभाविक बनेको छ ।
त्यही समयकै सेरोफेरोमा धनकुटामा पनि एउटा साहित्यिक पुरस्कार स्थापना भएको थियो । नाम थियो ‘घिउकुमारी पुरस्कार ।’ स्थानीय समाजसेवी रामनारायण श्रेष्ठले आफ्नी आमाको नाममा स्थापना गरेको १० हजार राशिको सो पुरस्कार धनकुटाकै एकजना प्रतिभालाई हरेक वर्ष दिने घोषणा गरिएको थियो । तत्कालीन समयमा १० हजार राशिको पुरस्कारलाई ठूलै मान्नुपर्ने हुन्छ ।
तर, अचेल सो पुरस्कारको हालत कस्तो छ ? केही अत्तोपत्तो छैन । जिल्लामै सीमित छ वा उहिल्यै बन्द भइसक्यो ? कुनै चर्चा–परिचर्चा नभएको हुँदा यस्तो प्रश्न उठ्नु स्वाभाविक ठानिन्छ ।
राजधानी होस् वा मोफसल । ठूला वा साना धनराशिका साहित्यिक पुरस्कारहरू स्थापना हुने क्रम लामो समयदेखि चल्दै आएको छ । तर, लमजुङ र धनकुटाका दुई साहित्य–सर्जक र अनुरागीले करिब तीन दशकअघि नै स्थापना गरेका पुरस्कारले निरन्तरता नपाएजस्तै नेपाली साहित्य जगत्मा स्थापित थुप्रै पुरस्कारहरू निरन्तरताको चपेटामा परेका छन् । भावनामा बहकिएर वा कसैको लहडमा परेर आफ्ना आफन्तहरूका नाममा पुरस्कार स्थापना गर्ने र त्यसलाई निरन्तरता दिन नसक्ने परिपाटी हामीकहाँ विकास भएको यी दृष्टान्त हुन् ।
आफ्ना पूर्वज, आफन्त वा समाजमा उल्लेख्य योगदान अर्पण गरेका व्यक्तिका स्मृतिमा पुरस्कार राख्नु सराहनीय पक्ष हो । यस्ता सुकर्मले समाजमा असल र उल्लेखनीय काम गर्ने व्यक्तिहरू सदैव सम्मानित हुन्छन्, सम्मानका लागि भागीदार ठहरिन्छन् भन्ने सन्देश प्रवाह हुन पुग्छ । राष्ट्र र समाजसामु असल पात्रका रूपमा चिनिएका व्यक्तिका नाममा पुरस्कार वा सम्मान राख्दा त्यसले समाजभित्रका कुपात्रहरूलाई सोच्न बाध्य मात्र बनाउँदैन, असल कार्य गर्नुपर्दोरहेछ भन्ने उत्प्रेरणासमेत जगाउँछ । तसर्थ, समाजका असल पात्रहरूका नाममा साहित्यिक वा अरू कुनै खाले पुरस्कार स्थापना गर्नुलाई असल र पवित्र उद्देश्यद्वारा निर्देशित कर्मका रूपमा स्विकानुपर्ने हुन्छ ।
तर, नेपाली साहित्य वृत्तमा स्थापित केही साहित्यिक पुरस्कारहरू भने सामाजिक जीवनका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूका नाममा भन्दा बदनाम छवि कमाएका व्यक्तिहरूका नाममा स्थापना हुँदा सिंगो पुरस्कारकै गरिमालाई ताछ्ने कार्य भइरहेको छ । अझ, कतिपय संस्था र व्यक्तिले त कुनै प्रतिष्ठित व्यक्तिको नाममा पुरस्कार स्थापना गर्ने तर पुरस्कृत भने आफ्नै भाटगिरी, चम्चागिरी गर्नेहरूलाई सुम्पने गलत प्रवृत्तिको पनि विकास हुन थालेको छ अचेल । यसबाट पुरस्कारको गरिमा र सौन्दर्यलाई नै विरूप र धूमिल बनाउने प्रयत्नबाहेक अरू केही नहुने प्रस्टै छ ।
विगतमा राज्यको तहबाट भन्दा व्यक्तिगत प्रयत्नबाट त्यस्ता साहित्यिक पुरस्कारहरू पनि स्थापना भए । उदेकलाग्दो पक्ष के देखियो भने आफ्ना सन्तान–दरसन्तानका नाममा पुरस्कार स्थापनाका लागि धनको वर्षा गराउनेहरूका साहित्यसँग गोरु बेचेको कुनैसाइनो समेत देखिएको पाइँदैन । तर, सामाजिक प्रतिष्ठा र यश कमाउने लालसाले करोडौं राशि खर्चिएर साहित्यिक पुरस्कार स्थापना गरे त्यस्ता व्यक्तिहरूले । कालान्तरमा जुन व्यक्तिले ठूलो धनराशीको आकर्षक साहित्यिक पुरस्कार स्थापना गरे, पछि ती व्यक्तिका अनैतिक क्रियाकलाप, चरित्र र कुकृत्यहरू खुल्न थालेपछि उनले स्थापना गरेका पुरस्कारहरूले निरन्तरता पाउन सकेन ।
अझ, हिजो तिनै बदनाम मानिसले स्थापना गरेको पुरस्कार थाप्ने स्रष्टाहरूले पनि पुरस्कार फिर्ता गर्ने आँट सँगाल्न सकेनन् । किनकि, स्रष्टाहरूलाई त्यस्तो संस्था वा व्यक्तिमार्फत पुरस्कारको संयोजन गरिएको थियो, पुरस्कार–संयोजकको हातमा त्यस्तै अरू व्यक्तिहरूका नाममा स्थापना गरेका पुरस्कारहरू पनि थिए । अर्थात्, ती बदनाम व्यक्तिको नाममा स्थापित पुरस्कार फिर्ता गरे अरू पुरस्कार नपाइने कारण पुरस्कार फिर्ता गर्न उचित देखेनन्, त्यस्ता स्रष्टाहरूले ।
अचेल भने कुनै बदनाम व्यक्तिले छरेको पैसामा उनकै आफन्तजनहरूका नाममा पुरस्कार स्थापना गर्नुभन्दा राष्ट्रले पत्याएका व्यक्तिका नाममा पुरस्कार वा सम्मान राखेर राष्ट्रकै ढुकुटी रित्याउने खेल सुरु भएको छ । राष्ट्रिय स्तरका व्यक्तिका नाममा पुरस्कार स्थापना गरेर आफ्ना भाट र चम्चाहरूलाई पुरस्कृत गर्ने नौलो तरिका अपनाइन थालिएको छ । त्यस्ता पुरस्कार लिनेहरूमा के प्रगतिशील, के गैरप्रगतिशील । सबैले लर्को लागेर पुरस्कार थाप्न रुचि देखाइरहेका छन् । एकातिर असल मनशाय राखेर स्थापित पुरस्कारहरूले निरन्तरता नपाउने स्थिति छ भने अर्कोतिर राज्यलाई खगारेर भाट र चम्चाहरूलाई पुरस्कृत गर्ने परम्परा सुरु भएको छ । यस्तो गलत परम्परा रोकिनु नै फलदायी देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply