नेपाली चलचित्रहरूमा किन लागू हुँदैन ट्राफिक नियम ?
० मोटरसाइकल चलाउनेले अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने नियम छ । यो नियम मात्र होइन, मोटरसाइकल चलाउनेहरूका निम्ति सुरक्षासँग गाँसिएको सवाल पनि हो । तर, चलचित्र ‘छक्कापन्जा’ मा भने नायकको भूमिका निर्वाह गर्ने दीपकराज गिरीले हेल्मेट होइन, टोपी लगाएर मोटरसाइकल चलाउँछन् । जब नायकले नै नियम उल्लंघन गर्छन् भने अरूले के गर्लान् ? त्यस्तै, सोही फिल्मका अर्का कलाकार जितु नेपालले पनि मोटरसाइकल चलाउँछन्, विनाहेल्मेट । उनले त गिरीले जस्तै हेल्मेटको साटो टोपी पनि लगाउँदैनन् ।
० रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी’ मा निश्चल बस्नेत र विजय बरालले मोटरसाइकल कुदाएका दृश्य ठाउँ–ठाउँमा देखाइन्छन् । तर, कसैले पनि हेल्मेट लगाउँदैनन् । कतिपयले तर्क गर्न सक्लान्, विकट हिमाली जिल्ला मुस्ताङमा सो फिल्मको सुटिङ गरिएको हुँदा ट्राफिक नियम नपछ्याइएको होला ।
आफूलाई ‘राम्रा निर्देशक’ ठान्ने गुरुङको ध्यान नेपालको ट्राफिक नियममा मोटरसाइकल चलाउनेहरूले हेल्मेट लगाएर चलाउनुपर्छ भन्नेतिर किन ध्यान जान सकेन ?
० चलचित्र ‘प्रेमगीत’ मा नवनायक अनमोल केसीले त हदै गर्छन् । एउटा गीतमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेमा मोटरसाइकल कुदाउँछन् । तर, फिल्मकी नायिकालाई सान देखाउन हो वा आफू हिरो भएको देखाउन हो, उनले पनि हेल्मेट नै नलगाई मोटरसाइकल कुदाउँछन् ।
अधिकांश नेपाली फिल्महरूमा अधिकतम रूपमा मोटरसाइकल कुदाइएको दृश्य फिल्मांकन गर्ने गरिएको पाइन्छ । नायक वा खलनायक, दुवैका भूमिकामा मोटरसाइकल प्रयोगलाई व्यापक रूपमा जोड दिने गरिएको पाइन्छ । खासगरी, फिल्मांकन कथावस्तुअनुरूप नै हुने गर्दछ र मध्य र उच्च पारिवारिक तहका व्यक्तिहरूकै पेरिफेरीमा नेपालका अधिकांश फिल्मको कथावस्तु घुम्ने भएका हुँदा मोटरसाइकललाई नै प्राथमिकतामा राख्ने गरेका छन् । यसलाई स्वाभाविक नै मान्नुपर्छ ।
तर, नेपाली फिल्मका निर्देशकहरूको दिमागमा यो कुरा किन घुस्न सकेको छैन अझै ? कि, विनाहेल्मेट मोटरसाइकल कुदाउनु ट्राफिक नियमको घोर उल्लंघन हो । हेल्मेट नलगाई मोटरसाइकल चलाउनेहरूलाई ट्राफिक प्रहरीले ‘चिट’ काट्ने गर्दछ, जरिवाना तिराउने गर्दछ ।
अर्कोतिर, सामान्य जीवनमा काठमाडौंका सहरहरूमा दीपकराज गिरी, जितु नेपाल, निश्चल बस्नेत, विजय बराल र अनमोल केसीहरूले मोटरसाइकल चलाउँदा हेल्मेट लगाएरै चलाउछन् होला सायद । ट्राफिक नियमको उल्लंघन गर्दा कारबाही भोग्नुपर्ने कुराप्रति यी कलाकारहरू सायदै अनभिज्ञ होलान् । तर, सामान्य जीवनमा अपनाउने नियमलाई फिल्ममा भने किन अपनाइँदैन ? यो नेपाली चलचित्र क्षेत्रका निर्देशकहरूले लगातार दोहो¥याइरहनु ठूलो गल्ती हो, लापरबाही हो, हेलचेक्र्याइँको पराकाष्ठा हो । जसमा स्थापितदेखि नयाँनौला निर्देशकहरूसमेत चुकिरहेका छन् ।
विनाहेल्मेट मोटरसाइकल कुदाइएका दृश्यलाई आफूद्वारा निर्देशित फिल्महरूमा स्थान दिनुमा मूलतः निर्देशकहरूका गल्ती देखिन्छ । तर, योभन्दा पनि ठूलो गल्ती त सेन्सर बोर्डको कुर्सीमा पदासीनहरू भएकाहरूले गरिरहेका छन् । कुनै अश्लील वा द्विअर्थी झल्किने शब्दका साथै व्यापक देह प्रदर्शन गरिएका दृश्यहरूमा सेन्सरको कैंची चलाउने सेन्सर बोर्डका मानिसहरूले हाकाहाकी ट्राफिक नियम उल्लंघन गरिरहेका विनाहेल्मेटका चालकहरूका दृश्यलाई भने किन छुट दिइरहेका छन् ? विनाहेल्मेट मोटरसाइकल कुदाउने नायक, खलनायकहरूका दृश्यमा कैंची चलाउनेतिर किन उनीहरूको ध्यान जान सकिरहेको छैन ? कि सेन्सरमा ट्राफिक कार्यालयकै मानिस चाहिने हो ? सेन्सर बोर्डमा बस्नेहरूको लापरबाही र उदासीनताका कारण कैंची चलाउनुपर्ने दृश्यहरूमा कैंची चलाइएको पाइँदैन र कैंची नै नचलाउनुपर्ने दृश्यमा कैंची चलाएर तिनीहरूले भत्ता पचाइरहेका छन् ।
पछिल्ला समयहरूमा चलचित्र समाजको दर्पणका रूपमा स्थापित हुँदै गइरहेको छ । समाजको त्यो दर्पणमा गलत, भ्रामक, सामाजिक सद्भाव बिथोल्ने खालका अनुहारहरू देखिनु उचित हुँदैन । अपेक्षा राख्नैपर्छ कि समाजलाई सही दिशा र दृष्टिकोण दिने दृश्यहरू सजिनुपर्छ, त्यो दर्पणमा । त्यसका निम्ति निश्चय नै सेन्सर बोर्डको भूमिका गहन, उच्च र अहंसमेत छ । चलचित्रमार्फत समाजमा विसंगत र विकृत पक्षहरू भिœयाउने सोच कुनै पनि चलचित्रकर्मीहरूमा नहोला, तर कहिलेकाहीँ समाजलाई अपाच्य हुने दृश्य र शब्दहरूले चलचित्रलाई विरूप बनाइरहेको हुन्छ । सेन्सर बोर्डमा रहनेहरूले उदासीनता देखाउने, आँखा चिम्लिने र गलत सन्देश प्रवाह गर्ने दृश्यलाई छुट दिने कार्य कदापि स्वीकार्य हुने विषय होइन । सेन्सर बोर्डमा रहनेहरूमै खोट देखिनु राम्रो कुरा होइन । तर, सेन्सर बोर्डमा रहनेहरूमा लापरबाही र केटौलेपनले गर्दा नेपाली चलचित्रहरूमा आपत्तिजनक, अनमेल र अस्वाभाविक दृश्यहरूको चाङ नै लाग्ने गरेको पाइएको छ । यतातिर सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्पष्टै देखिन्छ ।
केही वर्षअघि भारतको समृद्ध प्रान्त केरलाका परिवहन आयुक्त ऋषिराज सिंहले यति कडा यातायात नियम लागू गरे कि, त्यसमा विनाहेल्मेट मोटरसाइकल कुदाएर फिल्मको सुटिङ गर्ने फिल्मकर्मीलाई कानुनी दायरामा ल्याउने उद्घोष गरे उनले । उनले भनेका थिए, ‘म केरलामा शोलेको पुनः सुटिङ हुन्छ भने पनि जय र बिरुलाई हेल्मेट नलगाई मोटरसाइकल चलाउने अनुमति दिन्नँ । फिल्म बनाउनेहरू पहिला बच्दथे, किनकि कानुनको पालना भइरहेको थिएन ।’
त्यसो त ट्राफिक नियमलाई संसारका हरेकजसो फिल्म उद्योगहरूले अपनाएका छन् । हलिउडको चर्चित फिल्म ‘टर्मिनेटर’ जस्तो एक्सन फिल्ममा पनि कुनै पनि पात्रलाई सिटबेल्ट नलगाईकन कार चलाउने अनुमति दिएको देखिँदैन । तर, हामीकहाँ भने सेन्सर बोर्डको यति धेरै लापरबाही छ कि, ‘छक्कापन्जा’ होस् वा ‘कबड्डी कबड्डी’ विनाहेल्मेट मोटरसाइकल चलाउन पाइएको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply