राजनीतिको ग्लामर्सतिर
जीवनका अधिकांश हिस्सा कला जगत्मा बिताएका कलाकर्मीहरूले राजनीतिको गोरेटो चुन्नुलाई नौलो र अनौठो मान्नुपर्दैन । राजनीतिमा सहभागिता जनाएर देश र जनताको समृद्धिमा चासो राख्ने अधिकार सबै मतदातालाई भएजस्तै कलाकर्मीहरूलाई पनि हुनु स्वाभाविकै हो । यस्तो अभ्यास विश्वभरि नै चलेका हुँदा नेपालका सन्दर्भमा यसलाई यसअघि पनि स्विकारिँदै आएको छ । प्रश्न यति मात्रै हो, कलाको रंगीन संसारबाट राजनीतिमा हाम फालेका कलाकर्मीहरूले कति सफलता हात पारे र पार्न सकेनन् ? तर, कलाकर्मीहरू पनि समाजका सजग र सचेत अभियन्ता भएका हुँदा राजनीतिमा सामेल भएर परिवर्तनका रेखा कोर्ने अभियानमा उनीहरूले हिस्सा लिनुलाई अन्यथा ठान्न भने सकिँदैन ।
पछिल्लो समय स्थानीय तहको निर्वाचन तय भएसँगै कलाकर्मीहरू कोमल वली र नायिका रेखा थापा निर्वाचनमा उठ्ने कुरा सार्वजनिक भएको छ । केही महिनाअघि राप्रपामा सामेल भएकी यी दुई कलाकर्मीलाई निर्वाचनमा उठाउने विषयले अहिले कला क्षेत्रमा सामान्य तहको चर्चा–परिचर्चा भइरहेको छ । राजनीतिभन्दा पनि वर्षौंैदेखि कलाको माहोलमा जमेका र कलाको गणितमा पारंगत यी कलाकारलाई राजनीतिमा उतारेर जिम्मेवारी दिने राप्रपाको महानतालाई धन्यवाद दिनैपर्छ । राजनीतिमा कला क्षेत्रका हस्ती, अझ त्यसमा पनि महिला प्रतिभालाई स्थान दिनु आफैंमा सुखद र सकारात्मक पक्ष हो । यस्तो महानता अरू राजनीतिक दलहरूले पनि देखाउन सके राजनीतिमा कला क्षेत्रका साथै महिला प्रतिनिधिको सहभागिताले व्यापकता पाउने थियो ।
हुन त नेपाली सिने क्षेत्रकै अर्की कलाकार करिश्मा मानन्धर पनि अचेल राजनीतिकै मैदानमा छिन् । उनले नयाँ शक्ति, नेपाललाई रोजेर उक्त दलको हरेकजसो कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएकी छन् । नयाँ शक्तिले पनि करिश्माले सिने क्षेत्रमा कमाएको ग्लामर्सलाई भरपुर रूपमा भजाउँदै आएको छ । करिश्माको उपस्थिति रहने कार्यक्रममा मानिसहरूको भीड स्वाभाविक रूपमा उर्लिने अनुमान लगाएर नयाँ शक्तिले उनलाई सामेल गराउँदै आएको छ । भलै, करिश्माको करिश्माप्रति अरू दलका नेता–कार्यकर्ताहरू नलोभिएका होलान् । तर, कलाकार, पूर्वप्रशासक र अरू दलसँग रुष्ट अनुहारहरूलाई समेटेर गठन गरिएको नयाँ शक्तिले करिश्माजस्ता सिने क्षेत्रका हस्तीहरूलाई बटुल्ने ध्याउन्न भने छाडेको देखिँदैन ।
एमाले, कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूलाई त कुनै कलाकारलाई आफ्नो दलभित्र भिœयाएर भीड जुटाउने आवश्यकता नै छैन । किनकि, यी ठूला दलहरूका आफ्नै सांस्कृतिक टोली छन्, विभिन्न एकेडेमीहरूमा नियुक्त पाएका कलाकर्मीहरू छन् र यी दलका संगठित सदस्यता लिएका कलाकारहरू नै रहेका छन् । तसर्थ, यी दलहरूलाई कुनै कलाकारलाई पार्टी प्रवेश गराएर टिकट दिने लालसा पनि छैन । जनस्तरमा भिजेका कार्यकर्ताहरू नै यी दलमा टिकटका दाबेदार भएका हुँदा कलाकर्मीहरूलाई भिœयाएर बढी भोट ल्याउने अपेक्षास्वरूप टिकट दिइरहनुपर्ने आवश्यकता नै छैन ।
हरेकपटकको निर्वाचनमा कलाकारलाई भिœयाएर आफ्नो दलको पक्षमा आमकलाकार पनि छन् भन्ने सन्देश दिन राजनीतिक दलहरूले अग्रसरता लिँदै आएका छन् । अरू बेला चुपचाप रहने कलाकारहरू पनि चुनावको मुखमा वा राजनीतिक दलका राष्ट्रिय सम्मेलनहरूमा प्रवेश गर्ने र बेग्लै माहोल सिर्जना गर्ने कार्यमा लागि पर्दछन् । पछिल्लो समय त कलाकारहरूलाई आफ्नो दलमा प्रवेश गराएर राजनीतिक माहोल सिर्जना गर्न राप्रपा र नयाँ शक्ति अग्रसर देखिए पनि विगतका संविधानसभाका निर्वाचनहरूमा भने माओवादी केन्द्र र नेपाली कांग्रेसजस्ता दलहरूले कलाकारलाई आफ्नो पार्टीमा प्रवेश गराएर माहोल सिर्जना गर्न भरमग्दुर प्रयत्न गरेका थिए । अहिले राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापालाई कुनै बेला माओवादी केन्द्रले ‘सडक आन्दोलनकी गुडिया’ बनाएका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बीच सडकमै ‘लालुपाते नुह्यो भुइँतिर..’ भन्दै हात समातेर नाचेकी कसको मस्तिष्कबाट हटिसकेको छ र ?
कलाकर्मीहरूले राजनीति गर्न चाहनु स्वागतयोग्य पक्ष हो । विश्वका कतिपय मुलुकका कलाकारहरूले राजनीतिमा प्रवेश गरेर आफ्नो जिम्मेवारीलाई गहन ढंगले निर्वाह गरेका छन् । हलिउडमा जम्दाजम्दै राजनीतिमा आएका रोनाल्ड रेगनले राजनीतिमा पनि आफ्नो पैर राम्ररी नै जमाए र अमेरिकाको राजनीतिलाई अग्रगति दिन उनले यथाशक्य प्रयत्न गरे । छिमेकी मुलुक भारतमा पनि कला क्षेत्रमा जम्दाजम्दै राजनीतिमा आएकाहरूको लामो लहर नै छ । यद्यपि, भारतीय परिदृश्यमा भने कला क्षेत्रबाट राजनीतिमा आएकाहरूले जादु भने देखाउन सकेनन् । यो बेग्लै पक्ष हो ।
नेपालको सन्दर्भ भने बेग्लै देखिन्छ । कलाकारहरू राजनीतिप्रति आकर्षित हुने क्रम भने २०६२÷६३ को जनआन्दोलनपछि मात्रै प्रबल रूपमा देखा परेको हो । तर, हामीकहाँ कला क्षेत्रमा एउटा निश्चित उचाइ बनाइरहेकै बेला राजनीतिमा हाम फालेका कलाकारहरू भने कमै छन् । बरु, यस्ता कलाकारहरूले राजनीतिलाई रोजेका छन्, जसलाई कला क्षेत्रले एक हिसाबले बिदाइको हात हल्लाइसकेको छ । अर्थात्, कला क्षेत्रमा जम्न छाडेपछि राजनीतिलाई रोज्नेहरूको बाहुल्य बढ्दै गइरहेको छ । करिष्मा मानन्धर, रेखा थापा, कोमल वलीहरू त्यही लहरमा पर्दछन्, उनीहरूको भविष्य अब कला क्षेत्रमा छैन । तर, कला क्षेत्रमा भविष्य नभएपछि राजनीतिमा भविष्यमा हुने अपेक्षा राखेर आएका उनीहरूमा राजनीतिक मैदान पनि आफूले सोचेअनुरूप सहज, सौहार्द र सपाट होला भनेर अनुमान लगाउन झनै मुस्किल देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply