रातारात रङ फेर्दै निजामतीका सचिवहरू
काठमाडौं । लामो समय निजामती क्षेत्रमा अनुभव बटुलेका र सचिव हुने बेलासम्म राज्यका धेरै लगानी बेहोरेका नेपाल सरकारका सचिवहरू अनौपचारिक कुराकानीमा आफू मन्त्री वा राजनीतिक दबाबमा परेर कुनै काम नगर्ने दाबी गर्छन् । तर, व्यवहार हेर्दा एकाधबाहेक धेरै कर्मचारी शक्तिका अगाडि रातारात रङ फेर्न कतिसम्म माहिर छन् र आफ्नो कामका लागि स्वाभिमान गिराएर छेपाराझैं चलायमान कसरी हुन्छन् भन्ने पुष्टि हुन्छ ।
अनौपचारिक भेटमा ‘जे अह्राए पनि गर्ने खालको म कुनै मन्त्रीको पीए होइन, म त नेपाल सरकारको सचिव हुँ ।’ भन्दै हुंकार गर्ने केही सचिव नयाँ सरकार नबन्दै भोलिको मुलुक चलाउने नेतृत्वको घरदैलोमा चाकडी बजाउन पुगेको भेटिन्छ ।
त्यसो त नेपाल सरकारको सचिव भएर पनि जस्ताको तस्तै भएर निस्कने युवराज पाण्डेहरू बागबजारतिर अल्मलिरहँदा केहीले भनि त्यही भूमिकाबाटै जिन्दगीभरलाई पुग्ने कमाएको पाइन्छ । चाकडी, चाप्लुसी र समय अनुसार रंग फेर्न सिपालु केही ब्युरोक्र्याटले भने लामो समय राइँदाइँ गर्दै आएका छन् ।
राजनीतिक शक्तिकेन्द्रलाई रिझाएर कामचलाउ सरकारको बफादार बनेर आफ्नो स्वार्थ पूरा गर्ने सचिवहरू पुनः वाम सरकारको सबैभन्दा प्रिय बनेर डाडुपन्यू हातमा लिने खेलमा लागिसकेका छन् ।
मुख्य सचिव नै एक नम्बर मतियार
पछिल्लो समय कामचलाउ भइसकेको शेरबहादुर देउवा सरकारले जनमतको अवमूल्यन गर्ने गरी धैरै नै एकपक्षीय निर्णयहरू गरेको छ । शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले चुनाव सम्पन्न भएपछिको दुई महिना अवधिमा मात्रै ३ सयभन्दा बढी निर्णय गरेको छ । सरकारले २१ मंसिरदेखि १७ माघसम्मको अवधिमा मात्रै झन्डै ३ सय निर्णय गरेको थियो । यो सबै निर्णयमा मुख्यसचिव लोकदर्शन रेग्मीको हात रहेको बताइन्छ । सामान्यतया निर्वाचनलगत्तै सरकार कामचलाउ हुने तथा यस्तो सरकारले अत्यावश्यक र नियमित प्रशासनिक काम मात्रै गर्नुपर्ने मान्यतालाई बेवास्ता गर्दै देउवा नेतृत्वको सरकारले पछिल्लो दुईमहिने अवधिमा मात्रै ३ सय निर्णय ग¥यो । विभिन्न नियुक्तिहरूका साथै सरकारले हचुवाका भरमा निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकस भएपछि झन्डै दर्जन निर्णय अलपत्रजस्तै भएको अवस्था सरकार छोड्ने अघिल्लो दिनसम्म मन्त्रिपरिषद् बैठकको निर्णय भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा निर्णय टिपाउने र मुख्यसचिव रेग्मी माइन्युट गर्ने गर्दै थिए । आठ महिनाको देउवा सरकारको अवधिमा सातपटकसम्म मन्त्रिपरिषद् गठन र विघटन गर्दै इतिहासकै जम्बो ६५ सदस्यीय मन्त्रिपरिषद् बनाइयो । कतिपय राजनीतिक नियुक्तिमा मन्त्रीहरूले आर्थिक चलखेल गरेको दाबी उच्च प्रशासकको छ । पछिल्लो समयमा मन्त्रीहरूको ठाडो प्रस्तावमा निर्णय हुने क्रम ह्वात्तै बढेको थियो । मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री देउवा र प्रधानमन्त्री पत्नी आरजु राणालाई खुसी पार्न मात्र धेरै निर्णय गरेको बताइएको छ । मुख्यसचिव रेग्मीले आफू सरकारप्रति उत्तरदायी हुनुपर्ने भन्दै केही मन्त्रालयका सचिवहरूले काम चलाउन मन्त्रीको प्रस्ताव भन्दै प्रतिवादमा उत्रँदा भोलि अफ्ठेरो नपार्न र सरकारलाई सहयोग गर्न चेतावनी दिने गरेका थिए । सरकार रहँदासम्म पूर्ण सहयोग गर्नुपर्ने भन्दै उनले सचिवहरूलाई समेत हप्काउने गरेको भुक्तभोगीहरू बताउँछन् । मन्त्रिपरिषद् बैठकले गत बिहीबार मात्र २५ वटा ठाडो र ३३ वटा नियमित गरी ५८ वटाभन्दा बढी प्रस्तावमा निर्णय गरेको छ। २५ वटा प्रस्ताव मन्त्रीको गोजीबाट ठाडो रूपमा निकालिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । निर्वाचनलगत्तै जनमत एकातिर आइसकेपछि जनताको म्यान्डेटअनुसार कर्मचारी संयन्त्रले काम गर्नुपर्नेमा मुख्य सचिव रेग्मी नै कांग्रेसको मतियारका रूपमा प्रस्तुत भएका थिए । मुख्य सचिव रेगीले गतिलो ढंगले अडान राख्न सकेको भए विभिन्न विवादिन निर्णयहरू पक्कै हुने थिएनन् । तर, उनले अडान नराख्नु, प्रधानमन्त्रीपत्नी राणाको प्रत्यक्ष हस्तक्षेपमा पर्नु र कर्मचारी संयन्त्रका सबै सूचना पहिले नै चुहावट गर्नुजस्ता गम्भीर गल्ती मुख्य सचिव रेग्मीबाट भएको बताइन्छ । त्यसकारण, नयाँ सकारले उनैलाई विश्वास गर्दा फेरि कर्मचारी संयन्त्रबाट असफल पार्ने खेल हुन सक्ने भन्दै मुख्य सचिवको विकल्प खोज्नसमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाइएको छ ।
चलायमान चरित्रदेखि खतरा
मुख्य सचिव रेग्मी त्यसो त सुरुदेखि नै चलायमान चरित्रका साथै सबैतिर मिलाउन सक्ने विशेष खुबी भएका बयुरोक्र्याटका रूपमा चिनिन्छन् । अर्थ सचिव रेग्मीकै सेटिङमा त्यो बेला एनसेलको लाभकर, कर फस्र्योट आयोगको घोटालाजस्ता अर्बौंका केही सेटिङहरू भएका थिए । सचिव हुनुअघि एयरपोर्ट भन्सारमा समेत प्रमुख भएर बसेका रेग्मीले त्यतिबेला नै धेरै विवादित कामहरू गरेको जानकारहरू बताउँछन् । ठूला तस्करहरूसँग एयरपोर्टबाट सेटिङ चलाउने रेग्मीले भूमिसुधार सचिव हुँदा पनि भूमाफियालाई प्रयोग गरेर धेरै आर्थिक लाभका काम गरेका थिए । अर्थ सचिव हुँदा पनि रेग्मीले हरेक अर्थ सचिवले सोही मन्त्रालयको क्यान्टिनबाट खाजा खाने गरेकामा होटेल द्वारिकाजबाट दैनिक लाखौंको खाजा मन्त्रालयको बिलमा मगाएर खान थालेको भन्दै त्यतिबेलै आलोचना भएको थियो । उनले जन्मदिनको पार्टीसमेत सोही होटेलमा मन्त्रालयको खर्चमा दिएको आरोप छ ।
यिनीहरूले पनि सेटिङमै भ्याए
मुलुकमा कांग्रेस सरकारको जगजगी भएपछि केही पुराना सचिवहरूलाई पनि नियतवश पूर्वाग्रही ढंगले व्यवहार गरियो भने केहीलाई रोजी रोजी अवसर दिइयो । सचिवहरूको नजरमा आकर्षक मन्त्रालयका रूपमा गृह, अर्थ, कृषि, ऊर्जालगायत पर्छ । अर्थमा शंकर अधिकारी ल्याइए भने गृहमा मोहनकृष्ण सापकोटाले मौका पाए । सापकोटाले नयाँ सरकार गठन हुने १० दिन पहिलेसम्म पनि भोजपुरलगायतका केही जिल्लाको सीडीओहरू मनखुसी ढंगले हेरफेर गरिरहे । गृहअघि सामान्य प्रशासन र त्यसअघि भूमिसुधारमा रहेर पटकपटक राम्रो अवसर पाएका सापकोटा पछिल्लोपटक कांग्रेसी सरकारको आडमा गृह संयन्त्र दुरुपयोग गर्ने कर्मचारीका रूपमा चिनिन्छन् । यस्तै, कृषिमा रहेका सचिव युवकध्वज जीसीले पनि राम्रै भ्याएका छन् । सहसचिव रहँदा कृषि विभागको महानिर्देश्क रहेका उनी फाइल बढुवा हुनासाथ सिधै कृषिजस्तो संवेदनशील मन्त्रालयमा आएर तर मार्न सफल भएका कर्मचारी मानिन्छन् । त्यस्तै, उद्योगकी यमकुमारी खतिवडा पनि सचिव भएदेखि लगातार उद्योगमा रहेर उद्योगीको सेवा हेर्नमा तल्लीन भएको बताइन्छ । त्यस्तै, ऊर्जा सचिव अनुप उपाध्याय लामो समयदेखि सो मन्त्रालयमा बसेर सेटिङमा काम गर्ने कांग्रेसी कर्मचारीका रूपमा चिनिन्छन् । उनले यसबीचमा धेरै जल माफियाहरूलाई लाइसेन्स दिएको बताइन्छ । त्यसैगरी शंकर कोइराला पनि त्यस्ता अर्का भाग्यमानी हुन् । हाल सामान्यमा भए पनि यसअघि उद्योगमा बसेर फाइदाजनक काम गरेका उनी सबैतिर आलोचित छन् । त्यस्तै, सञ्चारमा रहेका केदार अधिकारी अर्का बदनाम पात्र हुन् । पछिल्लो समय उनी मोहनबहादुर बस्नेतको मतियारका रूपमा परिचित थिए । यसअघि स्थानीयमा रहेर सेटिङको काम गर्ने उनले चौबीसै घण्टा सरकारी गाडी, चालक र त्यसको इन्धन दुरुपयोग गरेको आरोप लागेको थियो । त्यती मात्र होइन, एउटा स्कुटीसमेत उनले मन्त्रालयमा आफ्नो लागि मागेपछि पुरुष सचिवले स्कुटीमा ¥याल काढे अन्य कर्मचारीले हाँसोको पात्र बनाएका थिए ।
निजामतीको प्राविधिक क्षेत्रमा डन सचिव भनेर चिनिने शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर घरानियाँ ‘म्याडम’लाई प्रभावमा पारेर खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा जान सफल भएका छन् । खानेपानीका कृष्णराज बीसीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा लगिएको छ ।
बीचमा पेलियो यिनलाई
कांग्रेसीहरूको कर्मचारी संयन्त्रमा एकाधिकार भएपछि निजामतीमा सफ्ट कर्नर राख्ने र बदनामी नकमाएका प्रेमकुमार राईहरू खुब पीडामा परे । उनलाई मुख्य सचिव रेग्मीकै कोपभाजनमा वरिष्ठ र अनुभवी हुँदाहुँदै पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा ल्याएर थन्क्याइयो । त्यस्तै स्थानीय प्रशासनका विज्ञका रूपमा चिनिने पुराना र अनुभवी सचिव दिनेश थपलियाले पनि संघीय मामिलामा बसेर निकै दबाबमा काम गर्नुप¥यो । त्यसैगरी कृष्ण देवकोटालाई पनि आपूर्तिबाट सार्वजनिक खरिद तथा अनुगमन कार्यालय हुत्याइएकामा महेश्वर न्यौपानेले पर्यटनमा जितेन्द्र देवले भनेबमोजिक कार्य गर्न नमानेपछि केही दिनअघि पर्यटनमा ल्याइएको थियो । यस्ता थुप्रै पीडित सचिवहरूले आफूलाई अब न्याय हुने आशा गरेका छन् ।
चल्दैन यो संरचनाबाट
पाँच वर्षसम्म स्थायी रूपले सरकार चलाउने तथा आर्थिक समृद्धि ल्याउने दायित्व यो वाम सरकारको भएकाले पक्कै पनि पुराने सेटिङबाट चल्न नसक्ने प्रस्ट छ । हरेक मन्त्रालयमा लामो समयदेखि जबर्जस्त कांग्रेसनिकट कर्मचारीहरूको सेटिङ रहेकाले सरकारलाई असफल हुनबाट जोगाउन सर्वप्रथम त्यो संरचना भत्काउनु आवश्यक छ । त्यसका लागि भजन र स्तुति गाउने कर्मचारी संयन्त्रभन्दा कामकाजी र छरितो संयन्त्र आवश्यक हुन्छ । पहिले नियतवश पेलानमा पारिएकालाई मौका दिएर ल्याउन सके राम्री काम हुन सक्छ । आरजु र देउवाको सेटिङमा मुख्यसचिव भएर दुई महिनापछि राजेन्द्रकिशोर क्षत्रीलाई अवकाश दिएर ल्याइएका वर्तमान मुख्यसचिव रेग्मीलाई फेरि निरन्तरता दिन खोजियो भने उनी पक्कै सरकार असफल पार्ने धमिरा बन्ने निश्चित छ । तसर्थ, बेलैमा यस्तो कुराको हेक्का नयाँ सरकारले गर्नुपर्छ ।
सम्बन्धित समाचार
- दिल्लीमा देउवाको दौडधुप
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply