बीपी प्रतिष्ठानको भ्रष्टाचारमा अख्तियार
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमआरआई मेसिन खरिदमा करोडौं रुपैयाँ घोटाला भएको छ । प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिन र दुईवटा भवन निर्माणमा भएका भ्रष्टाचारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । प्रतिष्ठानका उपकुलपति नियुक्त भएका राजकुमार रौनियारले भ्रष्टाचारमा पूर्वउपकुलपति बलभद्र दासलाई समेत उछिनेका छन् ।
विगतमा दासले भ्रष्टाचार गरेकाले प्रतिष्ठान डुब्न लागेकाले बचाउन आफ्नो नियुक्ति हुनुपर्ने भन्ने रौनियारले उनको पालाको भन्दा चरम भ्रष्टाचार गरेका छन् । डा. रौनियारले रेडियोलोजी विभागको प्रमुख हुँदा १२ करोड रुपैयाँमा खरिद गर्न लाग्दा रोकेको एमआरआई मेसिन १८ करोड रुपैयाँमा खरिद गर्ने निर्णय गरे । रेडियोलोजी विभागसँग समन्वय नै नगरी सिधै कार्यकारी तहबाट एमआरआई मेसिन खरिद गर्ने योजना उपकुलपतिले अगाडि बढाएका थिए । हस्पिटेक इन्टरप्राइजेज लाइफलाइनका सञ्चालक विशाल पण्डितसँग ६ करोड रुपैयाँभन्दा बढी मूल्यमा एमआरआई मेसिन खरिद गर्ने निर्णय गरेका डा. रौनियारले त्यही मेसिन आफू रेडियोलोजी विभागको प्रमुख हँुदा ‘फेज आउट’ भएको भन्दै १२ करोड रुपैयाँमा खरिद गर्न दिएका थिएनन् । तर, तीन महिना बित्न नपाउँदै उपकुलपति बनेका रौनियारले त्यही मेसिन १८ करोड रुपैयाँमा किन्ने निर्णय गरेका थिए ।
पहिला आफैंले १२ करोड रुपैयाँमा खरिद गर्न नदिएको मेसिनलाई कसरी १८ करोड पर्छ भन्ने प्रश्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले उठाएका छन् । प्रतिष्ठानमा कुनै पनि सामान खरिद गर्ने विभागीय प्रमुखले स्वीकृत गर्नुपर्छ । तर, एमआरई मेसिन किन्न मूल्यांकन समितिले निर्णय नै नगरेको फेला परेपछि अख्तियारले गम्भीर छानबिन गरिरहेको छ । आफ्नो आम्दानीले चल्न नसक्ने बीपी प्रतिष्ठानलाई सरकारले अनुदान दिनुपर्छ । तर, गरिब जनताको करबाट अनुदान दिइएको रकम उपकुलपति रौनियारका लागि करोडौं भ्रष्टाचार गर्न दिएजस्तै भएको छ ।
बीपीले एक वर्षमा विद्यार्थी तथा बिरामीलगायतबाट करिब १ अर्ब रुपैयाँ आम्दानी गर्छ । तर, यसको सञ्चालन खर्च मात्र वर्षको १ अर्ब २५ करोडभन्दा माथि छ । ३ सय डाक्टरसहित १८ सय कर्मचारी कार्यरत छन् । दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था मानिएको प्रतिष्ठानमा पछिल्लो समय नयाँ उपकुलपति नियुक्तिदेखि भौतिक संरचना निर्माण, मेसिन खरिद, प्रवेश परीक्षाका साथै अन्य कामका लागि हुने टेन्डरमा आर्थिक चलखेलका कुरा सार्वजनिक भएका छन् ।
प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिन र दुई वटा भवन निर्माणमा भएका भ्रष्टाचार यतिबेला विशेष मुद्दा बनेका छन् । जसलाई अख्तियारले पनि गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।
एमआरआई मेसिन खरिद प्रकरणमा भएको अनियमितता, मुटु रोग सेन्टर र क्यान्सर सेन्टरका लागि परामर्शदाता नियुक्तिमा भएको अनियमितता, भवन निर्माणको ठेक्का सिलबन्दी खोल्नु दुई घण्टाअघि रद्द गरिनु, भवन निर्माणको रकम कार्यकारिणी समितिको निर्णय बिनै एमआरआई खरिदमा रकमान्तर गरिनुलगायत थुप्रै आर्थिक चलखेलका घटनामा पनि अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले नयाँ प्रमुख आयुक्त पाएसँगै यस्ता भ्रष्टाचारमा कडा एक्सन लिने नीतिका साथ अगाडि बढ्न लागेको छ ।
डेढ वर्षअगाडि उपकुलपति बन्दा नै तत्कालीन स्वास्थ्यमन्त्री गगन थापादेखि नेपाली कांग्रेसका नेताहरूलाई १४ करोड रकम बुझाएर भएकाले त्यो रकम उठाउन उनले १२ करोडमा पहिला नकिनेको एमआरआई मेसिनलाई १८ करोडमा खरिद गर्ने निर्णय गरेका थिए ।
उपकुलपति हुनुभन्दा अगाडि प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख भएर काम गरिसकेका रौनियारमाथि १.५ टेस्ला एमआरआई खरिद प्रकरण, अंंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा सप्लायर्स र ठकेदारको मिलेमतोमा करोडौं चलखेल गरेको आरोपसहित प्रधानमन्त्री कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग, स्वास्थ्य मन्त्रालयलगायतका निकायमा उजुरी परेको छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply