कहाँ चुके रवीन्द्र ?
काठमाडौं । नेकपाभित्र आशालाग्दा व्यक्तित्वका रूपमा चिनिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी नराम्ररी चुकेका छन् । नेपाल वायुसेवा निगममार्फत वाइड बडी जहाज खरिद प्रकरणमा उनले आफूलाई जति नै निर्दोष प्रस्तुत गर्न खोजे पनि उनी विगतका आफ्नै क्रियाकलापका कारण चुकेका छन् ।
कतिपयले मन्त्री अधिकारीमाथि राजनीतिक पूर्वाग्रह साँधिएकै अर्थमा तर्क गरे पनि त्यो तर्क भने मन्त्री अधिकारीकै विरोधाभासपूर्ण कार्यले कमजोर भएको छ । कास्कीबाट लगातार तीनपटक सांसद जितेका उनले अघिल्लोपटक विकास समितिको सभापति भएर काम गरे । त्योबेला पनि अन्यभन्दा अलि चल्तापुर्ता र मिडियामैत्री व्यक्तित्वका रूपमा उनले आफूलाई प्रस्तुत गरेका थिए । पर्यटनमन्त्री भएपछि विमान खरिद प्रक्ररणमा नपरी निर्विवाद निस्कने मन्त्री कमै हुन्छन् । रवीन्द्र पनि यही मेसोमा अछुतो रहन सकेनन् । त्यसमा उनले आफैंलाई निर्दोष साबित गर्न जतिसुकै प्रयास गरे पनि उनी विवादमा परिसकेका छन् । विमान खरिदको किस्ता रकम पठाउन महालेखापरीक्षकलाई सोधेको भनेर एउटा संवैधानिक निकायविरुद्ध संसद्मा झूट बोल्नु र महालेखापरीक्षकले आफूलाई नसोधेको भनेर सार्वजनिक रूपमै खण्डन गरिदिनुले उनलाई समस्यामा पारेको छ ।
त्यति भइसकेपछि फेरि सोमबार लेखा समितिको बैठक बस्नु केही अघि मात्र पत्रकार सम्मेलन गरेर सर्वोच्चले आदेश नै दिए पनि सो रकमको निकासा रोक्न सक्ने ठाउँमा आफू नरहेको अभिव्यक्ति दिएर अरूले गरेको शंकाको सुविधामा आफैले मलजल गरिदिएका छन् । पत्रकार सम्मेलनमा आफूबाट केही प्राविधिक गल्ती भएको स्विकार्ने मान्छेले केही महिनाअघि भने यो विषयमा पत्रकारले प्रश्न सोध्दा बुम फालिदिएर कमजोरी प्रस्तुत गरेका थिए । यस्ता सानातिना विषयमा प्रश्न सोध्ने होइन भनेर हप्काउनु अहिले उनको आलोचनाका लागि गतिलो मसला बनिदिएको छ ।
शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा वाइड बडी खरिद प्रकरणमा छानबिन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिने बहुसंख्यक नेकपाका सांसदहरूले मन्त्री अधिकारीलाई एकांकी तवरले दोषी करार गर्न खोजेको भन्दै बचाउ नगरेका होइनन् । उपसमितिका संयोजक राजेन्द्र केसी कांग्रेसका सांसद हुन् र उनले पूर्वाग्रह राखेर मन्त्री रवीन्द्र अधिकारी एवं गृहसचिव प्रेमकुमार राईलाई कारबाही सिफारिस उनीहरूको तर्क थियो । तर, वाइडबडी विमान खरिदमा अनियमितता भएको र यसमा संलग्नलाई छाड्नुहुन्न भन्नेमा भने उनीहरू पनि असहमत भने थिएनन् । सार्वजनिक लेखा समितिको अधिकांश छलफल यही आरोप–प्रत्यारोपमै रुमलिए पनि अन्ततः अधिकारीसहित अन्य दुई पूर्वमन्त्रीलाई नैतिक जिम्मेवार ठह¥याउँदै महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी करार गरेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा दिने निर्णय गरेको छ । महालेखाको ५५औं वार्षिक प्रतिवेदनले विमान खरिद कानुनसम्मत नदेखिएको भनिसकेको अवस्थामा भुक्तानी दिएको मात्र होइन, स्वयं लेखा समितिमा आएर महालेखासँग परामर्श गरेर भुक्तानी दिएको भनेर झूटो बोलेकाले मन्त्रीको बदनियत देखिएको बताइन्छ । यसमा मन्त्री अधिकारीले विमान आउँदा मैले गरेको भन्ने तर कमजोरी हुँदा मैले होइन भनेर पन्छिन नमिल्ने तर्क छ ।
यो प्रकरणलाई नजिकबाट हेरिरहेकाहरू मन्त्री अधिकारी सुरुबाटै अनावश्यक विवादमा परेको सम्झन्छन् । विमान खरिदमा भ्रष्टाचार भएको विषयमा प्रश्न गर्दा माइक पन्छाउँदै हिँड्ने गलत व्यवहारले उनलाई थप रहस्यमय पारिदियो । गत चैतमा महालेखाको वार्षिक प्रतिवेदनले विमान खरिदमा गम्भीर प्रश्न उठायो । योलगत्तै मन्त्री अधिकारी सतर्क हुनुपर्नेमा उल्टो कंसाकारको बचाउ गर्नतर्फ लाग्नुले उनको भूमिका रहस्यमय र शंकास्पद पारिदिएको स्पष्ट छ । उनले अझ एक कदम अघि बढेर लेखा समितिमा दिएको आफ्नै बयानले अप्ठ्यारो अवस्थाको सामना गर्नुप¥यो । विमान खरिदबारे लेखाले चासो दिएर बोलाएपछि उनले महालेखासँग औपचारिक, अनौपचारिक परामर्श गरेर अन्तिम किस्ता दिएको बयान दिए । जुन केही घन्टामै झूट साबित भयो । महालेखा परीक्षकको कार्यालयले तत्काल खण्डन मात्र गरेन, लेखा समितिलाई पत्र नै लेखेर कुनै परामर्श नगरेको प्रस्टीकरण दियो । यसले पनि उनी उदांगिएको प्रस्ट छ ।
त्यसो त उनी विकास समितिमा हुँदा पनि एनसेलको लाभकरको मामिलामा एनसेलको पक्ष लिएको भनेर विवादमा नपरेका होइनन् । पोखराको जलकुम्भी झार सफाइको मेसिन खरिद प्रक्ररणमा मात्र होइन, सुरुमा फेवाताल मिचेर होटेल खोल्ने व्यक्तिलाई नै आफ्नो सल्लाहकार विज्ञमा नियुक्ति गरेर पनि उनी विवादमा मुछिएका थिए । स्मरण रहोस्, यो यही सरकार हो, जसले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले आफूले बोलेको कुरा गल्ती भयो भनेर माफी मागिसक्दा नैतिकताको पाठ पढाएर उनलाई अपदस्त गरेको थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply