चिनिएका अनुहारको सामाजिक दायित्व
केही दिनपूर्व कुनै समय नेपाली रजतपटमा चम्किएका सरोज खनालले राष्ट्रपति कार्यालयको बाथरुममा छिरेर फोटो–सेसन गराए । उनको कार्य एकाएक आलोचनाको वृत्तमा बाँधिन पुग्यो । तर, उनले त्यस्तो हर्कत गर्नुको साटो आफूलाई कुनै सीमान्तकृत वर्गको आधारभूत आवश्यकता पूर्तिको दिशा वा आन्दोलनमा सरिक तुल्याएका भए कति जाति हुन्थ्यो होला ? यस्तो अपेक्षा राष्ट्र र समाजका चिरपरिचित अनुहारहरूसँग आमनागरिकहरूले गर्नु कुनै नौलो विषय होइन ।
पानी, स्वास्थ्य, विद्युत्, सडक– यस्ता आधारभूत सुविधा प्राप्त गर्नबाट अझै पनि विश्वका करोडौं मानिस वञ्चित छन् । तर, आधारभूत सुविधा प्राप्तिका लागि विश्वका कुना–कुनाका जनता संघर्षरत छन् । आधारभूत सुविधा प्राप्तिको लडाइँमा जहाँका जनता जुधिरहेका छन्, ती जनतालाई आफ्नो अधिकार, सुविधा प्राप्तिका लागि जागरुक गराउने र उनीहरूसँगै सहकार्य गरेर अघि बढ्ने कार्यमा राष्ट्र र समाजमा चिनिएका अनुहारहरूले जति प्रयत्न गर्न सक्छन्, त्यस्ता कार्यलाई उनीहरूले एउटा अभियानकै रूपमा जसरी गति दिन सक्छन्, अरू सामान्य मानिसहरूका प्रयत्न कम साबित हुन सक्छ ।
हामीकहाँ दैनन्दिन समस्या, संकटसँग जुधिरहेका जनताका आधारभूत आवश्यकता र सुविधाका निम्ति आवाज उठाइदिने र पहलकदमी गर्ने सेलिब्रिटीहरूको पंक्ति पातलो छ । अझ सिंगो मानव जातिलाई तिखो प्रभाव पार्ने पर्यावरणीय, जलसंकटजस्ता समस्याहरूमा चासो अर्पण गरेर अभियान चाल्नेहरू त नगण्य नै छन् । तर, विकसित एवं विकासोन्मुख मुलुकका सेलिब्रिटीहरूले भने आफ्नो सिर्जनशील÷व्यावसायिक कार्यहरूका साथसाथै सीमान्तकृत जनताले भोग्नुपरिरहेका समस्या र जुध्नुपरिरहेका सामाजिक÷पारिस्थितिकीयलगायत अनेक परिस्थितिप्रति राज्य र समाजलाई झक्झक्याउँदै आएका छन् ।
जनसंख्याको बढ्दो चापले सिंगो विश्व नै उम्लिन लागेको ज्वालामुखीमाथि बसिरहेको प्रतीत हुँदैछ । जनसंख्याको चापसँगै मानिसहरूले अनेक मानवीय÷प्राकृतिक संकट झेल्न बाध्य हुँदैछन् । विश्वका अधिकांश सहरका बासिन्दा स्वच्छ पिउने पानीको अभावमा जीवन गुजार्न बाध्य छन् । ग्रामीण भेगका जनता पनि पानीको अभावमा छटपटाइरहेका छन्, वर्षौंयता । जलवायु परिवर्तनको असर अब प्रत्यक्ष रूपमा देखिन थालेको छ र भूमिगत पानीको तह घट्दै गइरहेको छ । सहरिया अभिजात एवं मध्यम वर्गलाई भूसतहको पानी घटेकोमा कुनै चिन्ता छैन । किनभने, उनीहरू बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका पेय पदार्थहरू पिएर तिर्खा मेट्छन् वा बोतल–बन्द पानी पिउन सक्षम छन् । तर, चेपुवामा त सीमान्तकृत जनता नै पर्ने हुन् ।
तीव्र जलसंकट झेल्ने विश्वका अनेक मुलुकमध्ये भारत पनि एक हो, जहाँ स्वच्छ पानी पिउनबाट करोडौं जनता वञ्चित छन् । हिन्दी सिनेमा जगत्मा माथिल्लो स्थान बनाइसकेका अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले केही वर्षअघि एउटा संगठन खोले– पानी फाउन्डेसन । महाराष्ट्रका अधिकांश भूभागमा सुक्खा पल्टिएपछि गम्भीर बनेका यी कलाकार जोडीले त्यो प्रान्तलाई सुक्खा हुनबाट कसरी जोगाउने भनेर मन्थन मात्र गरेनन्, त्यसलाई एउटा आन्दोलनकै रूप दिने सोच बनाए । महाराष्ट्र भारतको एउटा यस्तो प्रान्त हो, जहाँ हरेक वर्ष सयौं किसान ऋण चुक्ता गर्न नसकेर आत्महत्याको बाटो रोज्न बाध्य हुँदै आएका छन् । बैंकसँग ऋण लिएर खेतीपाती गरेर जीवन निर्वाह गर्दै आएका किसानहरू जमिन सुखा पल्टिएपछि के गरून् ? जलप्रबन्धनमा देखिएका समस्यालाई निप्टारा गरेर जलसंकटलाई कम गर्ने दिशामा ती कलाकार जोडीको प्रयत्न हुँदै आएको छ ।
विश्वका सिने क्षेत्रमा एउटा कलाकारले वार्षिक रूपमा करोडौं आम्दानी गर्छन् । तर, आफूले करोडौं कमाए पनि उनीहरू सामाजिक उत्तरदायित्वको भावनाबाट च्यूत भने हुँदैनन् । धेरै टाढा जानै पर्दैन, हिन्दी सिनेमाका अर्का अभिनेता अमिताभ बच्चनकै उदाहरण दिँदा काफी हुन्छ । सिनेमा र विज्ञापनहरूमा अभिनय र कार्यक्रम–प्रस्तोताका रूपमा उनले करोडौं कमाउँछन् । तर, ऋणको भारीले थिचिएर दयनीय जीवन बिताइरहेका सयौं भारतीय किसानहरूलाई उनले पटक–पटक ऋणमुक्त तुल्याइदिएका छन् । ऋणकै कारण बर्सेनि सयौं भारतीय किसानहरूले आत्महत्याको बाटो रोजेका परिदृश्यले सम्भवतः बिझाएर नै होला, बच्चनले प्रत्येक वर्ष त्राण पाएका किसानहरूलाई ऋणमुक्त तुल्याएर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छन् ।
हामीकहाँ भने एकाध कलाकर्मीहरूले मात्रै आधारभूत समस्या झेलिरहेका सीमान्तकृत वर्गको पीडामा मलम लगाउने कार्यमा आफूलाई अग्रसर तुल्याउँदै आएका छन् । कतिपय कलाकर्मीले देखावटी रूपमा साना–मसिना कार्यहरू गरेर आफ्नो समाजप्रति दायित्व रहेको देखाउने प्रयत्न गर्दै आएका छन् । तर, हास्य–टेलिशृंखलामा जमेका जोडी धुर्मुस–सुन्तलीले भने अरू कलाकर्मीका तुलनामा समाज र आधारभूत समस्या भोगिरहेका जनताका पक्षमा अन्तरहृदयदेखि नै उभिने चेष्टा गरेका थिए । यद्यपि, पछिल्लो समय भने सीमान्तकृत जनताको सरोकारभन्दा धेरै टाढाको क्षेत्र अर्थात् क्रिकेट रंगशाला निर्माण गर्ने कार्यमा अग्रसरता देखाउँदा उक्त जोडी विवादमा तानिए । तर, २०७२ सालको भूकम्पयता राज्यद्वारा उपेक्षित सीमान्तकृत दलित, जनजातीय तप्काका जनताको बसोबासमा उनीहरूले देखाएको चासो र तत्परता भने प्रशंसनीय नै रह्यो ।
निश्चय नै राष्ट्र र समाजमा चिनिएका अनुहारहरूको कुनै साना वा ठूला प्रयत्नले कुनै समाज र समुदायमा परिवर्तन ल्याउन यथेष्ट सहयोग पु¥याउँछ । आफ्नो गाँस काटेर सहयोग गर्न नसके पनि उनीहरूका एउटा आह्वानले सहयोगी हातहरू उठ्नेछन् । तर, हामीकहाँ सामाजिक उत्तरदायित्व निर्वाह गर्न समाजमा चिनिएका अनुहारहरूको जुन पंक्ति सल्बलाउनुपर्ने हो, त्यो पंक्ति पातलो छ र उत्तिकै निष्क्रिय पनि छ । तसर्थ, चिरपरिचित अनुहारहरूले राष्ट्रपति कार्यालयको बाथरुममा बसेर फोटो सेसन गर्नुभन्दा सामाजिक दायित्वबोध र वहनमा चासो दिए समाजको अनुहार झनै उज्यालिनेमा कुनै विमति देखिँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply