लोकप्रियताको लालच
लोकप्रिय बन्ने रहर÷धुन, हरेक मानिसमा पलाउँछन् । मानवीय प्रवृत्ति नै मान्नुपर्छ, त्यसलाई । तर, लोकप्रिय बन्न खोज्दा सिँढीमा चिप्लिनेहरूका हामीकहाँ कुनै कमी छैन । अझ, सिर्जन–कर्ममा लाग्नेहरूमा बढ्दो लोकप्रियता–मोहले गर्दा पटक–पटक दुर्घटनाहरू निम्तिइरहेका छन् । पछिल्लो समय, गीत–संगीत क्षेत्र यस्तो प्रवृत्तिको सिकार बन्न बाध्य भइरहेको छ र संगीत–सर्जकहरू ‘चोरी’ को ट्याग झुन्ड्याउनमा महारत हासिल गरिरहेका छन् ।
नेपाली सिने वृत्तमा सफल चलचित्र मानिन्छ, ‘कबड्डी’ को शृंखलालाई । तेस्रो फिल्मी–शृंखला ‘कबड्डी, कबड्डी, कबड्डी’लाई सिँगार्ने कार्यमा सिनेकर्मीहरू व्यस्त छन् । तर, सिनेमा प्रदर्शनमा आउनुअगावै दाँतमा ढुंगा लाग्न पुग्यो । सिनेमाको एउटा गीत ‘दुबो फुल्यो’ को संगीत चोरिएको आक्षेप बर्सियो । सिनेमाको सिंगो टोलीका साथै संगीत–सर्जकले आफ्नो बचाउका निम्ति अथक प्रयत्न गरे । तर, यो विषय त्यति धेरै उछालिएन, विवाद गुपचुपमै टुंगिए पनि अर्को गीतको लयसँग हुबहु मिलेकोमा भने कुनै सन्देह रहेन ।
पछिल्लो समय नेपाली संगीत वृत्तमा जुन–जुन सर्जकहरूका सिर्जना चम्किइरहेका छन्, अधिकांशले बिनाहिच्किचाहट ‘संगीत चोरी’को बिल्ला भिर्न पाइरहेका छन् । बजार पिटेका अधिकांश संगीत–सर्जकका सिर्जनाले चोरीको आक्षेप झेल्नुपरेपछि सिनेमाका निर्माता–निर्देशकहरू पनि हैरान बन्न थालेका छन् । सिनेमा राम्रो बनाउने कि संगीत चोरीको मुद्दा र बहसमा अल्झिने ? निर्माता–निर्देशकहरू बिनाअर्थ विवाद बेसाउन बाध्य बन्दै गएका छन् ।
अघिल्लो पुस्ताका संगीत–सर्जकहरू सिनेमा संगीतको परिदृश्यबाट ओझेलमा परिसकेका छन् । उनीहरूका सिर्जना बिकाउयोग्य नभएर हो वा अरू कुनै कारणले हो ? कुनै समय नेपाली सिनेमालाई संगीतले सिँगार्ने सर्जकहरू नयाँ निर्देशक–निर्माताहरूको चयनभित्र पर्न छाडेका छन् । अघिल्लो पुस्ताका सर्जकहरूका सिर्जनामा एकरसता हुने भएको कारणले हो वा उनीहरूले समय दिन नसकेका कारणले हो, उनीहरूका सिर्जनाले स्थान गुमाउँदै गएका छन् र नेपाली संगीत क्षेत्रमा नितान्त नवसर्जकहरू भित्रिइरहेका छन् । नवसर्जकहरूले सिर्जनामा अथक मिहिनेत गर्ने मात्र होइन, संगीतको विश्वव्यापी तरंगलाई पनि छाम्न सक्ने भएका कारण सिने निर्माता–निर्देशकहरूको रोजाइमा पर्दै गइरहेको अनुभूत गर्न सकिन्छ ।
एउटा गम्भीर प्रश्न उठ्न पुग्छ, आखिरमा नवसर्जकहरू नै किन संगीत–चोरीको आक्षेप झेल्न बाध्य छन् ? संगीत चोरीको ट्याग लागेकाहरू अधिकांशतः संगीत क्षेत्रका नयाँ चेहराहरू नै रहेका हुँदा यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । केही समयपूर्व, एकजना सिने संगीत–सर्जकले संगीत चोरी गर्दा निर्माताले अनाहकमा लाखौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको दृष्टान्तले प्रस्ट पार्दछ कि, नवसर्जकहरू मौलिक सिर्जनामा भन्दा पनि कपी गर्ने मामिलामा अब्बल देखिन थालेका छन् ।
नवसर्जकहरूमा संगीत कपी गर्ने रोग सल्बलाउनुको पृष्ठभूमिमा कतै उनीहरूमा चाँडै लोकप्रिय बन्ने मनोवृत्तिले सघाएको त होइन ? यो यक्ष प्रश्न उठ्न पुग्दछ । निश्चय नै अधिकांश नवसर्जकहरूमा बजारमा रातारात लोकप्रिय बन्ने र आफ्नो बजार विस्तार गर्ने लालचले धेरै हदसम्म भूमिका खेलेको देखिन्छ । त्यसका निम्ति गम्भीर संगीत साधना र सिर्जनाको बाटोलाई पछ्याउनेभन्दा पनि कसरी हुन्छ लोकप्रिय संगीत सिर्जना गर्ने कुराले उनीहरूलाई मनोवैज्ञानिक रूपमा दबाब दिइरहेको हुन्छ । आफ्नो सिर्जनालाई जसरी भए पनि लोकप्रिय बन्ने धुन उनीहरूमा सवार हुन्छ र अरूका संगीतलाई तानतुन गरेर र लयलाई भाँचभुँच पारेर आफ्नो सिर्जना बनाउने दुष्कर्म गर्न उद्यत देखिँदै आएका छन् ।
नेपाली सिने संगीतमा कसैको संगीतलाई हुबहु कपी गर्ने र नभए लय मात्रै भए पनि भाँचभुँच पार्ने प्रवृत्तिले जरा गाडेको लामै समय बितिसकेको छ । खासगरी पचासको दशकयता सिनेमा निर्माणमा उल्लेख्य प्रगति आएसँगै संगीत–सर्जकहरूले सिने संगीतलाई विकृत तुल्याउन थालेका हुन् । सिने संगीतमा सजीव, गम्भीर र हृदयस्पर्शी सिर्जनाको अभाव खट्किन थालेको त्यही समयदेखि नै हो । लोकप्रिय तुल्याउने नाममा सिने संगीतलाई सस्तो, हल्का र अगम्भीर बनाउने होडबाजी त्यही समयदेखि नै चल्न थाल्यो र सिने संगीतमा विकृतिको भल–बाढी उर्लिन थाल्यो ।
कुनै बेला नेपाली सिने संगीतमा आएको विकृतिको भल–बाढी बिस्तारै रोकिन पुगेको थियो र क्रमशः सङ्लिन पनि थालेको थियो । तर, पछिल्लो समय भने नवसर्जकहरूले जसरी संगीत चोरीको आक्षेपको भारी बोक्नुपरिरहेको छ, यसले पुनः विकृतिको भलबाढी उर्लिन थालेको आभास हुँदै गएको छ । यद्यपि, यो भलबाढीलाई रोक्ने नसकिने भने होइन । तर, संगीत क्षेत्रमा उर्लिएको भलबाढीको रोकथाम गर्ने एक मात्र उपाय भनेको नव सर्जकहरू सिर्जनामा गम्भीर र संवेदनशील बन्नुमा मात्र निहित देखिन्छ । निश्यच नै, अरू उपाय र विकल्प देखिँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply