राष्ट्रगानको राग
पञ्चायतकालमा सबै नागरिकलाई ‘पञ्च’ बन्न प्रेरित गरिन्थ्यो । देशभक्तको आवरणमा ‘राजभक्त’ बन्न आह्वान गरिन्थ्यो । र, विकास–निर्माणमा ‘पञ्च’हरूको अहं भूमिका हुने पक्षलाई जोडपूर्वक उठाइन्थ्यो । एउटा व्यवस्था टिकाउन पञ्चायती शासकहरूले सबै औजार प्रयोग गरेका थिए । सायद उनीहरूले नागरिकको मन–मस्तिष्कमा हस्तक्षेप गर्न ‘सांस्कृतिक औजार’ जति प्रभावकारी हुन्छ, अरू औजारहरू त्यति प्रभावकारी हुँदैनन् भन्ने सोचेका थिए होलान् । त्यही कारण, व्यवस्था र त्यसका योजनाहरूलाई केन्द्रदेखि सीमान्त तहसम्म प्रयोग गर्न तत्कालीन शासकहरूले सांस्कृतिक पक्षको अपार सहयोग लिएका थिए ।
त्यो समय एउटा गीत निकै चल्यो÷प्रशारित भयो– ‘सबै नेपाली पञ्च हुन्, सबै पञ्च नेपाली ।’ तत्कालीन समयमा अरू राजनीतिक शक्तिहरूको अस्तित्वलाई अस्वीकार गरेर देशमा एउटा मात्रै शक्ति छ, एउटा मात्रै राजनीतिक प्रणाली छ र जनताले पनि माथिबाट लादिएको त्यही राजनीतिक प्रणालीलाई नै स्विकार्नुपर्छ भन्ने भावप्रवाह जारी भयो । ‘राजभक्त’लाई त यति जोड दिइयो, एउटा गीतबाटै त्यो पुष्टि हुन्छ, ‘म रक्त हुँ यो देशको, म भक्त हुँ यो देशको… ।’ यतिसम्म त ठीकै थियो । देशको विकासमा ‘पञ्च’हरूको भूमिका नै सर्वोपरि हुने भ्रम पनि फैलाइएको थियो, यस्ता गीत–संगीतमार्फत– ‘पञ्चै हो यो देश बनाइदेऊ’ ।
मानौं, देश बनाउने ठेक्का ‘पञ्च’हरूले मात्रै पाएका छन् । पञ्चायती राजनीति–इतरका शक्ति वा समूहहरूलाई ‘देश बनाउने’ अधिकार नै छैन । पञ्चायतकालमा जसरी त्यो व्यवस्थाको पृष्ठपोषकहरूले सांस्कृतिक प्रभुत्व जमाउन खोजे, अन्ततः त्यो दुर्भाग्य साबित हुन पुग्यो । व्यवस्थाजन्य सांस्कृतिक प्रभुत्वको अर्को एउटा मुख्य उद्देश्य थियो– कुनै सिनेमा हलमा सिनेमा प्रदर्शन हुनुअघि राष्ट्रगान बजाइनु । पञ्चायती व्यवस्थामा त्यो उपयुक्त पनि थियो । किनभने गणतन्त्र स्थापना भएपछि खारेज गरेको तत्कालीन ‘राष्ट्रगान’मा राजा र राजाद्वारा सञ्चालित व्यवस्थाको गुनगान मात्र समेटिएको थियो । राजालाई कथित ‘ईश्वर’सँग दाँजेर लेखिएको सो राष्ट्रगानले तत्कालीन व्यवस्थाको उपायदेयतासमेत बताउँथ्यो ।
तर, अहिले गणतन्त्र स्थापना भएपछिको राष्ट्रगानलाई सिनेमा हलमा सिनेमा प्रदर्शन हुनुअघि बजाइने र राष्ट्रगान बजाउने क्रममा सबै दर्शकहरूले उभिएर राष्ट्रगानको तालमा ताल मिलाएर गाउनुपर्ने बाध्यकारी नियम लागु गर्न खोजिँदै छ । हरेक देशको आ–आफ्नै राष्ट्रगान हुन्छन् । निश्चय नै, हरेक नागरिकले राष्ट्रगानलाई अस्वीकार गर्ने प्रश्नै रहँदैन । देश र जनताको गुनगान र महिमा जोडिएको शब्द र संगीतलाई अस्वीकार गर्ने ठाउँ नै रहँदैन ।
प्रश्न उठ्छ– के सिनेमा हलमा राष्ट्रगान बजाइनु र राष्ट्रगान बजाइँदा हरेक दर्शक उभिनु आवश्यक छ ? निश्चय नै, छैन । यो जबरजस्ती लाद्न खोजिएको सांस्कृतिक वर्चस्ववादको भद्दा नमुना हो । नरुचेको गाँस बच्चालाई जबर्जस्ती कोच्याइने क्रिया मात्रै हो । यस्ता नमुना÷क्रिया सर्वस्वीकार्य हुनु धेरै नै गाह्रो पर्छ । यथार्थ के हो भने पञ्चायतकालमा मनोरञ्जनका खासै माध्यमहरू थिएन । त्यही एउटा रेडियो नेपाल, चालीसको दशकमा सुरुवात भएको नेपाल टेलिभिजन । नागरिकले मनोरञ्जन बटुल्ने ठाउँ सिनेमा हलहरू नै थिए । सिनेमा हलमा नागरिकको बाक्लो उपस्थिति देखेर नै बिनातर्क तत्कालीन शासकहरूले राष्ट्रगान बजाइनुपर्ने अनिवार्य नियम वा बाध्यता लागु गरियो । अब पनि त्यस्तो बाध्यकारी नियम किन लागु गर्न खोजिँदैछ ?
कुनै सिनेमा हलमा नागरिकहरू फिल्म हेर्न किन जान्छन् ? त्यसको एक मात्र कारण छ, उनीहरू बिदा वा फुर्सदको समयमा मनोरञ्जन बटुल्न सिनेमा हलहरूमा जाने गर्छन् । उनीहरू विशुद्ध रूपमा फिल्म हेर्न र त्यसले आफ्नो दैनिक जीवनमा कुनै ऊर्जा आओस् भन्ने मनशाय बोकेर जान्छन् । तर, जब उनीहरूलाई सिनेमा हलमा फिल्म हेर्नुअघि राष्ट्रगान सुन्न लगाइन्छ, अझ राष्ट्रगान बज्दा उभिएर त्यसको स्वरमा स्वर मिलाउन लगाइन्छ, त्यसले मनोरञ्जन मात्र गर्न जाने उनीहरूका मनमस्तिष्कमा कस्तो असर पार्ला ? त्यही पञ्चायतकालीन भूत सवार त हुँदैन ?
सिनेमा हलमा सिनेमा प्रदर्शन हुनुअघि राष्ट्रगान बजाउन अनिवार्य गरिनुमा पञ्चायतकालीन मानिसकताकै पुनरावृत्ति किन पनि हुन्छ भने के अचेल सबै मानिस सिनेमा हलमा नै गएर फिल्म हेर्छन् ? यसमा सन्देह छ । फिल्म हेर्न सिनेमा हलसम्मै धाउनुपर्ने बाध्यता छैन अचेल । अरू नै माध्यमहरू प्रयोग गरेर, पछ्याएर पनि आफ्नो सुविधाअनुरूप फिल्म हेर्न सक्छन् । बढ्दो प्रविधि र वैकल्पिक माध्यमका कारण सिनेमा हलसम्मै पुग्नुपर्ने आवश्यकता नहुन पनि सक्छ ।
राष्ट्रगान हरेक नागरिकले आत्मसात् गर्ने विषय हो । तर, त्यसलाई लाद्नु अनिवार्य छैन । कुनै चिज लादियो भने त्यसले सकारात्मक प्रतिक्रिया देखाउँदैन । तसर्थ, राष्ट्रगानको राजनीतिको राग अलाप्न छाड्नु नै बुद्धिमतापूर्ण कार्य हुनेछ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply