जो साथीका लागि बनाएको चितामा आफैं जले
प्रायको मृत्यु अविस्मरणीय र अकल्पनीय हुन्छ । अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको मृत्यु पनि अकल्पनीय थियो । अकल्पनीय यस अर्थमा कि उनी हेर्दामा हट्टाकट्टा थिए । स्वास्थ्यमा ठूलो समस्या आएर अस्पताल भर्ना भएको जानकारी चलचित्रकर्मीले पाएका थिएनन् ।
मृदुभाषी स्वभावका भट्टराई महŒवाकांक्षाविहीन व्यक्तिका रूपमा चिनिन्थे । नेपाल विद्युत् प्राधिकरणमा अधिकृतको जागिर खाँदै गर्दा उनमा अभिनय तृष्णा मौलाएको थियो । अभिनय तृष्णा मेट्न उनी समय निकालेर सुटिङमा जान्थे ।
प्रायः चरित्र अभिनेताको भूमिका निर्वाह गरेका भट्टराईले सुरुवातमै तुलसी घिमिरेको संगत गरे (घिमिरे तत्कालीन समयका अब्बल निर्देशक मानिन्थे) घिमिरे निर्देशित ‘कोसेली’बाट अभिनय गरेका भट्टराईले त्यसपछि चिनो, पुकारलगायत दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरे । उनी चल्तीका हिरो कहिल्यै भएनन् तर उनको अभिनयको तारिफ गर्नेहरु धेरै छन् । व्यक्तिगत रूपमा भलाद्मी भनेर चिनिने भट्टराईको अभिनयमा पनि भलाद्मीपन थियो ।
महŒवाकांक्षाविहीन पात्रका रूपमा चिनिन्थे भट्टराई । चलचित्र निर्माताहरूको संस्था निर्माता संघको विभिन्न पदमा रहँदा निर्माताहरुको हितअनुकूलका निर्णय गराउन भूमिका निर्वाह गरेका भट्टराईले चलचित्र विकास बोर्डको अध्यक्ष हुने भनेर अभिनय गरेका थिएनन् ।
ऐतिहासिक कार्यको थालनी
विकास बोर्डको स्थापना भएको १६ वर्ष बिते पनि बोर्डले चलचित्रकर्मीको हितमा काम गर्न नसकेको स्वयं बोर्डका पूर्वअध्यक्षले स्विकार्दै आएका छन् । यस अर्थमा भट्टराईले पहिल्यै भनेका थिए, ‘म केबल बोर्डमा अध्यक्षको सूचीमा एउटा तस्बिर बढाउन मात्रै जान्न ।’
चलचित्र नीतिको पटकपटक ड्राफ्ट भए पनि सरकारले लागू गर्न सकेको थिएन । लागू गर्न नसक्नुको कारण बोर्ड अध्यक्षहरुले नीति निर्माणका लागि पहलकदमी लिन नसक्नु नै थियो । भट्टराईले चलचित्र नीतिको अन्तिम ड्राफ्ट सञ्चार मन्त्रालयसम्म पु¥याउने काम गरेका थिए भने सञ्चार नीति लागू भएपछि केही राहत हुने महसुस चलचित्रकर्मीले गरेका थिए । उनलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिने शुभचिन्तकहरुले लेखेका छन्, ‘सरकारले सञ्चार नीति कार्यान्वयनमा तदारुकता देखाओस्, त्यही हुनेछ भट्टराईप्रति सच्चा श्रद्धाञ्जली ।’
चलचित्रकर्मीलाई सामाजिक सुरक्षाकोषमा जोड्ने पहल
सरकारले सामाजिक सुरक्षाकोष लागू गरेलगत्तै भट्टराईले घोषणा गरे, ‘अब चलचित्रकर्मीहरूलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गराउँछु ।’ त्यति सजिलै सामाजिक सुरक्षाकोषमा सहभागी गराउन सम्भव थिएन । यतिसम्म कि सामाजिक सुरक्षाकोषको अहिलेको नियमावलीअनुरूप चलचित्रकर्मीलाई समेट्न सम्भवै छैन । कोषको नियमावलीअनुरूप नियमित तलब बुझ्ने निजी संस्थाका कर्मचारी मात्रै सामाजिक सुरक्षाकोषमा सहभागी हुन सक्छन् तर चलचित्रकर्मीहरू (प्रायः ४ देखि ६) महिना बेरोजगार बस्न बाध्य हुन्छन् ।
यो अप्ठ्यारो स्थिति हुँदाहुँदै पनि उनले सञ्चार मन्त्रालय, श्रम मन्त्रालयलगायतसँग समन्वय गरे र समितिमार्फत चलचित्रकर्मीका लागि सामाजिक सुरक्षाकोषमा जोड्ने छुट्टै नियमावली बनाए । जुन अन्तिम चरणमा पुगेको छ ।
भट्टराईको यो अभियान आफैंमा ऐतिहासिक थियो । यो अभियानवाट १४ हजार चलचित्रकर्मी एवं प्राविधिक लाभान्वित हुने निश्चित छ ।
भट्टराईले के दिए ?
मृत्युपछि हरेक मान्छेको तारिफ गर्नु मानवीय स्वभाव हो । उनको सरल जीवनशैलीको तारिफ मृत्युअघि पनि धेरैले गर्ने गरेका थिए । मृदुभाषी भट्टराई प्रायलाई ‘ब्रदर’ भनेर सम्बोधन गर्थे । ‘यिनले बोर्डमा गएर पनि खास लछारपाटो लाउँदैनन् निर्णायक क्षमता नै छैन’ भन्नेहरू पनि थिए । जब उनले बोर्डमा गएर केही नीतिगत निर्णय गरेपछि उनमा केही छैन भनेर टिप्पणी गर्नेहरू पनि ‘यो मान्छेले केही गर्छ है’ भनेर प्रतिक्रिया दिन थाले । बोर्डको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष यादव खरेलले स्टेजबाटै भनिदिए, ‘केशवजी साँच्चै बोर्डलाई आवश्यक मान्छे हुनुहुँदो रहेछ, म बल्ल बुझ्दैछु ।’
मृत्यु संयोग
दुई दिनअघि अभिनेता दीपक क्षेत्रीको मृत्यु भएपछि अन्तिम संस्कारका लागि भट्टराई आफैंले जोहो गरे । अन्तिम श्रद्धाञ्जलीका लागि बोेर्ड प्रांगणमा स्थान बनाउने, आर्यघाटमा चिता सजाउने र त्यसका लागि रकमको जोहो सबै योजना भट्टराई स्वयंले बनाए । जुन दिन क्षेत्रीको अन्तिम संस्कार गर्ने योजना थियो । एक दिनअघि नै भट्टराईले देहत्याग गरे र क्षेत्रीका लागि निर्माण गरिएको चितामा आफैं जले ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply