बल्छी थापेर चल्ला र प्रकाशन–व्यवसाय ?
केही वर्षयता प्रायजसो प्रकाशन–संस्थाहरूले ‘पुस्तक बिकाउने’ मुख्य आधार योजनाबद्ध प्रचार–प्रचारलाई लिए÷माने । प्रचार–प्रसारका सम्पूर्ण माध्यमहरूलाई प्रयोग गरेर आफ्ना प्रकाशनहरूको गुणवत्ताको ख्याति फैलाएर धेरैभन्दा धेरै पाठकलाई आकर्षित गर्ने तौरतरिका अपनाए । व्यापार, व्यवसाय गर्ने हेतुले स्थापित प्रकाशन संस्थाहरूले आफ्ना प्रकाशनहरूको ‘पब्लिसिटी’मा समय, ऊर्जा र स्रोत खर्चिनु र केही हदसम्म हल्लाखल्लाको सहारा लिनु अस्वाभाविक होइन पनि । किनभने, कुनै पनि उत्पादन मूलतः मुनाफाकै निम्ति गर्ने गरिन्छ । चाहे त्यो चाउचाउ होस् वा पुस्तक ।
तर, पछिल्लो समय भने प्रकाशन व्यवसायका लागि सुखद् नरहेको कुरा सतहमा आएको छ । भनिन्छ, अचेल अधिकांश प्रकाशन संस्थाहरू सुस्ताएको अवस्थामा पुगेका छन् । प्रतिकूलताहरू बाक्लिँदै जाँदा प्रकाशन संस्थाहरूले स्तरीय र गुणवत्तायुक्त पुस्तकहरू प्रकाशन गर्न हिच्किचाइरहेका छन् । अधिकांश प्रकाशकहरूको दृष्टि बजारतिर पोखिएका छन् र उनीहरू समवेत स्वरमा भन्न थालेका छन्, ‘अहिले पुस्तक बजार डावाडोल छ, केही सुधार आएपछि प्रकाशन गरौंला ।’
पछिल्ला वर्षहरूमा नेपाली प्रकाशन संस्थाहरूले पाठकको अभिरुचिलाई पर्गेलेर आख्यान÷गैरआख्यान दुवै विधाका पुस्तक प्रकाशनमा लगानी गर्ने तत्परता देखाउँदै आएका थिए । अधिकांश प्रकाशन संस्थाहरूले आख्यान विधातिर उपन्यास प्रकाशनलाई जोड दिए । उपन्यासबाहेक कथा, निबन्धमा पनि ठीक–ठीकै नजर लगाए । साहित्यका अनेक विधामध्ये तुलनात्मक रूपमा उपन्यासप्रति पाठकको रुचि बढी नै देखिँदै आएको छ । यो आज मात्र स्थापित मान्यता होइन । उपन्यासले पहिलादेखि नै पाठकको माया पाउँदै आएको हो । यो हामीकहाँ मात्र होइन, अन्तर्राष्ट्रिय सन्दर्भमा पनि लागु भएको विषय हो । त्यही भएर, उपन्यास प्रकाशन गर्दा ‘घाटाको व्यापार’ गर्नु नपर्ने ठानेर नै प्रकाशन संस्थाहरूको रुचि अरू विधाभन्दा उपन्यास प्रकाशनमा बढी पोखिएको ठान्न सकिन्छ ।
गैरआख्यान भने कमै लेखिन्छन् । साहित्यका अनेक विधामा कलम चलाउने स्रष्टाहरूको पंक्ति जति ठूलो छ, गैरआख्यानमा कलम चलाउनेहरूको पंक्ति निकै साँघुरो । राजनीति, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, शिक्षा, धर्म, दर्शन, कूटनीतिलगायत गैरआख्यान विधामा गिनेचुनेका लेखकहरूले मात्र लेखन–तत्परता देखाउँदै आएका छन् । तर, गैरआख्यानमा पनि नेपालको इतिहाससम्बन्धी प्रकाशित पुस्तकहरूको पुनः प्रकाशन हुनुले भने यो विधाप्रति पाठकको अभिरुचि बढ्दो छ भन्ने संकेत देखाएको छ र नेपाली समाजलाई बुझ्न सघाउने पुस्तकप्रति पनि पाठक मोहित भएका देखिन्छन् ।
केही दशकयता निजी प्रकाशन संस्थाहरू जुन संख्यामा स्थापित भए र प्रकाशन क्षेत्रले राम्रै व्यवसायको रूपमा मान्यता पाउने परिस्थिति जसरी सिर्जना हुन पुग्यो, त्यसलाई सुखद मान्नुपर्छ । तर, यस्तो अवस्थासँगै प्रश्न पनि उठ्छ– के प्रकाशन संस्थाहरूले आफ्नै खुट्टामा उभिने हैसियत निर्माण गरेको छ त ? कि त प्रकाशन व्यवसाय मोटाएजस्तो देखिए पनि अन्तर्यमा भने सुन्निएको मात्र हो ? पछिल्लो समय पुस्तक प्रकाशनमा देखिएको सुस्तता र पुस्तक बिक्रीमा आएको मन्दीले यस्तो प्रश्न स्वाभाविक रूपमा उब्जिन पुगेको छ ।
बेथिति, विसंगति र विडम्बनाको जञ्जालमा पनि बाँधिएको छ– कतिपय प्रकाशन संस्थाहरू । कतिपय प्रतिष्ठित प्रकाशन संस्था नै लेखक÷कविहरूलाई ‘लोगो’ बेच्न सीमित रहँदै आएको यथार्थ हामीबाट छिपेको छैन । प्रतिष्ठित प्रकाशन संस्थाहरूलाई निश्चित मूल्य तिरेर उनीहरूको लोगो राख्ने र प्रकाशनको सम्पूर्ण खर्च आफैंले बेहोर्ने लेखक÷कविहरू रहेका बजार–हल्लाले व्यापकता पाउनुमा पक्कै पनि हावा नचली पात हल्लिएको मान्न नसकिएला । कतिपय लेखकहरूलाई आफैंले प्रकाशन खर्च बेहोरेर प्रतिष्ठित प्रकाशन संस्थाको लोगो आफ्नो पुस्तकमा टाँस्ने रहर हुनु स्वाभाविक पनि होला ।
कतिपय प्रकाशन संस्थाहरू त ‘बल्छी’ को भूमिकामा मात्र अल्झिएका छन् । लेखकरूपी माछाहरूलाई त्यो बल्छीमा पार्ने ध्याउन्नामा मात्र त्यस्ता प्रकाशन संस्थाहरू तल्लिन रहेका देखिन्छन् । पुस्तक प्रकाशनदेखि विमोचनसम्मको खर्च लेखक स्वयंलाई बेहोर्न लगाउने र पुस्तक बेचेर मुनाफा भने आफूले मात्र कुम्ल्याउने प्रवृत्तिले ग्रस्त प्रकाशन संस्थाहरू बग्रेल्ती छन्, हामीकहाँ । त्यस्ता प्रकाशन संस्थाहरू र लेखकबीचको सम्बन्ध भने क्षणिक, अस्थायी र अविश्वासपूर्ण रहनेमा कुनै शंका देखिँदैन ।
अतः प्रकाशन व्यवसायमा मन्दीमा आउनु पक्कै पनि सुखद कुरा होइन । यस्तो निराशाजनक तस्बिर आगामी दिनमा अझै देखिँदै जाँदा त्यसले दीर्घकालसम्मै प्रभाव पार्ने निश्चित नहोला भन्न सकिँदैन । के–कति कारणले नेपाली प्रकाशन व्यवसायले झट्का बेहोर्न बाध्य हुनुपरेको हो ? पाठकको रुचि अन्य विधा÷माध्यमहरूमा सरेका कारण यस्तो अवस्था सिर्जना हुन पुगेको हो वा स्वयं प्रकाशन संस्थाहरू नै दोषी छन् ? प्रकाशन व्यवसायमा संलग्न संस्थाहरूले तत्काल यो प्रश्नको निरूपण गर्ने दिशातिर पाइला चाल्ने तत्परता देखाउनु जरुरी छ । लोगो बेचेर र बल्छी थापेर मात्र चल्दैन अब, प्रकाशन व्यवसाय ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply