कथित बाबा र साक्षीकर्ताहरू
धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र आशीर्वादमा छद्म भेष धारण गरेर आफ्ना कुकृत्यहरूको जालो फैलाउने, अन्धविश्वास र रूढीवादी मान्यताहरूलाई गोडमेल गर्ने र व्यापार चम्काउने कार्यले बढोत्तरी पाउँदै गएका छन् ।
कथित धार्मिक गुरुहरूका सक्कलीअनुहार छिमेकी मुलुक भारतमा एकपछि अर्को गरी उदांगिँदै गएको तथ्यबाट जोकोही बेखबर नहोलान् । उग्र हिन्दुवादीहरूले सत्ताको लगाम लिएको भारतमा धार्मिक गुरु÷बाबाहरूलाई राज्यबाटै संरक्षण प्राप्त छ । धर्मलाई नै मुल आधार बनाएर राजनीति गर्नेहरूले आफूलाई सत्तामा पदासीन गराउने र सत्तामा टिकाउन भूमिका निर्वाह गर्ने धार्मिक संघसंस्था, समूह वा व्यक्तिहरूको हितमा वकालत गर्नु स्वाभाविक पनि हो । कुनै राजनीतिज्ञले नभएर धार्मिक नेता, मठाधीशको हातमा सत्ताको ताला–चाबी आउन थालेको उदाहरण उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री हुनुबाटै थप पुष्टि हुन्छ ।
तर, हिन्दु धर्मका कट्टर पोषकहरू भारतीय राजनीतिमा सफल भए पनि कथित हिन्दु बाबा÷गुरुहरूको नांगो कर्तुतले भारतीय धार्मिक समाज र परिवेश भने पूरै बदनाम छ, कलुषित छ । अधिकांश बाबाहरू यौनकाण्ड, बलात्कार, हत्या र हिंसाजस्ता कुकृत्यमा मुछिएर कोही जेलमा छन्, कोही अज्ञात बासमा छन् । कोही अकूत सम्पत्ति आर्जनमा मुछिएका छन् । बाबा रामदेवजस्ता चाहिँ धर्मलाई भजाएर आफ्नो व्यापारिक साम्राज्य विस्तार गर्ने ध्याउन्नामा केन्द्रित छन् । उनी पतञ्जली बिस्कुटदेखि आटा, मैदासम्म बेच्न तल्लीन छन् ।
भारतीय धार्मिक समाजको प्रतिविम्ब हामीकहाँ पनि बिस्तारै देखिन थालेको छ । जसरी भारतका कथित बाबा÷गुरुहरू आफ्ना गलत कार्यले गर्दा बदनाम भएका छन्, सजाय भोग्न बाध्य छन्, कुनै न कुनै संकटमा फसिरहेका छन् । त्यसरी नै, नेपालका कथित बाबाहरूले पनि त्यही पदचिह्न पछ्याएका हुँदा उनीहरू विवादमा तानिन थालेका छन् र आफ्नो छवि धमिल्याउन क्रियाशील देखिन्छन् ।
हिन्दु धर्मका कथित बाबा कृष्णदास गिरीको प्रकरणले धर्मको टेकोमा उनले फैलाइरहेको गलत कुकृत्यहरूको पर्दाफास भइसकेका छन् । बौद्ध धर्मावलम्बीहरूले ‘गुरु’का रूपमा स्विकार्दै आएका कथित गुरु रामबहादुर बम्जनको प्रकरण पनि अझै किनारा लागिसकेको छैन । बम्जनमाथि त आफ्ना अनुयायीहरूको हत्या गरेर लास नै गायब तुल्याएको गम्भीर र अक्षम्य आरोप लागेको छ । पीडितका आफन्तहरूले बम्जनविरुद्ध कदम चाले पनि अहिलेसम्म उनीमाथि कारबाही हुन सकेको छैन । उनलाई कारबाही गर्न न राज्यले तत्परता देखाएको छ, न त उनका कथित अनुयायीहरूले नै उनका कर्तुतप्रति जानकारी भएर पनि क्षुब्ध छन् । बरु, बम्जनका कुकृत्यहरूलाई छोपछाप पार्न तल्लीन देखिन्छन् ।
कथित धार्मिक गुरु÷बाबाहरूले आफ्नो धार्मिक आस्थाको बढोत्तरी र त्यसको आडका हुने कुकृत्यहरूलाई ढाकछोप गर्न राज्यसत्तालाई दुरूपयोग गर्दै आएका छन् । यसको लामो इतिहास छ । र, वर्तमानमा पनि यथावत् छ । राज्यको शक्तिशाली पदमा रहेकाहरूलाई प्रभावमा पारेर आफ्नो अभीष्ट पूरा गर्न उनीहरूले अनेक हत्कण्डा अपनाउने गर्छन् । र, धेरै हदसम्म उनीहरू सफल रहँदै आएका पनि छन् । कृष्णदास गिरीले माक्र्सवादी विचारमा आस्था राख्ने राजनीतिक दलका शीर्ष तहका नेताहरूलाई वशीभूत तुल्याउनु कम चानचुने र ख्यालठट्टाको विषय होइन । कसैको आस्था नै डगमगाइदिन सक्ने शक्ति, क्षमता र खुबी आखिर कथित बाबाहरूमा कसरी पलाउँछ ? यो निश्चय नै सोचनीय र गम्भीर विषय हो ।
लाग्छ, एक्काइसौं शताब्दीको विश्वमा धर्म, धार्मिक आस्था, संस्कार र परिपाटीप्रति मानिसहरूको रुचि, लगाव र ध्यान घट्दै जानुपर्ने हो । किनभने, चालु शताब्दी हरेक कोण र दृष्टिले धेरै भिन्न र विशिष्ट प्रतीत महसुस हुन्छ, विगतका शताब्दीहरूभन्दा । आज सामाजिक परिवर्तनको गति अकल्पनीय रूपले तीव्र बन्दै गइरहेको पनि छ । र, धर्मको स्थान राजनीतिले लिइसकेको छ । तर, वैज्ञानिक विचार अँगाल्ने माक्र्सवादी, गैरमाक्र्सवादीहरूले किन धर्मलाई नै अझै सर्वोपरी ठान्ने गल्ती गरिरहेका छन् ? नेतृत्वमा रहनेहरू कथित बाबा÷गुरुहरूका धार्मिक कुकृत्यहरूका किन साक्षी बसिरहेका छन् ? आजका दिनमा धर्म मानव सभ्यताको विकास र प्रगतिको पथमा रोडा–ढुंगाहरू साबित भइसक्दा पनि त्यसलाई पन्छाउनेमा भन्दा पछ्याउनेमा किन रुचि बढ्दै छ ? यस्ता यक्ष प्रश्नहरू हामीसामु उभिएका छन्, आज ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply