मन्त्री अर्यालको अभिव्यक्तिप्रति किन भयो विरोध ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको अभिव्यक्तिप्रति लेखापढी व्यवसायीहरुले आपत्ति व्यक्त गरेका छन् । केही दिन अघि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति डिल्लीबजारको २३ औं साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले मन्त्री अर्यालको अभिव्यक्तिको भत्र्सना गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले पेशा व्यवसाय गर्ने व्यवसायीमाथि मन्त्रीले पटकपटक आक्रमण गरिरहेको बताए । मन्त्री अर्यालले लेखापढी व्यवसायी विस्थापित गर्छु भनेर सोचेको हो भने त्यो दिवास्वप्न नदेख्न दाहालले चेतावनी समेत दिए । उनले भने, ‘लेखापढी व्यवसायीलाई तपाईंले जुन ढंगले विश्लेषण गर्नुभएको छ, त्यो गलत हो । मन्त्रीज्यूले लेखापढी व्यवसायीहरुलाई विस्थापित गर्ने सोच र योजना बनाउनु भाछ भने त्यो सम्भव हुँदैन, त्यसका लागि तपाईंले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
सम्मानित अदालतबाट प्रमाणपत्र लिएर पेशा व्यवसाय गर्ने लेखापढी व्यवसायीहरु तपाईंले भनेजस्तो होइनन् । तपाईंले जसरी सजिलो ढंगले हामीप्रति अपमानित व्यवसाय गर्नुभयो, तत्काल त्यसलाई सच्याउन समेत म आग्रह गर्दछु । ’ व्यवसायीलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना नगरी सहकार्य र सहमतिबाट समस्या समाधान गर्न पनि दाहालले आग्रह गरे । अर्धन्यायिक निकायबाट सेवाग्राहीहरु हाँसेर फर्किने वातावरण बनाउन आफू लागिपरे पनि मन्त्रीको काम र व्यवहारले त्यो सम्भव नभइरहेको समेत उनले आरोप लगाए । एसोसिएसनका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकालले लेखापढी व्यवसायी र समग्र पेशालाई नै मन्त्री अर्यालले आक्षेप लगाउने काम गरेको बताए । कानूनले व्यवस्था गरेको पेशा र व्यवसायमाथि विभागीय मन्त्रीले दिएको यस्तो अभिव्यक्तिप्रति ढकालले घोर भत्र्सना गरे । उनले लेखापढी व्यवसायीहरु मन्त्रीज्यूका मतदाता पनि भएको भन्दै आफ्नै मतदातामाथि आक्षेप लगाउँदा सोच्नुपर्ने बताए । ढकालले भने, ‘मन्त्रीज्युलाई त्यो पदमा पुर्याउने मतदाता पनि हुन् लेखापढी व्यवसायी तर तिनै मतदातामाथि आक्षेप लगाउने काम बन्द गर्नुहोस् । ’यस्ता अभिव्यक्ति र गलत क्रियाकलाप गर्दै अघि बढ्ने हो भने मन्त्रीको भण्डाफोर गर्दै व्यवसायी अघि बढ्ने उनले चेतावनी पनि दिए ।
एसोसिएसनका महासचिव कृष्णप्रसाद दाहाल (नवराज) ले सम्पूर्ण लेखापढी व्यवसायीहरुलाई अपमानित गर्ने मन्त्रीको अभिव्यक्ति सच्चाउन आग्रह गरे । लोकतान्त्रिक राज्यमा कुनै पनि पेशा, वर्ग वा नागरिकलाई होच्याउने वा अपमानित गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै मन्त्री अर्यालको अभिव्यक्तिप्रति खेद व्यक्त गरे । दाहालले प्रश्न गरे, ‘लोकतान्त्रिक राज्यमा कुनै पनि पेशा, वर्ग वा नागरिकलाई होच्याउने वा अपमानित गर्ने अधिकार कसले दियो ?’
उनले मन्त्रीलाई बोलीमा सुधार गर्न र व्यवसायीहरुसँग माफी माग्न समेत आग्रह गरे । कानूनसम्मत अभ्यासरत पेशाप्रति सम्मान गर्न पनि उनले मन्त्रीलाई आग्रह गरे । कर्मचारी सच्चिए व्यवसायी पनि सच्चिन तयार रहेको भन्दै उनले पहिले आफ्ना कर्मचारीलाई सुधार गर्न मन्त्री अर्याललाई चुनौती दिए । एसोसिएसनको न्यायिक समितिका संयोजक अधिवक्ता चोमराज दाहालले २० हजार भन्दा बढीको संख्यामा रहेका व्यवसायीलाई विस्थापित गर्छु भन्ने मन्त्री अर्यालको उद्घोषको भत्र्सना गरे । विभिन्न क्षेत्रबाट व्यवसायीमाथि आक्रमण भइरहेको उल्लेख गर्दै दाहालले भोलि अर्को मन्त्री वा पदाधिकारीले पनि हाम्रा विरुद्ध आवाज उठाउन सक्ने भएकोले सचेत रहन व्यवसायीलाई आग्रह गरे । पटक पटक आक्षेप लागिरहेकोले व्यवसायीहरु पनि व्यवस्थित र मर्या्दित हुन आवश्यक रहेको दाहालले बताए । नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल) का पार्सद तथा कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता महेशकुमार नेपालले बेला बेला पदमा आउने मन्त्री वा पदाधिकारीको कुरामा धेरै अक्रोस व्यक्त गरिहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । उनले भने, ‘वर्तमान कानूनी व्यवस्थाले पेशा वा व्यवसायलाई कसरी संरक्षण गरेको छ, त्यो चाहिँ हेर्न जरुरी छ । त्यसकै आधारमा आफ्नो अधिकार लिने र कर्तव्य गर्ने हो, कोही जनप्रतिनिधिले केही भन्दैमा फरक पर्ने होइन । ’
नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल) का पार्सद अधिवक्ता केदार कार्कीले मन्त्रीको गलत व्यवहार र अभिव्यक्ति पटक पटक आइरहेको भन्दै आक्रोस व्यक्त गरे । नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलले मन्त्रीलाई लखापढी सम्बन्धी नियमाली पनि छ भन्ने जानकारी नै नभएको बताए । पौडेलले भने, ‘उहाँका सल्लाहकार वा सम्बन्धित विभागहरुले यो विषयमा मन्त्रीलाई जानकारी नगराएको कारण पुरानै वा गलत अभिव्यक्ति मन्त्रीले दिने गरेकी हुन् । सरोकारवाला मन्त्रालय–मन्त्रालयबीचमा पनि समन्वय र सहयोग आदानप्रदान हुन नसक्ने अवस्था भएकोले कानून, नीति, नियम बनाउँदा समस्या आउने गरेको हो । यो समस्या यस क्षेत्रमा मात्रै नभएर अन्य विधाहरुमा समेत देखिन्छ । ’ कार्यक्रमको सभापतित्व डिल्लीबजार इकाइ समितिका अध्यक्ष काजु शिवकोटीले गरेका थिए । मन्त्री अर्यालले केही दिनअघि ‘सरकार भन्दा लेखन्दास बलिया रहेको र लेखन्दासलाई भूमिसम्बन्धी अड्डाबाट विस्थापित गर्ने’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
सम्बन्धित समाचार
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
-
एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
-
जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
-
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply