आजाद ः एउटा ननिभ्ने ज्योति
आज फागुन १२ गते । ऋषिराज देवकोटा ‘आजाद’ स्मृति दिवस । ३८ वर्षअघि उहाँको हत्या भएको दिन । हामीले श्रद्धा–सुमन अर्पण गरेका छौं उहाँप्रति । र, फेरि एकपटक उहाँप्रति श्रद्धा–सुमन अर्पण गर्न चाहन्छु ।
त्यो समय हामी जेलमा थियौं । जेलमा नै हामीले समाचार हो कि होइनजस्तो गरेर अलिअलि सुन्यौं, ‘ऋषि देवकोटा आजादको हत्या भयो ।’ यो २०३६ सालको जनमतसंग्रहपछिको घटना थियो । त्यसभन्दा पहिलाको परिस्थिति अलि बेग्लै थियो । गिरफ्तारीमा परेका मानिसहरूलाई हत्या गर्ने, जेलमा रहेकाहरूलाई जेलबाट निकालेर हत्या गर्ने र जालझेल गरेर हत्या गर्ने गरिन्थ्यो । तर, जनमतसंग्रहले जनताको मनोबल र शासकहरूका मनोबलबीच भिन्नता ल्याएको थियो । जनताको मनोबल उठाएको थियो र शासकहरूका मनोबल खस्काएको थियो । त्यस्तो अवस्थामा यो घटनाको समाचार सुने पनि हामीलाई होइन जस्तो लाग्यो । हल्ला पो हो कि जस्तो लाग्यो । एउटा ठाउँबाट अर्को ठाउँमा सारियो कि भन्ने लाग्यो । मानिसहरूले आशंका गरेका हुन् कि जस्तो लाग्यो । हामी यस्ता थुप्रै घटनासँग परिचित भइसकेका थियौं ।
२०२९ सालमा जेल सार्ने बहानामा झापास्थित सुखानीको जंगलमा पाँचजना वीर योद्धाहरूको हत्या गरिएको थियो । २०३१ सालमा नक्खु जेलबाट निकालेर नक्खुको ओरालोमा वीर योद्धाहरूलाई गोली हानेर हत्या गरिएको थियो । यस्ता घटनाहरू भइरहेका थिए । तर, जनमतसंग्रहपछिको परिवर्तित परिस्थितिमा शासकहरू आक्रामक ढंगले अगाडि बढ्लान् भन्ने कल्पना हामीले गरेका थिएनौं । तर पछि थाहा भयो, घटना वास्तविक रहेछ र आजादको हत्या गरिएको रहेछ ।
आजादको हत्याको खबर सुनेपछि हामी अत्यन्तै दुखित भयौं । जेलमा नै उहाँको शोक मनायौं र शोकसभासमेत राख्यौं ।
अरू ३८ वर्ष बितिसकेका छन् । अब देशमा क्रान्तिकारीहरूले क्रान्तिका लागि, समाज परिवर्तनका लागि र सामाजिक रूपान्तरणका लागि जीवन आहूति दिनुपर्ने अवस्था छैन । केही समयअघि विवशजीले स्वागत मन्तव्य दिने क्रममा भन्नुभयो, ‘ऋषि देवकोटा आजाद र उहाँजस्तै योद्धाहरूको बलिदानीकै परिणामस्वरूप आज संघीय गणतन्त्र स्थापना भएको छ, जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् ।’ परिवर्तनको पक्षमा आवाज उठाएबापत गिरफ्तार हुने र मारिने अवस्था अब छैन । देश राजनीतिक परिवर्तनको अभियानलाई निष्कर्षमा पु¥याएर आगामी यात्रा अर्थात् सुशासन र विकासको बाटोमा अगाडि बढेको छ । अहिलेको स्थिति बिनाबलिदान प्राप्त भएको होइन । अहिलेको राजनीतिक व्यवस्था धेरैको अंगभंग भएर प्राप्त भएको हो ।
केही समयअघि मात्रै मैले नौजना गम्भीर प्रकृतिका बिरामीका चारपाँचजना प्रतिनिधिलाई भेटें । एकजनाको आँखा छैन, अर्काको खुट्टा छैन र अर्काको हात छैन । मैले उहाँहरूलाई भनें, ‘तपाईंहरू मकहाँ आउनुभएको छ, अब तपाईंहरूको समस्या समाधान हुन्छ, उपचार हुन्छ ।’ घाउहरू छन् । हामी आन्दोलनकै, संघर्षकै र बलिदानकै क्रममा सहादत दिनेका परिवारसँगै छौं । परिवर्तनका लागि आवाज उठाउँदा घाइते भएकाहरूसँगै छौं । पीडितहरूसँगै छौं । तर, यतिबेला म के भन्न सक्छु भने सहिदहरूको बलिदान खेर गएको छैन । कुनै बेला मलाई सहिदहरूको बलिदानलाई अर्थपूर्ण बनाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता लाग्थ्यो । धेरै मानिसको म जमानी बसेको थिएँ र उहाँहरूलाई भनेको थिएँ, ‘राजतन्त्र फालिन्छ, ढालिन्छ, आन्दोलनमा लाग्नुस् ।’ ‘पञ्चायत फ्याँकिन्छ, ढालिन्छ, आन्दोलनमा लाग्नुस्’ भनेको थिएँ । जेल बस्न, मार्न र मर्नका निम्ति तयार हुनुस् तर परिवर्तन अवश्यम्भावी छ भनेर मैले भनेको थिएँ । मानिसहरू आन्दोलनमा होमिएका थिए । मलाई अलि त्रास पनि हुन्थ्यो । मेरो जमानीमा, मेरो विश्वासमा परिवर्तनका लागि मान्छेले घर छाडेका छन्, परिवार छाडेका छन् र पारिवारिक स्थिति अलपत्र पारेका छन् । तर, परिवर्तनलाई साकार पार्न सकिएन भने एकलौटी घाटा कसरी पूरा गर्ने ? परिवर्तनका लागि बलिदान त अनिवार्य हुन्छ नै तर बलिदान बलिदान मात्र भयो भने के गर्ने ? परिवर्तन भएन भने के गर्ने ? मलाई निकै असहज लागिरहन्थ्यो ।
कहिलेकाहीँ जिम्मेवारी वा जमानी लिने बेला म सोच्थें, ‘मैले यत्तिकै भन्नुहुँदैन । वास्तवमा परिवर्तन सम्भव छ कि छैन ? कति समयमा सम्भव हुन्छ होला ?’ तर, म विचार गर्थें र एउटा निष्कर्षमा पुग्थें, ‘परिवर्तन सम्भव छ, हामी परिवर्तन ल्याउन सक्छौं ।’ त्यसकै प्रतिफलस्वरूप आज परिवर्तन भएको छ ।
ऋषि देवकोटा ‘आजाद’को हत्या निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही सत्तालाई टिकाउन भएको थियो । हामी झुकलपुकलले उम्किएर बाँचेका हौं । मार्न लैजाँदालैजाँदै उम्किएर बाँचेका हौं । तर, आज राजतन्त्र ढलेको छ । आज पञ्चायत सिद्धिएको छ र जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । सहिदहरूको सपना पूरा गर्न देश अगाडि बढेको छ । देशलाई सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र देशका रूपमा आफ्नो भूमिका खेल्नुपर्छ भन्ने हाम्रो आकांक्षा हो । त्यस दिशामा हामी अगाडि बढेका छौं । यो हाम्रो सपना मात्र होइन, अब यथार्थ हुन पुगेको छ । नेपालले विश्वका अगाडि निहुरिएर र दबिएर होइन, स्वाभिमानका साथ सार्वभौम अधिकारका आधारमा व्यवहार गर्छ भन्ने कुरा व्यावहारिक रूपमा स्थापित भएको छ । गाउँघरको भाषामा भन्नुपर्दा नेपालले एउटा ठूलो खड्गो काटेको छ, टारेको छ । नेपालको सम्पत्ति र सम्पदाको रूपमा रहेको तथा नेपालको गौरवका रूपमा रहेका विभिन्न चिजलाई अस्त्र बनाएर हामीलाई लडाउन खोज्ने प्रयत्न भए । त्यसलाई नेपालले अस्वीकार गरेको छ र राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ । राष्ट्रिय एकता मजबुत बनेको छ । यसरी नेपाल आज ऋषि देवकोटा ‘आजाद’ र उहाँजस्ता अमर सहिदहरूले देखाउनुभएको बाटोमा हिँडेको छ । जनता सार्वभौमसत्ता सम्पन्न, राष्ट्र स्वाधीन र सम्पन्न एवं लोकतन्त्र प्राप्तिको बाटोमा सफलतासाथ अगाडि बढेको छ ।
हामीले भनेका छौं, राजनीतिक अधिकार प्राप्तिलाई मात्र लोकतन्त्र ठान्ने, लोकतन्त्रलाई संकुचित अर्थमा मात्र परिभाषित गर्ने र लोकतन्त्रलाई राजनीतिक अभ्यासको दायरामा मात्र राख्ने र त्यसको सामाजिक, आर्थिक दायित्वलाई विस्तार र विकसित नगर्ने, जनताको जीवनस्तरसँग, जनताका समस्याहरूको समग्र समाधानसँग लोकतन्त्रलाई नजोड्ने काम अब हुँदैन । लोकतन्त्र भनेको आधुनिक, सभ्य जनताको शासन हो र त्यस्तो व्यवस्था हुनुप¥यो अब । त्यस दिशामा हामी अग्रसर भएका छौं । संविधान निर्माण गरेर हामी त्यस बाटोमा अग्रसर भएका छौं । यसबाट मलाई थोरै सन्तोष मिलेको छ ।
हामीसँग केही चुनौती पनि छन् । समाजमा भ्रष्ट आचरण र मति छ । भ्रष्ट मतिले भ्रष्टाचार जन्माउँछ । विविध प्रकारका भ्रष्ट क्रियाकलापलाई नरोकीकन सुशासन प्राप्त हुन सक्दैन, स्थापित हुन सक्दैन । हामीलाई सुशासन चाहिएको छ । शान्ति र स्थायित्व चाहिएको छ । घरमा ताला लगाउन नपरोस्, कसैले असुरक्षित महसुस गर्न नपरोस् । कसैले आफ्ना अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन नगरोस् । आफ्नो सम्मानको कुरा गरिरहँदा अरूको अपमान नहोस् । आफ्नो लाभ लिन खोज्दा अरूको कुभलो नगरोस् । आफूले फाइदा लिन खोज्दा अरूलाई नोक्सान नपरेको होस् । यस प्रकारको सम्मानयुक्त, सुविधायुक्त र थितियुक्त सभ्य समाजको परिकल्पना हामी गरिरहेका छौं । र, त्यसका निम्ति प्रयास पनि गरिरहेका छौं । त्यसका निम्ति हामी दुवै प्रकारका प्रयास गरिरहेका छौं । एउटा प्रयास, शिक्षा र सचेतनताको माध्यमबाट जनतालाई आचरणयुक्त, सभ्य र सुसंस्कृत नागरिकका रूपमा विकास गर्ने । अर्को प्रयास, कानुन कार्यान्वयनलाई प्रभावकारी र साधन, स्रोत सम्पन्न बनाउने । यदि कसैले कानुन उल्लंघन गरे भने त्यसलाई नियन्त्रण गर्ने कामलाई प्रभावकारी बनाउनुपर्छ । अहिले शिक्षा र सचेतनतामा कमी छ । कानुन कार्यान्वयनका निकायहरूमा कमीकमजोरी छ । कसैले कानुन तोडेर अपराध गरे त्यस्तालाई दण्डित गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन साधन, स्रोत, दक्षता र क्षमताका हिसाबले पनि कमी देखिन्छ । यी दुइटै कुरालाई प्रभावकारी बनाएर सुशासन कायम गर्न सकिन्छ । तर, सुशासन कायम गर्ने सवालमा फेरि पनि सबभन्दा महŒवपूर्ण कुरा शिक्षा र सचेतनता नै हो । मानिस नैतिक, सामाजिक बन्धनमा आफैं बाधियोस्, आफैं स्वतः कानुन पालनाको व्यवस्थामा बाधियोस् । हामी सभ्यताको कुरा गर्छौं र नागरिकहरू स्वतः त्यो हिसाबले सभ्य बनोस् । यो विधि नै सबभन्दा महŒवपूर्ण र प्रभावकारी विधि हो, जसमा हामीले ध्यान दिइरहेका छौं । र, विभिन्न ढंगले अभियान सञ्चालन गर्न पनि लागिपरेका छौं । हामी नयाँ र सभ्य समाज निर्माण गर्न खोजिरहेका छौं । चल्ते, चलाते समाजमा चल्न अहिलेको समाज तयार छैन । चल्ते, चलाते समाजको सरकार, सरकार भइदिनका लागि सरकार मात्र हो । खास दृष्टिकोण र योजनाका साथ विकासका कामहरूलाई अगाडि बढाउने, विकासमार्फत समृद्धि हासिल गर्ने र समृद्ध नेपाल सुखी नेपाली अर्थात् आमनेपालीको आकांक्षालाई पूरा गर्ने दिशामा हामी क्रियाशील छौं । विगतमा सहिदले देखेका सपना यही नै थियो, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ यो अभियानमा हामी लागिपरेका छौं ।
यही दृढ अभियानलाई बुझेर नै अहिले पनि तर्सिनेहरू तर्सिएका छन्, थर्किनेहरू थर्किएका छन् । हरेक दिन बिहान उठेपछि तिनीहरूले भगवान् सम्झिँदैनन्, बरु अहिलेको सरकार सम्झिन्छन् र धारे हात लगाउँछन् । भजन होइन, गाली गर्छन् । किनभने, यो सरकारले देश बनाउनै आँट्यो भन्ने तिनीहरूलाई थाहा छ । यो सरकारले आफू भ्रष्टाचार गर्दैन र अरूलाई भ्रष्टाचार गर्न पनि दिँदैन ।
जनतामा भ्रम फिँजाइएको छ । म भन्न चाहन्छु र मैले धेरैपटक भनि पनि सकेको छु, हामी फाउको जिन्दगी बाँचेर आएका मान्छे हौं । सँगै भएका साथीहरू मारिँदा पनि हामी भने मृत्युबाट उम्किएर आएका हौं । मार्न लगिँदै गरेका ठाउँबाट बाटो बदलेर, छलेर बाँचेर आएका मान्छे हौं । गोली हान्दाहान्दै नलागेर बचेर आएका मान्छे हौं । यस्तो फाउको जिन्दगी बाँचेर आएका हौं । अहिले हामीलाई जनताले महŒवपूर्ण ठाउँमा पु¥याएका छन्, देश विकासको जिम्मा दिएका छन् । यति महŒवपूर्ण जिम्मेवारी दिँदा पनि त्यसलाई सदुपयोग गरिएन भने योभन्दा नराम्रो कुरा अरू के हुन सक्छ ? तसर्थ, म भन्न चाहन्छु– सहिदको सपना साकार पार्ने कुरामा म अत्यन्त निष्ठापूर्वक लागेको छु र अहिलेको सरकार लागेको छ । तपाईं हामी लागेर नै यो परिस्थिति आएको हो । तपाईं हामी नलागेका भए राजतन्त्र ढल्ने थिएन । राजतन्त्र कुनै फर्सीको गट्टामा चोट लागेर फत्रक्क झरेजस्तो झरेको हो र ? त्यसलाई त संघर्षको मैदानबाट हटाइएको हो । लोकतन्त्र यत्तिकै फुत्त आएको हो र ? यो त संघर्ष र बलिदानबाट आएको हो । यसकारण यो बलिदान र बलिदानीपूर्ण संघर्षबाट तपाईं हामीले प्राप्त गरेको लोकतन्त्रको सदुपयोग गरेर सहिदको सपना साकार पार्नु छ ।
ऋषि देवकोटा ‘आजाद’ मभन्दा आठ वर्ष जेठो हुनुहुन्थ्यो । अहिलेसम्मको हिसाब गर्दा ३८ वर्षअघि मारिनुभयो । उहाँ मारिएभन्दा पछि ३८ वर्ष मैले संघर्ष र साधना गर्ने मौका पाएँ । र, हामी यी सबै अनुभवलाई लिएर अगाडि बढ्यौं । उहाँ मारिनुहुँदा म जेलमा थिएँ । उहाँ मारिएको समय र आज कति परिवर्तन भइसकेका छन्, यी ३८ वर्षमा । यति लामो समय हामीले संघर्षको मैदानमा बितायौं । बल्ल हामीले संविधान बनाएर, संरचनाहरू बनाएर अब विकासको मार्ग बनाएका छौं । अब त्यस मार्गमा हामी दु्रतगतिले अगाडि जान सक्छौं ।
आजादको जीवन एउटा क्रान्तिकारीको जीवन थियो । अलि कष्टपूर्ण जीवन थियो । बाल्यकाल, युवावस्था वा सिंगो जीवन नै दुःख, कष्टमा बिताउनुभयो । उहाँले अभावहरूका बीचमा पनि संघर्षमय जीवन बिताउनुभयो । किनभने, अभाव र कठिनाइ आउँदो पिँढीले झेल्नु नपरोस् भनेर उहाँले संघर्ष गर्नुभयो । उहाँको कारण उहाँको परिवारले कठिनाइ झेल्नुप¥यो । आउँदा पिँढीले कठिनाइ झेल्नु नपरोस् । यसका निम्ति हाम्रा प्रयासहरू जारी छन् ।
आजादबारे धेरै साथीले संस्मरण लेख्नुभएको छ । उहाँका जीवनका धेरै पाटाबारे लेखरचना लेख्नुभएको छ । यो विषयमा मैले धेरै बताइरहनुपर्ला जस्तो लाग्दैन । म आजादसँग नामले परिचित मानिस हुँ । कामले परिचित मानिस हुँ । भावनाले सामीप्य भएको हुँ । उद्देश्यले एकरूपता भएको हो । यस्ता थुप्रै कुराहरू थिए । तर, हामीबीच व्यक्तिगत तवरमा कहिल्यै पनि भेट भएन । तर, म उहाँलाई एउटा आदर्श व्यक्तिको रूपमा मान्छु । उहाँलाई बहुआयामिक व्यक्तित्वका रूपमा मान्छु । प्रायः क्रान्तिकारी बहुआयामिक व्यक्तित्वका धनी हुन्छन् । उहाँमा पनि त्यही गुण थियो । उहाँ कवि, साहित्यकार, लेखक, विश्लेषक र राजनीतिक नेता हुनुहुन्थ्यो । उहाँका पारिवारिकदेखि सामाजिकलगायत विभिन्न पाटा छन् । मैले उहाँलाई एउटा आदर्शका रूपमा, एउटा ननिभ्ने बत्ती र ज्योतिका रूपमा र एउटा बाटो नबिराउने पथप्रदर्शकका रूपमा लिएको छु । सहिदहरू महान् छन् । उहाँले देश र जनताका लागि, सकारात्मक परिवर्तनका लागि जीवन दिनुभयो । उहाँ नामधारी क्रान्तिकारी होइन, कामधारी क्रान्तिकारी हुनुहुन्थ्यो । चन्दा उठाउनका निम्ति बम पड्काउने बमधारी क्रान्तिकारी हुनुहुन्थ्यो, परिवर्तनका लागि क्रान्ति गर्ने क्रान्तिकारी हुनुहुन्थ्यो । परिवर्तनका लागि आफ्नो जीवनलाई विस्फोट गराउन तयार हुने व्यक्ति हुनुहुन्थ्यो । गरिमापूर्ण जीवन बाँच्ने व्यक्ति हुनुहुन्थ्यो ।
उहाँको स्मृतिग्रन्थ हाम्रा लागि प्रेरणादायी हुन्छन् । उहाँका जीवनका विभिन्न पाटाको अध्ययनले हामीलाई प्रेरणा दिनेछन्, हामी प्रेरणा प्राप्त गर्न सक्नेछौं । उहाँको बहुआयामिक व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्न सक्नेछौं । आज ३८ वर्ष बित्दा पनि उहाँको स्मरण झन् ताजा भएर आएको छ । हामीले बुद्धलाई देखेनौं । तर, आज एउटा सालिक देखाए पनि हामी बुद्धलाई सजिलै चिन्छौं । फोटो देखाए पनि सजिलै चिन्छौं । २,६६२ वर्षअघिका भए पनि हामी हरेकले बुद्धलाई चिन्छौं । जसरी लामो समय बित्दा पनि बुद्धको ज्योति फैलिएको थियो, आज ३८ वर्षपछि आजादको ज्योति पनि फैलिँदैछ । यो परिचय अझ फैलिँदैछ । यो प्रभाव अझ फैलिँदै जानेछ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply