पुस्तक–उपहार संस्कृतिको अभाव
प्राणीशास्त्री डा. मुकेशकुमार चालिसेले उपहार–संस्कृतिलाई फरक शैलीमा पछ्याएका छन् । कुनै पनि वैवाहिक समारोह वा ब्रतबन्धजस्ता सुकार्यहरूमा उनी पुस्तक दिन रुचाउँछन् । अरू भौतिक वस्तुहरूभन्दा पनि पुस्तक नै उपहार दिँदै आएका छन्, वर्षौंदेखि उनले । उनले उपहार दिने पुस्तकहरूमा कुनै आफंैले लेखेका पुस्तकहरू हुन्छन् भने कुनै अरू लेखकका जीवनपयोगी पुस्तकहरू । तर, पुस्तक उपहार दिने संस्कृतिलाई भने उनले निरन्तर पछ्याउँदै आएका छन् । अझ, बाल वा किशोर वयका व्रतबन्धहरूमा त उनले उनीहरूलाई उत्पे्रेरित गर्ने पुस्तकहरू उपहार दिन रुचाउँछन् ।
नेपाली समाजमा हुने विवाह, व्रतबन्धलगायत अरु पारिवारिक उत्सवहरूमा पुस्तक उपहार दिने संस्कृतिको अझै विकास र विस्तार भइसकेको छैन । अरू भौतिक वस्तुहरूभन्दा पुस्तक उपहार दिनु आफैंमा राम्रो र उत्तम कार्य हो । किनभने, पुस्तक उपहारलाई दिगो उपहारका रूपमा लिन सकिन्छ । हुन त पछिल्लो समय उपहार दिँदा नगद वा अरू कुनै भौतिक वस्तु दिने परम्परादेखिकै चलन यथावत् छ । वैवाहिक समारोह वा अरू उत्सवहरूमा खामबन्दी गरेर नगद दिने, सुन–हीरालगायत महँगा गहना, धातुका भाँडाकुँडा, घडी वा त्यस्तै उपयोगी वस्तुहरू उपहार दिने चलन छ । खासगरी दैनिक जीवनयापनमा उपयोगी हुने वस्तुहरू नै उपहारका लागि योग्य मानिँदै आएका छन् । तर, रकम वा अरू उपहार तत्कालीन समयमा उपयोगी साबित भए पनि त्यसलाई दिगो मान्न सकिँदैन । समयक्रममा ती सबै विस्मृत भएर जान्छन् । तर, पुस्तक ? निकै महŒव छ पुस्तक–उपहारको । जुन सदियौंसम्म स्मरणमा रहिरहन्छ र अझ उपयोगी पुस्तकहरू उपहार दिँदा त त्यसले ज्ञान र विवेकको दायरालाई फराकिलो र समृद्ध तुल्याउनमा अथाह भूमिका निर्वाह गर्न सक्छ ।
विडम्बना ! हामीकहाँ पुस्तक उपहार दिने संस्कृतिको अझै विकास भइसकेको छैन । वैवाहिक वा अरू समारोहहरूमा पुस्तक उपहार दिने कार्यलाई केवल ‘रमाइलो’का रूपमा मात्र लिने गरिन्छ । फलानोले के उपहार दियो ? भन्दा ‘पुस्तक दियो’ भन्दा त्यसलाई हँसिमजाकमा उडाउने अवस्था विद्यमान छ । हीरा, सुनजस्ता मूल्यवान् गहनाका साथै अरू भौतिक वस्तु र रकमका तुलनामा अझै पनि पुस्तक उपहार दिन लायक चीज बनिसकेको पाइँदैन । उपहारमा दिइने विलासीयुक्त वस्तुहरूका सामु पुस्तक केवल हेय र उपहासको वस्तुमा मात्र दरिन पुगेको छ । तसर्थ, केही बौद्धिक अनुहार बाहेककाले कुनै समारोह वा उत्सवहरूमा पुस्तक उपहार दिएर आफूलाई हाँस्य पात्रका रूपमा उभ्याउन चाहँदैनन् । बरु, खामबन्दी गरेर केही नगद दिनुमा नै उपयुक्त ठान्छन् ।
पुस्तक उपहारलाई सहज रूपमा नस्विकार्नु ज्ञानलाई सम्पत्तिको रूपमा स्वीकार नगर्ने हाम्रो समाजको गलत दृष्टिकोणको उपजका रूपमा लिनुपर्ने हुन्छ । युगौंदेखि सामन्ती चिन्तन र संस्कृतिमा हुर्किएको नेपाली समाजले ठान्ने विषय त्यही हो– सम्पत्ति त केवल सुन हुन्छ, चाँदी हुन्छ, हीरा हुन्छ, लत्ताकपडाहरू हुन्छन्, भाँडाकुँडाहरू हुन्छन् । कहीँ पुस्तक पनि सम्पत्ति हुन्छ ? सामन्ती समाजले पुस्तकलाई सम्पत्तिका रूपमा कहिल्यै ग्रहण नगर्नु स्वाभाविकै मान्नुपर्छ । तर, पुँजीवादतिर उन्मुख समाजले पनि पुस्तकलाई सम्पत्तिका रूपमा स्वीकार गरेको पाइँदैन, ज्ञानलाई सम्पत्तिका रूपमा ग्रहण गरेको देखिँदैन । केवल भौतिक चिजहरू नै सम्पत्ति हुन्छन् भन्ने मान्यता अझै प्रगाढ छ ।
तर, विकसित देशहरूले भने ज्ञानलाई सम्पत्तिका रूपमा स्विकार्ने परिपाटीको विकास सदियौंदेखि हुँदै आएको छ । नभए ती देशहरूमा महान् दार्शनिक चिन्तक, विचारक, वैज्ञानिकहरू जन्मिने थिएनन् । अमेरिका, युरोपेलीलगायत मुलुकहरूमा ऊर्जाशील मस्तिष्कहरूको विकास हुनुमा ती देशहरूले ज्ञानार्जन र त्यसको विस्तारमा देखाएको तदारुकतालाई नै प्रमुख कारण मान्नुपर्छ । विकसित देशहरूले ज्ञानार्जनमा विकास गरे पनि ती ज्ञानहरू अरू मुलुकहरू, खासगरी तेस्रो विश्वका मुलुकहरूमा वितरण गर्न भने उनीहरूले सदैव हिच्किचाउँदै आएका छन् । तेस्रो विश्वलाई ज्ञान दिन चाहे पनि तौलेर वा जोखेर मात्र दिने गरेका छन् ।
हामीकहाँ अझै पनि पुस्तक उपहार दिने कार्य संस्कृतिको रूपमा विकसित हुन नसक्नुमा मूलतः पछौटेपनको सूचक हो । एकाधबाहेक अधिकांश बौद्धिक जमातले कुनै समारोह, उत्सव वा भेटघाटहरूमा पुस्तक उपहार दिने कार्यलाई पछ्याएको देखिँदैन । अरू भौतिक वस्तुहरूभन्दा पुस्तक उपहार सम्झनायोग्य र दिगो चिज हो भन्ने लाग्दालाग्दै पनि यसलाई संस्कृतिको रूपमा विकास गर्न नचाहनु दुःखद कुरा हो । पुस्तक उपहार दिँदा कसैले खिसीट्युरीको विषय बनाउलान् वा ओठ लेप्य्राउलान् भन्ने कुरालाई बेवास्ता गरेर पुस्तक उपहारको संस्कृतिलाई बढावा दिनु सान्दर्भिक देखिन्छ । डा. चालिसेले पछ्याएको शैलीलाई कम्तिमा पनि शिक्षित समुदायले पछ्याए भने मात्र पनि त्यसले पुस्तक उपहार–संस्कृतिको जग मजबुत बन्नमा थप भरथेग हुनेमा दुईमत देखिँदैन ।
One response to “पुस्तक–उपहार संस्कृतिको अभाव”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
अनुकरणीय कार्य, जसले समाज परिवर्तनको दिशामा सकारात्मक योगदान पुर्याउनुका साथै नैतिकता प्रबर्द्धनमा समेत सहयोग पुग्ने देखिन्छ ।