तिनी थिइन्, एक नाडिया
पुरुषवादी सोच, चिन्तन र मानसिकताको वर्चस्वले गाँजेको समाजमा नारीमाथि मानसिक एवं शारीरिक शोषण, उत्पीडन, दमन र हिंसाका शृंखलाहरू निरन्तर जन्मिइरहन्छन्÷चलिरहन्छन् । नेपाली समाजमा पनि नारी उत्पीडन र हिंसाका अनेक रूप बेलाबेलामा उजागर हुँदै आएका छन् । नृशंस एवं पाशविक बलात्कार, हत्या, बोक्सीको आरोपमा महिलामाथि हुने उत्पीडन, छाउपडी प्रथा त्यस्ता रूपहरू हुन्, जसमा पुरुषवादी मानसिकताका नग्न स्वरूप प्रकट हुँदै आएका छन् । तर, नारी उत्पीडनका अनेक रूप र शृंखलाहरू जन्मिइरहे पनि नेपाली समाजमा नारीहरूले आफ्ना विचार, भावना र अभिव्यक्तिहरू प्रकट गर्ने अवसर भने पाउँदै आएका छन् । कट्टर सामन्तकालीन समयदेखि वर्तमानको पुँजीवादको प्रभावतिर लम्किँदै गएको समय र समाजमा समेत नारीहरूले सामाजिक, सांस्कृतिक, आर्थिक विभेद, उत्पीडन र असमानताविरुद्ध आफ्ना आवाज प्रखर ढंगले मुखरित तुल्याउँदै आएका छन् ।
तर, असहिष्णुता र धार्मिक कट्टरताका सिउँडीहरूले ढाकेको राष्ट्र वा समाजमा, जनतान्त्रिक मूल्यहरूमाथि निषेध गरिएको समाजमा नारीहरूले भोग्नुपरेका उत्पीडन, हिंसा र पीडाको रूप भने निकै भयावह र अकल्पनीय देखिन्छन् । त्यस्तो समाजतिर नजर डुलाउँदा हामी एक्काइसौं शताब्दीमा छौं कि मध्ययुगीन बर्बर समाजमा बाँचिरहेका छौं, फरक छुट्ट्याउन निकै मुस्किल पर्छ । अझै पनि धार्मिक कट्टरताको साङ्लोले बाँधिएको मुस्लिम समाजमा नारीहरूले अभिव्यक्ति स्वतन्त्रताको ‘अ’समेत उच्चारण गर्न पाउने गरेका छैनन् ।
मुस्लिम समाजको त्यही एउटा उदाहरण बनेकी थिइन्, नाडिया अंजुमन । करिब डेढ दशकअघिकै प्रसंग हो यो । अफगानिस्तानकी ती प्रखर, ओजश्वी कवयित्रीले केवल कविता लेखेकै आधारमा मृत्युसँग सम्झौता गर्नुपरेको थियो । सन् २००५ मा केवल २५ वर्षको उमेर छँदा उनको हत्या गरिएको थियो । उनको हत्या उनका पति र उनका परिवारका अरू सदस्यहरूको योजनामा भएको थियो । मुस्लिम समाजमा एउटी नारीले कविता, गजल लेख्नु नै ठूलो ‘पाप’ थियो सायद । त्यही नै उनको मृत्युको कारण बन्यो, अन्ततः ।
‘ओ, अदृश्य पर्वतका निर्वासनहरू
ओ, मौनताको फोहोरमा निदाइरहेका तिम्रो नामका जवाहरातहरू
ओ, तिम्रो पुछिएको स्मृति
विस्मृतिको समुद्रको एउटा लहरको पिँधमा भरिएको मस्तिष्कमा
ओ, तिम्रो हलुका–नीलो स्मृति
कहाँ छ त्यो सफा
प्रवाहमय बगाइ तिम्रो विचारको ?’
आफू बाँचिरहेको समाजमा व्याप्त नारीमाथिको चर्को शोषण, उत्पीडन र हिंसाका तस्बिरलाई नाडियाले काव्य सिर्जनामा तेजिलो रूपमा प्रकट गरेकी थिइन् । सन् १९८० मा जन्मिएकी उनले अफगानिस्तानमा तालिवानहरूले सत्ता सम्हालिरहेको बेला सिर्जन कर्मतिर उन्मुख तुल्याएकी थिइन्, आफूलाई । तालिवानी शासकहरूले महिलाहरूलाई शिक्षाबाट वञ्चित तुल्याइरहेको त्यो समय उनले भने हाईस्कुलको पढाइ छिचोलेकी थिइन् । अझ, अध्ययनकै दौरानमा साहित्यका एकजना प्राध्यापकको घरमा आयोजना हुने गरेको गोप्य साहित्यिक गोष्ठीमा उनले नियमित उपस्थिति जनाउन थालिन् । साहित्यको गहन अध्ययनका साथै लेखनमा समेत उनी सक्रिय रहन थालिन् । त्यही क्रममा उनले हेरात विश्वविद्यालयबाट डारी साहित्यको अध्ययन गरिन् ।
‘हरित पाइलाहरूका पदचाप हो– वर्षात्
त्यो आइरहेको छ, सडक–मार्ग हुँदै अब
मरुभूमिले लगाइरहेको तिर्खालु आत्मा र धुलोयुक्त छाया
जलिरहेको उसको सास, मृगतृष्णामा घोलिएको
सुक्खा मुख, ध्वनि निकालिरहेको धूलो
त्यो आइरहेको छ सडक–मार्ग हुँदै अब ।’
मुस्लिम समाजभित्र सिर्जनाको क्षितिज चुम्न चाहने महिलाले अन्ततोगत्वा समाज र परिवारभित्रैबाट कस्तो नियति झेल्नुपर्छ ? यो यथार्थप्रति नाडिया बेखबर थिइनन् । उनले तस्लिमा नसरिनलाई नपढेकी, उनको पीडा र व्यथाको आयतन ननापेकी कहाँ हो र ? तर, कविता सिर्जनामा उनी गहन र प्रतिबद्ध रूपले लागेकी थिइन् । उनको आत्मस्वीकारोक्ति थियो, ‘मलाई कविता सदैव मन पथ्र्यो । ६ वर्षको तालिवानी शासनको जुन साङ्लोले मेरो खुट्टा बाँधिदिएको थियो, तिनै साङ्लाले मेरो कलमको हिच्किचाहटयुक्त पैंतालाको सहायताले मलाई कविताको मैदानमा पु¥यायो । मेरा साथीहरूले मलाई यो बाटोमा हिँड्न प्रेरणा दिए । तर, आज पनि पहिलो पाइला चाल्दा मेरो कलमको निब काँप्न पुग्छ । किनभने, यो बाटोमा हिँड्दा कतै ठोक्किएर लड्ने हुँ कि भन्ने डर लागिरहन्छ । किनकि, बाटो धेरै कठिन छ र मेरा पाइला अस्थिर…।’
नाडियाको यी काव्यपंक्तिले एक कट्टरपन्थी समाजमा महिलाको स्थिति, नियतिलाई प्रस्टै देखाउँछ–
‘ओ, मेरो हृदय
तिम्लाई थाहा छ कि, वसन्त आयो
उत्सव मनाउने समय,
जालमा फसेको एउटा पखेंटाको
के गरूँ म
जसले मलाई उड्न नै दिँदैन ?’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply