‘गीता’ को राजनीति
कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व एउटै बन्न पुगेको छ । तीन समूहको एकता हुँदाखेरि एउटा रमाइलो दृश्य जन्मिन पुग्यो । पटकपटक विभाजनको मार खेपेको हुँदा राप्रपाका नेताहरूले यस पटक भने हिन्दू धर्मावलम्बीहरूको ‘पवित्र’ ग्रन्थ गीतालाई छोएर शपथ खाए र भने, ‘अब हामी पार्टी फुटाउँदैनौं ।’
साँच्चै, के गीता त्यस्तै ग्रन्थ हो, जसलाई छोएर शपथ खाँदा कुनै पनि बिघ्न, बाधाहरू हठात् रूपमा टर्छ ? कसैको संकल्पबोधले सार्थकता पाउँछ ? नेपाली समाजमा गीताको अध्ययन गर्ने, त्यसका सूत्र–वाक्यहरूलाई पछ्याउने सीमित तप्का मात्रै छन् । खासगरी उच्च जातीय एवं आध्यात्मिक चिन्तन बोकेका र संस्कृत साहित्यमा भिजेकाहरूले मात्र गीतालाई आदर्श, पवित्र ग्रन्थका रूपमा स्विकारेका पाइन्छन्, त्यसका श्लोकहरूलाई घोकेका पाइन्छन् । जनजनसम्म गीताको पहुँच अझै पुग्न सकेको छैन । जनजनसम्म त स्वस्थानी व्रतकथाहरूकै पहुँच छ अझै ।
‘गीता’ छोएर पार्टी नफुटाउने संकल्प गर्नु राप्रपाका नेताहरूमा जन्मिएको लहड थियो वा केवल देखावटीपन मात्र ? तर, ‘गीता’ छोएर शपथ खाँदा उनीहरूको राजनीतिक चिन्तन र धरातलबारे प्रस्टै बुझ्न सघाएको छ । उनीहरूको त्यस्तो कार्यले २०६२÷६३ पछिको आमूल परिवर्तनलाई सीधै अस्वीकार गरेको प्रस्टै बुझिन्छ । देशमा गणतन्त्र स्थापना भएपछिका अनेक उपलब्धिमध्ये एउटा थियो– धर्मनिरपेक्षता । मुलुक धर्मनिरपेक्ष भइसकेपछि सबै धर्मका ‘पवित्र’ ग्रन्थहरूले एउटै मान्यता पाइसकेका छन् । हिन्दूहरूको ‘पवित्र’ ग्रन्थ गीता होस् वा मुस्लिमहरूको कुरान वा क्रिस्चियनहरूको बाइबल । सबै धर्मका ग्रन्थहरूलाई राज्यले समान रूपमा स्वीकार गरिसकेको छ । तर, हिन्दू धर्मावलम्बीहरूको ग्रन्थ ‘गीता’लाई मात्र प्राथमिकता दिनुको अर्थ धर्मनिरपेक्षतालाई अस्वीकार गर्नु हो र आफूलाई हिन्दू धर्मको पक्षमा अडिग तुल्याउनु हो ।
शंका त के लाग्दैछ भने अब बिस्तारै राप्रपाले ‘गीता’लाई राष्ट्रिय ग्रन्थको मान्यता दिन आवाज उठाउन पनि सक्नेछन् । करिब दशकपूर्व यस्तो प्रयास भारतमै भएको थियो । तत्कालीन समयमा भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजले संसदमै ‘गीता’लाई राष्ट्रिय ग्रन्थको मान्यता दिनुपर्ने कुरा उठाएकी थिइन् । धार्मिक कट्टरताको उत्कृष्ट नमुना थियो त्यो । धार्मिक कट्टरपनालाई प्रश्रय दिन ‘गीता’ले सदियौंदेखि भूमिका खेल्दै आइरहेको त छ नै, यसले जातीय कट्टरताको पनि वकालत गर्दै आएको छ । ‘गीता’को श्लोकमा लेखिएको छ, ‘चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः ।’ अर्थात्, ब्राह्मण, क्षत्री, वैश्य र शुद्रजस्ता चार वर्णको समूह गुण र कर्मको विभागपूर्वक मद्वारा रचिएको हो । जाति व्यवस्थालाई यथावत् राख्नुपर्ने पक्षमा ‘गीता’का श्लोकका पंक्तिहरू प्रतिबद्ध रूपले उभिएका छन् ।
जातीय कट्टरताको वकालत गर्न ‘गीता’ले देखाएको अग्रसरता आफ्नो ठाउँमा छँदैछ । यो एउटा घोर नारी विरोधी ग्रन्थ पनि हो । ‘गीता’मै लेखिएको छ, ‘स्त्रियो वैश्यास्तथा शूद्रास्तेपि यान्ती परां गतिम ।’ अर्थात्, स्त्री, वैश्य, शूद्र, चण्डाल पापयोनि हुन् । समाजमा धेरै श्रम गर्ने महिला, वैश्य र शूद्रलाई तल्लो तहका मानिसका रूपमा उभ्याएर कथित माथिल्लो वर्ण र वर्गका मानिसहरूले समाजमा शोषण, अन्याय, उत्पीडन गर्न सदियौंदेखि ‘गीता’लाई हतियार बनाउँदै आए ।
प्रश्न उब्जिन्छ, के आजको एक्काइसौं शताब्दीको आधुनिक र सभ्य समाजमा ‘गीता’को सार्थकता यथावत् नै छ त ? गीता पाठ गरेर, गीताका श्लोकहरू जपेर र गीतालाई शपथ खाने ग्रन्थका रूपमा स्विकारेर कहाँ पुग्न सकिएला, आजको समयमा ? महिला, दलितहरूलाई उही पुरातन दृष्टिकोणबाटै हेर्ने समय छ त आज ? धार्मिक कट्टरतामा जोडबल गर्ने, जातीय घृणा फैलाउने र लैंगिक भेदभावलाई प्रश्रय दिने ‘गीता’ छोएर शपथ खाने सद्बुद्धि राप्रपाका नेताहरूलाई कसले दिएका होलान् ? यस्ता अनगिन्ति प्रश्नहरू उठेका छन् ।
राप्रपा त पुरातन चिन्तन र मानसिकता बोक्ने मानिसहरूको पार्टी हो र उनीहरूका निम्ति ‘गीता’ पवित्र ग्रन्थ होला र ‘गीता’लाई पछ्याउनु स्वाभाविकै ठानिएला । तर, आफूलाई आधुनिक, बौद्धिक र कताकता वामपन्थी भन्नेहरूले पनि मन पर्ने पुस्तकको नाम लिँदा ‘गीता’लाई छुटाउँदैनन् । कतिपयले ‘गीता’को प्रख्यात श्लोक ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’लाई उद्धरण गर्दै ‘गीता’ले आफूलाई ऊर्जा दिएको कुरा बताउँछन् । तर, सिंगो ‘गीता’ मानवद्वेषी अनेक श्लोकहरूले भरिएको छ भन्ने कुरा उनीहरू किन बुझ्दैनन् ?
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply