भर्चुअलमा अभ्यस्त
साहित्य–सन्ध्याले नेपाली साहित्य–इतिहासमा लामो अवधि छिचोलेको छ । प्रगतिशील साहित्य–संस्कृतिक आन्दोलनलाई गति दिन प्रारम्भ भएको यो आन्दोलनले करिब चार दशक अवधिमा पाइला टेक्न लाग्दैछ । सोही संस्थाका अध्यक्ष राम विनयले पछिल्लो समय बेग्लै अनुभव सँगाले । त्यो अनुभव थियो– भर्चुअल गोष्ठी । बितेको ६ महिना अर्थात् कोभिड–१९ को महामारीले नेपाली जनजीवनलाई प्रभाव पारेपश्चात् केही महिना सुस्ताएको साहित्य–सन्ध्याले पछिल्लो समय भने भर्चुअल–गोष्ठी र बैठकहरू गर्दै आएका छन् ।
अध्यक्ष विनयले पनि ७७ हिउँद–वर्षा पार गरिसके । केही दशकयता साहित्य–सन्ध्याको नेतृत्व गर्दै आएका उनले हरेक महिनाको पहिलो शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा जाने, सन्ध्याको काव्य वा अरु खालका गोष्ठीहरूमा उपस्थिति जनाउने र अरू समय पनि सन्ध्याको बैठकमा सहभागिता जनाउने गर्दै आएका थिए । तर, भर्चुअल–गोष्ठीले भने उनलाई दौडधुप गर्ने तनावबाट मुक्ति दिलाएको छ र सिकाएको छ, प्रविधिप्रति अभ्यस्त बन्न । कोभिड–१९ को चकाचौध बढेसँगै साहित्य होस् वा अरू क्षेत्र, सबैले भर्चुअल–संसारलाई नै समारोह, कार्यक्रम, भेटघाट, बैठकको माध्यम बनाए । प्रविधि जान्नेहरूका निम्ति यो सहज माध्यम पनि बन्यो । अचेल सन्ध्याका अध्यक्ष विनय पनि घरमै बसेर भर्चुअल–संसारको आनन्द बटुलिरहेका छन्, घरमै रहेर काव्य–गोष्ठी गर्छन्, बैठक गर्छन् ।
महामारीबाट सिंगो विश्व अझैसम्म मुक्त भइसकेको छैन । केही विकसित मुलुकहरू यो महामारीसँग जुध्न भ्याक्सिन निकाल्न व्यस्त छन् । भ्याक्सिन निस्किएपछि यो महामारीले बिदा पाउला कि भन्ने अपेक्षा बढेको छ । तर, सामाजिक भेट र दूरीबाट टाढै रहन सिकाएको कोभिड–१९ ले घरमै बस्न अभ्यस्त सिर्जनकर्मीहरूलाई भने आफ्नो सिर्जना बाँडचुँड गर्न भने रोकेको छैन । प्रविधिको तीव्र विकास र सिकाइसँगै सिर्जनकर्मीहरूले आफ्ना सिर्जना अरूलाई सुनाउन र अरूका सुन्न पाएका छन् । पछिल्लो समय हरेकजसो साहित्य संस्था वा समूहहरूले यही तरिका÷माध्यम अपनाइरहेका छन् ।
पक्कै पनि सर्जक र पाठक÷श्रोताहरूले पनि यो माध्यम अपनाउन पाउँदा आफूलाई ‘सौभाग्यशाली’ महसुस गरेका होलान् । किनभने, नयाँ माध्यमबाट ज्ञान र सिर्जनाको संसारमा डुल्न उनीहरू अभ्यस्त हुन पुगेका छन् । कोठा वा कुनै सीमित थलोमा रहेर भर्चुअल माध्यमबाट आफ्ना सिर्जना अरूलाई सुनाउन पाउनु वा सुन्न पाउनु सुखद र नौलो अनुभूति दिलाएको हुनुपर्छ, अवश्य नै ।
भर्चुअल माध्यमद्वारा आफ्ना सिर्जना पस्किनेहरूलाई धेरै राहत पनि दिलाएको हुनुपर्छ, निश्चित रूपमा । किनभने, पूर्ववर्ती दिन÷समयहरूमा आफ्नो सिर्जना अरूलाई सुनाउन वा अरूका सुन्न तोकिएको कुनै थलोमा पुग्नैपथ्र्यो । अरू विकल्प थिएन । समय उबारेर ती थलोहरूमा पुग्नु र आफ्नो रचना सुनाउनुपथ्र्यो । त्यसरी रचना सुनाउँदा त्यो थलोमा उपस्थित दर्शक÷श्रोताहरूको मात्र क्रिया÷प्रतिक्रिया सँगाल्न पाइन्थ्यो । तर, भर्चुअल माध्यमले भने धेरै सुविधा र फाइदा दिएका छन् । कुनै एउटा कोठा वा हलमा उपस्थित हुनेहरूले मात्र होइन, प्रविधिलाई पछ्याउने विश्वका सम्पूर्ण मानिसहरूलाई आफ्नो सिर्जना सुनाउन र उनीहरूका प्रतिक्रिया बुझ्न सहज बनेको छ ।
कुनै पनि प्रविधिगत माध्यमसँग अभ्यस्त हुन सुरुमा असहज र गाह्रो महसुुस हुन्छ । तर, त्यसको फेद–टुप्पा थाहा भएपछि भने त्यो सहजतामा परिणत हुँदो रहेछ । केही दिनपूर्व लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा गोष्ठीमा जोड्दा मलाई पनि केही असहजता महसुस भएको थियो । तर, प्रविधिगत ज्ञान बटुलिसकेपछि भने असहजता मेटिँदो रहेछ र त्यसले बेग्लै रौनक र स्वाद दिँदो रहेछ ।
प्रत्यक्ष भेटघाट वा हेराहेर गरेर आफ्ना सिर्जना सुनाउँदा वा अरूका सुन्दा आफ्नै खालको अनुभूति त आउँछ नै । त्यसो गर्दा भर्चुअल–संसारलाई पछ्याएजस्तो पक्कै पनि नहोला । तर, आखिर जुन माध्यम अपनाएर भए पनि वा जुन थलो चयन गरेर भए पनि सुनाउने त त्यही सिर्जना नै हो । भर्चुअल माध्यम अपनाएर आफ्ना सिर्जना सुनाउँदा सर्जक वा आयोजकहरूलाई फाइदामाथि फाइदा नै छ, त्यसो त । आयोजकहरूलाई त न कुनै हल लिनुपर्ने झन्झट, न चिया–बिस्कुटको खर्च बेहोर्नुपर्ने समस्या नै । सर्जकहरूलाई धाईधाईकन आयोजनस्थलसम्म पुग्नुपर्ने झन्झट पनि साफ । एक हिसाबले आयोजक र सर्जक दुवैलाई यो सहज माध्यमको रूपमा स्थापित हुन पुग्दैछ ।
तर, यसलाई परिस्थितिले निम्त्याएको अवस्था मान्न सकिन्छ र माध्यम पनि । सदैव यही माध्यममा अभ्यस्त हुन पनि नपर्ला । तत्कालीन समयमा भने भर्चुअल माध्यमको भने विकल्प देखिँदैन । आफ्ना सिर्जना पस्किन चाहनेहरूले यो माध्यमलाई एउटा सहज र उपयोगी माध्यमका रूपमा अपनाएका छन् । अचेल भर्चुअल माध्यममा अभ्यस्त हुन हरेक स्रष्टाहरू लालायित देखिन्छन् ।
One response to “भर्चुअलमा अभ्यस्त”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Dherai sajilo madhyam.Ma covid 19 ko sankramit byaktile Pani sahitya Sandhya ma sahabhagi huna payekoma aabhar byakta gardachhu.