इतिहासको उत्खनन
विश्वप्रसिद्ध नाइजेरियाली उपन्यासकार÷लेखक चिनुवा अचेबे सुरुवाती दिनहरूमा नाइजेरियाको ब्रोडकास्टिङ सेवामा काम गर्थे । नाइजेरियाको इबादान विश्वविद्यालयबाट अध्ययन सिध्याएपछि उनी सो ब्रोडकास्टिङ सेवामा पटकथा लेखकका रूपमा कार्यरत रहन थाले । त्यही समय उनले पढे– जोयस क्यारीको उपन्यास ‘मिस्टर जोनसन’ । ती आइरिस उपन्यासकारले ‘मिस्टर जोनसन’मा नाइजेरियाको विषयवस्तु उठान गरेर लेखेका थिए । तर, अचेबेले त्यो उपन्यासलाई सहज रूपमा पचाउन सकेनन् र उनलाई लाग्यो– नाइजेरियालगायत सिंगो अफ्रिकी समाज, इतिहास र संस्कृतिलाई अझ गहिराइमै पुगेरै बुझ्नुपर्छ, लेख्नुपर्छ ।
‘मिस्टर जोनसन’ को अध्ययनपश्चात् अचेबेले दृढ निश्चय गरे– अफ्रिकाको यथार्थ इतिहास र संस्कृतिलाई अब म आख्यानको धरातलमा उतार्नेछु । लामो समय उपनिवेशको जाँतोमुनि थिचिएको नाइजेरियालगायत देश र स्थानीय जनताले भोग्नुपरेका उत्पीडनलाई उनले बिस्तारै आफ्नो लेखनको क्षितिजमा समेट्दै गए । सन् पचासको अन्तिम दशकमा उनले ‘थिङ्स फल एपार्ट’ प्रकाशनमा ल्याएसँगै अफ्रिकी समाज, इतिहास र संस्कृति उत्खनन हुन थाले । त्यसयता दर्जनौं आख्यान दिएका अचेबेले आफ्नो देश, समाज र परिवेशको इतिहास र संस्कृतिलाई यथार्थ रूपले पस्किन चाहे र उनी अफ्रिकी साहित्य–संसारमा मात्रै होइन, विश्वकै गिनेचुनेका लेखकको लहरमा आबद्ध हुन पुगे ।
अचेबेको प्रसंग उप्काउनुका तात्पर्य अरू केही होइन । यसपटक मदन पुरस्कार जुन औपन्यासिक कृतिले पायो, त्यसमा आफ्नो परिवेश र एउटा कालखण्डको इतिहासलाई उत्खनन गरेको छ । हरेक वर्ष सयौं साहित्य÷गैरसाहित्य कृतिहरू बजारमा आउँछन्, केही गहन विषयवस्तुका र केही सामान्य । तर, चन्द्रप्रकाश बानियाँको ‘महारानी’ भने गएको वर्ष प्रकाशितमध्ये केही फरक सिर्जनात्मक कृतिका रूपमा देखियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि नेपाल भुरेटाकुरे राज्यहरूमा विभाजित थियो । त्यहीमध्ये पर्वतमा पनि थियो, एउटा टाकुरे राज्य । ‘महारानी’मा त्यही टाकुरे राज्यको कथाको उत्खनन गरिएको छ, आजभन्दा अढाइ–तीन सय वर्षअघिको समयलाई रेखांकन गर्ने कार्य गरेको छ ।
पछिल्लो समय, देशकै प्रतिष्ठित मदन पुरस्कार पाउने कृतिहरूमा प्रायजसो ऐतिहासिक विषयवस्तुलाई पछ्याएका कृतिहरू हुन पुगेका छन् । गएको वर्ष योगेशराजको ‘रणहार’ले पायो । भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्ललाई केन्द्रमा राखेर लेखिएको उक्त औपन्यासिक कृति तत्कालीन राज्यव्यवस्थाका तीता–मीठा प्रसंगहरू उप्काउने प्रयत्नमा केन्द्रित थियो । हुन पनि पछिल्लो समय इतिहासको सही र विश्लेषणात्मक रूपले उत्खनन गरिएका कृतिहरू पुरस्कृत हुने र त्यस्ता कृतिहरू आम पाठकको रुचिको क्षेत्रभित्र पर्ने कुरा अकाट्य बन्दै आएको छ ।
आख्यानमार्फत होस् वा गैरआख्यानमार्फत, इतिहासको सही उत्खनन हुनु जरुरी छ । हामीकहाँ अहिलेसम्म जेजति इतिहास–लेखन भएका छन्, ती सबैजसो एकरेखीय छन् । कुनै सन्देह छैन कि अहिलेसम्म जेजति इतिहास लेखन भए, ती सबै सत्ताधारीहरूको प्रशंसा, गुनगानका लागि लेखिए, उनीहरूका यशोगाथामा समर्पित भएर लेखिए । शासक वर्गका निम्ति, उनीहरूका रुचिअनुरूप लेखिएको इतिहासमा जनताको इतिहास लेखिने कुरै भएन । कुनै बेला राजसंस्थाले नै इतिहास लेखनमा इतिहासकारहरूलाई प्रयोग गर्ने गरेको दृष्टान्त त प्राज्ञ दिनेशराज पन्तले लेखेका ‘गोरखाको इतिहास’ (चार खण्ड) को यो प्राक्कथनबाटै हुन्छ, ‘श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेव सरकारको असीम कृपाबाट म यस कार्यमा संलग्न हुन पाएकाले यो यस रूपमा बाहिर आउँदैछ । यसका लागि मौसूफ सरकारमा सभक्ति कृतज्ञता ज्ञापन गर्दछु । यस कामका लागि आवश्यक व्यवस्था गरिदिनुभई तथा काम सुरु भएदेखि पूरा नभएसम्म यस विषयमा ठूलो चाख देखाई श्री ५ महाराजाधिराज सरकारका संवाद सचिव श्री चिरनशमशेर थापाज्यूले ज्यादै मदत गर्नुभएको छ ।’
इतिहास लेखनमा जनताको, जनसंघर्षको इतिहास लेखन त सीमित नै भएका छन् । कतिपय जनसंघर्षका इतिहास त त्यत्तिकै पुरिएर, बिलाएर गएका छन् । लेखिए पनि आख्यानको रूपमा मात्र लेखिएका छन् । इतिहास त राजा–महाराजा, शासक वर्गहरूको पो लेखिन्छन्, कहाँ जनताको लेखिन्छन् र ? भन्ने मान्यता र चिन्तन व्याप्त रहने समाजमा जनताको इतिहास नलेखिनु स्वाभाविकै हो । जनताको इतिहास नलेखिनु बेग्लै पक्ष । तर, कुनै कालखण्डमा दरबारको निकट रहेका, दरबारको थिचोमिचोमा परेका वर्ग वा व्यक्तिहरूका कथा पनि लेखिएका छैनन् ।
हामीकहाँ इतिहासलाई फरक कोणबाट नियालेर आख्यान लेख्ने कार्य निकै कम छ । आख्यानमा ऐतिहासिक घटना वा पात्रहरूलाई उभ्याउँदा तथ्यहरूमा सजग रहनुपर्ने चुनौती भएको हुँदा पनि यो निकै कठिन कार्य हो । यस्ता आख्यान लेख्दा मनगढन्ते कुराहरू लेखिनबाट जोगिनुपर्छ । त्यही भएर, ऐतिहासिक आख्यान लेख्न इतिहासको गहन अध्ययन गर्नुपर्ने बाध्यता त छँदैछ, त्यो पाठकको रुचिको क्षेत्रभित्र पर्छ कि पर्दैन भनेर निक्र्योल गर्नुपर्ने चुनौती पनि उपस्थित हुन्छ । तर, पछिल्लो समयमा ऐतिहासिक विषयवस्तुमा आख्यान लेखिने क्रम भने बढेको छ, ऐतिहासिक घटना र पात्रहरूको उत्खनन गर्ने कार्यमा बढोत्तरी आएको छ । जसरी, अचेबेले पश्चिमा शासक वर्गले फैलाएको अफ्रिकी समाज, इतिहास र संस्कृतिप्रतिको भ्रम चिर्न र वास्तविक कथालाई उजागर गर्न लेखन कर्ममा आफूलाई समर्पित तुल्याए, अब नेपाली समाजभित्र दबिएर बसेका ऐतिहासिक घटना–सन्दर्भहरूलाई सही विश्लेषण गरेर सतहमा ल्याउन स्रष्टा÷सर्जकहरूले अग्रसरता लिनु अनिवार्य देखिएको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply