थाहा
राम विनय
उहिले एकपटक भारतीय रेलमा तीनजना यात्रीहरू यात्रा गर्र्दै थिए । तिनीहरूमा एकजना भारतीय, एकजना अंगे्रज र एकजना नेपाली थिए । नेपाली ठिटोलाई उनीहरूका बारेमा जानकारी लिन मन लागेछ । दुईतिर बसेकामध्ये भारतीयलाई सोधेछ ‘तिमी को हौ ?’
‘म बाबु हो ।’
‘ए’
उसले अंगे्रजलाई सोधेछ, ‘तिमी को हौ ?’
‘म साहेब हो’
‘ए’
त्यसपछि दुवैजनाले उसलाई ‘तिमी को हौ ?’ भनेर सोधेछ । नेपाली ठिटोले जवाफ दिएछ, ‘तिमीहरूमा एकजना बाबु र अर्को साहेब रहेछौ । त्यसका बीचमा बस्ने म बाबुसाहेब हुँ ।’
दुवै जना जिल्ल परेर उसलाई हेरेको हे¥यै भएछन् ।
यो कथा निकै पहिलेको हो । त्यतिबेला त्यही बाबुसाहेबले सही गरेको सरुवापत्र मैले बुझ्नुप¥यो । २०२४ साल वैशाखमा म जनकपुरमा पोस्टिङ भएको थिएँ । एक वर्षमा अर्थात् २०२५ साल वैशाखमा मेरो सरुवा विराटनगरमा भयो । पत्रमा लेखिएको थियो–
‘श्री रामकुमार श्रेष्ठ
खजाञ्ची (लेखापाल)
तपाईंलाई यस बैंकको कार्यालय विराटनगरमा सरुवा गरिएको छ । तपाईं तुरुन्त विराटनगर जानुहोला ।’
पत्र पढेर एकछिन अलमलमा परें । त्यसबेलाका महाप्रबन्धक पेकुरेल बाजेले भनेको कुरा सम्झें, ‘बाबु यो बैंकमा काम परेपछि कुनै पनि बेला कहीँ पनि सरुवा भएर जानुपर्ने हुन्छ । त्यसका लागि सधैं तयार भएर बस्नुपर्छ है ।’
त्यसैअनुसार मैले आफ्नो मानसिकता बनाएको थिएँ ।
त्यतिबेला जनकपुरबाट विराटनगरसम्म हवाईजहाज सेवा भएकाले मेरो भाइ र म भोलिपल्ट विराटनगर जाने तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाजबाट विराटनगरको पुरानो एयरपोर्टमा ओर्लियौं । सरुवाको कारणको उत्सुकता बोक्दै रिक्सामा बसेर कृषि विकास बैंक खोज्दै विराटनगरको मेनरोडमा रहेको कार्यालयमा पुग्यौँ ।
त्यहाँ पुगेपछि थाहा भयो, एकजना मेनेजर, एकजना सहायक र एकजना पियन भएको कार्यालय रहेछ त्यो । केही दिनअगाडि मोरङको केरोन सहकारी संस्थाले बुझाएको ८ हजार रुपियाँ चोरी भएको काण्डमा मेनेजर र सहायकलाई प्रहरी कार्यालयले हिरासतमा लिइएको रहेछ ।
कुरा बुझ्दै जाँदा के थाहा भयो भने केरोन संस्थाका अध्यक्षले ८ हजार रकम बुझाउन ल्याएको रहेछ । त्यो रकम त्यहाँका सहायकले रकमलाई सेफ, दराजमा नराखी टेबुलको ड्रअरका लापरबाही किसिमबाट राखेर हिँडेछ । पियनले त्यो लापरबाहीपूर्ण काम हेरिरहेको रहेछ । सबै कार्यालयबाट गइसकेपछि उसले मौका छोपेर रकम चोरेछ ।
भोलिपल्ट ती लापरर्बाह गर्ने सहायक आएर रकम खोजेछ । होहल्ला भएछ । पियन भागिसकेको थियो । प्रहरीले मेनेजर र सहायकलाई हिरासतमा लिएछ । पियनलाई कसैले शंकाले हेरेनछ ।
म त्यहाँ पुग्दा कोही कर्मचारी थिएनन् । खातापाता केही व्यवस्थित थिएन । सामानहरू अलपत्र थिए । म त्यहाँ बसेको बेलामा त्यो पियन आफ्नो बारेमा केही सोधखोज गरेको छ कि छैन भने बुझ्न घर गएको पनि बीच बाटोबाटै फर्केर आएको रहेछ । ऊ अफिसमा हिँडिरहेका बेला मेरो अन्तरमनले उसको अनुहार नियाल्दा त्यो पियनले नै ८ हजार रकम चोरेको हो जस्तो लागेको थियो । उसलाई प्रहरीले पक्राउ गरेको थिएन ।
भोलिपल्ट सुनसान कार्यालयमा म एक्लै बिखलबन्दमा परेर बसिरहेको थिएँ । कामको कुनै मेसो थिएन । तलब खाने दिनमा खाता सञ्चालनको केही व्यवस्था थिएन । घरबाट रकम झिकाएर महिना चलाउनुपरेको थियो ।
त्यतिबेला एकजना नचिनेको मानिस आए र मलाई सिधै भने, ‘खै क्यासबुक र सेफको साँचो दिनोस् त ।’
नचिनेको मानिसलाई मैले भनें, ‘तपाईं को हो ? तपार्इंलाई किन दिने क्यासबुक र सेफको साँचो ?’
‘म काइते रेग्मी हो । केन्द्रीय कार्यालयबाट अडिट गर्न आएको हुँ ।’
‘क्यासबुक छ रकम चढाएको छैन । सेफ छ क्यास छैन । ल हेर्नोस ।’ मैले सबै दखाएँ ।
उसले भने, ‘ठीक छ, म जे भन्छु त्यो गर्नु होला ।’
त्यो काइते रेग्मीले मलाई यति दुःख दियो कि मैले कहिल्यै बिर्सन सकिनँ । चाहिने–नचाहिने विवरण बनाउन लगाउने, हुलाक टिकटमा पनि यिनीहरूले खाएको हुन सक्छन् भनेर टिकटको हिसाब विवरण पनि बनाउन लगाउने आदि काम ग¥यो ।
उसले ८ हजार चोरीको रकमबारे छानबिन गर्नुपर्ने थियो । त्यतातिर उसको ध्यान गएन । सायद प्रहरीले हेरेकोले होला । उसले हेरेन । भएभरको कागजात हे¥यो र गयो ।
त्यहाँ एक दिन पियन मलाई थाहा नदिएर बेपत्ता भयो । पछि सुनियो ऊ आफ्नो घर भक्तपुर पुगेको रहेछ । त्यतिबेला बाबुसाहेबले निकै गतिलो काम गर्नुभएको थाहा भयो ।
बाबुसाहेबको मामा राजदरबारमा माथिल्लो पदमा रहेछ । उनैको सहयोग र निर्देशनमा गुप्तचर परिचालन गरिएछ । गुप्तचरले त्यस पियनको सुराकी गर्दै उसलाई पछ्याउँदै उसको घर पुगेछ ।
गुप्तचरले नजिकबाट त्यस पियनले कुरा गरेको सुनेछ ।
‘पैसा पनि पच्यो । जागिर पनि बच्यो ।’
त्यसपछि उसलाई तुरुन्तै घेरा हालेर पक्डिएछ र रकम पनि केही खर्च गरेर बाँकी रहेको उसको घरबाट निकालेछ । त्यसपघि त्यस पियनलाई भक्तपुरबाट पैदल विराटनगर पु¥याएको थियो । चोरी भएको बाँकी रकम बैकमा जम्मा गरेर मैले हिसाबकिताब मिलान गरेको थिएँ । आफ्नै कार्यालयका पियन चोर पत्ता लागेपछि कार्यालयका मेनेजर र सहायक हिरासत थुनाबाट छुटे ।
चोर पत्ता लागेर आफूहरू छुटेको खुसियालीमा मेनेजरले साँझपख बियर खाने कार्यक्रम राख्यो । मलाई पनि त्यतिबेलाको हुलास स्टिलको गिलासभरि बियर राखेर दियो । मैले बियर पहिला खाएको थिइनँ । मैले बियर यसो मुखमा लगेँ । तितो न तितो । खान सकिनँ । मेनेजरले बेस्सरी कर लगायो । मन नलागीनलागी मुखमा राखेजस्तो गरें मात्र । मेरो अनुहार हेरेर मेनेजर भन्यो, ‘यो बियर त्यसै फाल्न पाउनुहुन्न ।’
प्रहरी हिरासतबाट छुटेपछि खुसियालीको बियर मेरो पहिलो अनुभव थियो । मेनेजर र सहायक हिरासतबाट छुटेपछि कार्यालय बल्ल कार्यालयजस्तो भयो । मेरो विराटनगरमा भएको सरुवाको कारण पछि बल्ल थाहा भयो । वास्तवमा थाहा चाहियो भनेर रूपचन्द्र विष्टले त्यसै भनेको रहेनछ । थाहा महŒवपूर्ण कुरा रहेछ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply