‘गरिमा’ को स्थगित यात्रा
विवश वस्ति
अझै अस्तित्वमा छ, साझा प्रकाशन । लामो र समृद्ध इतिहास बोकेको पुरानो प्रकाशन संस्था साझाले अनगिन्ती आरोहअवरोह झेल्दै आफ्नो यात्रालाई धीमा गतिमै भए पनि अगाडि बढाउँदै आएको छ । कुनैबेला, निकै नै व्यवस्थित एवं सम्पूर्णजसो स्रष्टाहरूका मन जित्ने चौतारीका रूपमा स्थापित एवं सफल उक्त संस्थाको नेतृत्वमा को पुग्ने भन्ने होडबाजी यतिबेला फेरि एकपटक प्रारम्भ भएको छ । यद्यपि, विगतमा पटकपटक नेतृत्व पाए पनि गतिशील ढंगले साझालाई चलाउने सक्षमता प्रायजसोमा कमै देखियो र सरकारी उपेक्षाको सिकार भएपछि त झनै तन्नम अवस्थामा पुग्न बाध्य भयो । उक्त संस्था अहिले पनि आर्थिक संकट एवं दुरावस्था झेल्न बाध्य नै छ । संकटको भूमरीबाट उम्किन सकेको छैन । तर, यति हुँदाहुँदै पनि नयाँ नेतृत्वको खोजीमा भने फेरि एकपटक जुटेको छ ।
साझा प्रकाशनको तस्बिर सामुन्नेमा आउनेबित्तिकै त्यस प्रकाशन संस्थाले नेपाली भाषा, साहित्य, संस्कृतिलगायत विद्यालय÷उच्च विद्यालयस्तरीय पाठ्यपुस्तकहरू समेत प्रकाशित गर्दै आएको पूर्ववर्ती समयका विम्बहरू आउँछन् । स्रष्टा–विकास र उत्थानमा समेत साझाको अतुलनीय भूमिकालाई नकार्न सकिँदैन । विगतमा पुराना र नयाँ पुस्ताका उम्दा स्रष्टाका सिर्जनालाई प्रकाशनको अवसर दिने कार्यमा साझाले कुनै कन्जुस्याइँ नगरी भूमिका खेलेको पक्षलाई कदापि बिर्सन मिल्दैन । अझ पञ्चायतकालीन दिनहरूका प्रसंगलाई कोट्याउने हो भने त तत्कालीन व्यवस्थाका भजन–मण्डलीहरूले ढाकिएको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गर्न नसक्ने÷नरुचाउने साहित्यिक कृतिहरू साझाबाट प्रकाशन हुन्थे । निजी प्रकाशन गृहहरूको बाहुल्य नरहेको अवस्थामा र केही सक्रिय निजी प्रकाशन गृहहरूले सस्ता र बिकाउयोग्य पुस्तकहरूको प्रकाशनमा मात्रै रुचि देखाइरहेको बेला साझाले भने आम पाठकको मनोविज्ञान र पठन प्रवृत्तिलाई बुझेर, त्यही अनुरूपका पुस्तकहरू प्रकाशित गर्दै आयो । यद्यपि, पछिल्लो अवधिमा भने निजी प्रकाशन गृहहरूले पुस्तक बिक्रीमा अपनाउन थालेको रणनीतिका सामु भने साझा कमजोर नै देखियो र राम्रा र पठनीय कृतिहरू प्रकाशन गरे पनि पुरानै ढर्राको बिक्री–तरिका पछ्याउँदा पुस्तकहरू गोदाममै थन्किन बाध्य छन् ।
साझा प्रकाशनको सुकर्मलाई चिनाउने अर्को प्रमुख आधार बनेको थियो– गरिमा । २०३९ सालको हिउँददेखि मासिक रूपमा ‘गरिमा’ प्रकाशन प्रारम्भ भएको थियो । नेपाली साहित्यिक पत्रकारिताको विशिष्ट परम्परा र योगदानलाई अग्रगति दिने र साहित्यिक पत्रकारिताको समृद्ध इतिहासलाई अझ गरिमामय तुल्याउने आधारस्वरूप प्रकाशन आरम्भ भएको ‘गरिमा’ छोटै अवधिमा बेग्लै महतव र छाप छाड्न सफल भएको थियो । किनभने, सरकारी मुखपत्र ‘मधुपर्क’ को इतिहास ‘गरिमा’ भन्दा पुरानो भए पनि तत्कालीन सत्ताका राग र वन्दना गाउन मधुपर्क बाध्य थियो । तत्कालीन सत्ताको भक्ति र गुनगान गाउन व्यस्त मधुपर्कले सत्ताकै वरिपरि घुमेका स्रष्टाहरूका रचनालाई प्राथमिकता दिएर प्रकाशित गथ्र्यो । राजसंस्थाका गरिमालाई अक्षुण्ण राख्ने रचनाहरूले विशेष स्थान पाउने गथ्र्यो ।
तर, ‘गरिमा’ भने केही फरक थियो । सत्ताका आसेपासेहरूले लेखेका भक्ति रचनालाई यदाकदा स्थान दिए पनि मूलतः तत्कालीन सत्ताद्वारा नरुचाइएका स्रष्टाहरूका रचनालाई सदैव प्राथमिकताको माथिल्लो लहरमा राखिन्थ्यो । हुन त तत्कालीन समयमा निजी क्षेत्रबाट साहित्यिक पत्रिकाहरू ननिस्किएका होइनन् । रूपरेखा, रचना, अभिव्यक्ति, संकल्प, वेदना, झिसमिसे, शृंखला, लहरजस्ता साहित्यिक पत्रिकाहरू निस्किन्थे– कुनै नियमित र कुनै अनियतकालीन । तर आम पाठकमाझ पुग्नेमा भने मधुपर्क र गरिमा नै थिए । गरिमाले सत्ता इतरका प्रतिभाहरूलाई किन पनि स्थान दिँदै आयो भने त्यो पत्रिकाको प्रकाशनको प्रारम्भदेखि नै प्रजातन्त्रप्रति आस्था राख्ने व्यक्तिहरूको पकड रहँदै आयो । प्रजातान्त्रिक व्यवस्थालाई सघाउ पुग्ने रचनाहरूले निश्चित रूपमा स्थानसमेत पाउँदै आए ।
इतिहासको एउटा विशिष्ट कालखण्डमा नेपाली साहित्यिक पत्रकारिता एवं प्रजातन्त्रको स्थापना र संवद्र्धनका लागि अतुलनीय भूमिका खेलेको गरिमा आजका दिनमा भने बन्द छ । साझा प्रकाशनले बितेका केही वर्षयता झेल्नुपरेको आर्थिक संकट र गतिहीनताको सिकार ३५÷३६ वर्षदेखि प्रकाशित हुँदै आएको गरिमाले पनि झेल्नुपरेको छ । करिब दुई वर्षदेखि गरिमा बन्द छ र साझाको वर्तमान नेतृत्वले त्यसलाई निरन्तरता दिन सक्ने परिस्थिति अझै निर्माण हुन सकेको छैन ।
एउटा समृद्ध इतिहास रचेको गरिमा बन्द हुनु सिंगो साहित्यिक पत्रकारिता क्षेत्रका निम्ति दुःखद विषय हो । तर, आशाको टुसो अझै मरिसकेको छैन । साझा प्रकाशनमा भित्रिने नयाँ नेतृत्वले चाहने हो भने गरिमाको स्थगित यात्रालाई पुनः सुचारु तुल्याउन सकिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply