डेंगुको उच्च जोखिममा काठमाडौं : ११ जनाको ज्यान गइसक्यो, ११ हजारभन्दा बढीमा संक्रमण
३० भदौ, काठमाडौं । डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला र ३५ वर्षीय पुरुष र नर्भिक अस्पतालमा ३७ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको छ । डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उच्च जोखिममा रहेका १० जिल्लामा मात्र ९ हजार २ सय २६ वटा केस देखिएको छ । उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन् । ती जिल्लामा जनवरीयता ६ महिनासम्म ५१ जनामा डेंगु देखिएको थियो । पछिल्लो अढाई महिनामा भने संक्रमणको केस ह्वात्तै बढेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियानबारे धेरै पहिले नै संघीय मन्त्रालयमा परिपत्र गइसकेको बताउनुभयो । उक्त पत्रमा वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर वडा स्तरबाट हरेक घरभित्र र बाहिर सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गर्नेबारे जानकारी गराइएको छ । स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले उपत्यका र बाहिरका पालिकाले नाम मात्रको अभियान चलाएको बताउनुभयो ।
अन्य ठाउँको के कुरा गर्नु, काठमाडौं महानगरले समेत हालसम्म अभियानको रूपमा डेगु संक्रमणको चक्र तोड्ने काम गर्न सकेको छैन,’ उहाँले भन्नुभयो । काठमाडौंमा मात्रै २ हजार ५ सयभन्दा केस फेला परिसकेको छ । डेंगु नियन्त्रणमा महानगरपालिका चुकेको छ ।
हरेकजसो घरमा उच्च ज्वरो, दुखाइले थलिएर बसेका छन् ‘डेंगु नियन्त्रण अभियानमा महानगर तीव्र गतिमा लाग्नुपर्ने हो तर त्यो देखिएको छैन । ईडीसीडीको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु नियन्त्रण गर्ने प्राथमिक हतियार नै सर्च एन्ड डिस्ट्रोय हो । ‘स्थिति विश्लेषण गरेर फगिङलगायतका प्रक्रियामा समेत जान सकिन्छ । धेरै प्रकोपको अवस्थामा इन्डोर फगिङ गर्न सकिन्छ,’उहाँले भन्नुभयो । ईडीसीडीले सुरुमै पालिकाका पदाधिकारीलाई डेंगुबारे अभिमुखीकरण दिएको र यसका लागि टोली खटिएको निर्देशक डा. चुमनलाल दासले बताउनुभयो ।
‘हामीले प्राविधिक सल्लाह र सहयोग मात्र दिने हो । यसका लागि बजेटसमेत दिइसकेका छौं, उहाँले भन्नुभयो। उहाँका अनुसार डेंगु सार्ने लामखुट्टे घरभित्रबाहिर घुमिरहे पनि लार्भा र फुल पानीमा रहन्छ । यस पटक नष्ट हुनबाट जोगिएका फुल पुन अर्को वर्ष पानीको सम्पर्कमा आउनासाथ लामखुट्टे बन्ने सम्भावना रहन्छ । लामखुट्टेको फुल ८–९ महिनाभन्दा बढी समय बाँच्न सक्छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply