सुरुमा वैशाख ९ का लागि प्रस्तावित मितिमा नवौं महाधिवेशन गर्न असम्भव हुने भन्दै एमालेको…
काठमाडौं । सुरुमा वैशाख ९ का लागि प्रस्तावित मितिमा नवौं महाधिवेशन गर्न असम्भव हुने भन्दै एमालेको स्थायी समितिले आफैं जेठ ३ का लागि प्रस्ताव गरेको नयाँ मितिमा पनि महाधिवेशन नहुने भएको छ । राजनीतिक प्रतिवेदन निर्माण, तल्लो तहसम्म वितरण र छलफल त अलग्गै छ, सदस्यता नवीकरण, अभिलेख रुजु र प्रतिनिधि चयनजस्ता प्राविधिक कारणले पनि एमालेको महाधिवेशन जेठमा गर्न कठिन देखिएको छ ।
एमालेमा केपी ओली समूहले ढिलो हुँदा वामदेव गौतमसँग रातारात निर्माण गरिएको गठबन्धन बिग्रिन्छ कि भनेर छिटो महाधिवेशन गर्न जोड दिइरहेको छ भने माधव नेपाल समूहले अलि ढिला गर्दा आफूलाई अनुकूल हुने आकलन गरिरहेको छ । विधान अनुसार पाँच वर्षभित्र गर्नुपर्ने महाधिवेशन तोकिएको अवधिभित्र नभएपछि कति समय थप्ने भन्नेमा यही जोड–घटाउका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
संगठन विभाग प्रमुख युवराज ज्ञवालीले गत शनिबार केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यताका बारेमा विवरण पेस गरेपछि नेताहरूबीच महाधिवेशनको मितिका बारेमा थप छलफल जारी छ । ज्ञवालीले दिएको जानकारी अनुसार, अहिले रहेका २ लाख ८ हजार संगठित सदस्यमध्ये कतिले नवीरकण गर्छन् भन्ने ठेगान छैन । साथै, केही जिल्लामा सदस्यता दिइए पनि त्यसको जानकारी विभागमा आइपुगेको छैन । अहिलेसम्म ०६४ सालयता संगठित सदस्यता नवीरकण नगरेका इलामलगायत १० जिल्ला छन् । यो सबै आधारमा संगठित सदस्यता नवीकरणका लागि कम्तीमा चैत मसान्तसम्मको सवा महिना आवश्यक रहेको, त्यसपछि दिनको पाँच हजारको दरले अभिलेख भिडाउने हो भने पनि ४५ दिन लाग्ने र अनि मात्र महाधिवेशन प्रतिनिधि चयनमा जान सकिने विवरण ज्ञवालीले दिनुभएको थियो । उहाँले दिएको विवरणलाई आधार बनाउँदा चैत महिनाभरि संगठित सदस्यता नवीरकण गर्न र त्यसपछि जेठ १५ सम्म अभिलेख रुजु गर्न समय लाग्छ । यस आधारमा हेर्दा बाँकी १५ दिनमा महाधिवेशन प्रतिनिधि चयन, व्यवस्थापन जस्ता कुरा गरेर महाधिवेशन हुने कुरा भएन । वर्षा लागेपछि असार र साउनमा महाधिवेशन गर्न नहुनेमा चाहिँ सबै नेताहरू नै एकमत छन् ।
जेठ ३ मै महाधिवेशन गर्नका लागि प्रस्ताव तयार गर्ने र सबभन्दा बढी तर्क गर्ने महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेलले पनि आइतबारको बैठकमा त्यही मितिमा महाधिवेशन सम्भव नहुने धारणा राखिसक्नुभएको छ । यसबाट पनि एमालेको महाधिवेशन झन् अनिश्चित भएको छ ।
उता, एमालेको आठौं महाधिवेशनबाट पारित विधानमा चाहिँ पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेमा एक वर्ष थप गर्न सकिने व्यवस्था छ । विधानको धारा १३ (क) मा भनिएको छ– ‘राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र यसको आयोजना केन्द्रीय कमिटीद्वारा सामान्यत: पाँच वर्षमा गरिनेछ । तर, राष्ट्रिय संकट वा विशेष परिस्थिति उत्पन्न भएमा बढीमा एक वर्षसम्म पछि सार्न सकिनेछ ।’
एमालेको अघिल्लो महाधिवेशन छ वर्षमा भएको थियो । ०५९ माघमा जनकपुरमा सातौं महाधिवेशन गरेको एमालेले ६ वर्ष १ महिनापछि ०६५ फागुनमा बुटवलमा आठौं महाधिवेशन गरेको थियो । एक पोलिटब्युरो सदस्यले बुधबारसँग भने– ‘यसै पनि हाम्रो वैधानिक व्यवस्था अनुसार पाँच वर्ष पूरा भइसकेको छ र यति अवधिकै गणना हुने हो भने फागुन १३ गतेबाट केन्द्रीय कमिटीको म्याद सकिसकेको छ । होइन, महाधिवेशन राम्ररी गर्ने हो भने अहिले हाम्रो आन्दोलनका बारेमा केही आत्मसमीक्षा, मूल्यांकन र अघिको बाटो तय गर्नुछ । यस आधारमा दुई चार महिना समय लिएर महाधिवेशन गर्दा केही आकाश खस्नेवाला छैन ।’
अझ विगतमा कांग्रेस र एमाले दुवैले तत्काल स्थानीय निकायको निर्वाचन गर्ने वाचा गरेको र सरकार बनाउँदा पनि स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राखेका कारण महाधिवेशनभन्दा चुनावमा ध्यान दिनुपर्ने कुरा पनि उठेको छ । निर्वाचन हुने भएमा एमालेको महाधिवेशन स्वत: सर्नेमा भने नेताहरूबीच विमति देखिँदैन ।
उता, कम्युनिस्ट पार्टीको महाधिवेशन भएका कारण विचारको बहस हुन पाउनुपर्ने भन्दै बैठकमा आवाज उठेको छ । एकथरीले पार्टीमा सैद्धान्तिक विषयमा केही विवाद नरहेको भन्दै बहस आवश्यक नभएको र गर्ने नै भए पनि एक–दुई सातामा गर्न सकिने धारणा राखिरहेका छन् भने अर्काथरीले प्रतिवेदन तयार भएपछि त्यस आधारमा कम्तीमा तीन महिना बहसका लागि चाहिने जिकिर गरिरहेका छन् । त्यस आधारमा केन्द्रीय सदस्यहरूले पनि गुटमा विभाजित भएर आ–आफ्ना धारणा राखिरहेका छन् । एक केन्द्रीय सदस्यले भने, कसले के बोल्ला भन्ने कुरा बोल्नका लागि उठ्नासाथ थाहा भइहाल्छ ।
सोमबारको बैठकमा नेत्र पन्थी बोल्दाबोल्दै अध्यक्ष झलनाथ खनालले ल आजको बैठक सकियो, भोलि म भ्याउँदिनँ, पर्सि फेरि बसौंला भनेर टुंग्याएको बैठक आज ११ बजेका लागि तोकिएको छ । बोल्नका लागि नाम लेखाउने केन्द्रीय सदस्यहरूको संख्या ठूलो रहेकाले आज पनि बैठक सकिने सम्भावना कम छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply