पार्टी एकताको ऐतिहासिक सहमति
काठमाडौं । दुई ठूला वाम दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे सहमतिसँगै एउटै कम्युनिस्ट केन्द्रमार्फत समाजवादसम्म पुग्ने राजनीतिक कार्यदिशा सुनिश्चित भएको छ । लामो समयदेखिको छलफललाई ठोस निष्कर्षमा पु¥याउँदै दुवै दलले एकता गर्ने सातबुँदे प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी एकता संयोजन समितिका आठ नेताको संयुक्त हस्ताक्षर छ ।
हस्ताक्षरलगत्तै सहमतिलाई ऐतिहासिक परिघटनाको संज्ञा दिँदै दुवै पार्टीका नेताहरूले समाजवादसम्म पुग्ने राजनीतिक आधारशिला खडा भएको प्रतिक्रिया जनाएका छन् । शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको बाटोबाट समाजवादसम्म पुग्ने कार्यदिशा स्पष्ट गर्दै सहमतिमा दुवै पार्टीले अवलम्बन गर्दै आएको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद, माओवादी र एक्काइसौं शताब्दीको जनवादलाई विधिसम्मत तरिकाले एकताको महाधिवेशनबाट टुंंगो लगाउने संकल्प गरिएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने र एकता महाधिवशेनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ । अन्तरिम कालका लागि माक्र्सवाद–लेनिनवादलाई मूल निर्देशक सिद्धान्त मान्ने र दुवै पार्टीले अवलम्बन गर्दै आएको सिद्धान्तलाई महाधिवेशनबाट आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमतिमा भनिएको छ । ‘नेकपा (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको ‘माओवाद र २१औं शताब्दीमा जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ,’ सहमतिपत्रमा उल्लेख छ ।
दुवै पार्टीका सैद्धान्तिक मान्यताहरू समान रहेकाले एकताको आधार बनेको सहमतिपत्रमै प्रस्ट्याउने प्रयास गरिएको छ । ‘जननेता मदन भण्डारीको अगुवाइमा स्थापित मार्गनिर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवादका शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्तिसम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र) ले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्नेलगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट रहेको सहमतिपत्रमा खुलाइएको छ । यससँगै तेस्रो महाधिवेशनपछि विकास भएको दुईवटा कम्युनिस्ट धाराहरूबीचको टुटफुटको अन्त्य मात्रै भएको छैन नेपालको कम्युनिस्ट आन्दोलनको अबको बाटो शान्तिपूर्ण प्रतिस्पर्धा नै हो भन्ने तथ्यलाई आत्मसात् गरिएको छ ।
नेतृत्वमा एकताको भाव
पार्टी एकता संयोजन समितिले सहमतिमा एकीकृत पार्टी र सरकारको नेतृत्वबारे केही पनि उल्लेख नगरेर एकताको स्प्रिटमा पार्टी सञ्चालन हुने सुस्पष्ट गरेको छ । तर पनि एकता महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरूको अध्यक्षता दुवै पार्टीका वर्तमान अध्यक्षले आलोपालो प्रणालीबाट गर्ने र सरकारको नेतृत्वमा समेत त्यस्तै गर्ने भद्र समझदारी भएको छ । तर, दुवै पार्टीका शीर्ष नेताहरूले एकताको भाव नखलबलिने गरी कुशलतापूर्वक सहमति गरेर दुवै पार्टीका नेता–कार्यकर्तालाई त्यस्तै ‘स्प्रिट’का आधारमा अघि बढ्नुपर्ने सन्देश प्रवाहित गरेका छन् ।
सरकारको नेतृत्व आलोपालो गर्ने सहमति उल्लेख गर्दा गलत सन्देश जाने र एकताको ‘स्प्रिट’ नै समाप्त हुने गरी जटिलताहरू आउने भन्दै सजगता अपनाएका छन् ।
कार्यदलको गृहकार्यपछि पार्टी एकताको मिति घोषणा
एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्धान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाइएको छ । दुवै कार्यदलले पूर्ण गृहकार्य गरेपछि पार्टी एकता घोषणासभाको मिति टुंगो लाग्ने नेताहरूले जनाएका छन् । यद्यपि, नेताहरूबीच संगठनात्मक स्वरूपबारे दुईवटा विकल्पमा केन्द्रित रहेर छलफल चलिरहेको छ । तर, यसबारे कार्यदलले नै गृहकार्य गर्ने भएकाले सोमबारको एकता संयोजन समिति बैठकमा नेताहरूले ठोस छलफल गरेनन् । दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्ने गरी पोलिटब्युरो र स्थायी समिति बनाउने पहिलो विकल्प र एमालेको केन्द्रीय कमिटीमा माओवादीको ४० प्रतिशत थपेर केन्द्रीय कमिटीको संगठनात्मक स्वरूप बनाउने दोस्रो विकल्पमा छलफल चलेको छ । एमालेका तर्फबाट राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष तथा माओवादीका तर्फबाट उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको उपाध्यक्षमध्ये एक लिने गरी छलफल चलेको छ । तर, यसलाई भागबन्डाभन्दा पनि आवश्यकताको सिद्धान्तअनुसार टुंग्याइने प्रबल सम्भावना छ । उच्च स्रोतका अनुसार ओली र प्रचण्डले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनलाई नै दोहो¥याउने प्रस्ट संकेत गरिसकेका छन् ।
सातबुँदे ऐतिहासिक सहमति
१. एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहनेछ ।
२. पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहनेछ
३. एमालेले अबलम्वन गरेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अवलम्वन गरेको ‘माओवाद र २१औं शताब्दीमा जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिनेछ ।
४. एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्नेलगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।
६. प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक, आर्थिक रूपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिनेछ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपले सम्पन्न गरिनेछ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply