मन्त्रीको ध्यान जहाजमा
काठमाडौं । एक ट्विन अटर जहाज भर्खरै दुर्घटना भएपछि आन्तरिक उडान ठप्प हुनुका साथै अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा ७५७ बोइङ मात्र भएको नेपाल वायुसेवा निगमसँग एक वर्षभित्र १३ जहाज हुन्छन् भन्दा झट्ट पत्याउन गाह्रो पर्छ । तर, पर्यटनमन्त्री भीमप्रसाद आचार्यले भने एक वर्षमा निगमसँग १३ वटा जहाज हुने घोषणा गर्नुभएको छ ।
बुधबारसँग कुराकानी गर्दै मन्त्री आचार्यले त्यसका लागि काम सुरु भइसकेको र केही दिनभित्र परिणाम नै आइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पत्याउनूस्, एक वर्षभित्र हामीसँग १३ वटा जहाज हुनेछन् र नेपाल वायुसेवा निगमको अवस्था अहिलेभन्दा भिन्नै हुनेछ ।’
पर्यटन मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार यदि सम्झौता अनुसार काम हुने हो भने मन्त्री आचार्यको भनाइ कार्यान्वयन हुन समस्या छैन । मन्त्रालयका निमित्त सचिव तथा मन्त्रालयका तर्फबाट नेपाल वायुसेवा निगममा प्रतिनिधित्व गर्नुहुने सहसचिव रञ्जनकृष्ण अर्यालका अनुसार अहिले नेपाल वायुसेवा निगमका तीनवटा ट्विन अटर विमान मर्मतका क्रममा छन् । निजी क्षेत्रले जस्तो चाहेका बेला तुरुन्तै मर्मत गर्नमा नियमले रोकेको र त्यसका लागि सार्वजनिक खरिद नियमावली अनुसार टेन्डर आह्वान गर्नुपर्ने भएकाले अझै तीन महिनासम्म निगमसँग कुनै आन्तरिक उडानका लागि जहाज हुनेछैन । ‘तीन महिनापछि ती तीनवटै जहाज प्रयोगमा आउनेछन्’– अर्यालले भन्नुभयो– ‘त्यसो भएमा तीन आन्तरिक र दुई बाह्य गरी पाँचवटा जहाज हामीसँग हुनेछन् ।’ छिटो मर्मतका लागि मन्त्री आचार्यले ताकेता गर्नुका साथै आफ्नो तर्फबाट हुने सहयोगका लागि भन्न मन्त्रालयका अधिकारीहरूलाई भनिरहनुभएको छ ।
यसअघि नै सम्झौता भए अनुसार उत्तरी छिमेकी चीनले एकदेखि दुई महिनाभित्र आन्तरिक उडानका लागि दुईवटा जहाज दिँदैछ । चीनसँग यसै वर्षभित्र छ वटा जहाज ल्याउने सम्झौता गत वर्ष नै भइसकेको थियो । तीमध्ये चीनले दुईवटा अनुदानमा र चार वटा सफ्ट लोनमा दिन लागेको छ । चीनले अनुदानका रूपमा दिने एमए– ६० र वाइ १२ ई जहाज आगामी एक महिनाभित्र आउने मन्त्रालयका अधिकारीले बताए । निमित्त सचिव अर्यालले भन्नुभयो– ‘सम्झौता अनुसार ती दुवै जहाज यही मार्च (चैतको आधासम्म) आइपुग्नेछन् ।’ एमए ६० सँग ५८ र वाई १२ एसँग १९ सिट क्षमता छ ।
बाँकी चारमध्ये एक एमए ६० र तीन वाई १२ ए जहाज छन् । ती जहाज पनि आउँदो एक वर्षभित्र (सन् २०१२) भित्र आइसक्ने सम्झौता छ । ‘एक वर्षको सम्झौता भए पनि छ महिनाभित्र ती जहाज आइपुग्ने गरी पहल अघि बढाएको छु’– मन्त्री आचार्यले भन्नुभयो– ‘आफ्ना तर्फबाट छिटोभन्दा छिटो पहल बढाएको छु ।’
सरकारले फ्रान्सेली कम्पनीबाट निर्मित दुईवटा एअरबस ल्याउनका लागि यसअघि गरेको सम्झौता छिटो कार्यान्वयनका लागि पनि पहल बढाएको छ । एअरबस कम्पनीसँग आगामी सन् २०१५ को फेब्रुअरीदेखि अप्रिलसम्म जहाज नेपाल आइपुग्ने गरी भएको सम्झौता अनुसार अहिलेसम्म अर्थ मन्त्रालयमार्फत ४० प्रतिशत रकम भुक्तानी समेत भइसकेको छ । कति मूल्य पर्छ भन्ने सम्पूर्ण रूपमा यकिन जहाज काठमाडौंमा ओर्लिएको दिनमा थाहा हुने भएपछि सम्झौता गर्दाको मूल्यलाई आधार बनाउँदा एउटा जहाजको करिब ४० मिलियन अर्थात् चार अर्ब रुपियाँ पर्न आउँछ ।
अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडीका ती दुई जहाज निर्धारित समयभन्दा अघि नै आउनेमा मन्त्रालयका अधिकारी आशावादी छन् । ‘हामीले अरू पनि जहाज किन्नु छ । यदि निर्धारित समयमा ती जहाज आए भने यहाँ आफ्नो बजार बढ्छ भन्ने एअरबस कम्पनीले पनि बुझेको होला’– जहाज ल्याउने प्रक्रियामा संलग्न ती अधिकारीले भने– ‘यसले गर्दा छिटो काम हुने आशा गरेका छौं ।’ एअरबस कम्पनीले जहाज सञ्चालनका लागि नेपालका प्राविधिकहरूको एक टोलीलाई यसअघि नै तालिम दिइसकेको छ भने अर्को नौ जनाको टोली तालिमका लागि रवाना भएको छ । एउटा एअरबससँग १ सय ६० सिट क्षमता हुन्छ ।
दुई वाइड बडी किन्न पहल
यसैबीच, मन्त्री आचार्यले वाइड बडीका थप दुई जहाज किन्नका लागि छिटो छरितो प्रक्रिया के हुन्छ भन्नेबारेमा छलफल गर्नुभएको छ । मन्त्रालयका अधिकारीलाई वाइड बडीका दुई जहाज किन्नका लागि नियम र प्रक्रियामा कसरी छरितोपन ल्याउने भनेर गृहकार्य गरेर आफूलाई सुझाव दिन १० दिनको समय तोकेपछि पर्यटनका अधिकारी त्यसमा लागेका छन् । वाइड बडीले आठ घन्टाभन्दा लामो दूरीका उडान सिधै गर्न सक्छ भने न्यारो बडीले चाहिँ त्यसभन्दा कम दूरीमा मात्रै उडान भर्न सक्छ । वाइड बढीमा तीन सय सिट क्षमता हुने गर्दछ ।
‘अहिलेकै संरचनामा असम्भव’
जहाज ल्याउन आवश्यक भए पनि नेपाल वायुसेवा निगमको अहिलेकै संरचनामा जति नै जहाज ल्याए पनि सञ्चालन नै हुन नसक्ने जानकारहरू बताउँछन् । पुरानो मानसिकता, जीर्ण संरचना, संगठनभित्र व्यावसायिकभन्दा खुट्टा तान्ने प्रवृत्ति, निगममा भन्दा त्यहाँका कर्मचारीहरूको अन्त्यै रहेको लगाव, राजनीतिक हस्तक्षेप जस्ता कुराले धराशायी बनेको निगममा आन्तरिक सुधार नगरी जहाज ल्याउनुको अर्थ नरहने उनीहरूको बुझाइ छ ।
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष डा. गोविन्दबहादुर थापाका अनुसार जहाज ल्याउनका लागि उहाँकै पालामा पनि प्रयास नभएको होइन । तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङदेखि हिसिला यमीसम्म यसमा लागेका थिए । यमी मन्त्री हुँदा डा. थापाकै संयोजकत्वमा गठित समितिले तत्काल एउटा न्यारो र एउटा वाइड बढीका जहाज ल्याउन सुझाव दिएको थियो । पूर्वअध्यक्ष डा. थापाले भन्नुभयो– ‘नेपाल वायुसेवा निगमको आन्तरिक, प्रशासनिक र संगठनात्मक ढाँचामा सुधार नगरी जहाज ल्याउनुको कुनै अर्थ छैन । यही अवस्थामा जहाज ल्याउनु भोकालाई खाना जस्तै हुन्छ । जति जहाज ल्याए पनि पाँच वर्षभित्र अहिलेकै अवस्था उत्पन्न हुन्छ ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply