अध्यक्षद्वयकै कारण स्कुल विभागमा लफडा
काठमाडौं । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिपक्व गृहकार्य नगर्दा नेपाल कम्युनस्टि पार्टी (नेकपा) मा पार्टी स्कुल विभागमा अनावश्यक लफडा परेको छ । ३३ मध्ये ३२ वटा विभागको मात्र भागबन्डा गरेर स्कुल विभाग थाँती राखेका अध्यक्षद्वयले सचिवालयकै नेताहरूबीच खेल्ने र जुधाउने काम गरेर केन्द्रीय सदस्यहरूको कार्यविभाजन र एकीकरणको बाँकी काम पछाडि धकेलेको आरोप लागेको छ ।
स्कुल विभाग पूर्वएमाले कि पूर्वमाओवादीले राख्ने विषयमा समझदारी नगरीकनै सचिवालयमा प्रस्ताव ल्याएर अनावश्यक किचलो सिर्जना गरिएको आकांक्षी नेताहरूले नै बताउन थालेका छन् । बाहिर असारभित्रै सबै टुंगिन्छ भन्दै भाषण गर्ने तर दर्जनौं बैठक गर्दा पनि एउटा विभागमा सहमति नगर्ने दुवै अध्यक्षको क्षमता र कार्यशैलीमाथि वरिष्ठ नेताहरूले पछिल्लो सचिवालय बैठकमा प्रश्न उठाएका छन् । सबै टुंग्याउने भन्दै सोमबार डाकिएको बैठकमा समेत एउटा पनि एजेन्डामा निर्णय नभएपछि विभाग प्रमुखका आकांक्षीहरूले नै आफूहरूमाथि षड्यन्त्र भएको महसुस गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, छैटौं वरीयताका नेता नारायणकाजी श्रेष्ठ र सातौं वरीयताका नेता ईश्वर पोखरेल सो विभागका आकांक्षी छन् । खनालले प्रत्यक्ष आकांक्षा नराखे पनि सर्वसम्मत हुँदा स्कुल विभाग सम्हाल्न तयार रहेको सन्देश दिँदै आएका छन् ।
विदेश विभाग, संगठन विभाग र नीति तथा अनुसन्धान प्रतिष्ठान विभागमा माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालको नाममा समझदारी भइसकेपछि स्कुल विभाग पूर्वएमाले समूहको भागमा परेको प्रचार भयो । तर ३२ वटा विभाग मात्र टुंग्याएर स्कुल विभागमा छलफल जारी राख्ने र पछि टुंग्याउने सहमतिलाई त्यसरी प्रचार भएपछि पूर्वमाओवादी समूहबाट नारायणकाजी श्रेष्ठले दाबी गरे । पूर्वएमाले समूहबाट ईश्वर पोखरेलको दाबी सुरुदेखि नै छँदै थियो । तर, त्यहीबीचमा विभाग कुन समूहले नेतृत्व गर्ने टुंगो नगरीकनै दुवै अध्यक्षले तेस्रो विकल्पका रूपमा झलनाथ खनालको नाम चर्चामा ल्याएपछि स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, डा. बेदुराम भुसालले पनि दाबी गरे । विभाग कुन समूहले लिने टुंगो नलाग्दै अध्यक्ष ओलीले दुई पटकसम्म सहमति जुटाउन भन्दै पूर्वएमाले समूहको बैठक पनि बोलाए, तर सोमबार बोलाइएको सचिवालय बैठक एजेन्डामै प्रवेश नगरी २८ साउनसम्म दुई साता पछि धकेलियो । यससँगै दुई अध्यक्षले नै दर्जनौं बसाइमा पनि स्कुल विभागमा सहमति गर्न नसकेको रहस्योद्घाटन भएको छ । यसरी सचिवालयकै नेताहरू आपसमा जुधाउने काम भएपछि पछिल्लो बैठकमा वरिष्ठ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठले दुई अध्यक्षको कार्यक्षमतामाथि प्रश्न उठाए भने अर्का आकांंक्षी पोखरेल बैठक अवधिभर चुप रहे । अरू सबै विभाग दुई समूहमा बाँडेर स्कुल मात्रै अनिर्णीत बनाउनु कमजोरी रहेको भनाइ नेताहरूले राखेका थिए । त्यस्तै, पूर्वएमाले समूहका बैठकमा नेताहरूले भागबन्डाका क्रममा स्कुल विभाग पूर्वएमाले समूहको भागमा परेको हो कि होइन भन्दै ओलीलाई जवाफसमेत माग गरेका थिए । ‘पहिले स्कुल विभाग कुन समूहले पाएको हो, प्रस्ट हुनुप¥यो अनि सर्वसम्मत नाम टुंग्याउन सजिलो हुन्छ,’ छलफललाई उद्धृत गर्दै एक नेताले भने, ‘यदि त्यसो नगरी सचिवालयमा सीधै व्यक्तिका नाममा छलफल गर्ने हो भने वरीयतामा सिनियर रहेकैले विभाग पाउने आधार बलियो हुन्छ ।’ दुई अध्यक्षपछि वरीयतामा रहेका नेताहरू नेपाल, खनाल र गौतमको विभाग टुंगिसकेको छ । त्यसपछि छैटौं वरीयतामा रहेका श्रेष्ठले आफूमाथिका सिनियरले रोज्ने क्रममा सर्वसम्मत निर्णय गरिएकाले स्कुल विभाग आफूले पाउनु स्वाभाविक हक भएको दाबी गर्दै आएका छन् । श्रेष्ठपछिको वरीयतामा पोखरेल छन् । सचिवालय बैठकमा समेत नेताहरूले दुई अध्यक्षले ३२ वटा विभाग भागबन्डामा टुंग्याउँदा स्कुल कसले लिने नटुंग्याएकैले अनावश्यक विवाद खडा भएको भन्दै आलोचना गरेका थिए । प्रवक्ता श्रेष्ठले कुनै विभागबारे निर्णय नभइसकेकाले स्कुल विभागमा विवाद छ भन्न नमिल्ने बताए ।
वरिष्ठ नेता खनालले पनि स्कुल विभागका सन्दर्भमा मिडियामा सार्वजनिक भएजस्तो कुनै विवाद नभएको दाबी गरेका छन् । ‘स्कुल विभागमा केही पनि विवाद छैन, मिडियाले बनाएको मात्र हो,’ खनालले भने, ‘पहिले कसले लिने टुंगो हुनुप¥यो,’ पूर्वमाओवादी समूहले लिने हो भने नारायणकाजीको नाममा निर्णय हुन्छ, एमालेले लिने हो भने पनि बसेर नाम दिन सकिहालिन्छ, त्यसैले विवाद गर्नुको कुनै तुक छैन ।’ खनालले पत्रकारहरूसँग भनेका छन् । केन्द्रीय सचिवालय बैठक आवश्यक गृहकार्य नपुगेको भन्दै २८ साउनमा बस्नेगरी स्थगित भएको छ । नेताहरूको रुचि र प्राथमिकता बुझेर व्यवस्थित र परिमार्जित रूपमा प्रस्ताव ल्याउने गृहकार्यका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply