कम्युनिस्ट संगठन, सदस्य, नेता र न्याय
माक्र्सवादी विचारका आधारमा चल्ने कम्युनिस्ट संगठन कसरी बनाउने ? संगठन निर्माणका आधार के हुन सक्छन् ? कम्युनिस्ट पार्टीको नेतृत्व कसरी छान्ने ? नेतृत्व निर्माणका आधार के हुन सक्छन् ? कस्तो व्यक्तिलाई कम्युनिस्ट पार्टीको नेता बनाउने ? नेतामा हुनुपर्ने गुण र क्षमता के हुनुपर्दछ ? कस्तो विचारको मान्छेलाई अगाडि बढाउनु राम्रो हुन्छ ? कम्युनिस्ट पार्टीमा नेतृत्वको भूमिका के हुन्छ ? नेतृत्व निर्माण कसरी हुन्छ ? भन्ने कुरा माक्र्सवादी हरूले जान्नैपर्ने, बुझ्नैपर्ने विषय हो । यी विषयवस्तु र प्रश्नमा हामी के गरिरहेका छौं । आफैंमा छलफल गरौं, बहस गरौं र निष्कर्ष निकालांै ।
कस्ता व्यक्तिहरूलाई संगठित गर्ने ?
माक्र्सवादी संगठनमा संगठित गरिने व्यक्ति देश र समाजमा शोषक, सामन्त तथा पुँजीपतिहरूको नेतृत्व गर्ने मूल शक्तिबाहेक उनिहरूबाट पीडित श्रमजीवी वर्गको हुनु आवश्यक छ । अलिकति इमानदार, अलिकति न्यायप्रेमी हुनुपर्दछ । शोषितपीडित जनतालाई अलिकति माया गर्ने, दीनदुःखीहरूलाई प्रेम गर्ने अनि दलित पीडितलाई हिमायत गर्ने व्यक्ति हुनैप¥यो । अलिअलि अध्ययनमा अलिअलि चिन्तनमा रुचि राख्ने हुनुप¥यो । जनताको काममा सहयोगी हुनु आवश्यक छ । अझ सामाजिक दायित्वमा अब्बल र राजनीतिक उद्देश्यमा समर्पित त हुनैपर्छ । कम्युनिस्ट संगठनमा संगठित हुन यी कुरा प्राथमिक र अत्यावश्यक हुन् ।
अहिले त लाग्छ, पार्टीमा संगठित हुने व्यक्तिले कुनै योग्यता पूरा गर्नुपर्दैन । माक्र्सवादी संगठनको सदस्य हुन अलिअलि माक्र्ससवाद अनि अलिअलि लेनिनवाद पढ्नु पर्ने हो । कम्युनिस्ट वन्न थोरै कम्युनिस्ट आचरण र थोरै जनमुखी कार्यशैलीबारे पनि जानकारी हुनैपर्ने हो । थोरै नेपालको इतिहास र थोरै नेपाली जनताको पीडा पढ्नैपर्ने हो कम्युनिस्ट पार्टीको नेता हुन । के कम्युनिस्ट पार्टीको नेताले लेनिनवादी संगठनात्मक सिद्धान्त र संगठन सञ्चालन विधि राम्ररी बुझ्नुपर्दैन र ! लाग्छ ‘थमादिया बन्दुक बन गया हवल्दार’ भएको छ यहाँ । पद पायो, बस् नेता भयो । कतिले बुझेका छैनन्, त्यसैले समस्या छ । कतिको बुझेर पनि नबुझेजस्तो गरेर समस्या छ । नबुझ्नेचाहिँ बुझ्न चाहँदैन र बिगार्छन् । बुझेर बुझ पचाउनेहरूचाहिँ विधिअनुसार चल्दा आफूलाई घाटा हुने भएर त्यता जाँदैनन् । उसमा सामन्ती चिन्तन छ । सामन्ती सोच छ । पदको घमण्ड छ । ठूलो भएकोमा अहम् छ । किनकि पद र सत्ता त्यही छ । अनि त्यस्तो पद र सत्ताको मद र मास्चार्यले अगुवालाई जनताबाट अलग गर्छ । जनताबाट अलग भएपछि पार्टी कता जान्छ । यता गम्भीर छलफल चलाउनुपर्दैन हामीले ? यहाँ त अनर्थ भई रहेको छ । ट्याक्क सडकबाट टिपेर ल्यायो, कम्युनिस्ट पार्टीको नेता भइगो । बस् भोलिपल्टदेखि नयाँ दुनियाँ निर्माण सुरु । कुस्त चन्दा लियो पार्टीको टिकट पाइहाल्यो । बस् भोलिपल्टदेखि देशविकास अभियानको अभियन्ता पहिलो नम्बरमा । यस्तो छ, आजको पार्टी निर्माणको कथा । करिब यस्तैयस्तै हो राष्ट्र निर्माणको अलमल पनि । कस्ता व्यक्ति पार्टी सदस्य हुन सक्छन् ?
लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार कम्युनिस्ट पार्टीको सदस्य हुन माक्र्सवाद राम्ररी बुझ्नुपर्ने हुन्छ । वर्ग र वर्ग संघर्षसम्बन्धी सामान्य बुझाइ प्रस्ट हुनु आवश्यक छ । पार्टीका नीति कार्यक्रम जान्नुपर्ने र पार्टीको विधान मानेर लागू गर्नुपर्ने अनि सदस्यता शुल्क र लेबी तिर्नुपर्ने व्यवस्था गरेको छ विधानले । यो लेनिनले गरेको व्यवस्था हो । हामीले पनि यही प्रक्रिया स्वीकार गरेका छौ ।
यसो गर्दा धेरै माक्र्सवादी पार्टी सदस्यताबाट वञ्चित हुने भन्दै लेनिनसंँग असहमत रुसी मेन्सेविकहरूले विरोध गरेका थिए । तर लेनिन र बोल्सेभिक हरूले क्रान्तिकारी पार्टीका सदस्य बुर्जुवा पार्टीको जस्तो खुला र लचिलो हुन नसक्ने अडान राखेर अघि बढे । त्यसैअनुसार उनीहरूले संगठन र संघर्ष अघि बढाए । पार्टी व्यापक भयो । लेनिनको त्यही बोल्सेभिक संगठनले पछि रूसी क्रान्तिलाई विजयसम्म पु¥यायो र संसारको पहिलो सर्वहारा वर्गको सत्ता स्थापना गर्यो । अन्तत लेनिन विरोधिहरू समेत लेनिनका स्थापित विचारहरूलाई स्वीकार गर्न बाध्य भए । हामीले पनि आजसम्म अपनाएको संगठनसम्बन्धी विधि लेनिनवादी विधि नै हो । अब हामी के गर्दछौ । त्यो भोगाई वाट नै स्पष्ट हुन्छ । आजपर्यन्त हाम्रो पार्टीको विधानले समेत लेनिनवादी संगठनसम्बन्धी सिद्धान्तलाई स्वीकार गरेको छ ।
कम्युनिस्ट पार्टीमा नेता
माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेर लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार संगठन निर्माण गर्ने र तीनको नेतृत्व गर्ने अभियन्तालाई कम्युनिस्ट नेता भन्छौं ।
जनताको दुःखसुख बुझ्ने, जनताका समस्यामा साथी बन्ने, अन्याय परेकालाई सहयोग गर्ने, दुःखीगरिब र अभावले पीडितहरूको नेतृत्व गर्ने काम कम्युनिस्ट तथा वामपन्थीहरूले गरिआएका छन् । वामपन्थी भन्नाले प्रगतिशील विचार राख्ने या माक्र्सवादी विचार राख्ने व्यक्तिलाई नै बुझिन्छ । कम्युनिस्ट पार्टी क्रान्तिकारी पार्टी भएकाले व्यापक जनसमर्थन आवश्यक हुन्छ । त्यसका लागि ठूलो संख्यामा कार्यकर्ता र संगठनको जालो आवश्यक हुन्छ नै ।
कम्युनिस्ट पार्टीमा कार्यकर्ता कसरी समेटिन्छन् ? पार्टीमा जनता कसरी गोलबन्द हुन्छन् ? जनता कार्यकर्ता गोलवन्द गर्नमा विचारको भूमिका के हुन्छ ? व्यक्तिको व्यक्तित्व र इमानको भूमिका के हुन्छ ? समग्र पार्टी संगठनको अगुवाको हिसाबले नेताको विचार र व्यवहार कस्तो हुनुपर्छ ? नेताले पार्टीको हिसाबले पाएको जीम्मेवारी सेवा र सहजीकरण कसरी गर्नुपर्छ ? यी कुराहरूबारे राम्रो छलफल गरौं । नेताले नीतिगत रूपले प्रस्ट हुनुपर्छ र निर्देशन गर्न सक्षम हुनुपर्छ । नेताले आदेश र हुकुम चलाउने होइन । नेताले सबैलाई सँगालेर अघि बढ्ने जिम्मेवारी लिनुपर्छ, त्यो कसरी पूरा हुन सक्छ । हामीले यी सबै सन्दर्भमा आवश्यक अध्ययन, चिन्तन र विश्लेषण गरेर नेतृत्व निर्माण गर्नु आवश्यक हुन्छ । यदि त्यसो गर्दैनौं र हचुवाका भरमा नेतृत्व सुम्पेर परिवर्तन खोज्छौं भने त्यो सम्भव हुदैन । व्यक्तिको वर्गीय पृष्ठभूमि, सामाजिक व्यक्तित्व, माक्र्सवादी अध्ययन र चिन्तनको स्तरलगायतका सन्दर्भमा गम्भीर चिन्तन मननसहित नेतृत्व निर्माण गर्दा मात्र असल परिणाम आउने सम्भावना हुन्छ । अझ सिद्धान्तका हिसाबले, कार्यशैलीका हिसाबले अनि देश र जनताप्रतिको लगाव र समर्पणका हिसाबले समेत सोचेर लामो समयसम्म टिक्ने, आमजनताले विश्वास गर्ने गरी स्वाभाविक, सुपाच्य र जनप्रिय कमरेडहरूलाई पार्टीमा समेट्ने र नेतृत्वमा स्थापित गर्ने काम गर्न सके अरू सुन्दर परिणाम आउँछ । पार्टीको गति र प्रगति पनि सँगसँगै जान्छ ।
तसर्थ कम्युनिस्ट पार्टीको नेतृत्व झन् विचारवान्, नीतिवान् र नैतिकवान् हुनुपर्छ । जनताबाट सिक्ने र जनतालाई सिकाउने कम्युनिस्ट पार्टीको लाइन हो । नेतृत्वले अरूका कुरा सुन्ने र सबै कुराको परख गरेर मात्र बोल्ने, चल्ने र निर्णय गर्ने गर्नुपर्छ । यस्तो खालको जिम्मेवार नेतृत्व स्थापित भए पछि मात्र संगठन प्रभावी हुन्छ ।
कम्युनिस्ट नेताले आफ्ना र आफूवरिपरिका नेता–कार्यकर्तालाई सम्मान र प्रेमपूर्वक सँगालेर परिचालन गर्न सक्नुपर्छ । अहिले गाउँ, जिल्ला र केन्द्रमा समेत पार्टीमा लामो समय काम गरेका, ठूलो त्याग तपस्या र बलिदान गरेका सदस्यहरू काफी छन् । तिनीहरूलाई उचित सोधखोज गर्ने, आवश्यक सल्लाह लिने र समयअनुसार प्रोत्साहन गर्ने काम गर्दा पार्टी बलियो बनाउन निकै मद्दत हुन्छ । धेरैका कुरा सुन्ने, धेरैसँग बुझ्ने र ठीक काम गर्ने सूत्र कम्युनिस्ट सूत्र हो । यसको जति बढी प्रयोग गर्न सक्यो त्यति धेरै पार्टी निर्माणमा सघाउ पुग्छ ।
अहिले पार्टीका कतिपय नेतामा गुलियो नुनिलोसहितका षड्रसमध्ये तीतो, पिरो, अमिलो, टर्रो मात्र बढी खाने मान्छेको स्वभाव आएको देखिन्छ । उनीहरूको व्यवहार रुखो देखिन्छ । बोली कडा र रसहीन भेटिन्छ । व्यवहारमा पूर्णतः व्यक्तिवादिता छ । उनीहरूलाई बुद्धिजीवी झोल असाध्यै मन पर्छ । स्वर्गका अप्सराहरूसँग दोहोरी खेल्ने र पिरती लाउने रहर देखिन्छ । अझ उनीहरू आफू मात्र नम्बरी, आफू मात्र सही र आफू मात्र देशभक्त भएको ठान्छन् । अरूलाई गलत साबित गर्न, अरूको कुरा काट्न अनि दुनियाँलाई ढाट्न खप्पीस देखिन्छन् । अझ कतिपय स्वघोषित नेता मित्रहरू त कुरा गरी साध्य छैन । यो तरिकाबाट कमसेकम समाजको परिवर्तन सम्भव हुँदैन ।
पञ्चधातुमध्ये सबभन्दा महँगो सुन हो । आजकाल अकल्पनिय व्यक्तित्वहरूको आँखा यो महँगो धातुतिर गाडिएको पाइन्छ । सम्पूर्ण जीवन क्रान्तिमा लगाएका, क्रान्तिका लागि मात्र बाँचेको भनिएका वीर वरिष्ठहरूले पनि त्यतातिर आँखा लगाउने गरेको देख्न थालिएको छ । आफ्ना लागि आंैलाभरि, पत्नी र छोराछोरीहरूका लागि अनेक प्रकारका तार, बार र हारसहितको विहार खोज्दै हिँड्ने अनि आफू र आफ्ना लागि के आवश्यक छ । कसले बन्दोबस्त गरिदिन सक्छ । पहिचान गर्ने र पद र शक्तिको प्रयोग गरेर पूरा गर्ने अभ्यास सुरु हुन थालेको रिपोर्टहरू आइरहेका छन । यसले नेतृत्वको नाम हँसाउने मात्र काम गर्दछ । त्यसैले सी जीङ पिङले भने जस्तो, ‘निजी सम्पत्तिका लोभीहरू रियलमा कम्युनिस्ट हुँदैनन् ।’ जनताका असल नेता त झन् हुनै सक्दैनन् ।
कम्युनिस्ट पार्टी वर्गीय पार्टी
कम्युनिस्ट पार्टी वर्गीय दृष्टिकोणमा विश्वास गर्ने पार्टी हो । कम्युनिस्ट पार्टी विशेष गरी गरिब किसान मजदुर र श्रमिकसहित राष्ट्रिय पुँजीपती वर्गसमेतको प्रतिनिधित्व गर्ने पार्टी हो । हामीले पार्टी निर्माण गर्दा वर्गीय धारलाई कसरी जोगाउने, त्यसका लागि सदस्य र नेतृत्वलाई वर्गीय ढंगले कसरी प्रशिक्षित गर्ने, वर्गीय विचार र तिनका आधारहरूलाई कसरी स्थापित गर्ने सम्बन्धमा राम्रो प्रशिक्षण गर्नु आवश्यक छ । नेपालमा वर्गको अवस्था के हो ? वर्ग विश्लेषण कसरी गर्ने ? हाम्रो शत्रु वर्गमा को–को पर्छन् अनि मित्र वर्ग कुन–कुन हुन् ? यी र यस्ता विषयको अध्ययन र चिन्तन र विश्लेषणको कसीमा घोटिनु आवश्यक छ ।
यी सबै पक्षलाई केलाएर, राम्रोसँग विश्लेषण गरेर निर्माण गरेको संगठन मात्र दिगो र टिकाउ हुन्छ । वर्गीय मुक्ति कम्युनिस्ट पार्टी को लक्ष्य हो । वर्गीय मुक्ति प्राप्त गर्ने लक्ष र वर्गीय धारमै कमजोरी आयो भने के होला क्रान्तिको भविष्य ? अलिकति दिमागी कसरत गर्ने हो कि ? अलिकति गम्भीर भएर बहस चलाउने हो कि !
वर्गसंघर्ष माक्र्सवादको कडी हो । वर्गीय विभेदका विरुद्धको लडाइँ माक्र्सवादको आधार हो । संसारभरिका श्रमीकहरूलाई पुँजीपतिहरूको शोषणको जाँतोबाट मुक्ति दिलाउनु माक्र्सवादको उद्देश्य हो । लक्ष्य हो । नेकपा त्यही माक्र्सवादी र कम्युनिस्ट आन्दोलनको अहिलेको नेता हो । यसलाई समेत बाटो बिराउने छुट छैन ।
माक्र्सवादबाट वर्ग संघर्ष र अतिरिक्त मूल्यको शोषणको सिद्धान्त हटाइदिने हो भने त्यो माक्र्सवाद अर्थहीन हुन्छ । त्यस्तै कम्युनिस्ट पार्टीका काम कारबाही र निर्णयहरूबाट वर्गीय सोच हराउने हो भने त्यस्तो कम्युनिस्ट पार्टी पनि बेकामे हुन्छ । अहिले हामीले सोच्नैपर्ने महŒवपूर्ण विषय एउटा यो पनि हो ।
पार्टीलाई दिगो बनाउन विधि र प्रणाली
पार्टीमा हरेक काम गर्दा, हरेक निर्णय गर्दा र योजना बनाउँदा तथा लागू गर्दा खास मापदण्ड, मूल्यांकन र विधिको विकास गर्नुपर्छ र त्यसलाई अमल गर्नुपर्दछ । अझ कम्युनिस्ट पार्टी आफैंमा क्रान्तिकारी पार्टी भएकाले यसमा त्यो झन् जरुरी छ । यदि कम्युनिस्ट पार्टीमा मापदण्ड र मूल्यांकन प्रणालीबिना व्यक्तिका लहड र केही आसपासका टीकाटिप्पणीका आधारमा मात्र चल्न थालियो भने त्यो कम्युनिस्ट पार्टी कमजोर तथा क्षयीकरणमा पर्न सक्छ । निश्चित मापदण्डबिनाको चेतनाहीन व्यक्तिहरूबाट बनेको कम्युनिस्ट पार्टी जनताबाट विस्थापित भई अलगथलग हुनुको कुनै विकल्प छैन ।
अहिले कसैकसैले के हो यो मापदण्ड र मूल्यांकन प्रणाली भनेको सुनिन्छ ? के हुन्छ यो मापदण्ड र मूल्यांकन प्रणालीले भनेको पनि सुनिन्छ । कोहीकोही भने राजनीतिक पार्टीमा निजी कम्पनिजस्तो मापदण्ड र प्रणालीका कुरा गर्नु बेकार भएको कुरा गर्दछन् । त्यति मात्र होइन, कोहीचाहिँ पार्टीमा विधि लागू गर्न नसकिने विचार राख्छन् । यस सन्दर्भमा हामी अलिअलि गम्भीर बनौं त । हामी अलिकति छलफल बहस गरौं त । के हो यो मापदण्ड ? कसरी गर्ने कार्यकर्ताको मूल्यांकन ? के–के र कस्ता–कस्ता विषयलाई मापदण्ड बनाउने हो ? के–कस्ता कुराहरूलाई मूल्यांकनको आधार बनाउने हो ? यो हामीले र हाम्रो पार्टीले आफैं छलफल गरेर तय गर्न सक्छौ । लागू गर्न सक्छौ । सिधा कुरा छ ‘पार्टीका तर्फबाट गरिने सबै मनोनयन सिनियरिटी (वरिष्ठता) का आधारमा व्यवस्थित गर्नुपर्दछ । पार्टी सदस्य र कार्यकर्ताहरूको रुचि र जनताको मोटिभको मापनका आधारमा जनतामा जाने छनोट विधि सुन्दर विधि हो । यसलाई अझ स्पष्ट र समयसापेक्ष बनाउन सकिन्छ । निश्चित रूपमा देश चलाउने पार्टी हो नेकपा । देश बनाउने पार्टी हो नेकपा । अनि आफूले तय गरेको मापदण्ड र मूल्यांकनका आधारमा आफैंले जनता र कार्यकर्ताबीच परीक्षित हुने तरिका हो यो । यो कम्युनिस्ट पार्टीमा मात्र सम्भव छ र अति आवश्यक र उपयोगी पनि छ ।
अब यहाँ प्रश्न उठ्न सक्छ । मापदण्ड कार्यान्वयन नभए के हुन्छ । यसलाई कसैले अस्वीकार गरे के हुन्छ । अझ मापदण्ड र मूल्यांकन विधिलाई पन्छाएर आफूखुसी गर्न लाग्यौ । मनपरीतन्त्र चलाएर आफू र आफ्नाको सेवा गर्न लाग्यौं । विधि, प्रक्रिया र परम्पराविपरीत नातावाद कृपावाद लागू गर्न लाग्यांै भने के हुन्छ ? परिणाम प्रस्ट छ । कम्युनिस्ट पार्टीको चरित्र बदलिन्छ र त्यो अन्य पार्टीझैं यथास्थितिवादमा रुमलिन पुग्छ । संगठन निर्माणमा विचारको भूमिका सबभन्दा माथि हुन्छ । अझ कम्युनिस्ट पार्टी आफंैमा क्रान्तिकारी पार्टी हो र यो सम्पूर्ण ढंगले माक्र्सवादी लेनिनवादी विचारकै कारण अस्तित्वमा छ ।
कम्युनिस्ट पार्टीमा न्याय
सबैतिर अन्याय र शोषणले आजित भएर न्याय पाइने आसमा मान्छे कम्युनिस्ट पार्टीमा आउँछ । मजदुर किसान तथा अन्यायमा परेकाहरूलाई न्याय दिलाउन कम्युनिस्ट पार्टीको गठन भएको हो । यसभित्रै न्याय भएन भने के हुन्छ ? आजकल पार्टीभित्र पनि न्याय पाउन छाडियो भन्ने गुनासो व्याप्त हुन थालेको छ । पार्टीमा काम गर्नेको हिसाबकिताब हँुदैन । पार्टीमा इमानको मूल्यांकन हुन्न । प्रमोसन र जिम्मेवारीको कुनै विधि बनाइएको छैन । बनाइएको विधि पनि देखाउनका लागि मात्र छ । कमिटी गठनको कुनै मापदण्ड रहेन । विधान र बनाइएको विधि जसले भेट्टायो उसैले तोडिदिन्छ । राजनीतिक नियुक्ति सबै नातावाद र क्षेत्रवादतिर लाग्न थाल्यो । हँुदाहँुदा पार्टी सदस्य नभएका नेता हुन थाले । जीवन र जवानी सवै पार्टीमा लगाएका साथीहरू उसै बस्नुपर्ने अवस्था भयो । अब हाम्रो भविष्य के होला भन्ने चिन्ता बढ्न थालेको छ । लामो संघर्षबाट खारीएका, युद्धमा परिवार गुमाएका अनि पार्टीमा निरन्तरको लगानी र समर्पण अनि सम्पूर्ण कुरा छोडेर गरेको लडाइँको प्रतिफल के हुने हो भन्ने चिन्ता बढ्न थालेको छ असल कार्यकर्ताहरूमा । यो चिन्ताको उपचार पार्टीले आफैं गर्नुपर्छ न्यायपूर्ण प्रणाली लागू गरेर ।
सभ्य र सुन्दर मनुष्यका परम शत्रु हुन् काम, क्रोध र लोभ । काम, क्रोध, लोभ, मोह, मद र मास्चार्यसँग असल मान्छेले जोगिएको राम्रो । यी कुराहरू मनुष्यलाई असामाजिक र व्यक्तिवादी बनाउने कुरा हुन् । यतातिर लत बनाउनेहरू धनी हुन चाहन्छन् । धनी हुन भ्रष्टाचारको बाटो खोज्छन् । अन्ततः उनीहरू अनैतिक र भ्रष्ट हुन्छन् । जब पोल खुल्छ, यिनीहरू समाजमा उभिन लायक रहँदैनन । अब भनौं, यी र यस्तै लक्षण र गुण भएका मानुवाहरूलाई नेता बनाइयो भने परिणाम के हुन्छ ? उही बबाल, बखेडा र बहुलट्ठी । यसबाहेक अरू के नै हुन सक्छ र ! यसकारण सदस्यमा मात्र होइन, नेतृत्व चयनमा समेत मापदण्ड बनाएर न्यायपूर्ण वितरणको परिपाटी बसाउन सकिएन भने हामी कहाँ पुगौला ? पार्टीका हरेक पद र प्रमोसनका लागि योग्यता निर्धारण गरिएको छ तर त्यो केवल देखाउने दात भएको छ । आफ्नालाई कुनै योग्यता नचाहिने भएको छ । नातागोतालाई सबथोक पाइने स्थिति छ । तर, इमानदार कार्यकर्ताका लागि अनेक बारबन्देज देखिने गरेको छ । यो अत्यन्तै दुःखद पक्ष हो । यसलाई हटाउनुपर्छ र समाजवादी सोचअनुसार हरेकलाई काम र कामका आधारमा न्यायसंगत र स्वाभाविक जिम्मेवारी तथा सम्मान दिने परिपाटी बसाल्नु अति आवश्यक छ ।
हामीले क्रान्तिको चरण पार ग¥यौं । द्वन्द्वको लामो युग बितायौं । राजनीतिक परिवर्तन पनि हात लगायांै । अब हामीले कसलाई के रहर लागेको छ र को कहाँ के चाहन्छ भन्दा पनि देशलाई के आवश्यक छ र नेपाली जनताबीच के–कस्ता प्रतिबद्धता गरिएको थियो भन्ने कुरालाई आधार बनाएर काम गर्न सुरु गर्नु जरुरी छ । आमजनतामा न्यायको अनुभूति हुने गरी काम गर्नुपर्दछ । हर क्षेत्रमा न्याय जनताको अधिकार हो ।
यसका लागि प्रकृतिको वरदान नेपालमा पाइने विभिन्न अमृतजन्य खनिजसहितको स्वच्छ भोजन गरीकन शान्त र शुद्ध मस्तिष्क लिएर ठन्डा दिमागले सोचेर अघि बढ्नुपर्दछ अब । व्यापक र विस्तारित छलफल गरेर अघि बढ्नुपर्दछ । ‘वादेवादे जायते तŒव बोध’ भनेजस्तै जनताबाटै सही बाटो खुल्छ । बाटो खोलेर हामी अघि बढ्न मात्र सक्नुपर्छ ।
२०४८ सालमा जन नेता मदनकुमार भण्डारीले ‘हामी जनताको प्रजातन्त्र (नौलो जनवाद) तिर अघि बढ्ने कि प्रजातन्त्रका नाममा मुट्ठीभर धनिकतन्त्रमा चित्त बुझाउने हो’ भनेर आफ्नो चुनावी पर्चामा काठमाडौंका जनतामार्फत देशवासीलाई रोज्ने विकल्प दिनुभएको थियो । हामीले मुठीभर धनिकतन्त्रका विरुद्ध जनताको जनवाद रोजेका हौं । अब अहिले हामीले जनतालाई के भनेर आश्वस्त पार्ने हो । जवाफ कठिन छ । हामीलाई नै जनता धनिकतन्त्रका मालिक ठान्न थालेको अवस्था छ । जनविश्वास घटेको अवस्था छ ।
हामीमा पञ्चवायुमध्ये उदान वायुको मात्र प्रभावमा परेजस्तो छ । हामीमा खाली खाने र फाल्न मात्र जानेको अवस्था देखिँदै छ । हामीले सिर्जना गर्न सकिरहेका छैनांै । सिर्जनाको ढोका पनि खोल्न सकेका छैनौं । अहिले देश जनतालाई शान्ति र सिर्जना आवश्यक छ । यो हाम्रो दायित्व र जिम्मेवारी हो । कसैलाई दोष दिएर उम्कने छुट छैन हामीलाई । सबैलाई चेतना भया !!!
(यो लेख २०५६ सालको डायरी र २०७६ भदौ २८ गते निजगढमा भएको प्रशिक्षण भेलाको टिपोटमा आधारित छ)
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply