इन्द्रसरोवरलाई मुख्यमन्त्रीद्वारा पुरस्कार
काठमाडौं । उत्तरी मकवानपपुरको इन्द्रसरोवर गाउँपालिका जिल्लाको उत्कृष्ट गाउँपालिकामा गणना भएको छ । आइतबार हेटौंडामा आयोजित पाँचौं जिल्ला सभामा सो पालिका जिल्लाभरिका स्थानीय निकायमध्ये दोस्रो उत्कृष्ट भई पुरस्कृत भएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले पालिकाका अध्यक्ष जीवन लामालाई सो कार्यक्रममा पुरस्कृत गरेका हुन् । नयाँ संविधान, नयाँ संरचना र नौलो संघीयताको अभ्यासमा नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय कानुन, कार्यविधिलगायत नीति, विधि, सुशासनसहित अनुशासन र प्रक्रियासंगत कार्यसम्पादनमा अब्बल भएर इन्द्रसरोवरले पुरस्कार पाएको बताइएको छ । सम्भवत यो जिल्लाभरिको दोस्रो उत्कृष्ट र जिल्लाका गाउँपालिकामध्ये पहिलो उत्कृष्ट पालिका हो । मकवानपुर जिल्लाको पाँचौं जिल्ला सभामा सभाका प्रमुख अतिथि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सम्मानित हुँदै सम्मानपत्र ग्रहण गर्न पालिका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमाकुमारी लामा हेटौंडा पुगेका थिए । यसैबीच पालिका अध्यक्ष लामाले यो सफलताका लागि कार्यपालिकाका जनप्रतिनिधिहरू कर्मचारीहरूलाई श्रेय दिएका छन् । उनले भने, ‘कार्यसम्पादनमा जिल्लाकै दोस्रो स्थान प्राप्त गर्दै सम्मानित हुन सफलता दिलाउने सहयोगी मेरा सहकर्मीहरू सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्छु । कार्यसम्पादनको उच्चमूल्यांकन गर्दै समुदायप्रति अझ उत्तरदायी हुन उत्प्रेरित एवं उच्च मनोबलका साथ तीव्र इच्छाशक्ति जगाइदिनुभएकोमा मकवानपुर जिल्ला समन्वय समितका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण जिसस टिमलाई उच्च सम्मानका साथ हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ जिल्ला सभाका अवसरमा मकवानपुरका १० वटा स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने तीन स्थानीय तहलाई सम्मानसमेत गरिएको थियो । जिल्लामा उत्कृष्ट कार्य गर्ने थाहा नगरपालिका पहिलो, इन्द्रसरोवर गाउँपालिका दोस्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको कार्य शैली प्रशंसनीय भएको बताए । उनले जिससले संघ, प्रदेश र स्थानीय तह बीचमा पुलको काम गरेको भन्दै जिससको कामको प्रशंसा गरे । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो भूमिका स्थापित गरेर जिसस मकवानपुरले संविधानले दिएको अधिकारभन्दा बढी कार्य गरेको मुख्यमन्त्री पौडेलको भनाइ थियो । उनले बागमती प्रदेशमा रहेका समन्वय समितिहरूमध्ये जिसस मकवानपुर ऊर्जाशील र गतिशील रहेको समेत बताए ।
मुख्यमन्त्री पौडेलले जिससको अधिकार र क्षेत्र संविधानले तोके पनि आफ्नो भूमिका आफैंले खोजेर स्थापित गर्नुपर्नेसमेत बताए । मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका स्थापित गरेर जिसस मकवानपुरले जबर्जस्त कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले स्थानीय तहको बेरुजु फछ्र्योटबारे छलफल हुनुपर्ने बताए । उनले संघीय सरकारको बेरुजु फछ्र्यौट हेर्ने छुट्टै निकाय भएको, प्रदेशको पनि लेखा समिति भएको तर स्थानीय तहको भने महालेखापरीक्षकले बेरुजु निकाल्ने तथा त्यत्तिकै छाड्ने हुँदा स्थानीय तहमा बेरुजु हेर्ने निकाय खडा हुनुपर्ने बताए । यसले सुशासन कायम गर्ने सांसद खतिवडाले विश्वास व्यक्त गरेको छ । कार्यक्रममा बाग्मती प्रदेशसभाका सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, प्रदेशका प्रमुख सचिब डाक्टर मानबहादुर विके, जिसस मकवापुरका उपप्रमुख भगवती पुडासैनी, नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामा, मकवानपुरका प्रजिअ दीपकराज नेपाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला सभाले जिससको आगामी नीति, कार्यक्रम तथा बजेटसमेत पास गरेको छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply