ओली–प्रचण्डको अर्को परीक्षा सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टीलाई विधिसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्ने र सरकार पनि पार्टीको मार्गनिर्देशनमा सञ्चालन गर्ने निर्णयका साथ सम्पन्न भएको छ
प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी ओलीकै कारण झन्डै विभाजनको तहमा पुगेको चार महिनादेखिको अन्तरविरोध समाधान गर्दै २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले पार्टीलाई एकताका साथ महाधिवेशनमा केन्द्रित गर्ने संकल्प गरेको छ । त्यस्तै, नेतृत्व तहबाट भएका यसबीचका सबै कमजोरीहरूलाई आत्मसात गर्दै पार्टी विधानअनुसार एक व्यक्तिः एक प्रमुख जिम्मेवारी कार्यान्वयनका लागि दुई अध्यक्षको मूर्त रूपमा कार्यविभाजन पनि भएको छ । त्यस्तै, अध्यक्षबाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको पुनर्मूल्यांकन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यद्यपि, एक व्यक्ति ः एक प्रमुख जिम्मेवारीको मुद्दा कार्यान्वयनलाई प्रभावकारी बनाउनेगरी थप स्पष्ट भने बनाइएको छैन ।
भ्रष्टाचार नियन्त्रण हुनेगरी सुशासन कायम गर्न सरकारलाई गतिशील बनाउने उद्देश्यले पुनर्गठन प्रक्रिया अगाडि बढाउने जस्ता महत्वपूर्ण निर्णयहरू पनि बैठकले गरेको छ । १० असारबाट सुरु भएर उत्कर्ष विवादमा परिणत भएको बैठकलाई सहज रुपमा अवतरण गर्दै भएका यिनै महŒवपूर्ण निर्णयहरूसँगै अध्यक्ष ओली र प्रचण्ड दुवैको परीक्षासमेत सुरु भएको छ । झन्डै दुई तिहाइको जनमतसहित मुलुकको नेतृत्व गर्ने अढाइ वर्षको महŒवपूर्ण अवसरका धेरैजसो समय पार्टी र सरकार सञ्चालन गर्ने सही तरिका अपनाउँदा गुमे पनि यो बैठकसँगै जनस्तरबाट प्रशंसा हुनेगरी सञ्चालित हुने नेकपा पंक्तिले अपेक्षा गरेको छ ।
महŒवपूर्ण विधेयकदेखि नीतिगत विषयहरू पार्टीमा छलफल र निर्णयका आधारमा सरकारले काम गर्ने र प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने तथा पार्टी सञ्चालनसम्बन्धी कामको नेतृत्व सम्पूर्ण रूपमा प्रचण्डले गर्ने बैठकको मूल निष्कर्ष हो । त्यसैले, पार्टी सञ्चालनका सम्बन्धमा अहिलेसम्म उठेका प्रश्न र पारित निर्णयहरू कार्यान्वयनका सन्दर्भमा ओलीभन्दा अबका दिनमा भने प्रचण्ड बढी जवाफदेही अर्थात् जिम्मेवार हुनेछन् । जबकि, यसअघि सरकार र पार्टी दुवैतिरको मोर्चामा ओली नै कार्यकारी रहने तर पार्टीलाई विधिसम्मत ढंगले संचालन नगर्ने शैलीका कारण नेकपाभित्र समस्या चुलिँदै अन्तरविरोध उत्कर्षमा पुगेको थियो । शुक्रबार सम्पन्न स्थायी समिति बैठकले ती सबै मुद्दा व्यबस्थापन भएकाले पनि प्रमुख नेतृत्वका हिसाबले ओली र प्रचण्ड दुवैको नयाँ परीक्षा सुरु भएको अर्थमा लिइएको छ । बैठकले अहिलेसम्मका अन्तरविरोधहरू हल गर्दै पार्टीलाई सिद्धान्तनिष्ठ एकताका साथ अगाडि बढाउनेगरी संकल्प गरेको छ । बैठकका निर्णयहरू दुवै अध्यक्षले सर्कुलरका रूपमा समेत जारी गरिसकेका छन् ।
‘विगतका कमीकमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवं विकास गर्ने संकल्प बैठकले गरेको छ । पार्टीभित्र संस्थागत प्रणालीको मुद्दा उठाउँदै आएका वरिष्ठ नेता नेपालका थुप्रै मागलाई बैठकले सम्बोधन गरेको छ । जस्तो पारित प्रस्तावमा भनिएको छ, ‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति झाँगिँदै जाँदा पद्धतीहीनता, गुटबन्दी, अराजकता र अनुशासनहीनता फैलिँदै गयो । विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरूलाई ठीक ढंगले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उल्लंघन हुँदै गयो र आन्तरिक एकता कमजोर भयो । तसर्थ यो बैठक, सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गर्छ । अतीतमुखी होइन भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई बेवास्ता गरेर होइन, तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प गर्दछ ।’
बैठकको निर्णयमा सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत समस्त पार्टीपंक्तिलाई विधि, पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आन्तरिक विवादलाई कटुतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण गर्ने पनि बैठकको निर्णयमा भनिएको छ ।
अहिलेसम्मका समस्या व्यवस्थापन गर्दै पार्टी कामलाई महाधिवेशन केन्द्रित हुनेगरी काम अगाडि बढाउने र महाधिवेशन तयारीको कार्ययोजना बनाउन आगामी १५ देखि १७ कात्तिकसम्म केन्द्रीय कमिटी बैठक बोलाउने बैठकले निर्णय गरेको छ । त्यस बैठकमा केन्द्रीय सचिवालयबाट महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने निर्णयमा उल्लेख छ ।
महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेरै संगठन विभागको कार्ययोजनामा आगामी असोज महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्ता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने र मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने प्रस्ताव पारित भएको छ । यसका लागि २७ भदौमा बसेको संगठन विभागको बैठकले कार्ययोजनासमेत पारित गरिसकेको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply