भड्किलोपनको सिकार
विवश वस्ती
बितेका वर्षहरुझैं मध्य चैतमा होली (फागु) को उल्लास देखियो, सर्वत्र । फागुलाई उल्लास र सद्भाव बाँडचुँड गर्ने पर्वको रुपमा लिँदै आएका छन्, वर्षौंदेखि । भारतीय संस्कृतिको एक अंगका रुपमा स्थापित होली पूर्ववर्ती समयमा नेपालको तराई–मधेसका बासिन्दाहरुले विशेष रुपमा उल्लासपूर्ण तौरतरिकाले मनाउने गर्दथे । तर, पछिल्ला समय भने यो पर्वको विस्तार झनै झाँगिदै गएको देखिन्छ । रङ्गीन पर्वको रुपमा परिचित होलीले मधेस मात्र नभई पहाडका ग्रामीण बस्तीहरुसमेत रङ्गीन थालिसके । पहाडका बासिन्दाहरुले समेत होलीलाई आफ्नै मौलिक र प्रिय पर्वजस्तै स्वीकार गरी मान्न थालिसके । मूलतः एउटा भूगोल र क्षेत्र विशेषको पर्वको सीमा रेखा तोडेर यसले राष्ट्रिय पर्वको मान्यता पाउँदै गएकोमा अब दुईमत छैन ।
कुनै पनि संस्कृतिको उद्गम विन्दु पहिल्याउँदै जाँदा कुनै मिथक, दन्त्यकथा वा धार्मिक मान्यता एवं विषयहरु अग्रभागमा उभिन आइपुग्छन् । होली–संस्कृतिको पृष्ठभूमिमा पनि त्यस्तै मिथक वा धार्मिक कथ्य जोडिएका छन् । भारतीय र नेपाली, दुवै देशका समाजमा प्रचलित एउटा पौराणिक कथासँगै होली–कथा गाँसिएको छ । भनिन्छ कि, हिरण्यकशिपु भगवान् विष्णुको अनन्य भक्त र उनको दरबारका प्रिय पात्र भए पनि एउटा श्रापका कारण उनले धर्तीमा राक्षसको रुपमा जन्म लिए । हिरण्यकशिपुका पुत्र प्रल्हाद विष्णुको परम भक्त थिए । तर, हिरण्यकशिपुले प्रल्हादको विरोध गर्दथे । प्रल्हादलाई मार्ने योजना अनुरुप हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई बोलाए । होलिकाले आगोले नडढ्ने बरदान पाएका थिए र प्रल्हादलाई होलिकासँगै आगोमा राखेर जलाउने योजना रह्यो, हिरण्यकशिपुको । तर, अग्निदहन हुँदा प्रल्हाद बाँचे र होलिकाको चाहिँ मृत्यु भयो । अधिकांश पौराणिक कथा खराब पक्षमाथि असल पक्षको विजयलाई लिएर लेखिएका छन् र यो पौराणिक कथाको अन्तर्य पनि त्यही नै रहेको प्रष्टै देखिन्छ ।
कुनै पनि संस्कृतिको आविर्भावमा धार्मिक मिथक वा अरु जेजस्ता कथा–प्रसंगहरु जोडिए पनि चाड वा पर्वहरुलाई उल्लासका रुपमा मनाउनुमा प्राकृतिक पक्ष पनि सँगसँगै आबद्ध भएर आएको प्रष्टै देखिन्छ । सांस्कृतिक रुपले उन्नत कुनै पनि समाजमा कुनै मौसम बदलिने समय मनोरञ्जन वा उल्लासले निश्चय नै गरिमामय स्थान पाउँछन् । पछिल्लो समय मनाइएको होली पर्व यस्तो मौसममा मनाइने गरिन्छ, जुन मौसममा ‘ऋतुहरुका राजा’ मानिने वसन्तले प्रत्येकको घर–आँगनमा पाइला टेक्छ । हेमन्त ऋतु भित्रिएसँगै उजाडमा अनुदित वन, उपवन, झाडीहरुका वनस्पतिहरु पल्लवित हुन थाल्छन् । पक्षीहरुले कलरव ध्वनि निकालेर वसन्तलाई स्वागत गर्न थाल्छन् । मानिसदेखि अरु प्राणीहरुले पनि, चिसो र आद्र्र मौसमलाई बिदाइको हात हल्लाएर न्याना दिनहरुलाई स्नेहपूर्वक स्वागत गर्न पाउँछन् । भनिन्छ, यो मौसममा पृथ्वीले रजस्वलाको अनुभूति गर्दछ ।
सम्भवतः प्रकृतिले नौलो रुप र संवेग ग्रहण गर्ने वसन्त ऋतु आगमनको समयमा प्रकृतिलाई स्वागत गर्ने हेतुले नै होलीको रंगिलो स्वरुप उद्घाटित हुन पुगेको थियो । यसमा कतै मिथक जोडिए होलान्, कतै कुनै संस्कृतिको अंश । संस्कृतिलाई निरन्तरता र जीवन्तता दिने उद्देश्यले नै नेपाल र भारतका समाजमा यो पर्वले प्रश्रय पाउँदै आएको छ र पछिल्लो समय सबै जाति, समुदाय र संस्कृतिलाई स्वीकार्नेहरुले होलीको रमझम र रङ्गीन संसारमा आफूलाई भिजाउँदै आउन थालेका छन् । यस्ता पर्वहरुले सर्वजाति, सर्वव्यापी र सर्वपक्षीय पर्वको रुपमा मान्यता पाइसकेका छन् ।
पछिल्लो समय भने होली होस् वा अरु कुनै पर्वहरु, उल्लास, मनोरञ्जन र सद्भाव बाँडचुँड गर्ने पर्वका रुपमा मात्र सीमित रहेन÷रहन छाडिसकेका छन् । जब दसैं, तिहारजस्ता पर्व आउँछन्, मदिरा उत्पादक कम्पनीहरुले तीव्र रुपमा आफ्ना उत्पादनहरुको प्रचार–प्रसारमा लाखौं–करोडौं खर्च गर्ने गर्छन् । प्रचार–प्रसारमा खर्च गरिएअनुरुप त्यस्ता मदिरा कम्पनीहरुका उत्पादनमा पनि निश्चय नै बिक्री हुने अनुमान लगाउन सकिन्छ । होली होस् वा २०७८ को आगमन, यस्ता पर्व वा वर्षारम्भको पूर्वसन्ध्यामा मदिरा कम्पनीहरुले आफ्नो उत्पादनहरुको बिक्रीलाई प्रश्रय दिए प्रशस्तै र आफ्ना उत्पादनहरुको भरमग्दुर रुपमा विज्ञापन गरियो । निश्चय नै, कुनै चाड, पर्व वा उल्लासको समयमा मनोरञ्जन लिने वा शारीरिक आनन्द र तृप्ति बटुल्ने एउटा तरिका मदिरा वा अन्य नशालु पदार्थको सेवन पनि हुन सक्ला । तर, कदापि यो मात्रै मनोरञ्जन लिने तरिका भने होइन । उपभोक्तामुखी समाजलाई कसरी आफ्नो मुठ्ठीमा पारेर राख्ने कला व्यापारिक कम्पनीहरुले राम्ररी नै पहिल्याएका र जानेका हुँदा पनि यस्ता पर्वहरुलाई अझ रमझम बनाउने बहानामा मदिराजन्य पदार्थहरुको विज्ञापनमा तँछाडमछाड नै देखिन थालेको छ । तसर्थ, विगत वर्षहरुझैं यो वर्ष पनि त्यही क्रम दोहोरिनुलाई अस्वाभाविक मान्न मिल्दैन ।
दसैं–तिहारजस्ता चाडपर्व भड्किलो, खर्चिलो हुँदै गएकोमा बेला–बेलामा आलोचना हुँदै आएको छ । त्यस्ता चाडपर्वलाई कम खर्चिलो र मितव्ययी बनाउनुपर्ने कुरा नउठेका होइनन् । तर, संस्कृतिको अभिन्न अंग बनिसकेको कुनै पनि चाड वा पर्वलाई मितव्ययी बनाउन निकै मुस्किल पर्ने रहेछ भन्ने विभिन्न अभ्यासहरुबाटै देखिँदै आएको छ । अब त हुँदाहुँदा होली वा नयाँ वर्ष पनि भड्किलो पर्वको रुपमा बदलिँदै जान थालेका छन् । होली वा नयाँ वर्षको निहुँ बनाएर होटल, रेस्टुरेन्टहरु बुकिङ गर्ने, त्यसमा प्रशस्तै रकम उडाउने प्रवृत्ति विकास हुँदै गएको छ । यस्ता पर्वहरु अब विशुद्ध सांस्कृतिक पर्व मात्र रहेनन्, त्यसको पवित्र घेरा नाघेर देखावटी, भड्किलो पर्वको स्वरुप ग्रहण गर्दै गइरहेका छन् । भड्किलो बन्दै गएको कुनै पनि पर्व वा संस्कृतिको मन्दविषले अझ नेपाली समाजलाई कतिसम्म लठ्याउँदै र विषाक्त तुल्याउँदै लैजाने हो ? यो यक्ष प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
- पितृसत्ताको नग्न अनुहार
Leave a Reply