उद्योगबिनाका उद्योगपतिबीच भिडन्त
काठमाडौं । देशको समृद्ध अर्थतन्त्र र निजी क्षेत्रको विकासमा प्रभावशाली भूमिका खेल्ने उद्योगीहरू चुनावी मैदानमा उत्रिएका छन् । तर, मैदानमा उत्रिएका उम्मेदवारहरू हेर्दा निजी क्षेत्रका ठूला घराना र उद्यमीहरू स्वयम् उत्साहित देखिएका छैनन् ।
छ दिनअघि भाष्करराज राजकर्णिकारले काठमाडौं र प्रदीपजंग पाण्डेले जनकपुरबाट अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेलगत्तै उद्योगी–व्यापारीहरूको ध्यान अहिले आफ्नो व्यापार–व्यवसायतिर भन्दा पनि चुनावतिर मोडिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आउँदो कार्यकालका लागि महासंघभित्र धेरै समयदेखि विभिन्न तह र भूमिका निभाउँदै आएका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेलगत्तै देशभरका उद्योगी–व्यवसायीहरू खेमाबद्ध हुँदै आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा लागेका छन् । आगामी चैत २८ र २९ गते हुने महासंघको ४८औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
अध्यक्षमा पाण्डे र राजकर्णिकारले उम्मेदवारी दिएपछि अहिले वास्तविक उद्योगी को हुन् र को होइनन् भन्ने चर्चा उद्योगीहरूले नै उठाउन थालेका छन् । अध्यक्षका प्रत्यासी पाण्डेको विभिन्न उद्योगधन्दा, बैंक र जलविद्युत्लगायतका क्षेत्रमा लगानी रहे पनि राजकर्णिकारको भने एउटा टेलिभिजन च्यानल र विज्ञापन कम्पनी मात्र छ । पाण्डेको लोमस फर्मास्युटिकल्स, क्लिन्करसमेत बनाउने कसमस सिमेन्ट, लोमस हर्बल प्रालिलगायत उद्योगहरू छन् । साथै, उनी सिटिजन्स बैंकको अध्यक्ष पनि हुन् । एउटा हाइड्रोपावरमा लगानी रहेका पाण्डे सिद्धार्थ इन्स्योरेन्स कम्पनी, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स र एफआईसी फाइनान्ससमेतका लगानीकर्ता हुन् । राजकर्णिकारको भने समयमै कर्मचारीहरूले तलब खान नपाएर बेला–बेला कर्मचारीहरू आन्दोलनमा उत्रिने एभिन्युज टेलिभिजन च्यानलमा पनि सबै सेयर छैन । आफ्नो नाममा रहेको सेयर उनले अरूलाई नै बेचिसकेको सूत्रको दाबी छ ।
आफूसँग त्यति उद्योगधन्दा नरहे पनि राजकर्णिकारले आफ्ना टिममा भने राम्रै उद्योगपतिहरूलाई समेटेका छन् । उनको तर्फबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका पशुपति मुरारका राम्रा उद्यमीका रूपमा चिनिन्छन् भने उपाध्यक्षमा एसोसिएटको तर्फबाट उठेका गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा पनि व्यापारिक घरानाका प्रतिनिधि हुन् । वस्तुगतको तर्फबाट उदयराज पाण्डे र जिल्ला तथा नगर उद्योग संघबाट डीबी बस्नेतले उम्मेदवारी दिएका छन् । यीमध्ये पाण्डे कांग्रेस र बस्नेत एमाले समर्थक हुन् ।
यता, पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा भवानी राणाले उम्मेदवारी दिएकी छन् । नेपालगञ्जस्थित स्नेहा होटलकी सञ्चालिका राणाको ट्राभल्स एजेन्सीका साथै आयात–निर्यात कम्पनी छ । सोही समूहका उपाध्यक्षका प्रत्यासी किशोर प्रधान भने मोरङ उद्योग संघका अध्यक्ष हुन् । उनको एउटा फर्मास्युटिकल्स र विराटनगरमा एउटा अस्पतालमा लगानी छ । उनी विराटनगरका स्थापित उद्योगी हुन् । त्यस्तै, उपाध्यक्षका अर्का प्रत्यासी दिनेश श्रेष्ठ भने नेपाल मेडिकल कलेजका सञ्चालक हुन् । उनको एउटा कार्बन बनाउने कम्पनीका साथै आयात–निर्यात गर्ने कम्पनी छ । पाण्डे समूहबाट एसोसिएटका लागि उपाध्यक्ष पदका प्रत्यासी भने अहिलेसम्म तोकिएको छैन । आगामी शनिबारसम्म तोकिने बताइन्छ । उक्त पदका लागि अञ्जान श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधान, अशोक तोदी र बीके श्रेष्ठको चर्चा छ । तर, यी सबै जनाभन्दा नयाँ अनुहार पनि आउनसक्ने बताइन्छ ।
एसोसिएट्सबाट ६ सय ७ जना मतदाता रहेको महासंघमा जिल्ला/नगरको तर्फबाट ९६, वस्तुगत तर्फबाट ९१ र द्विराष्ट्रिय समितिबाट २० मतदाता छन् । यी सबै मतदाताले अध्यक्षका उम्मेदवारलाई मत दिन पाउने भए पनि अरू उम्मेदवारलाई भने सम्बन्धित क्षेत्रका मतदाताले मात्र मत दिन पाउनेछन् । तीनबर्से कार्यकाल रहने महासंघमा ६२ जना पदाधिकारी रहनेछन् । जसमा, पदाधिकारी ५, एसोसिएट्सबाट १६, वस्तुगतबाट १२, अञ्चल, जिल्ला/नगरबाट १४/१४ र द्विराष्ट्रियबाट १ जना रहनेछन् । तर, महासंघभित्रका विभिन्न समितिहरूमा प्राय: एसोसिएट्सबाट निर्वाचित केन्द्रीय सदस्यहरू नै रहनेछन् । जसमा, उद्योग समिति, राजस्व समिति, पर्यटन समिति, बैंकिङ प्रवद्र्धन समिति, एक गाउँ, एक उत्पादनजस्ता समितिहरू रहेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिनुभएका पाण्डेले आफूले महासंघको गरिमा र उच्चता कायम राख्नका लागि उम्मेदवारी दिएको बताउनुभयो । बुधबारसँग उहाँले भन्नुभयो– ‘अहिले महासंघभित्र एकता कायम गरेर जानुपर्ने अवस्था छ । तसर्थ, सबैलाई समेटेर लैजानसक्ने दिशामा मेरो पहल हुनेछ । साथै, जिल्ला तहका उद्योग संघहरूलाई बलियो र सशक्त बनाउन पनि मेरो भूमिका रहनेछ ।’ लगानीको वातावरण बनाउनका लागि पनि आफूले प्रयत्न गर्ने बताउँदै पाण्डेले भन्नुभयो– ‘अहिले देशको अर्थतन्त्र खस्किँदो अवस्थामा छ । खस्ँिकदो अर्थतन्त्रलाई उकास्ने कार्यमा म लागिपर्नेछु र जलविद्युत् क्षेत्रको विकास नभई समग्र उद्योग क्षेत्रको विकास नहुने भएको हुँदा जलविद्युत्मा लगानी बढाउनेतिर पनि मेरो प्रयत्न हुनेछ ।’
पूर्वअध्यक्ष पनि विभाजित
महासंघको चुनावमा सधैंझैं यस पटक पनि पूर्वअध्यक्षहरू विभाजिन बनेका छन् । वर्तमान अध्यक्ष सुरज वैद्य र पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजकर्णिकारलाई साथ दिएका छन् भने पूर्वअध्यक्षहरू प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डी ढकाल, महेशलाल प्रधान र कुशकुमार जोशीको समर्थन पाण्डेलाई छ । ठूला घरानाहरूको समर्थन पनि पाण्डेलाई देखिएको छ । शेखर गोल्छा राजकर्णिकारको टिमबाट उठे पनि दिवाकर गोल्छाहरूले पाण्डेलाई साथ दिएका छन् भने मारवाडी समुदायका अरू घरानाहरूले पनि पाण्डेलाई समर्थन गरेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply